गीत, संगीत र साहित्यले मनोरञ्जनलाई मात्र प्राथमिकता दिन थाल्यो भने हाम्रो समाज कता जाला? म गाडीमा बसेर यस्तै कुरा सोच्दैछु। गाडी जाममा परेको छ। कानमा कोलाहल चर्किंदो छ। म आफैंसँग संवाद गर्दैछु। ‘कला र संस्कृति त समाजको धड्कन हो। पहिचान हो। इतिहास हो। साँच्चै भन्ने हो भने कला र साहित्य ईश्वरको वरदान हो। कलाले हृदयको पीडालाई कति शान्त पार्छ। संगीत सञ्चारको माध्यम पनि त हो। सूचनाको सजिलो आधार पनि हो। म प्राय: संगीत सुन्छु र आनन्दित हुन्छु। आफैंभित्रको श्वासको संगीतमा पनि म प्रायः नाच्ने गर्छु। प्रकृतिको संगीत उस्तै राम्रो लाग्छ। चराचुरुङ्गीको सङ्गीत मलाई निकै कर्णप्रिय लाग्छ। संगीतलाई म पूजा गर्छु। संगीतमा नै म ध्यान गर्छु।
तर अस्ति भर्खरको एउटा घटना हो, जब सार्वजनिक गाडीमा सारंगीको त्यो मनमोहक धुनमाथि जब असौम्य शब्दहरूले बलात् हमला गरे म निकै विक्षिप्त भएँ। मलाई अतीतले झक्झक्यायो। अनि मलाई वर्तमानभन्दा अतीत प्रिय लाग्यो।
घटना भर्खरैको हो।
काठमाडौंको सार्वजनिक यातायातभित्र सारंगी रेट्दै गरेका गन्धर्व भाइहरूसँग जम्काभेट भयो। छोरीहरू पनि साथमै थिए। सिटमा गएर बसेकी मात्र के थिएँ, ती भाइहरूले सारंगीको मीठो धुनमा नयाँ पुस्ताहरूलाई असाध्यै मनपर्ने शब्दहरू मिसाएर गीत जस्तोजस्तो पारामा चिच्याउन पो थाले बाबै! सारंगीको धुन मलाई हेरेर रुँदै थियो। मलाई थाहा छ। आधुनिकताको नवीन परिभाषा। समयको माग पनि बुझेकी छु तर मैले ती शब्दहरू सारंगीको धुनसँग मिसिन आएको पचाउनै सकिनँ।
मलाई ती शब्दहरू सुन्दै जाँदा भनन्न रिङ्गटा लाग्ला जस्तो भयो। वाकवाकी आउलाजस्तो कानको जाली फुट्ला जस्तो हुँदैगयो।
सायद मेरो मुखाकृत बिग्रिएको जेठी छोरीले चाल पाइछ। इसाराले केही नबोल्न अनुरोध गर्दै थिई। छोरी नयाँ पुस्ता भएकीले नयाँ संस्कृतिलाई सजिलै पचाउन सकी। हुन त ती शब्दहरूसँग उसलाई पनि चित्त बुझेको थिएन। कान्छी छोरी पनि हातको इसाराले नबोल्न भन्दैथिई। बसभित्र बसेका उरन्ठेउलाहरू गन्धर्व भाइको शब्द सुन्दै बढो आनन्द मानेर हाँस्दै थिए। पल्याकपुलुक गरेर छोरीहरूतिर नजर घुमाउँदै थिए केही आँखाहरू।
मलाई बसबाट सुदूरको यात्रा गर्न मन लाग्यो। परिस्थिति जस्तो भए पनि मनस्थिति ठीक राख्नु भन्ने भनाइ झट्ट याद गरेँ। अनि स्मृतिको जहाज चढेर हुरूरू उडेँ पैंतीस वर्ष अगाडि मेरो बाल्यकालको समयमा।
‘मेरो आँगनमा मान्छेको भीड देख्दै गएँ। आहा! कलाकार गन्धर्वहरूलाई सारंगी रेट्दै गरेको देख्न थालेँ।
त्यो बेला गन्धर्वहरूले गाएका गीतमा अद्भुत शक्ति थियो। गन्धर्वहरूको गीतमा जीवन्त सन्देश हुन्थ्यो। समाजमा घटेका घटनाहरू गाउँ गाउँमा पुगेर सूचना सम्प्रेषण गर्ने गर्थें।
राष्ट्रमा घटेका ठूलासाना घटनाहरूको कथा र व्यथालाई शब्दमा उनेर सारंगीको मीठो धुन मिसाएर, लयात्मक गीतमार्फत् गाउँलेका आँखामा साउन ओराल्न सक्ने ल्याकत राख्थे।
मैले पहिलो पटक राजा हरिशचन्द्रको कथा गन्धर्वहरूको मुखबाट सारंगीको तालसँगै सुनेकी थिएँ। सम्पूर्ण गाउँ हाम्रो आँगनमा जम्मा भएको थियो। त्यस्तै, नल राजा र दमयन्ती रानीको त्यो मार्मिक कथा गन्धर्वहरूको गीतबाटै सुनेकी थिएँ। कुन ठाउँमा आमालाई छोराले काटे, कुन ठाउँमा लोग्नेले स्वास्नी, समाजमा घटेका घटनाहरूलाई समाचार बनाएर गीतैमार्फत् गाएर सुनाउँथे। गन्धर्वहरूको उत्कृष्ट सृजनशीलता, कला र जादूले आफ्नो प्रभाव छाड्न सकेर त होला गन्धर्वहरूको उच्च सम्मान हाम्रो गाउँमा उच्च तवरले गरिन्थ्यो।
समय समयमा गन्धर्वहरू हाम्रो गाउँमा आउँदा उनीहरूसँगै गाउँमा नौलो उत्सव, उल्लास र उमङ्ग भित्रिन्थ्यो। गन्धर्वहरूले गाएको गीत पुनः सुन्नलाई उनीहरूको पछिपछि लाग्दै जहान टोलसम्म पुग्थ्यौं हामी भुराहरू। प्रायः गीत अर्थपूर्ण, भावपूर्ण र सन्देशमूलक हुन्थ्यो। इतिहासका घटनाहरूलाई गीतको माध्यमबाट सजिलसँग सरल गाउँलेहरूको हृदयमा बसाउन सफल थिए ती कलाकारहरू। गन्धर्वका भाका र लय मेरोको मस्तिष्कमा लिसोझैं टाँसिएर अमीट भएको छ आजपर्यन्त।
सारंगीको धुन बज्न थालेपछि हो चौतारीमा मान्छेको मेला लाग्थ्यो। के बृद्ध, के बालख, के युवा जम्मै झुम्मिन्थे गन्धर्वको वरिपरि। गीतको माध्यमबाट सम्पूर्ण गाउँलेहरूलाई एकैठाउँमा जमाएर राख्न सक्ने गजबको शक्ति थियो गन्धर्वहरूको गीत र सारंगीको धुनमा।
गन्धर्वको गीत सुन्दा कोही निदाउँदैनन् थिए। कोही उङ्ग्दैनन् थिए। कोही झर्को मानन्दैनन्थे। सदैव स्रोताहरूको हृदयलाई छुने कालजयी गीतहरू पस्किन्थे गन्धर्वहरू। गीत सुन्न एकत्रित भएका नरनारीहरू गीत सुन्दै जाँदा गीतभित्रका कथाले धुरूधुरू रुँन विवश हुन्थे। सारंगीको भाकासँगै आफ्ना दुःख र पीडा पनि केहीबेर भुल्थे। मेरो मस्तिष्कमा ती गीतहरू जीवन्त भएर जाग्दै कानमा बज्न पो थाल्यो। म मुसुमुसु हाँस्दै थिएँ। छोरीहरू मेरो चाला देखेर मलाई चिमोठ्न पो थाले।
मैले भुसुक्कै बिर्सिएकी म त बसमा पो छु त! अनि झसङ्ग भएँ।
त्यो बेलाका गन्धर्वहरूमा साँच्चै अद्भुत प्रतिभा रहेछ। मलाई राम्रोसँग याद छ। म त्यस्तै नौ वर्षकी हुँदी हुँ महेन्द्र राजाको मृत्युको घटनालाई गन्धर्वहरूले बढो कारूणिक र मार्मिक तवरले सुनाएका थिए। आमाहरू धरधर रोएको देखेर म पनि सँगसँगै रोएकी थिएँ। त्यो बेला त मलाई सुनेकै भरमा त्यो गीत कण्ठाग्र नै थियो। म जता गए पनि मेरो हात चपक्क समातेर तान्दै महेन्द्र राजाको मृत्युको त्यो गीत गाउन लगाउँथे गाउँलेहरूले। मैले गाउँदा पनि आमाहरू रुँनु हुन्थ्यो। लय हालेर गन्धर्वहरूले गाए जस्तै गाउन थाली हाल्थें म पनि -
‘२०२८ साल माघ महिनाको दिन
स्वर्गबाट दूत आए महेन्द्रलाई लिन!
शारदा शाह, शान्त शाह, शोभा शाह छोरी
बुवा भन्न यतिकै भो यो जीन्दगी भरी!!
सुन्न आए संसार सार
महेन्द्रको आँसुको त्यो धारा!
मैले यसरी गीत गाएपछि पछ्यौराले आँखा पुछ्दै ठूली फुपूले पाकेको ठूलो आँटी 'लु खा नानी!' भन्दै दिनु हुन्थ्यो। कसैले फेरि अझै सुना न महेन्द्र राजाको गीत तँलाई एक रुपैयाँ दिन्छु भन्थे।
म फुर्केर उखरमाउलो हुन्थें गीत गाउन थाली हाल्थेँ
'पाँचै मिनेट होस खुलाऊ डाक्टर
इनाम दिन्छु तीन लाख नगद।
शोभा शाहको कुरा सुनी डाक्टरले पनि
पन्ध्र मिनेट होस् खुलाए सबलाई सुन्न भनी।
सुन्न आए संसार सारा
महेन्द्रको आँसुको त्यो धारा!!!'
मेरो मस्तिष्कमा यस्तो गहिरो प्रभाव पारेर गाएका रहेछन् गन्धर्वहरूले कि आज पैंतिस वर्षपछि मैले त्यो गीतलाई यसरी सम्झिएर केही लेख्नसम्म सकेँ। जुन लिखित रूपमा थिएन। मेरो मस्तिष्कमा धूमिल भएर बसेको अतीत आज पनि जीवन्त रहेछ। यस्तो पो हो त शब्द र गाइनेको शक्ति।
२०४५ सालमा मामाघर बसेर म कक्षा चार सिर्थौली स्कुलमा पढ्थेँ जम्मा नौ वर्षकी रहेछु। मलाई अझ याद छ त्यहाँ पनि सबैले- भान्जी महेन्द्र राजाको गीत गाऊ न। भन्दै फकाएको।
त्यो बेला यही गन्धर्वको गीतले चर्चित भएकी थिएँ। सबैले राम्रो राम्रो भन्दै फुर्क्याएर होला। स्कुल जाँदा आउँदा पनि त्यही गीत गाउँदै हिँड्थें। कहिले त बाटो हिँड्नेहरूले पनि भन्थे - नानी त्यो अघि गाएको राजाको गीत गाऊ न।
म मख्ख पर्दै सुनाउँथें। सुन्ने मान्छेहरू दंग परेर मेरो हातमा मिश्री, नरिवल र छोकडा हाल्दिन्थे।
त्यो सारंगीको धुन, ती शब्दहरू पैंतीस वर्षपछि पनि झुल्कियो। म अतीतबाट वर्तमानमा आएँ। गन्धर्व भाइ घोक्रो फुलाउँदै अझ चिच्याउँदै थिए। अति भएपछि दस रुपैयाँ झिकेर दिएँ र खुसुक्क भनें - भाइ गन्धर्वको गीतको शब्दमा सन्देश हुनुपर्ने होइन? गन्धर्वको गीतले कथा, कहानी इतिहास बोल्नु पर्ने होइन के भाको भाइ गन्धर्वको गीतलाई हिजोआज? यो कस्तो गीत हो, मैले त बुझ्न सकिनँ ?
मुसुक्क हाँस्दै ती भाइ हिँड्न लागे।
सायद अव्यक्त आवाज मैले सुनें- दिदी समयको माग नै यस्तै छ। यस्तै शब्द बिक्छ। सस्तो मनोरञ्जन धेरैलाई मन पर्छ। दिदी के गर्नु पेटको सवाल छ।
म झल्याँस्स भएँ। ए साँच्चै हो त समयको माग नै यस्तै छ। समय नै ईश्वर हो। विचरा गन्धर्वहरूको के दोष। म सोच्दै थिएँ, किन हिजोको अर्ग्यानिक कुरा मन पर्छ मलाई। किन मेरो अतीत मलाई प्यारो लाग्छ? किन बारम्बार स्मृतिको डुंगा चढेर म अतीतमा पुग्छु। आखिर के थियो त्यो सुदूरको गाउँमा? दोष कसको हो? हामी के सुन्न चाहन्छौं।
फेरि अर्को मनले भन्यो, 'हो! हो! जतासुकै पब्लिकको जमाना छ। संस्कृतिभन्दा माथि आखिर के छ ?'
'मामु झर्नु बानेश्वर आयो।' छोरीले बोलाउँदा पो म बौरिएँ।
हैट! कति मीठो स्मृति।
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)