डिप्रेसन मानसिक रोग हो। यो रोग वयस्क व्यक्तिलाई हुन्छ भन्ने धारणा धेरैमा छ।
सामान्यतया सधैं गर्दै आएका दैनिक काममा दिक्दार लाग्ने, केहीमा पनि रमाइलो नलाग्ने, मनोबल कमजोर हुने, कसैसँग बोल्न मन नलाग्ने, धेरै थकान महसुस हुने, खान मन नलाग्ने, छिटो रिसाउने, एकान्तमा एक्लै बस्न मन गर्ने जस्ता लक्षण केही महिना लगातार देखिनु डिप्रेसन हो।
समग्रमा डिप्रेसन भन्नु मनको उदासीनता हो।
यस्तो अवस्था बढ्दै जाँदा समयमै उपचार भएन भने मानिस आत्महत्यासम्म पुग्न सक्छ। आत्महत्या हुने कारणहरूमा डिप्रेसन नै मुख्य मानिएको छ।
डिप्रेसनले उमेर भन्दैन। बाल, किशोर, युवा, वृद्ध जुनसुकै उमेरको व्यक्तिलाई डिप्रेसन हुन सक्छ।
यो लेखमा म बालबालिकालाई हुने डिप्रेसनबारे चर्चा गर्नेछु। मैले बालबालिका भनेर १८ वर्ष उमेरसम्मकालाई लिएको छु।
यहाँ म मनोचिकित्सकले गर्ने उपचारको होइन; अभिभावक, समाज र विद्यालयको भूमिकाका बारेमा केही प्रकाश पार्ने प्रयास गर्नेछु।
डिप्रेसनका कारण र रोकथाम
डिप्रेसन हुनमा दुई मुख्य कारण रहेको पाइएको छ। पहिलो, वंशाणुगत कारण हो जसमा आमाबाबुलाई डिप्रेसन भएको थियो भने छोराछोरीमा सर्न सक्छ। यस्ता आमाबाबु आफ्ना छोराछोरीलाई पनि आफूलाई जस्तै भएको हुन सक्छ वा भविष्यमा हुनसक्छ भन्नेमा सचेत हुनुपर्छ।
आमाबाबुले आफ्ना साना छोराछोरीमा डिप्रेसनको कुनै लक्षण छ कि भन्ने विचार गर्नुपर्छ। सामान्यतया डिप्रेसनमा परेका बालबालिका खेल्न मन नगर्ने, नहाँस्ने, एक्लै बस्न रूचाउने, हेलमेलबाट टाढा हुने र बोल्न मन नगर्ने हुन्छन्।
यस्ता लक्षण देखिए भने मनोचिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ।
उल्लिखित लक्षणहरू अन्य मानसिक रोगमा पनि देखिने हुन सक्छ। यसकारण यस्ता लक्षणको शंका लाग्नासाथ मनोचिकित्सक वा मनोविदसँग परामर्श लिनुपर्छ।
दोस्रो हो बालबालिका हुर्किँदै गरेको पारिवारिक र सामाजिक वातावरण, बालबालिकासँग हुने व्यवहार।
यसमा पारिवारिक वातावरण, सामाजिक वातावरण, विद्यालयमा हुने क्रियाकलाप इत्यादि पर्छन्।
बालबालिका खुसी वा दुःखी हुने अवस्था धेरै हदसम्म घरपरिवार, समाज र विद्यालयको वातावरणमा भर पर्छ। मनमा गहिरो असर पर्ने कुरा र क्रियाकलापले बालबालिकाहरू दुःखी हुन्छन्। यस किसिमले मनको दुःख बढ्दै गयो भने डिप्रेसन सुरू हुन सक्छ।
घरमा आमाबाबु वा परिवारका अन्य सदस्यहरूले बालबालिका कुनै पनि किसिमले दुःखी हुने व्यवहार गर्नु हुँदैन। मनमा डर हुने गरी बोल्नु वा व्यवहार गर्नु हुँदैन। कुनै पनि तरिकाले त्रासमा राख्नु हुँदैन।
यस्ता कारणले मनमा डर लागेका बालबालिकाहरू आफ्ना अभिभावकलाई पनि मनका कुरा भन्न नसक्ने हुन्छन्। लामो समय यस्तो अवस्था रहँदा डिप्रेसन हुने अधिक सम्भावना हुन्छ।
बालबालिकाहरू आफूले अनुभव गरेका, देखेका र सुनेका कुरा आमाबुबा वा अन्य अभिभावकलाई सुनाउन उत्सुक हुन्छन्। यो उत्सुकता कहिल्यै पनि मर्न दिनु हुँदैन। बरू अझ बढाउनुपर्छ। आफ्नो कुरा भन्न प्रेरित गर्नुपर्छ। आफ्नो कुरा भनेपछि उनीहरू खुसी हुन्छन्। खुसीले डिप्रेसन रोकथाममा मद्दत गर्छ।
परिवारिकपछि आउँछ सामाजिक वातावरण।
समाजमा बालबालिकाबीच ठूलो–सानो, राम्रो–नराम्रो, बाठो–सोझो, ज्ञानी–अज्ञानी, गोरो–कालो, पढ्न जान्ने–नजान्ने, यो जात–ऊ जात जस्ता तुलनाले उनीहरूमा नकारात्मक असर पर्छ।
प्रत्येक बालबालिकाको आआफ्नै व्यक्तित्व हुन्छ। एकअर्काको तुलना गर्नु असल व्यवहार होइन। यस्तो व्यवहार डिप्रेसनका लागि अनुकूल हुन्छ।
बालबालिकाहरू आफ्नो मनको दुःख प्रकट गर्न सक्दैनन् वा प्रकट गर्ने अवसर पाउँदैनन्। मनको कुरा भन्न नसकेपछि बिस्तारै उनीहरू निराश हुन थाल्छन् र मनोबल कमजोर हुँदै जान्छ। यस्तो अवस्था थाहा नपाउँदा डिप्रेसनका लक्षणहरू देखिन्छन्।
समाजमा यस्तो अवस्था पहिचान गरेर परिवारका सदस्यलाई सल्लाह दिनेभन्दा पनि उपहास गर्ने प्रवृत्ति हुन सक्छ। डिप्रेसन हुन थालेको थाहा नपाएर अल्छी भएको, नपढेको, नबोलेको भनेर घरमा गाली खाने वा सजाय पाउने पनि हुन सक्छ। यसले डिप्रेसन झन् बढाउँछ।
समाजका शिक्षित तथा सचेत व्यक्तिहरूले आफू वरिपरिका बालबालिकाहरूको गतिविधि थाहा पाउनु राम्रो हुन्छ। यस्ता व्यक्तिहरूले जनचेतना फैलाउन पनि काम गर्नुपर्छ।
बालबालिकाको व्यक्तित्व विकासमा समाजको गहन भूमिका हुन्छ। सामाजिक गतिविधिहरूमार्फत बालबालिकाको मनोबल उच्च बनाउन, उनीहरूको प्रतिभा उजागर गर्न र आत्मविश्वास जगाउन सामूहिक तथा संस्थागत प्रयास गर्न सकिन्छ।
विद्यालयको वातावरण अनुकूल नहुँदा पनि बालबालिका डिप्रेसनमा पर्ने सम्भावना हुन्छ। विद्यालय परिसर वा कक्षाकोठामा हुने बुलिइङले कतिपय बालबालिकामा गम्भीर असर पर्ने हुन्छ।
सहपाठीले उपहास गरेर हाँस्ने, गिज्याउने, आरोप लगाएर जबजस्ती दोषी देखाउने, सजाय दिने, आफ्नो काम अह्राउने जस्ता क्रियाकलाप गर्नु बुलिइङ हो। खासमा बुलिइङ भनेको दुर्व्यवहार नै हो। यस्तो बुलिइङमा पर्ने बालबालिकाले आफूलाई एक्लो र हेपिएको महसुस गर्छन्। यही कारणले डिप्रेसनको सम्भावना हुन्छ।
आफूले भोग्नु परेको दुर्व्यवहारको घटना घरमा भन्न पनि सक्दैनन्। घरमा भन्नु जोखिम हुन सक्छ। यस्तो अवस्थामा परेका बालबालिकाहरू विद्यालय जान अनिच्छुक हुन्छन्।
यसमा अभिभावक सचेत हुन आवश्यक हुन्छ। स्कुल जान अनिच्छुक हुनुको कारण थाहा पाउनुपर्छ। विद्यालय प्रशासनलाई जानकारी गराएर परिस्थितिमा सुधार ल्याउन मद्दत गर्नुपर्छ।
कहिलेकाहीँ शिक्षककै कारणले पनि बालबालिका डिप्रेसनमा पर्ने हुन सक्छ। पढाइमा कमजोर भएको, लगातार अनुपस्थित भएको, गृहकार्य नगरेको वा अनुशासन भंग गरेको वा यस्तै कुनै आरोपले तनाव भोग्नुपर्ने अवस्थामा पुगेका बालबालिकालाई डिप्रेसन हुने अधिक सम्भावना हुन्छ।
यस्तो अवस्था हुन नदिन प्रधानाध्यापक र शिक्षकहरू सचेत रहनुपर्छ। बालबालिकाले विद्यालयमा सम्मानजनक वातावरण पाउनुपर्छ। कुनै पनि कारणले अपमान बोध हुन दिनु हुँदैन।
सम्मानको वातावरण सिर्जना गर्ने काम प्रधानाध्यापक र शिक्षकहरूकै हो। बालबालिकाले विद्यालयमा म सम्पूर्ण रूपले सुरक्षित छु भन्ने महसुस गरेको हुनुपर्छ।
सामान्यतया बालबालिकामा १०–१२ वर्षको उमेरमा डिप्रेसन देखा पर्न सक्छ। अझ १४ देखि १८ वर्ष उमेर समूहमा डिप्रेसन हुने सम्भावना बढी हुन्छ।
डिप्रेसन हुने कारण र लक्षणहरू थाहा पाएपछि रोकथाम गर्न सकिन्छ। डिप्रेसनको अवस्थामा पुग्नै नदिन परिवार र विद्यालय बढी सजग रहनुपर्छ। यसमा समाजका अगुवाहरूको पनि भूमिका हुन्छ।
डिप्रेसन भएपछिका उपायहरू
सजगता हुँदाहुँदै पनि बालबालिकालाई डिप्रेसन हुन सक्छ। यसो भएमा परामर्श र उपचारका लागि मनोविद र मनोचिकित्सकलाई भेट्नुपर्छ।
आमाबाबु–अभिभावकले डिप्रेसनका कारणहरू के के हुन् भनेर जान्न जरूरी हुन्छ। वंशाणुगत कारणले डिप्रेसन भएको हो भन्ने टुंगो लागेमा सोहीअनुसार उपचार गराउनुपर्छ, परामर्श लिनुपर्छ।
पारिवारिक, सामाजिक वा विद्यालयका कारणले भएको हो भने पनि परामर्श र उपचार आवश्यक हुन्छ। सुरूसुरूमै थाहा भयो भने चाँडै निको हुन्छ। अलिक जटिल अवस्था भएको छ भने उपचार लम्बिन सक्छ तर निको नहुने हुँदैन।
डिप्रेसनको उपचारमा हौसला र तिम्रा लागि म छु, हामी छौं भन्ने भरोसा अत्यन्त महत्वपूर्ण हुन्छ। यसर्थ हामी सबै सजग रहौं, बालबाबालिकालाई डिप्रेसनको सिकार हुनबाट जोगाऔं।
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)