कार्यालयमा थिएँ। अचानक ड्वाङ ड्वाङ आवाज आयो। गए रात काठमाडौं उपत्यकाभित्र मध्यरातमा परेको चट्याङको आवाज र त्यसबाट सिर्जित केही क्षणिक भय बाँकी नै थियो, फेरि सम्झायो र झस्कायो।
फेरी बत्तीसपुतली हाइटमा रहेको 'फ्याक्ट्स नेपाल' को कार्यालयको पाँचौं तलाबाट पश्चिम दक्षिण तर्फ हेरेँ। काठमाडौं मल अगाडि धुँवा उड्न थालिसकेको थियो।
अनि सम्झिएँ — सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कारको समय भएछ। उहाँलाई तोपको सलामी दिइँदै रहेछ।
उहाँको देहान्तको खबरपछि श्रद्धाञ्जली दिन नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल पुगिसकेको थिएँ। त्यसैले म पशुपतिनाथ, आर्यघाटमा गइनँ। तर उहाँको अवसानबाट पुगेको क्षति र उनको कमीले मन पोल्न छोडेको थिएन।
मैले सुनेको पहिलो मन्तव्य
सुवासचन्द्र नेम्वाङलाई मैले पहिलोपटक २०६४ फागुन ७ को दिन प्रत्यक्ष देख्न र सुन्न पाएको थिएँ। अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने मानवअधिकार सम्बन्धी वार्षिक प्रतिवेदनको सार्वजनिकीकरण कार्यक्रम थियो। उहाँ त्यस कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो। राष्ट्रिय सभा गृहको त्यो कार्यक्रममा उहाँको मन्तव्यको केही अंशबाट म निक्कै नै प्रभावित भएँ र त्यो अझै पनि याद छ।
२०६२-६३ को आन्दोलनपछि, नेकपा माओवादी पूर्ण धारको राजनीतिमा प्रवेश गरिसकेर संविधान सभाको पहिलो निर्वाचनको चुनावी अभियानमा प्रवेश गरिसकेको थियो। 'गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति प्रचण्ड (पुष्पकमल दाहाल)' भनेर देशका प्रमुख सडकको छेउछाउका पर्खालहरूमा लेखिएको देखिन्थ्यो। पुरानो दल नेपाली कांग्रेस र एमालेलाई त्यो नारा पचाउन असहज भइरहेको सुनिन्थ्यो। स्थापित पुराना दलहरूले एउटा त्रासका बीच त्यो नाराको खिल्ली पनि उडाउँथे।
त्यही प्रसंगलाई सुवासचन्द्र नेम्वाङले निकै सकारात्मक धारणा राख्नुभयो।
उहाँले भन्नुभयो — नारा फरक कुरा हो, त्यसको चिन्ता नगर्नुस्। तर माओवादीले लोकतन्त्र र निर्वाचनको संस्कार अवलम्बन गरिसकेकामा खुसी हुन सिकौं। यो निर्वाचन अगाडि नै हामी सबैको जित हो। लोकतन्त्र, निर्वाचन पद्धति, परिवर्तनका लागि भएको आन्दोलन, राजनीतिक परिवर्तन र अब बन्न लागेको संविधानको जित हो। त्यसैले त्यो नारा र अभियान प्रति कटाक्ष नगरौं।
म आज पनि त्यो सकारात्मकता सम्झिन्छु।
त्यही मन्तव्यको क्रममा उहाँले थप्नुभएको थियो, 'मलाई मेरा साथीहरूले त बढी कानुन्ची बन्छस् भनेर भन्छन्। तर सबैको जीवनको केही न केही आधार हुन्छ। कृषकको जीवनको आधार माटो, चिकित्सकको जीवनको आधार ओखती झैं मेरो जीवनको आधार कानुन हो।'
मैले अनुभव गरेँ कि उहाँ आफ्नो अस्तित्व, कर्तव्य र कर्म प्रति स्पष्ट हुनुहुन्छ।
एक अविस्मरणीय यात्रा
प्रतिनिधि सभा सदस्य भएपछि हालसम्मको एक मात्र विदेश भ्रमण सुवासचन्द्र नेम्वाङसँगै गर्ने सौभाग्य प्राप्त भयो। एयरपोर्ट पुगेँ, लाइन लागेँ, बोर्डिङ पास लिएर भित्र पसेँ। उहाँहरूलाई देखिनँ। सांसदहरूमा सुवासचन्द्र नेम्वाङ, रमेश लेखक र म यात्रा गर्दै थियौं। पछि थाहा पाएँ, उहाँहरू विशिष्ट कक्षमा हुनुहुँदो रहेछ। म भने सामान्यमै बसेँ।
प्लेन चढ्न उहाँहरूलाई अलग गाडी व्यवस्था रहेछ। प्लेनको सिटमा बसिसकेको एक छिनपछि रमेश लेखकलाई देखेँ र टाढैबाट नमस्कार गरेँ। विमान सेवा कम्पनीले सांसदहरू भन्ने थाहा पाएर होला, बिजनेस क्लासमा अपग्रेड गरिदिएको थियो। यताको टोलमा हलचल गर्न अलि सजिलो थियो।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको भद्रपनबारे सुनेको थिएँ। त्यो दिन अनुभव गर्न पाएँ।
उहाँले मलाई देखेपछि लगाइसकेको सिटबेल्ट खोलेर मेरो सिटतिर आउनुभयो। हात मिलाउनुभयो र भन्नुभयो — के छ मनिष? तिमी पनि सँगै जाँदैछौ भनेर थाहा पाएको थिएँ, खुसी लाग्यो।
केही दिन कांग्रेसमा आबद्धझैं थिए, तसर्थ कांग्रेसका दाइदिदीले तिमी र भाइ भन्नुहुन्छ। मलाई आत्मीय लाग्छ।
सुवासचन्द्र नेम्वाङलाई नमस्कार गरेँ। उहाँ आफ्नो सिटमा बसिसक्नुभएको थियो। सायद उहाँ नयाँ मान्छे चिनजान गर्ने मुडमा हुनुहुन्थेन। हामी दोहा पुग्यौं। पाँच घन्टाको ट्रान्जिट थियो। के गर्ने भन्ने अन्यौलमा थियौं। नेपालबाट सँगै यात्रा गर्दै गरेका एक पोखरेली दम्पतीले हामीलाई अन्यौलमा देखेर आफूसँग विशिष्ट आराम कक्षको पास रहेको र त्यो प्रयोग गर्न अनुरोध गरे। मैले रमेश दाइ र सुवास दाइसँग ती दम्पतीको चिनजान गराएँ र हामी उतै लाग्यौं।
त्यहाँ पुगेर कसले के के खाने हो, सबै निःशुल्क रहेछ। इच्छाअनुसार लिन अनुरोध आयो।
सुवासचन्द्र नेम्वाङले मलाई राम्रोसँग चिन्नुभएको छैन भन्ने सोचेर म उहाँ बसेको ठाउँमा पुगे। आफ्नो नाम र आफू राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फबाट सांसद भएको सुनाएँ। उहाँले तपाईंको नाम सुनेको छु, बोली सुनेको छु तर यसरी नजिकबाट भेटघाट भएको थिएन भन्नुभयो।
मैले उहाँलाई केही खानपिनका लागि अनुरोध गरेँ। उहाँले भन्नुभयो। र मैले म ल्याइदिन्छु, हजुर एकछिन आराम गर्नुस् भनेँ।
त्यहाँबाट उहाँलाई मैले दाइ भन्न थालेँ र उहाँले पनि मलाई नामले नै बोलाउन थाल्नुभयो। यात्राको अर्को पाटो सुरू भयो।
हामी चेक रिपब्लिकको प्राग पुग्यौं। सुवास दाइ मसँग अलि नजिकिएर बोल्न थालिसक्नुभएको थियो। उहाँले औषधि खानुपर्ने तर पेट खाली भएकाले केही ठोस खान पाए हुने भन्नुभयो। मैले मसँग रहेको बिस्कुट दिएँ।
हामी लगभग पाँच दिन सँगै भयौं।
विदेशमा रहेका नेपालीहरूले देश छोडिसके पनि दल छाडेका रहेनछन्। रमेश दाइलाई युरोपको कांग्रेसी र सुवास दाइलाई युरोपका एमालेले घुमाउन लगी हाले। म बचेका साथीहरूसँग कुराकानीमा रमाउन थालेँ।
साँझ औपचारिक कार्यक्रम उद्घाटन थियो। तीन घन्टा ढिलो सुरू भयो। वक्ताको नाम कटौती हुँदा 'बोल्न पाइँदैन भने किन बस्नु' भन्दै केही मान्छे हिँडे। मैले बोल्ने क्रममा आफ्नो दुखेसो पोखेँ। डायस्पोराको नेपालीहरूबाट सिक्न आएको र निराश नबनाउन अनुरोध गरेँ।
सुवास दाइका अगाडि मेरो राजनीतिक अनुभव नगण्य हो। उहाँको कुरा सुनेँ र धेरै नयाँ कुरा थाहा भयो।
लन्डनको सडकमा उहाँ र राजा वीरेन्द्र सँगै हिँडेको तस्बिर सामाजिक सञ्जालमा देखेको थिएँ। १२ दिन सँगै यात्रा गर्नु भएको रहेछ। मौका छोपी त्यो पनि खोतलेँ र केही सुनाउनु पनि भयो। चार दिन त्यहाँ रहँदा लगभग हरेक दिन उहाँले मलाई 'नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपज राम्रो हो तर गल्ती नहोस् है' भनेर आफ्नो अनुभव र विश्लेषणसहित सुनाउनुभयो।
शालीन, भद्र र सबैसँग कुरा गर्न केही न केही सामग्री रहेको व्यक्ति सुवास दाइ। सुन्न तल्लीन तर बोली हाल्न हतार नगर्ने। उहाँको नजरतिर नजर पुर्याउँदा अनुभव हुन्थ्यो — उहाँ हरेक पल कुनै न कुनै कुरा कि त अध्ययन गर्दै हुनुहुन्छ वा सोचिरहनुभएको छ।
म धेरै समयपछि विदेश यात्रामा हिँडेकाले नजिकै जर्मनी पनि पुग्ने योजना थियो। उहाँहरू नेपाल फर्किनुभयो। केही दिनपछि सदनमै भेट भयो। फेरि एकपटक यात्रा सम्झियौं। केही समीक्षा पनि गर्यौं। मिलाएर अर्को यात्रा पनि सँगै पार्ने कुरामा सहमत भएका थियौं।
तर दाइ अलि हतारमा हुनुहुन्थ्यो, एक्लै हिँड्नुभयो!
सदनमा सुवासचन्द्र नेम्वाङ
हामी नयाँ पुस्ताको राजनीतिज्ञहरूमा जोस छ, लक्ष्य छ र केही अध्ययन पनि छ। तर ती सबै कुराहरू भन्दा महत्त्वपूर्ण नेपालको राजनीतिक घटनाक्रम यहाँसम्म आउँदै गर्दाको प्रक्रिया र भूमिका बुझ्न आवश्यक छ।
नेपाली कांग्रेसमा त्यो अरू दललाई सम्झाइदिने बुझाइदिने प्रदीप गिरी हुनुहुन्थ्यो। तर उहाँ सहजै सबैको पहुँचमा आउनु हुन्थेन। जसले त्यो अवसर पाउँथ्यो, धेरै जान्न र सिक्न पाउँथ्यो। म केहीपटक मौका पाउनेमा पर्छु। तर अब उहाँ जस्ता पात्रको कमी छ। केही जाने बुझेका त छन् तर असन्तुष्टि र आन्तरिक कलहमा अल्झिएका छन्। माओवादीमा वर्षमान पुनले त्यो आचरण र व्यवहार राख्नुहुन्छ तर प्राथमिकता बाँडिएको छ। मधेसवादी दल र राप्रपाले आफैं अध्ययन गर्न बाँकी छ।
नेकपा एमालेमा सुवासचन्द्र नेम्वाङ त्यो पात्र हुनुहुन्थ्यो जो सबैको पहुँचमा हुनुहुन्थ्यो। सबैले सहजै केही सोध्न पाउँथ्यो। केही पत्रकारहरू पनि सुनाउँछन् कि सम्माननीय पदमा रहँदा पनि उहाँसँग समय नलिई जाँदा पनि सकेसम्म निराश पार्नु हुन्थेन।
सदनमा यदि प्रक्रिया पुर्याउने वकृत्वकला प्रतियोगिता मात्रै हुँदैछ भने, हामी सदनको लबीमा उहाँलाई घेरेर बस्थ्यौं र कुराहरू सुन्थ्यौ। अरूको प्रश्न र जिज्ञासा गहन तरिकाले सुन्ने र बीचमै कुरा काटेर नबोल्ने बानी निक्कै राम्रो थियो। नत्र नेपाली राजनीतिमा अरूको प्रश्न राम्रोसँग सुनेर र बुझेर मात्र बोल्ने धैर्य निक्कै कममा छ। संसदीय अभ्यास, दल र राजनीतिक संस्कारमा रहेको सुधार्नुपर्ने पक्ष सहजै स्वीकार गर्न सक्ने बौद्धिक उदारता पनि थियो।
संविधान बनाउँदाको प्रक्रिया र त्यो बेलाको चुनौती, संवैधानिक जटिलता, अपूर्णता, सदन र राष्ट्रपति कार्यालयसँगको टकराव र सबभन्दा महत्त्वपूर्ण कुरा — कसरी अगाडि बढ्ने?
लोकतन्त्रको एक महत्त्वपूर्ण पक्ष हो 'बहुदलवाद' जसमा आफ्नो अस्तित्व र अरूको सह-अस्तित्वको अभ्यासको व्याख्या छ। म यो लेख्दै छु, तर मेरो लेखाइको अस्तित्व त्यो बखत मात्र सुरक्षित रहन्छ जब त्यहाँ यो पढिदिने पाठक अस्तित्वमा छन्।
सांसद र मेन्टर सुवास दाइ
आज संघीय सदनमा, लोकतन्त्र मान्छु तर बहुदलवाद मान्दिनँ भन्ने दल पनि छन्। जसको राजनीतिक परिकल्पनामा आफ्नो दलबाहेक अरू दलको उपस्थिति नै छैन। तर सुवास दाइ संविधानमा त्यो लेख्ने कप्तान र सदनमा त्यो अभ्यास गर्ने सांसद र एक मेन्टर हुनुहुन्थ्यो।
अमेरिकी नर्थ क्यारोलाइना विश्वविद्यालय प्रोफेसर क्रिस्टोफर लिटिरफिल्डले केही समय अगाडि हार्वर्ड बिजनेस रिभ्यूमा लेखेका थिए — हामीमा कृत्य कमी हुँदैछ र त्यसको प्रमुख कारण सामाजिक सञ्जालमा आफ्नो अस्तित्व कायम राख्न यथार्थ समाजमा अरूको अस्तित्व नमान्ने प्रवृत्ति हाबी हुँदै गरेको कुरा हो।
नेपाली राजनीति पनि केही अराजकतातर्फ जाँदैछ। आफ्नो अस्तित्व बलियो बनाउन मनगढन्ते बोलिदिने, आधारहीन तर्क गर्ने, चर्को बोलेर जित्न खोज्ने र अरूको उपस्थिति र अस्तित्वलाई अवहेलना गर्नेहरू बढ्दैछन्। तर सुवास दाइ यो सबैबाट अलग हुनुहुन्थ्यव। सबैलाई सिकाउने, सुझाउने, डोर्याउने र खोजेका बेला भेटिने पात्र हुनुहुन्थ्यो।
विगतमा नेकपा एमालेले गरेको केही गैरसंवैधानिक अभ्यास र त्यसको बारेमा बोल्न परेको अर्ध-आत्माको अभिव्यक्ति प्रतिको खेद कहिलेकाहीँ अप्रत्यक्ष रूपमा व्यक्त हुन्थ्यो। दलभित्रको लोकतन्त्रका नाममा फरक अभ्यास र त्यो अराजकता पछ्याउँदै गरेको एमालेको अर्को पुस्ता प्रति चिन्ता पनि सुनिन्थ्यो।
संसारको सबभन्दा ठूलो अर्थतन्त्र, धर्म र सामाजिकता भनेको नै प्रकृति हो र मृत्यु प्रकृतिकै एक कठोर नियम हो। यो रोकिँदैन। हामी आफूले गर्न सक्ने भनेको मृत्युपछिको प्रभावको निर्माण मात्र हो।
सुवासचन्द्र नेम्वाङ एक सफल, निष्कलंक र सम्मानजनक जीवन र मृत्यु पाउने व्यक्ति हुनुभयो। उहाँको त्यो शालीनता, भद्रता र कुनै कुरा सिक्न बुझ्न खोज्दा हुने उपलब्धता प्रति सधैं कृतज्ञ रहनेछौं।
आजको मितिमा कसैले नेपाली राजनीतिमा तिमी को जस्तो बन्न चाहन्छौ भनेर सोध्यो भने म सुवासचन्द्र नेम्वाङकै नाम लिन चाहन्छु। किनकि हामीलाई जोड्ने धागो चाहिएको छ, फोड्ने सिद्धान्त होइन। हामीलाई शालीनता र भद्रता चाहिएको छ, सामाजिक सञ्जालले बढावा दिने उग्रता होइन। हामीलाई संविधान संस्थागत गर्ने नेतृत्व आवश्यक छ, आफैं कार्यकारी प्रमुख हुँदै आफैं आन्दोलन गर्छु भन्ने अस्थिर मानसिकता पनि होइन।
सुवासचन्द्र नेम्वाङको अनुपस्थितिले नेपाली राजनीतिमा त्यो भद्रता, शालीनता, जोड्ने धागो र स्थिर मानसिकताको कमी महसुस भइरहने छ। सुवास दाइप्रति सम्मान र श्रद्धाञ्जली!