अहिले बाँदर नियन्त्रणको विषयले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। समस्या बन्दै गएको बाँदर वृद्धिलाई सरकारले कसरी नियन्त्रण गर्ला भन्ने प्रश्न अधिकांशले गरेका छन्।
म बाँदर वा स्तनधारी विशेषज्ञ होइन तर जनावरबारे पढेको र अध्ययन गरेको छु। कुनै पनि जनावरको नियन्त्रण सोच्नुअघि पारिस्थितिक प्रणालीबारे बुझ्न जरूरी छ भन्ने मलाई लाग्छ। नबुझी नियन्त्रण थालियो भने समस्या आउन सक्छ।
सबभन्दा पहिले एउटा सानो घटना सुनाउँछु।
गहना पोखरीमा भीम दाइको चिया पसलमा हामी गइरहन्थ्यौं।
एकदिन उहाँले भन्नुभयो, 'भाइले जनावर पढेको होइन? लौ न यो मुसाले साह्रै दुःख दियो, के गर्ने होला?'
मैले जिस्किएर भनेँ, 'सर्प पाल्नु दाइ, मुसा खान्छ। मुसाको सबभन्दा राम्रो दबाइ त्यही हो।'
जनावरको विद्यार्थीलाई पारिस्थितिक प्रणालीले यसरी लपेटेको हुन्छ कि मार्न पनि उसले प्रकृतिको नियमकै उपाय भनिदिन्छ।
दाइले पनि जिस्केरै प्रतिप्रश्न गर्नुभयो, 'पछि फेरि सर्प धेरै भए त्यसलाई रोक्न बाज पाल्ने?'
पारिस्थितिक प्रणाली भनेको यही हो, मैले दिएको उत्तर र दाइले गरेको प्रश्न, दुवैको सम्मिश्रण। दुवैलाई अलग राखेर हेर्यो भने समस्या भइरहन्छ।
अहिले बाँदरको समस्यालाई हामीले त्यसरी नै बल्झाइरहेका छौं जस्तो लाग्छ।
पारिस्थितिक प्रणालीले भन्छ- प्रकृतिका सबै तत्त्व एकअर्कासँग जोडिएका छन्। खानेकुराको सञ्जालले धेरै जनावरलाई जोड्छ।
वातावरण सन्तुलित राख्न जीव र वनस्पति एकअर्कासँग जोडिएका छन्।
आजभन्दा झन्डै सय वर्षअघि अमेरिकामा भएको एउटा घटनाले जनावर र वनस्पतिको जालोबाट एउटा मात्र कुरा निकाल्दा कसरी असर गर्छ भन्ने बुझ्न मद्दत गर्छ।
सन् १९३० मा अमेरिकाको यल्लो स्टोन नेसनल पार्कमा ब्वाँसोहरू धेरै भए भनेर खोजीखोजी मारियो। ब्वाँसो मासियो। त्यसको १५-२० वर्षमा त्यहाँबाट बोटबिरूवा, चरा, पुतली र मौरीहरू पनि हराउँदै गए।
एकछिन सोचौं त, एउटा ब्वाँसो मात्र हराउँदा त्यहाँबाट कसरी अरू जीव र वनस्पति पनि हराए?
अरू त अरू त्यही ब्वाँसोले खान सक्ने शाकाहारी स्तनधारी जनावर विभर समेत हरायो। ब्वाँसो मासिएपछि त यो ढुक्कले बाँच्नुपर्ने नि होइन र? यिनको संख्या बढ्नुपर्ने हो नि होइन?
तर त्यस्तो भएन।
किन त?
यसको अर्को पाटो छ।
ब्वाँसो हराएपछि सबभन्दा पहिलो र छिटो फाइदा एल्क (उत्तरी अमेरिकामा पाइने ठूलो प्रकारको हरिण) लाई भयो। एल्क ब्वाँसोको मुख्य आहारामा पर्थ्यो। ब्वाँसो नहुँदा ती धेरै ढुक्कले डुल्न पाए। खाना खोज्दै लामो समय जहाँ पनि बस्न पाए। एल्कले बिरूवा खान्थे। तिनको संख्या बढेपछि बिरूवा धेरै खपत हुन थाल्यो। बिरूवा बढ्न नपाउँदै एल्कले खाइदिन्थे।
त्यसको असर विभरमा पर्यो। किनभने, विभरले रूखका भित्री बोक्रा खान्छ। विभरलाई सबभन्दा मनपर्ने विलो भन्ने रूखको बोक्रा हो। तर एल्कले खाएपछि कुनै बिरूवा रूख बन्नै पाएनन्। पहिले धेरै पाइने विलोका रूख पनि हराउँदै गए। विभरको आहारा मासिएपछि उसको संख्या कम हुँदै गयो।
विभरहरूको एउटा अर्को रोचक बानी थियो। तिनले खोलानालातिर रूखका हाँगा र पात जम्मा गरेर सानो पोखरी बनाउँँथे। ती साना पोखरीमा धेरै प्रकारका माछा आइपुग्थे। त्यहीँ वरपर विभिन्न चराहरू आएर बस्थे। विभर हराएपछि पोखरी हुन छाडे। चराहरू हराउँदै गए।
एल्कहरूले ध्वस्त हुने गरी बिरूवा खाएपछि फलफूल र अन्य बोटमा पुतली र मौरीहरू पनि आउन पाएनन्। मौरी, पुतली र चराहरू नहुँदा भएका बिरूवाहरूमा पनि परागसेचन हुन पाएन। बिरूवा झन् पातलिँदै गए।
एउटा जनावर, ब्वाँसो मास्दा दर्जनभन्दा बढी जीवजन्तु र वन नै मासिने खतरा भयो। यल्लो स्टोन नेसनल पार्कको यो अवस्था भएपछि सन् १९९५ मा यहाँ क्यानडाबाट १४ वटा ब्वाँसा ल्याएर छाडियो। अर्को साल थप ३१ वटा ब्वाँसा ल्याइयो।
यसपछि बिस्तारै पार्कमा प्राण भरिँदै गयो। विभरको पुच्छरको आवाज (ठूलो पुच्छर हुने यो स्तनधारीले पोखरीमा पुच्छर हाल्दा ठूलो आवाज आउँछ), चराहरूको आवाज सुन्न र विभिन्न रङका फूलहरू देख्न थालियो।
सन् १९९५ सम्म एउटामा सीमित विभरको कोलोनी केही वर्षमै बढेर ९ वटा पुग्यो। ब्वाँसा आएसँगै एल्कहरू ढुक्कले एउटै ठाउँमा चरेर सबै बोटका नयाँ पालुवा खाएर सक्ने स्थिति रहेन। बोटबिरूवा बिस्तारै पलाउन थाले। विभरले पनि आफ्ना रूखहरू पाउन थाले, आहारा पाए। चराहरूले गुँड बनाउन पाए। मौरी र पुतलीले परागसेचन गर्ने फूल पाए। पार्क फेरि गुलजार भयो।
पारिस्थितिक प्रणालीको परीक्षण भएको अहिलेसम्मकै राम्रो उदाहरण हो यो।
अरू देशमा पनि यस्ता घटना भएका छन्। संसारका सबै ठाउँका वातावरणमा जीव र बोटविरूवा एकअर्कासँग यसरी नै जोडिएका हुन्छन्। बाँदर, रूख र मान्छेबीचको सम्बन्ध पनि यस्तै हो।
हामी मानव जाति बुद्धिविवेकमा सबभन्दा अघि छौं भन्ने दाबी गर्छौं। हामीले आफ्नै सभ्यता बसाएका छौं। प्रकृति संरक्षणमा भने हामी असफल हौं भन्ने मलाई लाग्छ। किनभने, औद्योगिक क्रान्ति गर्दैगर्दा आफूभन्दा पहिल्यै यो संसारलाई घर मानेका वा पृथ्वीलाई पृथ्वी बनाएका जनावरको अस्तित्वलाई हामीले नजरअन्दाज गर्यौं। धेरै जनावरको बासस्थान मास्यौं। उनीहरूको आहारा मास्यौं। यो पृथ्वी हाम्रो मात्र भन्ने सोचाइले हामी ग्रसित भयौं, छौं।
फेरि प्रकृतिक नियमअनुसार चलाउन अब हामी सबै छाडेर जंगलमा जाने भनेको होइन। सबभन्दा बुद्धिमानी हामी भएकाले जनावर, बोटबिरूवा, वातावरण सबैलाई सँगै लिएर हिँड्ने जिम्मेवारी हाम्रै हो। यो संसारमा वातावरण बिग्रेर हाम्रो जनसंख्या घट्यो भन्ने चिन्ता मान्छेलाई नै हुन्छ। त्यसैले वातावरण संरक्षण मान्छेकै लागि चाहिने हो। यो कुरा सधैं हेक्का राख्नुपर्छ।
त्यसैले बाँदर बढेपछि किसानलाई परेको नोक्सानको समाधान पनि वातावरणलाई केन्द्रमै राखेर सोच्नुपर्छ। आफ्नो वासस्थान र आहारा अभाव भएपछि बाँदर मानव बस्तीतिर पस्न बाध्य भएका हुन् भन्ने मेरो अनुमान हो।
कतिपयको तर्क भने जंगल बढिरहेको छ, कसरी वासस्थान मेटिन्छ भन्ने पनि छ।
जंगल बढेर मात्र हुँदैन। त्यहाँ बाँदरलाई चाहिने खानेकुरा पनि पाइनुपर्छ। उसको वास हुने वातावरण पनि हुनुपर्छ। बाँदरले रूखको बोक्रा खाने होइन। जंगलमा उसको आहारा नभए जति नै ठूलो जंगल भए पनि काम छैन। त्यसैले बाँदर नियन्त्रणका लागि सबभन्दा पहिले उसको आहारा के हो र कस्तो ठाउँमा बस्न रूचाउँछ भन्ने जान्नुपर्छ। अध्ययन गर्नुपर्छ।
हामीमध्ये धेरैलाई लाग्न सक्छ, बाँदरले फलफूल धेरै खान्छ। तर मान्छेले रोपेका बालीनाली बाँदरको प्राथमिक आहारा होइन। मानव जातिभन्दा धेरै अघिदेखि बाँदरले आफ्नो आहारा खोजिसकेको थियो।
चीनमा भएको एउटा अध्ययनले बाँदरले फलफूल धेरै रूचाउँदैन भन्ने देखाएको छ। त्यो अध्ययनले बाँदरका आहारा भनेर ११४ प्रजातिका बिरूवालाई मानेको छ। त्यसमा ४८.९ देखि ५६.९ प्रतिशत पातहरू भएको पाइएको छ। पाकिस्तानमा भएको अध्ययनले पनि त्यस्तै तथ्य देखाएको छ, बाँदरको आहारामा फलफूल ९ प्रतिशतभन्दा कम छ।
नेपालका बाँदरले पात, बिउ र फल खाने गरेको पाइएको छ। त्यस्तै रूखमा हुने कुराहरू, साना बोट, जडीबुटी र घाँस खाने बाँदरहरू पनि यहाँ छन्।
उसो भए समस्या कसरी भयो त?
जंगलमा बाँदरको बास र आहारा हराउँदै गयो। मानिसले रोपी फलाएका कुराहरू सहज हुँदै गए। अनि बाँदर बस्तीतिर पाइने खानेकुरा खाएर बाँच्न थाले।
यहाँनिर जोडिन्छ प्राकृतिक छनौटको नियम।
प्रकृतिले आफैं जनावरको संख्या कायम राख्छ। रोग होस् वा सिकारी जनावरले खाएर, जनावरको संख्या ह्वात्तै बढेर कहिल्यै पनि त्यही संख्यामा रहिरहन सक्दैन। एउटा बिन्दुमा पुगेर त्यो घट्छ नै। यो प्रकृतिको नियम हो।
प्रख्यात अर्थशास्त्री माल्थसको विचारलाई लिएर चार्ल्स डार्विनले एउटा काल्पनिक अवस्था व्याख्या गरेका छन्। हात्ती सबैभन्दा ढिलो प्रजनन गर्ने जनावर हो। एउटा हात्तीले आफ्नो जीवनकालमा तीनवटा बच्चा मात्र पाउँदा पनि सय-दुई वर्षमा हात्तीको संख्या लाखौं हुन्छ भनेर उनले हिसाब गरेका छन्। तर प्रकृतिमा त्यस्तो हुँदैन।
प्रकृतिले स्रोत सीमित बनाएर होस् वा रोग वा सिकारी जनावरका कारण, जनावरको संख्या एउटा सीमामा राखेको हुन्छ। समस्या त्यति बेला आउँछ, जब त्यो जनावरको सिकारी हुँदैन। सिकारी नहुँदा सिकार हुने जनावरको संख्या बढ्दै जान्छ। जसरी अमेरिकाको पार्कको जंगलमा एल्कको संख्या बढेको थियो।
यसो सोचौं त, कतै हाम्रा जंगलमा चितुवा घट्दै गएकाले बाँदर बढेका त होइनन्? वा बाँदरको सिकार गर्ने अर्को जनावर हराउँदै गयो कि! हरिण र मृगको संख्या घटेर चितुवा घटे कि?
हामी वनजंगलको धनी देश भनेर खुसी हुन्छौं तर त्यहाँ जनावरले प्रयोग गर्न सक्ने रूख, बोटबिरूवा छन् कि छैनन् भन्ने सोच्दैनौं।
तात्कालिक रूपमा सोच्दा समस्या बाँदरको मात्र लागेको हुन सक्छ। तर यसलाई धेरै पाटाबाट सोच्न जरूरी छ। यस्ता धेरै पक्षको अध्ययन गर्ने हो भने दीर्घकालीन रूपमा समस्या समाधान हुने देखिन्छ।
अहिले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण वा मार्नुपर्ने कुराहरू पनि मैले सामाजिक सञ्जालमा सुनेको छु। मैले पढेका र बुझेका संरक्षणका उपायहरूमा पनि यी कुरा छन्। हरेक जंगलको जनावर थेग्न सक्ने क्षमता फरकफरक हुन्छ। जंगलको विस्तृत अध्ययन गरेर त्यहाँ भएका कुनै जनावर क्षमताभन्दा बढी छन् कि छैनन् भन्ने थाहा हुन्छ। जनावरको संख्या नियन्त्रणका लागि 'कलिङ' भन्ने एउटा मोडल छ। धेरै जनावरलाई व्यवस्थित तरिकाले मारेर तिनको संख्या घटाउनुलाई कलिङ भनिन्छ।
बन्ध्याकरण भने त्यति प्रभावकारी मानिँदैन किनभने यसबाट तुरून्तै समस्या हल हुँदैन। बाँदरको बन्ध्याकरण गर्दा केही वर्षसम्म तिनको संख्या उति नै रहन्छ। अनि तिनले खोज्ने आहारा फेरि पनि मान्छेकै बालीमा हो। तत्कालको समस्या समाधान नै हुँदैन।
दीर्घकालीन समाधानका लागि तिनको वास र आहारा व्यवस्थापनकै हिसाबले सोच्नुपर्छ। बाँदरहरूले ऐतिहासिक रूपमा के खान्थे र कस्तो वासस्थान रूचाउँथे भन्ने पत्ता लगाएर त्यही अनुरूपको जंगल बनाउँदा उपयुक्त हुन्छ। बाँदरका लागि मात्र होइन, मानवबस्तीमा घुसिरहेका जनावरहरू; हात्ती, चितुवा लगायत अरू वन्यजन्तुका लागि पनि सोचौं!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)