हालै अमेरिकामा निकै अप्रिय र अपत्यारिलो एउटा घटना भयो।
निकै लामो समयदेखि अमेरिकामा बसेका सुप्रसिद्ध रक्तदाता अर्जुनप्रसाद मैनालीले आफ्नो फेसबुकमा श्रीमतीलाई लामो चिठी लेखेर देहत्याग गरे। उनी विश्वभर रक्तदान गर्दै, अरूलाई प्रेरणा र ऊर्जा दिँदै रक्तदान गरेर अर्काको जीवन बचाउने अभियान्ता थिए। उनले २०६ पटक रक्तदान गरेका थिए।
आफ्नो भौतिक शरीर आफैंले अन्त्य गरेर उनले परिवारजनलाई मात्रै होइन, विश्व नेपाली समुदायलाई स्तब्ध बनाए।
अर्काको जीवन बचाउन सबैलाई प्रेरणा दिने अर्जुनले कसरी आफ्नै जीवन त्याग्न सके? धेरैको मनमा यही प्रश्न छाएको छ?
उक्त घटनाको अनुसन्धान हुँदै जाला, अरू कसैबाट अपराध भएको रहेछ भने पनि सजाय होला।
उनको फेसबुक स्टाटस सरसर्ती पढ्दा उनी निकै लामो समयदेखि कुनै मानसिक पीडामा थिए भन्ने प्रस्ट हुन्छ। कम्तीमा एक वर्षदेखि उनी त्यस्तो अवस्थामा थिए भन्ने अनुमान गर्न सकिन्छ।
उनले आफ्नो स्टाटसमा हरेक वर्ष अमेरिकामा ५० हजार जनाले आत्महत्या गर्ने गरेको र म त्यही ५० हजारमध्येको एक भएको भनेका छन्।
यो लेखाइबाट उनी निकै कमजोर मानसिक अवस्था र त्यस्तै आत्मबलबाट गुज्रिँदै थिए, जीवनका आशाहरू मारिसकेका थिए भन्न सकिन्छ। उनी अव्यक्त मानसिक पीडाकै कारण असामयिक र आश्चर्यजनक ढंगले संसार छाड्न बाध्य भएछन् भन्न सकिन्छ।
संसारभर नै देहत्यागका यस्ता घटना दिनहुँ भइरहेका हुन्छन्। विश्वमा अवसादन अर्थात् डिप्रेसनका कारण करिब सात लाख मानिसले जीवन त्याग्छन्। डिप्रेसन भन्नु मानिसक रोग हो।
नेपालमा करिब १० प्रतिशत मानिस कुनै न कुनै किसिमको डिप्रेसनमा रहेको अनुमान छ। यीमध्ये हरेक वर्ष सात हजार जतिले आत्महत्या गर्ने गरेका छन्।
नेपालमा रोग रिपोर्ट गर्ने प्रणाली भरपर्दो नभएकाले उल्लिखित संख्या अझ बढी हुन सक्ने अनुमान विशेषज्ञहरूको छ।
संसारमा हुने अधिकांश आत्महत्याको मुख्य कारण डिप्रेसन नै मानिएको छ। कसैले अचानक आत्महत्या गरेको घटना सुन्दा सामान्य मानिसलाई निकै अपत्यारिलो हुन्छ, आश्चर्यजनक हुन्छ। यति साहसी, प्रेरणादायी, बुद्धिजीवी व्यक्ति किन त्यस्तो विपरीत निर्णयमा पुग्यो होला भन्ने कुराले मन खान्छ।
कोही मृतकलाई नै गलत सावित गर्ने प्रयास गर्छन्। हिम्मतहारा ठान्छन्। कोही चाहिँ कठै विचरा भनेर सहानुभूति प्रकट गर्छन्।
मानसिक रोगले पीडित व्यक्तिले आफ्नो जीवनको मूल्य नै देख्न छाडेको हुन्छ, जीवन निस्सार ठानेको हुन्छ। आफूलाई चौतर्फी मूल्यहीन ठानेको हुन्छ। जीवनको सार छैन, बाँच्नुको अर्थ छैन भन्ने निष्कर्षमा पुगेको हुन्छ। यस्तो व्यक्ति अन्ततः अप्राकृतिक ढंगले जीवन त्याग्ने निर्णयमा पुग्छ।
यस्तो निर्णय दुई-चार दिनमा, एक-दुई महिनामा भएको हुँदैन। अचानक भएको पनि हुँदैन। डिप्रेसनबाट उम्किनै नसक्ने ठानेपछि लामो समयमा मात्र जीवन त्याग्ने निर्णयमा पुगेको हुन्छ। यसैको परिणाम हो आत्महत्या।
डिप्रेसन किन हुन्छ? रोक्ने र उपचार गर्ने उपायहरू के के छन्? यी प्रश्नको संक्षेपमा जबाफ खोजौं।
व्यक्तिको जीवनमा अनेक घटनाहरू हुन्छन्। कुनै घटनाले खुसी बनाउँछ त कुनैले दुःखी। घटनाको खुसी वा दुःख स्थायी हुँदैन। समयसँगै सामान्य हुँदै र कमजोर भएको मनोबल जागृत हुँदै जान्छ। व्यक्ति सामान्य दिनचर्यामा फर्किन्छ।
कहिलेकाहीँ भने कुनै घटना विशेषको दुःख बढ्दै जान्छ। मन विरक्तिन थाल्छ, एक्लो र कमजोर भएको महसुस हुन्छ। यस्तो अवस्थामा परिवारजन, आफन्त र साथीसंगतबाट सहयोग मिलेन भने दुःख, पिर–चिन्ता बढ्दै जान्छ अनि दिमागमा गढेर बस्छ। यसो भएपछि मानसिक स्वास्थ्यमा असर पर्छ, आत्मबल घट्दै जान्छ। त्यस्तो व्यक्तिले बाँच्नुको अर्थ देख्न छाड्छ।
व्यक्तिको यही मानसिक अवस्था नै डिप्रेसन हो। यस्तो अवस्थामा व्यक्तिको सहन क्षमता कमजोर भएको हुन्छ। अत्यन्त सामान्य मानिने घटनालाई पनि गम्भीर ठान्छ र मानसिक स्थिति झन् झन् कमजोर हुँदै जान्छ।
कुनै व्यक्तिलाई यस्तो डिप्रेसन हुनमा सामान्यतया दुई वटा कारण हुन्छन्।
एउटा हो वंशाणुगत कारण। प्रत्येक व्यक्तिमा सहनशक्ति फरक हुन्छ, फरक शक्तिका साथ जन्मेको हुन्छ। यस्तो शक्ति सामान्यतया परिवर्तन नहुने खालको हुन्छ। कोही सहजै सहन गर्छ र सामान्य अवस्थामा फर्किन्छ। कसैलाई अलिक बढी समय लाग्छ।
अर्को हो बाह्य कारण। जन्मजात सहनशक्तिलाई केही बाह्य कारणले प्राभाव पार्छ। व्यक्तिको जीवनमा अनेक समस्याहरू आइपर्छन्। कुनै कारणले पिर पर्छ, चिन्ता हुन्छ। निकटस्थ व्यक्ति गम्भीर बिरामी हुँदा, तिनको मृत्यु हुँदा वा तीसँग सम्बन्ध बिग्रिँदा व्यक्ति तनावमा पर्छ।
बेरोजगारी वा अन्य कारणले हुने आर्थिक अभाव, बढ्दो ऋण, व्यावसायिक असफलता इत्यादि कारणले पनि तनाव भएको हुन्छ। यसको प्रभाव कति गम्भीर र कति लामो समयका लागि हुन्छ भन्ने कुरा तनाव व्यवस्थापन गर्ने क्षमता र सहनशक्तिमा भर पर्छ।
सामान्यतया डिप्रेसनलाई तीन चरणमा हेरिन्छ। पहिलो हो सामान्य अवस्था। यस चरणमा व्यक्ति गहिरो चोट, पिर–चिन्ता र तनावमा परे पनि मनोबल धेरै कमजोर भएको हुँदैन। आफ्नो दिनचर्यामा चल्न सक्ने नै हुन्छ। आफन्तहरूलाई थाहा नहुन पनि सक्छ। दैनिक व्यवहारमा देखिने गरी परिवर्तन भएको हुँदैन।
मनोबल बढ्दै गएर मानिस सामान्य हुनुको साटो समस्या बढ्दै गयो भने डिप्रेसनको मध्यम अवस्था मानिन्छ। परिवारजन, निकटस्थ व्यक्ति र साथीहरूले यो अवस्था पहिचान गर्न र व्यक्तिमा आएको परिवर्तन देख्न सक्छन्।
मध्यम डिप्रेसनमा पुगेको व्यक्तिको दैनिक व्यवहारमा परिवर्तन देखापर्छ। उदास देखिने, गफ गर्न मन नपराउने, एक्लै बस्न रूचाउने भएको हुन्छ। यसो भए पनि उसले आफ्नो दैनिक काम गरेकै हुन्छ।
अन्तिम अर्थात् गम्भीर चरणमा भने व्यक्तिको व्यवहारमा अधिक परिवर्तन देखा पर्छ। आफ्नै दैनिक काम छाडेर एकान्तमा बस्ने, छट्पट् गर्ने, सुत्न नसक्ने, खान मन नगर्ने, हिँड्न छाड्ने हुन्छ। कसैलाई नभेट्ने र नबोल्ने हुन्छ। यसरी उसको जीवनमै असर परेको हुन्छ।
डिप्रेसनको रोगमा व्यक्तिको दिमागमा सूचना प्रवाह गर्ने (सिग्नल सब्स्ट्यान्स) सेरोटोनिन, डोपामिन र नोरअड्रेनलिनमा असर पर्ने गरेको पाइएको छ।
सेरोटोनिनले व्यक्तिमा सकारात्मक विचार प्रवाह गर्न मद्दत गर्छ। डिप्रेसन हुँदा सेरोटोनिनको मात्रा घट्ने गरेको पाइएको छ। यसै कारण चिकित्सकले डिप्रेसनका रोगीलाई सेरोटोनिनको मात्रा बढाउने औषधि दिन्छन्।
डिप्रेसनका अनेक लक्षणहरू हुन्छन्। व्यक्ति हरक्षण दुःखी देखिन्छ। सबै रमाएको ठाउँमा रमाउँदैन। धेरै थकाइ महसुस गर्छ। सधैं गरिआएको काममा ध्यान दिँदैन। निराशाजनक कुरा गर्छ। हरक्षण केही न केही सोचमा परेको जस्तो देखिन्छ। निद्रा पर्दैन। मायाप्रेमबाट टाढा बस्छ। यौनक्रीडामा चासो गर्दैन। सामान्य कुरामा पनि रिसाउँछ, झर्को मान्छ। दिकदार मान्छ। शरीरमा कुनै न कुनै स्वास्थ्य समस्या भएको अनुभव गर्छ।
हुँदाहुँदा जीवन व्यर्थ ठान्छ र आत्महत्या रोज्छ।
यस्तो मानसिक रोग रोकथाम गर्न सकिन्छ। उपचार पनि छ।
डिप्रेसनको उपचारमा व्यक्ति स्वयं अघि सर्यो चाँडो निको हुन्छ। आफूमा डिप्रेसनको प्रारम्भिक लक्षण देखिएको हो भन्ने थाहा पाउनसाथ रोकथाम र उपचारमा लाग्नुपर्छ। रोकथामका लागि व्यक्तिले हिँडडुल र शारीरिक अभ्यास बढाउनुपर्छ। साथीसंगती भेटघाट र घुमफिर बढाउनुपर्छ। तालिका मिलाएर स्वस्थकर खाना खानुपर्छ। ठीक समयमा सुत्ने र उठ्ने बानी बनाउनुपर्छ। मदिरापान र धूमपान गर्नु हुँदैन।
यसरी व्यक्ति स्वयं सचेत हुने हो भने प्रारम्भिक लक्षणहरू बिस्तारै हराएर जान्छन्। व्यक्ति सामान्य अवस्थामा फर्किन्छ। थप उपचार आवश्यक पर्दैन।
डिप्रेसन मध्यम चरणमा प्रवेश गरेको छ भने मनोविद वा चिकित्सकको परामर्श आवश्यक पर्छ। परामर्श अनुसार आफूलाई सुधार गर्नुपर्छ। यस अवस्थामा औषधि आवश्यक नपर्न सक्छ।
डिप्रेसन अन्तिम अर्थात् गम्भीर चरणमा पुगेको छ भने चिकित्सकको नियमित निगरानी, परामर्श र औषधि अनिवार्य हुन्छ। हाल चलेका एन्टिडिप्रेसिभ औषधिहरू धेरै उपयोगी देखिएका छन्। नियमित औषधि सेवन र आनीबानी सुधारले व्यक्ति डिप्रेसन रोगबाट मुक्त हुन्छ।
डिप्रेसनको लक्षण जति छिटो थाहा पाउन र परामर्श वा उपचारमा जान सक्यो त्यति नै छटो रोग निको हुन्छ।
सामान्यतया डिप्रेसनले छोएको व्यक्तिले सजिलै रोग स्वीकार गर्दैन। मलाई केही पनि भएको छैन भन्छ, उपचारमा जान तयार हुँदैन। यस्तो अवस्थामा परिवारजन र निकटस्थहरूको भूमिका महत्वपूर्ण हुन्छ।
त्यस्तो व्यक्तिलाई सम्झाएर मनोविद वा मनोचिकित्सककहाँ लैजाने, हौसला दिने र एक्लो महसुस हुन नदिने जिम्मेवारी परिवारजन र निकटस्थहरूकै हुन्छ।
डिप्रेसन भएको व्यक्तिमा म एक्लो छैन, मेरा सहयोगीहरू छन्, मलाई माया गर्नेहरू छन् भन्ने धारणा विकास गर्न सकियो भने चाँडो निको हुन्छ।
समाजमा मानसिक रोगीप्रति नकारात्मक धारण व्याप्त छ, यस कारणले पनि उपचारमा ढिलो भएको हुन्छ। मानसिक रोग जसलाई पनि हुन सक्छ। यस रोगले धनी, गरिब, विद्वान, टाठोबाटो कही पनि छुट्ट्याउँदैन।
यसर्थ प्रत्येक व्यक्ति आफ्नो मानसिक स्वास्थ्यका सम्बन्धमा सचेत रहनु र कुनै लक्षण देखिनासाथ परामर्श र उपचारमा जानु आवश्यक हुन्छ।
डिप्रेसन वा मानसिक रोग भएको व्यक्ति हिम्मतहारा होइन। रोग लागेको हो। उपचारले निको हुन्छ। समाजमा यस किसिमको चेतना अभिवृद्धि आवश्यक छ।
(लेखक जनस्वास्थ्यविज्ञ र प्राध्यापक हुन्।)