मलाई बुझ्ने जो पाउँछु, उसैसँग जीवन बिताउँछु। यस्तै सपना देख्थें। आखिर पूरा हुने भनेको देखेको सपना त हो, नदेखेको सपनाको त आकार पनि कहाँ हुन्छ र?
मैले सोचेजस्तै, खोजेजस्तै, को निस्कने हो?, कहिले भेटिने हो? भित्तामा टाँसिएका ऐना अगाडि उभिएर कल्पना गर्थें, र लाथ्यो कल्पनाबाट मान्छे फुत्त निस्कियोस् र मलाई अंकमाल गरोस्। प्रेमको इजहार गरोस्। यी सबै मेरा सपना अनि कल्पना रहे।
तर कोही पाउँछन्, पूरा गर्छन् देखेका सपना। सुन्दा मनै मनमोहक हुने प्रेमकहानी रहन्छन् कसैका। कसैका आधाअधुरा रहन्छन्। यही सिलसिलामा जोडिन पुगी वर्षा।
वर्षाको राजकुमार भेटियो। इन्गेजमेन्ट भयो। सपिङ, ब्राइट टु बी भन्दाभन्दै आयो वर्षाको बिहेको दिन। वर्षा र म कलेज पढ्दाको साथी मात्रै हौ तर मित्रता यस्तो थियो कि उसलाई र मलाई जन्म दिने आमा एउटै हुन्।
बिहेको दिन वर्षा, वर्षा नभएर बेहुली भएकी थिई। सायद हाम्रो सम्बन्धले गर्दा मैले उसलाई यस्तो देखें वा वास्तवमै ऊ यति राम्री देखिएकी थिई मैले मेसो समेत पाइनँ। धपक्क बलेकी थिई ऊ पूर्णिमाको जुन जस्तै चम्किलो भएर।
जन्ती आइपुगे, ब्यान्ड बाजासहित फिल्मका गीतको धुनमा बाजा बजिरहेको थियो। वर्षाभन्दा म उत्सुक थिएँ। उसको बिहेको दिनको कारण एउटै थियो– मेरो मनमा राज गर्ने, मैले खोजेको जस्तो राम्रो केटा भेटिने सम्भावना।
बिहेको माहोलमा मनपर्ने गीतमा नाचिरहेका जुनसुकै केटा पनि राम्रै थिए। आँखाको सन्तुष्टिको लागि। तर मनले खाने खाल्को देखिनँ। चस्मा म्याच नै नहुनेले चस्मा लगाएका थिए, दाह्री राख्नुपर्नेले काटेका थिए, काट्नु पर्नेले राखेका थिए। हेराइमा नशालु स्वभावका कोही देखिएका थिएनन्। केटाहरूको सर्टमा लेडिज सेन्टको स्मेल आइरहेको थियो।
म चारैतिर आँखा डुलाइरहेको थिएँ, बेहुलासँगै बसेका एक युवकसँग मेरो हेराइ ठोकियो, म नदेखेजस्तो गरी उसको नजरबाट मेरो आँखा हटाएँ।
एकोहोरो हेरिरहेका थिए उनले मलाई , म थाहा पाएर थाहा नपाएझैं, के– के काममा उल्झेझैं देखाउन लागें। मलाई सप्पै थाहा छ भन्ने कुरा उनलाई थाहा हुन्थ्यो अनि झन् मुसुमुसु हाँस्दै नियाल्दै थिए मलाई।
तर बिहेको सानो माहोलमा टुसाउन खोजेको अव्यक्त प्रेमले ठूलो आकार लिन सक्ला जस्तो मलाई लागेन।
उनको गन्धले मलाई बोलाएको आभास भएजस्तो भएको थियो भित्रभित्रै। वर्षासँग फोटो खिच्ने बहानाले म बेहुली नजिक पुगें। मेरा स्वासनलीहरू एक्कासि जागेर मुटुका ढुकढुकी बढ्न लागे, गाला रातोपिरो हुन लाग्यो, उसको गन्ध मेरो नाकसम्म आइपुग्यो अर्गानिक वाला। अरू केटाझैं उनले दाह्री सेभ पनि गरेका थिएनन्, चिटिक्क पारेर मिलाएर राखेका पनि थिएनन्, सेतो सर्ट र निलो पाइन्ट बिहेमा आएको होइन स्कुल पढाउन हिँडे जस्तो देखिएका थिए। करिब छ फिट थियो होला हाइट।
उसको नजिक बस्ने रहर त पूरा भयो मेरो तर कुरा भने भएन। म खाना खानतिर लागें।
गर्मीको बेला म पंखाको नजिक बसेको थिएँ। पखाको हावाले फरफर गरिरहेको मेरो सारीको आँचलमा अलि परबाट लुकिलुकी मस्किँदै मलाई हेरिरहेका थिए। घरिघरि म पनि ऊतिर नहेर्ने होइन।
सिन्दुर हाल्ने बेला भएछ म वर्षासँगै चेन्जिङ रूममा गएँ। रूमको झ्यालबाट बिहेको मन्डप प्रस्ट देखिएको थियो। ऊ मान्छेहरूको भिडभाडलाई पन्छाउँदै, चारैतिर आँखा डुलाउँदै थियो। उसका आँखाहरू थकित देखिएका थिए। जग्गेतिर गएर फन्को मारे, हलमा खाना खाइरहेकाहरूको अनुहार चहार्दै गए। गेटमा उभिए परसम्म पुगेर फर्किए उसको छटपटाहट यस्तो देखिएको थियो कि मानौं उसले कुनै अमूल्य उपहार गुमाएको छ। अहँ उसले मलाई देखेन। उसका आखाहरू मलाई देख्न नपाएर तिर्खाएजस्तो देखिएका थिए।
कोही मलाई यसरी खोजिरहेको देख्दा मलाई उसको अगाडि देखिन मन लागेन। मेरो मुटुलाई उसले पूर्ण बनायो तर उसको मुटुलाई मैले रित्तो बनाएकी थिएँ। उसको धड्कनलाई जिस्क्याएकी थिएँ। बिहे सकिन लाग्यो। म तल झरिनँ।
बेहुलीसँग म रूम मै बिदा भएकी थिएँ। जन्ती गए म घर फर्किएँ। अब फेरि ऊ भेट होला नहोला यही कुरा मनमा खेल्दै थियो। म जस्को खोजीमा थिएँ भेटेर पनि किन ऊदेखि भागिरहें।
उसको नाम समेत थाहा पाउन सकिनँ मैले, चाहेरमात्रै नहुने रैछ। मेरो मन सानो रहेछ मैले उसलाई अटाउन सकिनँ। मेरा आँखा उसका निम्ति रसाइरहेका छन् जो अपरिचित नै भए, यो घाउ मैले जानीजानी लगाएको हुँ यसको न मलम हुन्छ, न त सहन सक्ने मन। कुनै कुनै सम्बन्ध खिलपल्टिएको घाउजस्तै हुन्छ। ननिकाले दुखाउँछ, निकाले घाउ बनाउँछ। यो त्यस्तै सम्बन्ध भो!