ऊ रोएको देख्दा म पनि भावुक भएँ।  ऊसँगै म पनि रोएँ, हामीसँगै रुन थाल्यौं। घन्टौं रोएपछि उठेर हिँड्दा रात परिसकेको रहेछ।
आभास र म बाल्यकालको साथी थियौं। आभासको बुवा बाल्यकालमै बितेपछि मेरोभन्दा उसको बाल्यकाल अलि बढी संघर्षमा बितेको थियो। पढाइमा अब्बल भएर पनि घरायसी परिस्थितिले अठ्याउँदा उसले पढाइलाई निरन्तरता दिन सकेन। दश कक्षाको परीक्षा सकेपछि साथीहरू पढ्न सहर पस्दा आभास घरको व्यवहार मिलाउन मुग्लान पसेको थियो। 
सानै उमेरमा उसलाई परिस्थितिले  पाको बनाइसकेको थियो।  केही वर्ष मुग्लानमा पसिना बगाएपछि ऊ  बिरामी पर्यो। 
हेरचाह र रेखदेख गर्ने कोही भएनन्। उसलाई सात समुद्रपारि आएकोमा ग्लानी  भयो। जतासुकै अँध्यारो देख्यो  यो मरूभूमिमा कोही नभएजस्तो अनुभव गर्यो र एउटा कठोर निर्णय लियो नेपाल फर्किने।  
ऊ नेपाल फर्केको पनि आज पाँच वर्ष पुगिसकेछ।  विदेशबाट फर्केपछिको पहिलो  भेट हो यो ऊसँगको।  आजको दिन हामीसँगै बिताउँदै छौं।  
कफीको चुस्कीसँगै हामी गफिएका छौं। उसले आफ्नो विगत सुनाउँदै छ म कफीको गुलियोमा उसको तीतो विगत सुन्दैछु।
'नेपाल फर्केपछि के गर्ने  झन् अन्योलको वातावरण बन्यो यार अग्रिम', उसले आफ्नो कहानी सुनाउन सुरू गर्याे।  
घरको ऋण तिरिसकेको हुनाले अलि सहज भने भएको थियो। त्यस कारणले पनि होला नेपाल फर्केको केही महिनामा मैले फेरि पढ्ने चाहनालाई अगाडि बढाउने अठोट गरेँ।
बिहानी सत्रमा पढाइ र दिउँसोमा सामान्य खर्च टार्न जागिर! फेरि नेपालमा दैनिकी सुरू भयो। 
बुढी भएकी आमालाई औषधी र सहरमा बसेर पढ्न जेनतेन पुगेको नै थियो तर अचानक हृदयघातको कारण आमा समेत गुमाउनु पर्यो। 
खै भगवान पनि छन् भनौं या छैनन्। जसलाई दु:खको पहाड छ, उसैलाई फेरि दु:ख दिने यो भगवानको नियति पनि अनौठो छ।
'मसँग आफ्नो भाग्यलाई स्वीकार्नुबाहेक अरू केही विकल्प बाँकी रहेन यार अग्रिम',  उसले आँसु खसाल्न  सुरू गरिसकेको थियो।  
'आफ्नो आफन्त कोही नहुनु र आफूमाथि परेका बज्रपातले म कयौं रात एकान्तमा रोएँ। आफ्नो रोदन सुनिदिने कोही मान्छे भेटिनँ। मान्छे यतिसम्म स्वार्थी हुँदा रहेछन् नजिकबाट नियाल्ने अवसर पाएँ।' 
ऊ मलिन मुद्रामा दुखेसो गर्दै गयो म सुन्दै गएँ।  
'म पूरै एक्लो भएँ। घर परिवारको सदस्यमा ममात्र बाँकी रहेँ। छरछिमेक बलेको आगो ताप्ने रहेछन्। म त सेलाइसकेको खरानीजस्तो भएको थिए तर समय आएपछि सबै ठीक हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ। जिन्दगी त हजारौं माइलको यात्रा हो जिन्दगीको एउटा पाटोमा दुई चार माइल अगाडि वा पछाडि हुँदैमा आत्तिनु र मात्तिनु हुँदैन भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो। सबै कुरा मनमै राखी सुरू भयो उही पुरानौ दैनिकी! 
बिहान कलेज अनि दिउँसो जागि। पढाइमा म औषतभन्दा केही राम्रो थिएँ। न घर छ, न परिवार छ, न सहयोगी आफन्त छन्। मनमा पिरको चाङ छ तर मलाई बाहिरबाट चिन्नेहरूले सामान्य जस्तै ठान्थे। मनमा दु:ख र मुखमा सुखै सुख थियो।' 
म सुनिरहेको थिएँ। 
ऊ भन्दै गयो 'मेरा यस्तै बानी र बाहिरी आवरण हेरेर होला मसँग एक जना  केटी साथी नजिकिएकी थिई।  पातली, अग्ली, गहुँ गोरी,  मिलेका दाँत कस्ती राम्री! जिन्दगीमा राम्रा चिजहरू जिन्दगी मिलाउन हैन भुलाउन आउँछन् मलाई राम्रोसँग थाहा थियो तर खै किन म ऊसँग  नजिकिन थालेको  थिएँ।' 
'हामी फोन म्यासेजमा बोल्न थालेका थियौं। कलेज जाँदासँगै फर्किंदा सँगै। कति मीठा कुरा! उसको बालापनको राग अझै सकिएको थिएन। ऊ केटाकेटीजस्ती! तर कति मीठो माया गर्न जानेकी के। म जिन्दगीका कुरा गर्दा ऊ सुन्छे। अनि उसले आफ्ना कुरा सुनाउन तम्सिन्छे। साँच्चै भगवानले मेरो दु:खमा मलम लगाउन पठाएकी मान्छे। म कल्पना गर्थें भगवानले मेरा परीक्षा लिए होलान् अनि  म पास भएँ होला  अनि उपहार स्वरूप उसलाई मसँग मेरो भेट गराए होलान्। 
आजकल दिन छोटा, रात छोटा,बाटाहरू  पनि छोटा!  लामो के नै छ र? हामी हिँड्दा हिँड्दै कहिले पामे, कहिले मेथ्लाङ त कहिले सराङ्गकोट पुग्थ्यौं। 
बिस्तारै किस्ता किस्तामा मैले जिन्दगीका किस्साहरू सुनाउन थालें। 
उसलाई सुरूमै अप्ठ्यारो नहोस् भनेर साना मसिना कुरा सुनाएँ। 
ऊ अझै  नजिक भई अझै माया गर्न थालेकी थिई। वाह जिन्दगी! मैले सबै कुरा बिर्सेर उसलाई जिन्दगीमा सजाइसकेको थिएँ।  
मात्र ऊ छे मेरो जिन्दगीमा अरू कोही छैन जस्तो लाग्न थालिसकेको थियो। तर मेरा पूरै कथाहरू सुनेपछि उसले के सोची खै ऊ केही टाढा हुन खोजे जस्तो गरी मैले निकै सम्झाउन खोजें तर सम्झाउन सकिनँ। 
केही समयपछि कलेजमा भेटमा उसले भनी 'अरू सबै कुरामा म हजुरलाई सहयोग गर्न तयार छु तर विवाह गर्न सक्दिनँ। सरी!' यति भनेपछि ऊ पछाडि फर्केर गई।  भगवानसँग मागेका केही कुरा पूरा नभएपछि मैले उसलाई भगवानसँग मागेको थिइनँ तर यो पनि पूरा भएन। 
डाँडाको मेलपोखरीको चौतारामा गएर टोलाएँ अनि मज्जाले रोएँ।  सबै कुरा गुमाउँदै गएको मान्छेले फेरि एउटा कुरा बढी गुमाएँ। 
भावीले लेखेको लेखा नभोगी कहाँ सुख रैछ र! घन्टौं सोचेपछि एउटा निचोड निकालें मैले सहन सक्नु पर्छ। सहन सक्नेहरूले नै संसार जितेका छन्। 
त्यही दिन बेलुका  जब  घरमा गएर उसको टिकटक एकाउन्ट खोलें उसले रमाउँदै टिकटक बनाएकी रहिछ। 
ती टिकटक मैले  पनि  हेरेँ र रमाएँ। 
उसलाई म गुमाउनुको कुनै पीडा नभएको र खुसी भएको प्रष्ट देख्न सकिन्थ्यो। 
अनि मैले सोचें उसको खुसीको लागि जे गर्न पनि तयार छु भनेको हैन? मैले आफ्नै मनलाई प्रश्न सोधें। अनि ऊ खुसी छँदा किन डाहा गर्छस् तँ? ऊ जहाँ भए पनि
उसको खुसीमा तँ पनि खुसी भएस्! मैले आफ्नै मनलाई सम्झाएँ।  त्यो रात छटपटीमा मै बित्यो। निदाउनै सकिनँ। भने जस्तो कहाँ  पो  हुन्छ र? 
केही दिन पीडाको भारीले पूरै थिच्यो। 
केही समयपछि निकै कोसिस गरेर एकोहोरो पागल  प्रेमबाट केही छुटकारा लिएँ। उसले केही समयमा बिहे गरी म भने फेरि केही गर्छु भनेर पढ्न कस्सिएँ। मैले धेरैलाई देखाउन पर्छ। म केही गर्नै पर्छ  भनेर कम्मर कसें। अहिले एउटा प्राइभेट बैङ्कमा म्यानेजर भएको छु हेरौ यार जिन्दगीले अझै कति पीडा दिने रहेछ' 
ऊ फेरि रोयो ऊ रोएको देख्दा म पनि भावुक भएँ।  ऊसँगै म पनि रोएँ, हामीसँगै रुन थाल्यौं। 
घन्टौं रोएपछि उठेर हिँड्दा रात परिसकेको रहेछ।