आँखाले देख्न सक्ने ठाउँ पूरै सुनसान थियो। कालो बादल चिर्दै पानी पत्रपत्र भएर खसिरहेको। बाहिर ट्वारट्वार कराइरहेका भ्यागुताले मलाई सिधै गुलरियाको आँगनमा पुर्याइसकेका थिए।
मैले भर्खर देश छोडेको थिएँ।
मेरो गाउँमा पनि पानी पर्दा यसैगरी भ्यागुता कराउँछन्। प्राणी संसारका जुन कुनामा पनि उही गुण बोकेर बाँच्छन्। फेरिने त मान्छेमात्रै हो।
मैले स्टोरमा काम थालेको झन्डै दुई महिना भएको थियो। त्यो दिन स्टोर बन्द गर्ने दाइ बिदामा थिए। त्यसैले रातिको सिफ्टमा म थिएँ। अरू दिन बिहानको सिफ्टमा मात्रै काम गर्थें।
स्टोर बन्द गर्ने तरखरमा थिएँ। त्यस्तै, रातिको ११:४५ भएको थियो। एउटा कार बेतोडले हुइँकिएर स्टोरको पार्किङभित्र छिर्यो। यस्तो लाग्यो- त्यो कार हुइँकिएर स्टोरभित्रै छिरेर मलाई सोहोर्छ। उसको पछिपछि तीनवटा पुलिसका गाडी पनि उस्तै बेतोडले पार्किङभित्र छिरे। सबै गाडीबाट पुलिसहरू हातमा पेस्तोल र रेनकोटमा निस्किए। एक जना पुलिस बिस्तारै गाडीको नजिक पुग्यो। बाँकी दुई जना पेस्तोल तेर्स्याएर पोजिसनमा बसे।
मेरो मुटुले हंस छोड्यो। आँखैअघि मृत्युको भय देखिँदा मान्छेको दिमागले फ्ल्यासब्याकमा सम्पूर्ण जीवन देखाइदिन्छ भनेको सुन्थें। मैले पनि देखें। गुलरियाको मेरो घर, घरको छतमा घाम तापिरहेका बा-आमा, भाञ्जाभाञ्जीसँग फोनमा बोलिरहेकी दिदी, पसल कुरिरहेको जेठो दाइ र फार्ममा अन्डा टिपिरहेको माइलो दाइका तस्बिरले मेरा आँखा तिल्मिलाए। यस्ता दृश्यहरू फिल्ममा सयमात्रै होइन, हजार पटक देखिसकेको थिएँ। मलाई त्यस्ता दृश्य 'लार्जर देन लाइफ' लाग्थे। तर, यतिबेला म आफैं त्यो फिल्मको पात्रजस्तै थिएँ।
म जन्मिँदै हल्का कालो त थिएँ। औंसीको कालो रातझैं थिइनँ। डरले मेरो रूप पूरै अँध्यारो बनाइदियो।
म स्टोरको ढोका बन्द गरेर काउन्टरमुनि लुकेँ। हतारहतार हिसाब फच्चे गरेँ। खुट्टा चिसिएर बरफझैं थिए। मुटु गाडीको पिस्टनझैं तलमाथि गरिरहेको थियो।
गाडीबाट एक जना अधवैंशे मान्छे निस्कियो। निस्किँदै गर्दा उसका दुबै हात माथि थिए। पुलिसले उसका दुबै हातमा हतकडी लगायो। बाँकी दुई जना पुलिस पनि उसकै नजिक गए। केही समयपछि हतकडी फुकाइदिए। करिब दुई /तीन मिटर जति एउटा खुट्टाले हिँड्न लगाए। दुबै हात साइडमा तन्काउन लगाएर हिँड्न लगाए। शिक्षकले स्कुलमा बच्चालाई ड्रिल अभ्यास गराएझैं विभिन्न परीक्षण गरे। ऊ राम्रोसँग हिँड्न सकेन। खुट्टा पूरै लर्बरिएका थिए। झन्डै २० मिनेटपछि पुलिसले उसलाई भ्यानमा हालेर हिँडे। उसको गाडी हाम्रै स्टोरको पार्किङ छोडे। म पनि स्टोर बन्द गरेर भागेँ।
कोठा पुगेँ। सबिना र बाबु सुतिसकेका थिए। खाना तयार रहेछ, पस्किएर खाएँ। पहिलो गाँस नहाल्दै आँखामा उही दृश्य नाच्न थाल्यो। फिल्म हेर्दा मन परेका दृश्य कैयन् दिनसम्म आँखा वरिपरि आउँथे। त्यसमा पनि झन् सुनील सेट्टीको होस्। 'मोहरा' र 'बलवान' जस्तो। यो त मेरै आँखाअघिको दृश्य थियो। म त्यो रातभर राम्ररी निदाउन सकिनँ।
भोलिपल्ट स्टोरकै दाइलाई कहानी सुनाएँ, पूरै फिल्मी स्टाइलमा। दाइले पनि बडो चाख दिएर सुन्नुभो। उहाँ अमेरिका बस्न लागेको १० वर्ष भइसकेको थियो। यताका नियम, कानुन सबै पकाएर खाइसकेको मान्छे। नेपालमा पनि अधिवक्ता हुनुहुन्थ्यो। मेरो कहानी सकिनेबित्तिकै उहाँले फ्याट्ट भन्नुभयो, 'त्यो DUI चेकजाँच हो भाइ।'
मैले गुगल सर्च गरेँ। DUI भनेको Driving Under the Influence रहेछ। मतलब मदिरा सेवन गरेर गाडी कुदाउँदा पक्राउ परेपछि गरिने परीक्षण। यसरी पक्राउ परेपछि पुलिसले ठाउँको ठाउँ यस्तो पहिलो परीक्षण गर्दो रहेछ।
'DUI पोजेटिभ निस्कियो भने ड्राइभरको जिन्दगी नै धरापमा पर्न सक्छ। उसले पाउने धेरै सेवा-सुविधाबाट बञ्चित हुन्छ। उसलाई हुने कारबाही उसले गरेको गल्तीको प्रकृति हेरेर हुन्छ,' दाइले थपे।
म वाल्ल परेँ। भर्खर अमेरिका आएको थिएँ, नियम-कानुनबारे उति जानकार थिइनँ।
'दाइ, हाम्रो देशमा यस्तो कहिले हुन्छ होला है? रक्सी खाएर दुर्घटना गराउने ड्राइभर, सडकपेटीमै सर्वसाधारणको ज्यान लिनेहरू त खुलेआम हिँड्छन्,' मैले जिज्ञासा राखेँ, 'अझै उनीहरूकै शान र मान हुन्छ। यहाँको जस्तो नियम हाम्रो देशमा भए सब ठीक ठाउँमा आउँथे होला है?'
मलाई त्यही दिन थाहा भएको हो, समाजलाई सही बाटोमा हिँडाउन चाहिने पहिलो तत्व भनेको 'डर' रहेछ। नियम र विधिको डर भएन भने नेपालजस्तै लथालिंग हुने रहेछ।
'खै भाइ, हामीले त देख्नै पाउँदैनौं होला नेपालमा त,' दाइले तातै फर्काए।
देश छोडेर हिँडेको छैटौं वर्ष चल्दै छ। यताको जीवन बामे सरेझैं लाग्छ। देशमा हुँदा दौडिरहेको थिएँ। सानै भए पनि निरन्तर गतिमा थियो। यहाँ हिँडिरहेको छु, गति छैन। अलि तन्किएर हिँड्न खोज्छु, लडछु। देश छोड्नु भनेको दूरीको हिसाबले देशभन्दा टाढा हुनु हो, मायाको हिसाबले झन् नजिक हुनु हो। यो कुरा देश छोडेपछि महसुस हुन्छ। परदेश आउनु भनेको देशको हावापानीसँग दूरी बढ्नु हो। देश छोड्नु भनेको देशको माया मार्नु होइन। देशलाई मुटुमा राख्नु हो। मुटुमा राख्नु भनेको सबभन्दा धेरै माया गर्नु हो।
कतिले मलाई सोध्छन्, 'अब देश फर्किंदैनस् त? उतै हराउँछस्?'
सोध्नेले सोध्न पाउँछ। झटारो हान्न पाउँछ। मैले उसलाई उत्तरको फल नदिन पनि सक्छु। झटारो हान्नेबित्तिकै फल झर्छ भन्ने पनि त हुन्न। मैले जवाफ दिनैपर्छ भन्ने पनि छैन। दिएर हुने पनि केही होइन। म उत्तर दिएर थाकिसकेको मान्छे हुँ।
म कहिलेकाहीँ 'स्वदेश फर्किन्छु' भन्छु। उनीहरू 'कहिले फर्किन्छस् ? बुढेसकालमा मर्न ?' भनेर उडाइदिन्छन्।
अनि 'म आउँदिनँ' भन्दिन्छु।
त्यसपछि उनीहरू भन्छन्, 'किन आउलास् त! अब अम्रिकाने भैसकिस् नि।'
उनीहरू मलाई बेलाबेला यसैगरी उडाइरहन्छन्। धेरै उडिरहँदा अचेल म चरा भएको छु।
परदेशमा समय तालिका फेरिएको छ मेरो। म दिउँसो सुत्ने मान्छे बनेको छु। दिउँसोलाई रात ठानेर सुत्छु। घडीको अलार्म सेटअप परिवर्तन भएको छ। 'सपना रातमा देख्छन्' भन्नेहरू आधा सही हुन्। मैले दिउँसोमा सपना देख्न थालेको छु। क्यासिनोमा काम गर्छु। जुवाडेलाई तास खेलाउँछु। जुवाडे जुवामा रमाउँछ। म उसको चुरोटको धुवाँसँग रमाउन कोसिस गर्छु। जित्यो भने हल्का टिप्स दिन्छ। हार्यो भने कान पाक्ने गरी गाली गर्छ। गालीले मरिन्न। गालीले मर्ने भए हाम्रो देशमा एक जना पनि नेता ज्युँदो हुन्थेन।
जुवाडेको नजरमा हामी लुटेरा हौं। उसलाई लाग्छ- मेरो छलकपटले गर्दा उसले पैसा हार्यो।
उसलाई राम्ररी थाहा छ— तास मसिनले सफल गर्छ। हामीले त बाँड्ने मात्र हो। आफ्नो हार र असफलताको दोष अर्को मान्छेको थाप्लोमा हाल्दा मान्छे खुसी हुन्छ। आफू इमानदार हुँदा पनि सात पुस्ता पुग्ने गाली खाँदा मन खल्बलिन्छ। उनीहरू क्यासिनोको भाषामा 'गेस्ट' हुन्, हाम्रो भाषामा जुवाडे हुन्।
कम्पनी भन्छ— गेस्ट भगवान जस्तै हुन्! उनीहरूका जस्ता कुरा पनि सहनु पर्छ।
जुवाडेहरूसँग डलर हुन्छ। जुवा खेल्छन्। उनीहरू क्यासिनोका लागि दुहुनो गाई हुन्। हामीले उनीहरूको लात सहनुपर्छ। कम्पनीको आफ्नै तर्क छ। जुवाडेबिना क्यासिनो चल्दैन। क्यासिनो नचल्नु भनेको सञ्चालकको व्यापार नचल्नु हो। व्यापार नचल्नु भनेको हाम्रो घरपरिवार नचल्नु हो। घरपरिवार नचल्नु भनेको जिन्दगी रोकिनु हो। त्यसैले जिन्दगी चलाउन मालिकहरूले हामीलाई चलाउँछन्। हामी मसिनजस्तै चल्छौं। अहोरात्र चल्छौं। उनीहरूको उन्नति र प्रगतिका लागि हामीले मनभरी गाली खाइदिनु पर्छ। चुरोटको धुवाँ खाइदिनु पर्छ।
फेसबुकका भित्तामा देखाइने जस्तो जीवन सबैको पुर्पुरोमा हुँदैन।
हुन त कम्पनीले मजस्ता कामदारलाई जबर्जस्ती 'जागिर खा' भनेको छैन। हामी नै राजीखुसी गएका हौं। बाध्यतामात्रै होइन, क्यासिनो जस्तो 'ल्याभिस' ठाउँमा जागिर खानु हाम्रो लालसा पनि हो। हाम्रो यही लालसा बुझेर कम्पनीले पासो थापेको छ।
क्यासिनोमा काम गर्नेलाई अलि विशेष सुविधा हुन्छ। स्वास्थ्य सुविधा पाइन्छ। स्वास्थ्य बीमा नहुने हो भने अमेरिकामा रुघा लाग्ने अधिकार पनि हुन्न। क्यासिनोले सम्पूर्ण परिवारको स्वास्थ्य हेरिदिन्छ। त्यसैले हामी निष्फिक्री हुन्छौं। कम्पनीले उपचार गरिदिने भनेपछि हामी लोभी भइदिन्छौं। चुरोटको धुवाँ पचाइदिन्छौं। रक्सीले मातेका जुवाडेको घुर्की र गाली पचाइदिन्छौं। हामी बलियो भइदिन्छौं।
क्यासिनोको नियम कडा छ। १६ पोइन्ट पायो कि जागिर चट्। हाजिर गर्ने समय जम्मा ३ मिनेट हुन्छ। त्यो पनि कोभिडपछि भएको। कोभिडअघि त १ मिनेटमै गरिसक्नु पर्थ्यो। तीन पटकसम्म लगातार समयमा हाजिर गरिएन भने १ पोइन्ट पाइन्छ। कतै सानो भूल भयो भने 'जब पर्फर्मेन्स'को साइन गराइहाल्छ। जागिर धरापमा पार्न यसको पनि ठूलो भूमिका हुन्छ।
कहिले निदाएर काममा गइएन र खबर पनि गरिएन भने एकैपटक ६ पोइन्ट पाइन्छ। जागिरको माया सबैलाई हुन्छ। खाना बिर्सिएला, दिसा गर्न बिर्सिएला— हाजिर गर्न कसैले बिर्सिंदैन। एकपटक जागिरबाट निकालिएपछि पुनः जागिर खान धेरै गाह्रो छ। आफ्नै व्यक्तिगत कारणले छोड्नेलाई फेरि जागिर पाउन सजिलो हुन्छ। त्यसैले अलार्मका लागि ठूलो टेबुल घडी किनेको छु। नेपालमा कहिल्यै चाहिएन। एसएलसी दिने बेला रहरले किनेको थिएँ। दुई-चार दिन जोस पनि चल्यो। पछि अल्छी लाग्यो। अलार्म लगाउन छोडिदिएँ। अहिले बाध्यताले किनेको छु। अल्छी पनि लाग्दैन। दुहुनो गाईले अल्छी लाग्नै दिन्न।
नेपालमा यस्तो डर कहिल्यै देखिनँ। हामी नेपाली निडर छौं, बलवान छौं। हामीलाई कसैसँग डर लाग्दैन। विधिविधान र नियमसँग डर लाग्थ्यो भने हामी दशकौंअघि मान्छे भइसक्थ्यौं। ६ वर्षअघि म अमेरिका आउँदा र आजको अवस्था उस्तै छ। पात्रोको मितिबाहेक देशमा केही बदलिएको छैन। बदलिनका लागि डर चाहिन्छ। नीति-नियम मान्ने हुटहुटी चाहिन्छ। देश नीतिको सट्टा नेताले चलेकैले त हो— हामी गरिबै जन्मियौं, गरिबै मर्छौं।
लामो समय नेपालमा जागिर खाएँ। समयमै काम सुरू हुने अड्डा कतै देखिनँ। समयमै अलि हुने कामचाहिँ परीक्षा हो। तर, नेपालको हकमा त्यो पनि अस्तव्यस्त छ। वार्षिक परीक्षा आउने बेलासम्म कतिपय गाउँमा पाठ्यपुस्तकै पुग्दैनन्। मतपत्र, रक्सी र चुरोटचाहिँ फ्याट्टै पुग्छन्। विश्वविद्यालयको रिजल्ट दुई वर्षसम्म पर्खिएको साक्षी म आफैं छु। मास्टर्सको परीक्षा १४ महिनापछि दिने विद्यार्थीमा म पनि एक हुँ। नेपालमा जुन कर्मचारी धेरै गयल भयो, उसैले सर्वोत्कृष्टको पुरस्कार पाउँछ। संघ र संगठनमा लागेपछि रोजेअनुसारको ठाउँमा सरूवा र बढुवा हुन्छ। बलात्कार आरोपी यूएन मिसनमा सिफारिस हुन्छन्।
नेपालमा पनि हाम्रो क्यासिनोजस्तै पोइन्ट प्रणाली लागू भयो भने कति कर्मचारीको सर्वस्वहरण हुन्थ्यो होला? हाम्रो देश कति वर्षमा झ्याँसबाट 'लुकिङ लाइक अ वाउ !' हुन्थ्यो होला !
हाम्रो क्यासिनोमा नास्ता खाने समय ३० मिनेटमात्रै हुन्छ। यहाँ ३० मिनेट भनेपछि डेढ-दुई घण्टा हराउन पाइँदैन। त्यसरी हराएको भोलिपल्टैदेखि उसको जागिर हराउँछ। मेरै डिपार्टमा रिचर्ड भन्ने गोरे थियो। उसको साढे १५ पोइन्ट पुगिसकेको थियो। उसलाई आफ्नो जागिर धरापमा छ भन्ने कुरा पनि थाहा थियो। त्यसैले ऊ काम सुरू हुनुभन्दा १ घण्टा अगाडि नै काममा आउँथ्यो। एकपटक छिटो आएर डाइनिङ हलमा बस्दाबस्दै निदाएछ। हाजिर गर्न छुट्यो। उठ्दा ढिलो भइसकेको थियो। ठाउँको ठाउँ जागिर गयो। ड्रेस बुझाएर घर जानेबाहेक ऊसँग अरू कुनै विकल्प थिएन।
रिचर्ड गएको दिनदेखि मैले घडी अलार्म लगाउन थालेको हुँ।
नेपालमा पोइन्ट सिस्टम हुन्थ्यो भने सबैभन्दा पहिला यातायात र मालपोतका कर्मचारीको जागिर जान्थ्यो होला। त्यसपछि त्रिभुवन विश्वविद्यालयका सर्वमान्य मठाधीशहरू जान्थे होला। त्यसपछि रोजगार विभाग, श्रम कार्यालय हुँदै हरेक सरकारी कार्यालय खाली हुन्थे। म नेपाल हुँदै स्मार्ट लाइसेन्सको बायोमेट्रिक भरेर आएँ। अमेरिका आएको ६ महिनापछि बल्ल भतिजोले ल्याइदियो। मालपोत जग्गा पास गर्दा चार दिन धाएपछि पनि नसकेर म परदेश फर्किएँ। म आएको ७ दिनपछि बल्ल लालपुर्जा आएछ। मैले आफ्नो लालपुर्जासमेत देख्न पाएको छैन। यस्तो ढिलो गर्नेलाई एकैपटक १६ पोइन्ट दिएर अवकाश दिने प्रणाली कहिले आउला मेरो देशमा?
एकपटक DMV (Department of Motor Vehicles)मा लाइसेन्स रिन्यु गर्न गएको थिएँ। ठूलो लाइन थियो। सबैजना शिष्ट लाइनमै थिए। यहाँ लाइन मिच्नु र पाप गर्नु एकै हो। सबैले आफ्नो लाइन कुर्छन्। त्यही लाइनमा बैंक म्यानेजर र हस्पिटलका डाक्टर सँगै थिए। दीक्षान्त (छोरा) को डाक्टर र मेरो बैंकको म्यानेजरलाई चिनेँ। उनीहरू लाइसेन्स रिन्यु गर्न छुट्टी मिलाएर आएका रहेछन्। मेरो मन उत्तिखेरै DMV बाट नेपालको यातायात कार्यालयमा ल्यान्ड गर्यो। त्यहाँबाट सिधै गाउँ पुग्यो। मेरो गाउँका धेरै केटाहरूको लाइसेन्स घरमै आएको थियो। रिन्यु भएको ब्लुबुक घरमै पुगेको थियो। विदेश बस्ने साथीको लाइसेन्ससमेत घरमै आएको थियो।
कहिलेकाहीँ म गम खान्छु। पृथ्वीमा मान्छेको मस्तिष्क विकास हुँदै गर्दा हामी नेपाली कुन ग्रहमा टहलिँदै थियौं होला?
अहिले लाग्छ— देश चिन्न विदेश हिँड्नु पर्छ। देश बुझ्न परदेश बुझ्नु पर्छ।
हाम्रा शासकहरू त हरेक महिना देश-परदेश हिँड्छन्। तैपनि देश किन चिन्दैनन् ? देश किन बुझ्दैनन्?
बर्खा सकिएर घाम प्यारो लाग्ने बेला हरेक वर्ष साथी लेनिनले फेसबुकमा दशैंको काउन्टडाउन लेखेको देख्दा मेरो मन उत्तिखेरै प्लेनमा बसेर गुलरिया झरिसक्छ। तर, नागढुंगाबाट नौबिसे र बुटवलदेखि नारायणगढको नर्क सम्झेर म यतै क्यालिफोर्नियामै रोकिन्छु। त्यो कहालीलाग्दो बाटो सम्झेर म क्यासिनोमै थाक्छु। आँखा झप्प लाग्दा झसंग हुन्छु।
र, जुरूक्क उठ्छु। कसैगरी म उठिनँ भने? मलाई मेरो 'पोइन्ट १६' देखि असाध्यै डर लाग्छ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)