केही दिनअगाडि मेलवर्नस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा देवीदेवताहरूको मूर्ति जीवन्यास तथा प्राणप्रतिष्ठा गरियो। कार्यक्रममा संस्था अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पुरूषहरू मूर्ति वरिपरि, गुरूहरूको माझ व्यस्त हुनुहुन्थ्यो।
त्यही समयमा एक जना महिला 'ला! म पनि यतिखेर नै मिन्स हुनुपर्ने! कस्तो अभागी!' भन्दै कारपार्कतिर लागेको देखेँ। भगवानको दर्शन गर्न आउनुभएको उहाँ पाप लाग्ने डरले भगवानलाई नै नछोइ फर्किनुभयो। महिनावारी भएकै कारण भगवानलाई भेट्न नपाएकोमा उहाँ खिन्न हुनुभएको थियो।
मन्च र मूर्ति वरिपरि व्यस्त गान्धीजीलाई नियालेँ र सोचेँ – यदि गान्धीजीको ठाउँमा आज रजस्वला बार्ने कुनै महिला अध्यक्ष भएको भए उहाँ के गर्नुहुन्थ्यो होला? वा बिहानै महिनावारी भएको भए कार्यक्रममा आउनुहुन्थ्यो कि हुन्थेन होला? आएको भए अलग्गै बसेर अध्यक्षताको भूमिका निर्वाह गर्नुहुन्थ्यो? कि बीचमै उठेर हिँड्नुहुन्थ्यो?
त्यही ठाउँमा यसपालिको तीज कार्यक्रम भएको थियो। मैले एक जना साथीलाई बिहानै आज तीजमा जाऔं है भनेँ।
उनले भनिन्, 'जान त मन थियो निरू, तर आज दुई दिन (महिनावारी भएको)। जानीजानी मन्दिर कसरी पो जाने यार!'
मैले उनलाई सम्झाउन खोजेँ। उसले मानिनन्।
मैले अलिकति कर गरेर भनेँ, 'यदि पेट दुखेको छ, सन्चो छैन, आराम चाहेको हो भने घरै बस। तर भगवान छुन हुँदैन भनेर मन्दिरमा जानै नहुने र नाचगान गर्ने नहुने भन्ने कुरा म विश्वास गर्दिनँ।'
उनले मलाई भनिन्, 'कर नगर न यार, कहाँ त्यस्तो पवित्र ठाउँमा जाने! पाप लाग्छ। जादिनँ भनेपछि भैगो नि।'
अनि मैले केही कर गरिनँ।
उनीजस्तै मेरी अर्की साथी पनि छिन्। उनी भान्सा र मान्छेसँगको छोइछाइ बार्दिनन्। तर मन्दिर नजाने र प्रसाद ग्रहण नगर्ने भन्छिन्।
विदेशमा बस्ने मेरा यी साथीहरूले महिनावारीबारे राखेको धारणा देख्दा लाग्छ – हामीले विदेशमा हाम्रो कला, संस्कृति, भाषा, संस्कार, रीतिरिवाज, प्रथा जर्गेना गर्नुपर्छ भन्ने दौडमा महिनावारी बार्ने परम्परा पनि कट्टर भएर जोगाइरहेका छौं।
श्रद्धा, भक्तिभाव, शुद्ध मन, पवित्र आत्मा लिएर जब एक महिला मन्दिर जान्छिन्, तब अचानक दैलोमै रजस्वला भएपछि, 'अब म अशुद्ध भएँ, अपवित्र भएँ, पाप बोक्ने भएँ' भन्ने चिन्ता र मानसिकता बोकेर फर्किन बाध्य हुनु कति उचित हुन्छ?
मासिकधर्म निर्वाह गर्ने एक महिला त्यो अवस्थामा मन्दिर जाँदैमा कसरी अधर्मी हुन्छे?
महिनावारी भएर सृष्टिलाई चलायमान गरिरहेकी एक महिला त्यो अवस्थामा कसरी अचलायमान हुन्छे?
धर्तीले उनको योनीको रगत छोएर नै जीवनचक्र चलाउँछ भने उनी नछुने कसरी भइन्?
यदि सृष्टि रजस्वलाले चलाएको छ भने के सारा जगत पाप हो त?
प्राय सबै धर्मले भगवान हाम्रो शरीरको कणकणमा छन् भन्छन्। भगवान हाम्रो हरेक अंग, आत्मामा छन् भने आफ्नो आत्मालाई नै नछोइ, आफ्नो अंगलाई नै नछोइ एक महिलाले कसरी महिनावारी बार्छिन्? आफ्नो मन मस्तिष्कलाई नै पर सारेर उनी कसरी उनी कसरी बाँच्छिन्?
भारत गुवाहाटीको कामाख्या देवीको मन्दिर खुब प्रख्यात छ। उक्त मन्दिरमा अवस्थित देवीको योनीबाट सधैं पानी आउँछ र देवी महिनावारी पनि हुने विश्वास छ। त्यहाँ तिनै देवीको संगत प्राप्त गर्न र योनीको पूजा गर्न लाखौं भक्तजनको भीड लाग्छ। देवीको योनी र रजस्वलालाई पूजा गरे कृपा मिल्ने, मोक्ष तथा विभिन्न मनोकांक्षा पूरा हुने विश्वास छ।
महिनावारीमा भगवान छोए पाप लाग्ने हो भने कामख्या देवीको दर्शन किन गरिन्थ्यो होला? देवीको योनीबाट आएको रातो पानी पवित्र जल किन मानिन्थ्यो होला?
एक महिलालाई महिनावारीमा 'अपवित्र' मान्ने यो कस्तो कुरा हो?
मेरो आफ्नो कुरा गर्ने हो भने म महिनावारी बार्दिनँ। नुवाइधुवाइ गरेर पूजा पनि गर्छु। तुलसीलाई पानी हाल्छु। मैले मान्ने भगवानको जप र स्तुती पनि गर्छु। त्यो अवस्थामा सन्चो भएन भने आराम गर्छु।
कसैले मन्दिर र घरको चुलोचौको बार्नुहुन्छ र म महिनावारी भएका बेला उहाँहरूको घर पुगेँ भने उहाँहरूको मान राखिदिन म अलिकति ख्यालसम्म राखिदिन्छु। पाप र धर्म, पुण्य र श्रापको डरले भने केही गर्दिनँ। महिनावारीमा मेरो शरीर कमजोर भए सुतेर बिताइदिन्छु। नभए म तीर्थधाम पनि धाउँछु।
मेरो पहिलो महिनावारी हुँदाको क्षण आज पनि सम्झना छ। फागुन महिनामा म बाह्र वर्ष लागेकी थिएँ।
वैशाखमा घरमा पूजा थियो। म खेलिरहेकी थिएँ। एक जना काकीले बोलाएर मलाई पाखुरामा बेस्सरी चिमोट्नुभयो र भन्नुभयो, 'अलि कुप्रेर खेल्, छाती उक्सिन थालेछ। अनि यो टिमिक्क पाइन्ट र टिर्सट नलगा, खुरूक्क कुर्ता लगाएर सलले छाती छोप्ने गर्।’
त्यतिखेर उहाँले मेरो पाखुरा मात्रै होइन, मन पनि चिमोट्नुभयो। मन र शरीरको दुखाइले त्यो दिन ट्वाइलेटमा गएर पनि रोएँ। मेरो छाती उक्सिँदैमा किन म कुप्रेर हिँड्नुपर्ने भन्ने सोचेँ। हिजोसम्म मलाई त्यति ख्यालै नभएको त्यो कुरा उहाँले मेरो मनमा त्यो दिन यसरी गाडिदिनुभयो, पूजामा आएको सबै मान्छेले मेरो छाती हेरिरहेको छ कि भन्ने भयो। अनि मेरो मनमा त्यस दिनपछि नराम्ररी डर पस्यो। म त्यही दिनदेखि अलिअलि कुप्रेर हिँड्न थालेँ।
पूजाको पर्सिपल्ट बिहानपख ट्वाइलेट जाँदा पिसाब होइन रगतको धारा बग्यो। मेरो सातो गयो। सबभन्दा पहिला बुबालाई रूँदै बोलाएँ। बुबा आत्तिँदै आउनुभयो। मैले ट्वाइलेट भित्रबाटै बुबालाई पिसाबसँगै रगत आइरहेको छ भनेँ। अनि बुबाले आमालाई पठाइदिन्छु भन्नुभयो।
आमा आउनुभयो र हेर्नुभयो। अनि भन्नुभयो, 'ल ल यो त नछुनी भइछ! यसलाई लुकाउन लानुपर्यो।'
आमाले मलाई ट्वाइलेटबाट ननिस्की भन्नुभयो। मलाई सात दिन लुकाउने तयारीतिर लाग्नुभयो। अनि ट्वाइलेटबाटै अपहरण शैलीमा बाटोमा कसैको अनुहार हेर्न नलगाई मलाई अर्की काकीको एउटा खाली घरमा लानुभयो।
बाटोमा हिँड्दै गर्दा सबैले मलाई नै हेरेको जस्तो लाग्यो। आमालाई बाटामा महिलाहरूले कहाँ हिँडेकी भनेर सोध्धे। आमा हावाले पनि सुन्ला जस्तो गरेर 'छोरी नछुनी भई, लुकाउन लान खोजेको' भन्नुहुन्थ्यो।
काकीको त्यो खाली घर बाहिरबाट हेर्दा सुन्दर थियो। भित्र भने केही फर्निचर नभएकाले केही बोल्यो भने पनि आफ्नै आवाज ठोक्किन्थ्यो।
'यो घरमा कतिदिन बस्ने?,' मैले डराएर आमालाई सोधेँ।
'सात दिन,' आमाको जवाफ थियो।
'सात दिनसम्म एक्लै यो खाली घरमा बस्ने?,' मैले आत्तिएर सोधेँ।
'अँ सात दिनसम्म तैंले कोही केटा मान्छेको मुख र घाम नहेरी बस्नुपर्छ,' काकी र आमा भएर त्यसपछि मैले सात दिन गर्न हुने गर्न नहुर्ने कुराहरू सिकाउन थाल्नुभयो।
'कोही केटा मान्छेको मुखमा नहेर्नू रे। केही परे काकीलाई भन्नू। एक्लै सुत्न नडराउनू। डर लागे दिदीबहिनीलाई बोलाएर छुट्टै ओछ्यान लगाएर नछोइ सुत्नू भन्नू। बिहानको घामको मुख नहेर्नू। कपाल नकोर्नू। आफूले खाएको भाँडा आफैं माझेर कसैले नछोइने ठाउँमा घोप्टाएर राख्नू। जतापायो त्यतै नछोइ अलग्गै बस्नू। रगतको टालो दिनमा तीनपटक फेर्नू। किताब नछुनू। भगवानलाई नढोग्नू, नसम्झिनू। तीन दिनमा कपाल सबै नुवाउनु अनि ओछ्यानका कपडा सबै फेरेर एउटा कुनामा राखिदिनू। चार, पाँच र छ दिनमा शरीर पखाल्नू। सातौं दिन कपालसहित पूरै शरीर नुहाउनू। अनि घर आउनू।'
यो सबै सुनेर म अलमल्ल परेकी थिएँ।
आफूसँगै सुत्ने छोरी छुट्टै ओछ्यान लगाएर सुत्नुपर्दा आमा भावुक हुनुभएको थियो रे।
'यसको राम्ररी हेरचाह गर है, खाना चाँहि मै पठाइदिन्छु। यसो चाउचाउ, चिसो केही खान मन गरे ल्याइदिनू। पछि म पैसा दिऊँला,' आमाको बोली झर्न नपाउँदै काकीले भन्नुभयो, 'कहाँ खाना बनाएर पठाउने, यतै खान्छे, केही खान मन गरे त्यो पनि हेर्छु' भन्नुभयो।
काकीलाई धेरै दुःख नदे भन्दै आमा मलाई छाडेर जानुभयो।
स्कुलबाट फर्केर आएपछि आमा घरमा नहुँदा आमा खोज्दै हिँड्ने म त्यो दिन आमा आँखाअगाडि नै मलाई छोडेर जाँदा रोक्न सकिनँ। खप्नै भएन अनि कोठामा गएर सिरानीले मुख छोपेर खुब रोएँ।
बेलुका काकीले खाना ल्याइदिनुभयो। खाना खाएर आमाले भने जसरी नै भाँडा पखाली घोप्टाएर राखेँ। काकीले बेलुका मसँग सुत्न भनेर कोपिलालाई पठाइदिनुभयो। उहाँले मलाई टालोको प्याड कसरी लगाउने भन्ने सिकाइदिनुभयो।
भोलिपल्ट बिहान ओछ्यानमै मैले चराको आवाज सुनेँ। अनि मैले नियम तोडेँ। झ्याल खोलेर सूर्य हेरेँ। डाँडामा उदाएको सुन्तले घाम एकदमै सुन्दर थियो। धेरैबेर हेरेँ। चराको चिरबिर सुनेँ। यो कुरा कसैलाई भनिनँ।
स्कुल छुटेको थियो। साथीहरू सम्झिएँ। उनीहरूले थाहा पाए भने बेइज्जत हुन्छ भन्ने जस्तो लाग्यो। लाजले रातोपिरो पनि भएँ।
दिउँसो बाहिर आमाको आवाज सुनेँ। दौडिँदै बाहिर गएर आमालाई हेरौं जस्तो लाग्यो। तर मलाई लगाइएको बन्देज सम्झिएँ। आमाले होआलु चप, चउमिन र चिसो ल्याउनुभएको रहेछ। मिठो मानेर खाएँ। आमा फर्केपछि मन अमिलो भइहाल्यो।
त्यो खाली घरमा एक दिन कटाएर त्यसरी बस्दा मलाई साह्रै दिक्क लागेको थियो। कोपिलालाई फकाएर कथाका किताब वा कापीकलम ल्याइमागेँ। कोपिलाले 'हुँदैन, कसैले देखे भने गाली गर्छन्' भन्नुभयो। मैले जिद्दि गरेँ। कविता लेखेर सुनाउँछु भनेँ। अनि कोपिलाले ल्याइदिनुभयो। मैले अर्को नियम तोडेँ। त्यसपछि त मेरो दिनचर्या कि किताब पढ्ने कि लेख्ने भयो।
आमा र काकीले मलाई भगवान नसम्झिनु भन्नुभएको थियो। तीन दिनमा नुवाएपछि मलाई बाहिर निस्कन मन लाग्यो। आमाले लुगा धुने एक जना मान्छे पठाउनुभएको थियो। आफू आउन भ्याउँदिनँ भनेर उहाँलाई खबर पनि पठाउनुभएको रहेछ।
दिदी आमाको सन्देश दिएर लुगा लिएर जानुभयो। उहाँ गएपछि म बाहिर खुला हावामा निस्किएँ। वरिपरि वातावरण सुनसान थियो। सायद काकीहरू पनि बाहिर जानुभएको थियो। म दौडिँदै, उफ्रिँदै काकीहरू बस्ने घरको आँगनमा गएँ। त्यही आँगनबाहिर सानो कृष्ण मन्दिर थियो। भगवान देख्नेबित्तिक्कै ढोग्ने बानी मेरो। ढोगेर टीका र फूल लगाइहालेँ।
मैले जानीनजानी फेरि अर्को नियम तोडेँ।
बेलुका कोपिलाले मेरो शिरमा रातो टीका देखेपछि डराउनुभयो। साबुनपानीले घोट्न लगाउनुभयो। टीका निधारबाट गएपछि धेरै घोटेर रातो दाग चाँहि बसिहाल्यो।
भोलिपल्ट आमा आउनुभयो। आमालाई देखेर मैले खुसीले आँसु नै झारेँ। आमासँग रिसाउन मन लाग्यो। झगडा गर्न मन लाग्यो।
मेरो रगत कम आउन थाल्यो, अब मलाई घर लानू भनेँ। आमाले अझ तीन दिन पर्खिन भन्नुभयो।
त्यो दिन बेलुका काकीले मलाई खाना खान घर नै बोलाउनुभयो। म खुसी हुँदै गएँ। काका र दाइ हुनुहुन्थ्यो। काकीले काका र दाइको अनुहार नहेरी एउटा कुनामा बसेर खान भन्नुभयो। तर दाइ काठमाडौंबाट केही समयका लागि आउनुभएकाले बोल्न मन लाग्य। अनि त मुखमा हेरेर बोलिहालेँ।
काकीले "जे नगर भन्यो त्यही गर्ने' भन्नुभयो। दाइले भने 'ह्या आमा केही हुँदैन' भन्नुभयो। काकाले पनि मलाई तल घरमा डर लागेको छ कि छैन भनेर सोध्नुभयो। अनि त म काका र दाइसँग मजाले बोल्न थालिहालेँ। त्यो दिन फेरि मैले अर्को नियम तोडेँ।
पाँच दिनको दिन कोपिलालाई फकाएर कपालमा तेल हालेर बाटिदिन भने। मेरो कपाल घुम्रे भएकाले चार दिनसम्म नकोर्दा लट्टा परेको थियो। जरा दुख्न थालेको थियो। कोपिलाको पनि मेरो जस्तै कपाल भएकाले होला, मेरो पीडा बुझ्नुभयो। तेल लगाएर मैले भनेजसरी बाटिदिनुभयो।
त्यो दिन अर्को नियम तोडेँ।
सातौं दिन मेरो दाइ मेरा लागि नयाँ कपडा लिएर आउनुभयो। अघिल्लो दिनदेखि भोलि त घर जाने भनेर पलपल गन्न थालेकी थिएँ। त्यो दिन त राम्ररी निद्रा पनि लागेन। घाम उदाउनुअघि नै म घर जान तयार भएर बसेकी थिएँ, दाइको बाटो हेर्दै। दाइ बिहान चिया खाने बेलामा बल्ल आउनुभयो। मलाई कपडा दिनुभयो। काकीले मलाई सुनपानी छर्किदिनुभयो।
म रमाउँदै घर आएँ। आमाले आज एक दिन अझै बार्नुपर्छ भन्नुभयो। त्यो दिन बाहिर बसेरै खान भन्नुभयो।
आमाले मुछेर दिएको केरा, दूधभात खाँदै गर्दा मलाई चिमोट्ने काकी आएर फेरि गिज्याउनुभयो। उहाँले होच्याएर, अभद्र, र नमिठो बोल्नुभयो। मेरो गाँस नै अड्कियो।
आमा मलाई दूध थपिदिन आउँदै हुनुहुन्थ्यो। उहाँ फेरि प्वाक्क बोल्नुभयो, 'अब तेरो भैंसीको थुन सुक्ने भयो।'
आमा केही नबोली दूध थपेर जानुभयो।
काकी रोकिनुभएन। के केमा बन्देज लाउने भनेर फलाकिरहनुभयो।
केही महिनापछि तीज आयो। आमाले अब पन्चमी नुवाउनु पर्छ भन्नुभयो। मलेखुको गंगामा गएर आमाहरूसँगै पन्चमी पूजा गरेँ। एउटा सानो भुड्को लिएर दुर्गा मन्दिर गएँ। हामी लहरै धेरै केटीहरू थियौं।
पण्डितले 'आजदेखि तिमीहरू कन्या केटीहरू रहेनौ' भन्नुभयो। उहाँले यसरी भन्दा झन् रून मन लाग्यो।
पूजा गर्दै जाँदा पण्डित बाजेले भन्नुभयो – प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो। हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए। इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए। यसैकारण उब्जनी नहुने भूमि, वृक्षबाट निस्किने खोटो, पानीमा निस्किने फिँज र स्त्रीमा रजस्वला देखिन थालेको धार्मिक विश्वास छ। त्यसैले यो अशुद्ध हो र यसलाई अलग्गै राखिनुपर्छ भनियो। पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पाप छन्, तीबाट मुक्त हुन व्रत गर्ने र सप्तऋषिको पूजाअर्चना गर्ने चलन छ।'
मलाई यो कुरा चित्तै बुझेन।
यो कथाको नमिलेजस्तो लाग्यो।
अनि पण्डित बाजेलाई नै सोधेँ, 'इन्द्रको पाप हामीमाथि लगाउने हो त? हामी किन इन्द्रको पाप बोक्ने, किन भागीदार हुने? रजस्वला पाप हो भने यहीँबाट निस्केका हामी सबै पापी हौं। अनि पापमोचन चाँहि हामीले मात्रै गर्ने?'
मैले यसरी प्रश्न गर्दा साहिँला बुबाको छोरी सविता खुब हाँसिन्।
'ध्यान दिएर कथा सुन नानी, यसरी धेरै प्रश्न गरे देवता रिसाउँछन्, फेरि पाप लाग्ला तिमीलाई' पण्डितले यसो भन्दै मलाई डर देखाई देखाई पूजा गराउनुभयो।
मेरो मनमा भने रजस्वलाको नाममा महिलाहरूलाई न चाडबाड मनाउन दिइन्छ, न पूजाआजा गर्न! सबैमा बन्देज छ' भन्ने लागिरहन्थ्यो।
एकदिन म महिनावारी भएकी थिएँ। मामाघरको बाटो जाँदै थिएँ। तिनै चिमोट्ने काकी बारीमा फर्सीको बेर्नामा पानी हाल्दै हुनुहुँदो रहेछ। उहाँसँग बोल्नुपर्छ भनेर म बाटो छलेर जाँदै थिएँ। उहाँले देखिहाल्नुभयो।
जाँदाजाँदै त्यो धारा बन्द गरेर जान भन्नुभयो। उहाँले पहिले भनेका कुरा सम्झिएँ। रिस उठ्यो। महिनावारी भएको नभनी धारा बन्द गरिदिएर आफ्नो बाटो लागेँ।
महिनावारी हुँदा बार्ने र छोइछाइ गराउने कुरा सबै हामीभित्र पसाइएको डर हो। वास्तवमा पूजा गर्न तन र मन पवित्र हुनुपर्छ।
महिनावारीका नाममा बार्न लगाउनु मानवता विरोधी काम हो।
मुलुकी अपराधसंहिता २०७४ ले पनि अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था गरेको छ। महिनावारी वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि गरिएको छ।