विज्ञानको पहिलो पाइला जिज्ञासा हो। व्यवस्थित र पद्धतिगत विज्ञानको सुरूआत हुनुअघि जिज्ञासाले नै आदिम विज्ञान धानेको थियो।
प्रख्यात दार्शनिक एरिस्टोटल लगायतको जिज्ञासाले जम्मा गरेका प्रश्नहरूले आधुनिक विज्ञानलाई जन्म दियो।
पहिलो वैज्ञानिकको श्रेय भने ग्यालिलियोलाई जान्छ। उनले पहिलोपटक विधि-प्रक्रिया अनुसार आफ्नो परिकल्पनाको परीक्षण गरेका थिए। तर उनीभन्दा अगाडिका दार्शनिकहरूका जिज्ञासा र कल्पनाको बाटोले नै ग्यालिलियोलाई सहज बनाएको थियो।
विज्ञानको विकासक्रममा धेरै वैज्ञानिकहरूले आ-आफ्नो सोचविचार छाडेर गएका छन्। तर ती विचार प्रयोग गरेर देखाउने वैज्ञानिकहरूको मात्र नाम चर्चामा आउँछ। बीचमा धेरै वैज्ञानिक आउँछन् र हराउँछन्।
त्यस्तै हराएकामध्ये एउटा वैज्ञानिक हुन् टिको ब्राहे।
धेरै हिसाबले बिर्सिन नहुने उनै वैज्ञानिक टिकोको आज जन्मदिन हो।
सन् १५४६ डिसेम्बर १४ मा डेनमार्कको नुड्स्ट्रुपमा जन्मेका उनको पूरा जिन्दगी रोचक छ।
उनी कुलीन परिवारमा जन्मेका थिए। बुबा अट्टो राजपरिवारका सल्लाहकार थिए। निवृत्त भएपछि हेल्सिन्बर्गको गभर्नर भएर बिताए। तर टिकोको जीवनमा पिता वा परिवारको अवस्था कस्तो थियो भन्ने कुराले असर गरेन। किनभने टिकोको जीवन जन्मदेखि नै अनौठो भयो।
उनका काका (अट्टोका भाइ) योर्गेनका सन्तान थिएनन्। योर्गेन र अट्टोको एउटा सम्झौता भएको थिए। अट्टोका छोरा जन्मिए भने योर्गेनलाई दिने सहमति दाइभाइबीच भएको थियो।
अट्टोकी पत्नीले जुम्ल्याहा सन्तान जन्माइन्। तर एकको गर्भमै निधन भएको थियो। अट्टो र उनकी पत्नीलाई फेरि अर्को बच्चा पाउन नसक्ने हो कि भन्ने डर भयो। त्यसैले अट्टोले बाँचेका छोरा आफ्ना भाइलाई दिन चाहेनन्। सम्झौता तोडे।
तर टिको दुई वर्षका नहुँदै उनका भाइ जन्मे। योर्गेनले यही मौकामा टिकोलाई अपहरण गरे र आफूसँगै लगे। उनीहरू डेनमार्कको टोस्ट्रुपमा बसे। टिको सानै भएकाले उनलाई धेरै समस्या भएन। काका धनाढ्य थिए। आर्थिक रूपमा पनि फरक परेन।
योर्गेनको अभिभावकत्वमा टिकोले सानैदेखि राम्रो शिक्षा पाए। योर्गेन उनलाई आफू जस्तै राजसंस्थामा राजनीतिज्ञ भएको देख्न चाहन्थे।
तर टिकोको जिन्दगीले अर्कै मोड लिइसकेको थियो। उनी ताराहरूमा अल्झिन थालिसकेका थिए।
२१ अगस्ट, १५६०। त्यो दिन युरोपमा सूर्य ग्रहण थियो। पोर्चुगलतिर पूर्ण सूर्य ग्रहण लागेको थियो डेनमार्कमा भने आंशिक।
त्यो देखेर टिको अचम्म परे — ग्रहण कसरी लागेको भनेर भन्दा पनि ठ्याक्कै यति बेला ग्रहण लाग्छ भनेर मान्छेहरूले अनुमान गरेको कसरी मिल्यो!
यस्तो कसरी हुन्छ भनेर उनलाई जान्न मन लाग्यो। उनी त्यही उत्सुकताको पछि लाग्न थाले। यो ध्याउन्नमा उनले आफ्ना काकाको इच्छा बिर्सिए। खगोल विज्ञानकै क्षेत्रमा उनको नाम चम्किँदै गयो। टिकोले धेरैजसो समय कोपेनहेगनमा खगोल विज्ञान र गणित पढेर बिताएका थिए।
उनले सन् १५६२ फेब्रुअरीमा डेनमार्क छाडे। आफ्नो पढाइ जारी राख्न जर्मनीको लाइप्जिक विश्वविद्यालय भर्ना भए।
काका योर्गेनले उनको रेखदेख र निजी शिक्षकका रूपमा काम गर्न आन्द्रेस भेडल नामका व्यक्तिलाई पठाएका थिए। काकाको इच्छाअनुसार टिकोले लाइप्जिकमा खासमा पढ्नुपर्ने कानुन थियो। तर उनको मन खगोल विज्ञानमै बसिसकेको थियो। काकाले पठाउने सबै पैसा खगोल शास्त्रमा प्रयोग हुने उपकरणहरूमा खर्च गर्थे।
टिकोले खगोल विज्ञानको आफ्नो ज्ञान बढाउँदै लगे।
यहीबीच एउटा दुर्लभ खगोलीय घटनाले उनको जीवनवृत्ति बदलिदियो।
१५६३ अगस्टमा शनि र बृहस्पतिको संयोजन भएको थियो। अर्थात् यी दुई ग्रह एकअर्काको यति नजिक आएका थिए कि, पृथ्वीबाट हेर्दा उनीहरू सँगै मिलेका देखिन्थे।
पहिले ग्रहणझैं, त्यो घटना हुन्छ भनेर धेरै अगाडि अनुमान लगाइएको थियो।
तर यसपालि टिकोले के थाहा पाए भने, मान्छेहरूले गरेको समयको हिसाब फरक थियो। उनीहरूले घटनाको ठ्याक्कै समय मिलाउन सकेका थिएनन्। कसैको अनुमानमा त एक महिनाकै फरक थियो। अनुमानमा शुद्धता नहुने र यसलाई सच्याउन सकिन्छ भन्ने कुरा टिकोले बुझे। त्यसपछि उनी त्यसमै लागे।
त्यो समयमा अहिले जस्ता उपकरण थिएनन्। साधारण टेलिस्कोप पनि थिएन। अन्य उपकरणकै आधारमा ग्रहहरूको रफ्तार, गति र चालको अध्ययन गरिन्थ्यो।
त्यस बेला चलेको उपकरण कम्पास हो। हामीले स्कुलमा गणित पढ्दा प्रयोग गर्ने जस्तै कम्पास। टिकोले भने त्यो बेलामा चल्दै आएको एउटा अर्को उपकरण आफ्नै हिसाबले बनाएका थिए। त्यसलाई क्रस स्टाफ वा रेडियस भनिन्छ। यो यन्त्रमा एउटा क्रस हुन्छ। त्यसको लामो भागतिरबाट कुनै स्थिर ग्रहमा हेरेर, त्यो ग्रह र अन्य ग्रह वा ताराहरूको कोण मापन गरिन्छ।
केही समयपछि त्यो यन्त्रबाट राम्रोसँग मापन नभएको र त्यसबाट लिएका तथ्यांक ठीक नभएको उनले चाल पाए। आफ्नो रेखदेख गर्न काका योर्गेनले राखेका भेडलले चाहिने कुराका लागि मात्र पैसा दिन्थे। त्यसैले टिकोले त्यो यन्त्र मर्मत गर्न सकेनन्। त्यसको सट्टा एउटा सुधार तालिका सिर्जना गरे। उनी आफ्नो पढाइ नसक्दै युरोपको यात्रामा निस्के।
त्यही समय उनका काका योर्गेन डेनमार्कका राजा फ्रेडरिक द्वितीयसँगै युद्धबाट फर्किँदै थिए। फर्किने क्रममा राजा पुलबाट खोलामा खसे। योर्गेनले खोलामा हाम फालेर राजालाई बचाए। त्यसपछि खोलाको चिसोले सायद निमोनिया भयो, योर्गेनको मृत्यु भयो। अनि योर्गेनको सबै सम्पत्ति टिकोको नाममा आयो।
अथाह सम्पत्ति पाएका टिकोलाई अब थप पढ्नपर्ने बाध्यता थिएन। तर पढाइमा उनको रूचि भएकाले विट्टेनबर्ग विश्वविद्यालयबाट ग्र्याजुएट भने भए।
उनको मुख्य चासो भने खगोल विज्ञान, ज्योतिष शास्त्र र रसायन शास्त्रमा थियो। त्यति बेला संसारभरि नै ज्योतिष शास्त्र चासोको विषय थियो। उनी पनि त्यसमा चासो राख्थे र ज्योतिष शास्त्रबाट अलिअलि आम्दानी पनि गर्थे।
टिकोको जिन्दगीले फेरि नयाँ मोड लियो।
सन् १५६६ अक्टोबर २८ मा चन्द्र ग्रहण थियो। त्यो बेला अटोमनका सुलतान सुलेमानको मृत्यु हुने भविष्यवाणी टिकोले गरे। उनको भविष्यवाणी मिल्यो। सुलेमानको मृत्यु भयो।
सुलेमानको मृत्युको कुराले टिकोको नाम रातारात फैलियो। तर त्यो चर्चा धेरै समय रहेन। किनभने, संयोगवश सुलेमान धेरै उमेरका थिए। र, टिकोले भनेको भन्दा केही समयअगाडि नै सुलेमानको मृत्यु भइसकेको खुलासा भयो।
त्यही वर्षको अन्त्यमा अर्का एक जना कुलीन घरका मान्छेले उनलाई सुलेमानको कुरा उठाएर जिस्क्याए। उनीहरूबीच तरबार हानाहानसम्म भयो। त्यही झगडामा टिकोले नाकको माथिल्लो भाग गुमाए। त्यसपछि उनी सुनको नाक लगाएर हिँडे।
टिकोको रोचक जिन्दगीमा धेरै सानातिना कुरा हुँदै गए। उनको जिन्दगीले रङ फेर्ने अर्को रोचक घटना भने ११ नोभेम्बर १५७२ मा भयो।
त्यो रात उनले आकाश नियाल्दै गर्दा क्यासियोपिया नक्षत्र (खुला आकाशमा हेर्दा अंग्रेजी अक्षर डब्लुजस्तो देखिने नक्षत्र) मा एउटा नयाँ र अनौठो तारा देखे।
त्यसअगाडि धेरै जसो एरिस्टोटलियन दर्शनमा आधारित बुझाइअनुसार तारा र नक्षत्रहरू निश्चित हुन्थे। फेरबदल हुँदैन थिए। पूर्ण वा सिद्ध रूपका हुन्थे। टिकोले एक्कासि आकाशमा नयाँ तारा देख्नुले त त्यो बुझाइलाई चुनौती दिन्थ्यो।
सुरूमा त उनलाई त्यो धूमकेतु वा पुच्छ्रेतारा हुनुपर्छ भन्ने लाग्यो। त्यो बेला पुच्छ्रेताराहरू धेरै माथि होइन, पृथ्वीको सतहभन्दा केही मात्र माथि हुन्छन् भन्ने बुझाइ थियो। त्यो पुच्छ्रेतारा नै हो त भनेर पत्ता लगाउन धेरै गाह्रो थिएन। नजिकैको तारा वा नक्षत्रको सापेक्षमा त्यो चलिरहेको छ कि छैन भनेर हेर्न पर्थ्यो।
रमाइलो के भयो भने, जब टिकोले त्यो ताराको मापन गरे, त्यो फिटिक्कै सरेन। अझै रोचक, तारा आकाशमा १८ महिना जस्तो बस्यो। तर चल्दै चलेन।
अन्त्यमा टिको त्यो तारा नयाँ नै रहेछ भन्ने निष्कर्षमा पुगे।
यसबारे लेख्दै उनले एउटा किताब निकाले — दे नोभा स्टेल्ला। यसैबाट हो अहिले आकाशमा देखिने त्यो तारालाई हामीले नोभा वा सुपरनोभा भनेर चिन्न थालेको।
त्यसपछि टिकोको नाम युरोपभरि फैलियो। डेनमार्कका राजाले उनलाई आफ्नै ठाउँमा राख्न सके देशको प्रतिभा बढ्ने भन्दै फकाउन थाले। कोपनहेगन र एल्सिनोरबीचको एउटा टापू नै उनलाई दिने विचार गरे।
सेक्सपियरको 'ह्याम्लेट' पढ्नुभएको छ भने एल्सिनोरबारे सुन्नुभएको होला। इतिहासमा ह्याम्लेट सायद टिकोकै कथा हो कि भनेर पनि अनुमान गर्दा रहेछन्।
राजाले टापू मात्र होइन, तलब पनि दिन्छु भनेपछि टिकोले नाइँ भन्न सकेनन्। उनी भेन नामको टापूतिर लागे। त्यहाँ उनले सम्भवतः त्यस बेलाको संसारकै सबभन्दा ठूलो अनुसन्धान केन्द्र खोले। त्यसपछिका अनगिन्ती समय आकाश नापेरै उनले बिताए।
आकाशका हरेक तारा र नक्षत्र नाप्न उनलाई वर्षौं लाग्यो। नियमित तलब र राज्य कोषबाट आउने पैसाले त्यस बेलासम्म राम्रा उपकरण जम्मा गरिसकेका थिए। र, वर्षौंको आकाश मापनबाट उनले कसैसँग नभएका तथ्यांक पनि जम्मा गरिसकेका थिए।
उनी राम्रो अवलोकन गर्ने भए पनि राम्रो गणितिज्ञ थिएनन्। त्यसैले आफूले जम्मा गरेका तथ्यांकको खासै प्रयोग गर्न सकेका थिएनन्।
उनले सन् १५७७ फेरि एउटा धूमकेतु देखे। अध्ययनपछि त्यो तारा पनि हाम्रो सतहनजिक होइन, धेरै टाढा छ भन्ने पत्ता लाग्यो। अर्थात् पहिले सोच्दै आएको जस्तो तारा र आकाश स्थिर रहेनछन्। यो अध्ययन र उनले जम्मा गरेका हजारौं तथ्यांकले पहिल्यैदेखि चल्दै आएका अनुमानलाई चुनौती दिए।
उनले फेरि पनि अर्को यस्तो तथ्य थाहा पाए जसले संसार हल्लाउँथ्यो। परे मान्छेहरूले उनलाई जिउँदै जलाउँथे।
त्यो तथ्य थियो — पृथ्वी सूर्यको वरिपरि घुम्छ!
त्यो बेला पृथ्वी बीचमा छ र सबै कुरा पृथ्वीको वरिपरि घुम्छ भन्ने मान्यता थियो। त्यो मान्यतालाई चुनौती दिनेलाई जिउँदै जलाइन्थ्यो। त्यसरी नै जलाइएका थिए जोर्दानो ब्रुनो।
त्यस्तो घटना देखेका टिकोले आफूले थाहा पाएको तथ्य सार्वजनिक गरेनन्। उनी पुरानै विचारधारा मान्थे।
आफ्नो तथ्यांकले देखाउँदा देखाउँदै पनि उनले मर्ने डरले हो या पहिलेका अधिकारीहरूको सम्मान वा विश्वासले, आफ्नो अध्ययनले देखाएको तथ्य बेवास्ता गरिदिए। आफ्नो अध्ययनले देखाएका परिणामले अर्कै कुरा भन्दा भन्दै पनि उनले टोलेमी नामक वैज्ञानिकले व्याख्या गरेको ब्रह्मान्डको मोडललाई नै सत्य मानेर बसे।
तर अन्तिममा टिकोले आफ्नो अध्ययनलाई आफ्नै तरिकाले व्याख्या गरेर एउटा मोडल संसारका अघि पस्किए — अन्य सबै ग्रहहरू सूर्यको वरपर घुम्छन्। सूर्य भने पृथ्वीको वरपर घुम्छ।
डेनमार्कमा उनलाई जागिर दिने राजाको निधनपछि उनका छोराले राज्य गर्थे। टिकोको तलब र सुविधा काटिँदै गएको थियो। त्यही ताका उनलाई चेक रिपब्लिकको प्रागमा आउने निम्ता आयो। राम्रो तलबसहित आफ्नो अनुसन्धान केन्द्र खोल्न तीन वटा महल र शाही गणितिज्ञको जागिर। उनले नाइँ भन्न सकेनन् र त्यता लागे।
उनको अवलोकन प्रागमा पनि निरन्तर चल्दै गयो। आफ्नो गणित गतिलो नभएकाले असुविधा भने हुन्थ्यो। त्यही बेला गणितमा धुरन्धर एक युवा आफ्नो नाम कमाउँदै थिए। उनी थिए योहानेस केप्लर।
संयोगवश टिको र केप्लरको भेट भयो।
अनि एकको अवलोकन र अर्कोको गणितीय दिमागले सधैंका लागि आकाशको इतिहास बदलिदियो।
उनीहरू सँगै काम गर्न थाले तर केप्लरलाई सजिलो भएन। टिकोले आफूले मेहनत गरेर जम्मा पारेका सबै तथ्यांक केप्लरलाई एकैचोटि दिन चाहेनन्। उनी टुक्रा टुक्रा गरी तथ्यांक दिन्थे। यसले गर्दा केप्लरलाई धेरै गाह्रो भएको थियो।
केप्लर राम्रोसँग आँखा नदेख्ने भएकाले आकाश अवलोकन गर्न सक्दैन थिए। केप्लरले राम्रोसँग काम गर्न टिकोको मृत्यु नै कुर्नुपर्ने अवस्था थियो। तर के थाहा, टिकोको मृत्युपछि पनि केप्लरले ती तथ्यांक पाउँथे कि पाउँदैन थिए!
सन् १६०१ मा टिको एउटा शाही कार्यक्रममा बसेका थिए। उनलाई पिसाब लाग्यो। कुर्सीबाट उठेर पिसाब फेर्न जान अपमानजनक हुन्छ भन्ने सोचेर उनी पिसाब रोकेरै बसे। आठ घन्टासम्म पिसाब रोकेछन्। यसले गर्दा मिर्गौला र पिसाब थैलीमा समस्या आयो। उनको मृत्यु नै भयो।
टिकोको मृत्युपछि उनले जम्मा गरेका तथ्यांक उनका छोराले पाउने थिए। तर केप्लरले पाए। यो सबै घटना थाहा पाएका कतिपयले केप्लरले नै पो टिकोलाई मारेका हुन् कि भन्नेसम्म अनुमान गरेका थिए।
यसरी टिको अनेकौं रोचक घटनाहरू सँगालेर बाँचे। बाँचुञ्जेल मात्र होइन, उनको मृत्युको तीन सय वर्षपछि पनि रोचक घटना भयो।
सन् १९०१ मा जिज्ञासु वैज्ञानिकहरूले चिहानबाट उनको शव झिके। परीक्षण गरे। उनको जुँगामा धेरै मात्रामा मर्करी (पारो) भएको पत्ता लगाए। यो तथ्यले टिकोलाई केप्लरले नै मारेका हुन् भन्ने अफवाहलाई झन् हावा दियो र कुरा फैलियो।
उनको शरीर सन् २०१० मा पनि निकालियो। यो अध्ययनले भने केप्लरलाई सफाइ दियो। टिको रसायन शास्त्रमा धेरै समय संलग्न भएको र सायद नाकमा राखिएको सुनमा मिसिएको मर्करीको मात्रा बढेकाले टिकोको मृत्यु भएको हुन सक्ने अनुमान लगाए।
केप्लरले टिकोको मृत्युपछि उनको काममा योगदान थप्दै इतिहास रचे। केप्लरको जिन्दगी पनि त्यत्तिकै रमाइलो छ। टिकोको अध्ययन र अवलोकनको तथ्यांकले के के कुरा पत्ता लगाए भन्नेबारे अर्को लेखमा लेख्नेछु।
आजलाई भने विज्ञानलाई दिशानिर्देश गर्ने वैज्ञानिक योद्धाको नाममा यति नै — ह्याप्पी बर्थ डे टिको ब्राहे!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)