पत्रकारिता गर्दा एउटा साथी एकदमै चर्चित हुँदै थियो। त्यो साथीलाई रेडियोमा बोल्ने यस्तो हुटहुटी थियो कि रेडियोमा बोल्नकै लागि दाङका पचास किलोमिटर वरपर रहेका हरेक रेडियोमा कार्यक्रम चलाउन दैनिक कुद्थ्यो।
स्वर अत्यन्त मीठो भएकै कारण उसले चलाउने हरेक कार्यक्रम हिट हुन्थे उबेला।
एकदिन निराश हुँदै भन्यो, ‘म विदेश जाने भएँ यार, यता कुदेर घर चल्नै मुस्किल भयो।’
म लगायतका धेरै साथीहरूले सम्झायौं, भविष्य यतै खोज्न सल्लाह दियौं। तर उसले मानेन।
एकदिन सुटुक्क झोला टिपेर काठमाडौं हिँड्यो अनि जहाज चढेर दुबई पुग्यो।
पत्रकारिताले राम्रोसँग घर नचलेपछि विदेश उड्ने पत्रकारको संख्या धेरै होला, तर मेरा लागि ऊ अलि विशेष थियो। किनकि ऊ अलि धेरै खुबी भएको मान्छे थियो मेरा लागि।
हाम्रा दैनिक गफ हुन्थे, च्याटमा अनि फोनमा। ऊ खुसी थियो। राम्रो काम, राम्रै दाम अनि विदेशबाटै भए पनि पत्रकारितामा नाम कमाउँदै थियो।
दुबईबाटै रेडियोका लागि कार्यक्रम रेकर्ड गरेर पठाउथ्यो उसले, अनि यता विभिन्न रेडियोमा बज्थे उसका कार्यक्रम।
रेडियोमा बोल्ने उसको सपना दुबईले रोक्न सकेको थिएन। ऊ फुर्सदको समयमा रेडियोका लागि कुदेकै हुन्थ्यो।
ऊ विभिन्न संघ संस्थाहरूमा पनि आबद्ध थियो। दुबईमा हुने कार्यक्रमहरूको उद्घोषण गरेर पनि नेपालीहरू माझ माया कमाउँदै थियो।
वार्षिक बिदामा नेपाल आउथ्यो, हामीहरूसँग रमाउथ्यो। फर्कंदा भारी मन लिएर फर्कन्थ्यो।
समय बित्दै जाँदा ऊ नेपाल फर्कने कुरा निकाल्यो। मैले रोक्दै भनें, ‘नआइज, म पनि विदेश हिँड्ने विचार गर्दैछु।’
उसले दुबई बस्दा बनाएको हैसियत सुनाउँदै भन्यो, ‘फलानो नेताले तुरून्तै आइहाल भन्छन् यार, म अब नेपाल आएर राजनीति गर्छु।’
उसले दुबई बस्दा नेपालमा रहेका राजनीतिक पार्टीका उच्च नेताहरूसँग सम्पर्क बढाएको थियो। विभिन्न कार्यक्रममा दुबई जाने नेतादेखि कलाकार सँगको सम्पर्कले ऊ नेपाल फर्कने अनि राजनीतिमा होमिने कुरा गर्यो।
मैले सहमति जनाइनँ, रोक्दै भनें, ‘तैंले सोचेकोजस्तो सजिलो छैन राजनीति। खुट्टा तान्ने प्रवृत्ति र नेताको चाप्लुसीले तँलाई राजनीतिमा एक वर्ष टिक्न दिँदैनन्।’
ऊ मान्ने मुडमा थिएन। मानौं एक प्रकारको झोले कार्यकर्ता भैसकेको थियो ऊ।
बाको व्यवसाय छैन, स्वच्छ पत्रकारिताबाट परिवार पाल्न सकिन्न। राजनीति हाम्रा लागि होइन। सक्छस् भने व्यवसाय गर्ने पैसा कमाएर फर्किन लाखौं पटक अनुरोध गरे। ऊ मान्न तयार थिएन।
अन्तिममा पछुताउँछस् भन्नुको विकल्प थिएन।
यो बीचमा म विदेश हिँडें, ऊ नेपाल फर्कियो।
उस्तै म्यासेन्जरमा गफ हुन थाले। राजनीतिमा लाग्दै गरेका आफ्ना अनुभव सुनाउँदै भन्थ्यो, ‘आउँदो चुनावमा वडा अध्यक्षको टिकट लिने हो। अनि हैसियत बढाउँदै लाने।’
मैले शुभकामना मात्र दिन्थें, तर पत्याउँदैनथें।
ऊ राजनीतिका बा सँगको फोटो म्यासेन्जरमा पठाउँदै भन्थ्यो, ‘बाले मेरा लागि धेरै सोचेका छन्।’
ऊ एक प्रकारको अन्धभक्त थियो। मैले एक वर्षमा विदेश हिँड्छस्, धेरै हावामा नउड्न सल्लाह दिन्थें।
केही सीप नचलेपछि म विदेश हिँडेको कथा सुनाउँथें उसलाई। ऊ मलाई फर्कन सल्लाह दिन्थ्यो। म उसलाई खुरूक्क विदेश आउन सल्लाह दिन्थें।
हामी हाम्रा लागि कहाँ ठीक भनेर बाझ्थ्यौं मात्र, ऊ नेपाल ठीक भन्थ्यो। म दुई चार वर्ष विदेशै ठीक भन्थें।
राजनीतिक हैसियत बनाउँछु भनेर नेपाल पुगेको ऊ नेताको नजरमा हिरो हुन सकेन। मात्र चुनावको लागि प्रयोग हुने सामान्य कार्यकर्ता भयो।
एकदिन तनावमा परेर फोन गर्यो, मलिन अनुहार लगाउँदै भन्यो, ‘वडा अध्यक्षको लागि पाएको टिकट पनि अन्तिम समयमा खोसियो यार। यहाँ राजनीति गर्न सजिलो रहेनछ।’
ऊ एकदमै निराश थियो। पार्टीका लागि चुनावको समयमा आफूले गर्न सक्ने जति दौडधुप गरेर सकेपछि ऊ पार्टीबाट अलग भएको र स्वतन्त्र बस्ने विचार फेसबुकमा पोष्टियो।
दुनियाँले कमेन्टमा आएर सान्त्वना दिए। तर उसकै पार्टीका स्थानीय नेताहरूले विचार बदल्ने आग्रह त परैको कुरा, भेटेर सल्लाह गरौंसम्म भनेनन्।
अनि उसले फेरि विदेशिने रहर देखायो।
अस्ति फेसबुकमा एउटा स्टाटस लेख्यो। आक्रोशित हुँदै लेखिएको त्यो स्टाटसमा उसले आफू पुनः विदेशिनु परेको खण्डमा आफ्नो लाससम्म नेपाल नल्याइदिन आग्रह गरेको थियो।
उसले स्टाटसको अन्तिममा लेखेको थियो ‘माटोको मायाले मात्र जीवन नचल्दो रहेछ।’
सोच्न बाध्य भएँ! साँच्चै मान्छे रहरले विदेश उड्दैन।
ऊ विदेश उड्दा म नेपालमै थिएँ। केही गरौं, तर नेपालमै गरौं भन्ने हुटहुटी ममा थियो। नेपालप्रतिको माया थियो।
बाध्य भएर मैले नेपाल छाडें, मैले नेपाल छाड्दा ऊ नेपाल फर्कियो। ऊभित्र पनि उस्तै हुटहुटी थियो, नेपाल बनाउने।
ऊ नेपालमै राम्रो सम्भावना बोकेको युवा हो, पत्रकारिता क्षेत्रमा होस् या राजनीतिमा। तर विदेश हिँड्ने सपना पालेर काठमाडौंका गल्ली चहार्दै छ यतिबेला।
एउटा टाठो बाठो र विदेशमा संघर्ष गरेर फर्किएको युवा त पुनः परदेश हिँड्न बाध्य छ भने बाँकीको हालत के होला नेपालमा?
भन्नेहरू त भन्छन्! कसैले भगौडा भन्छन्, कसैले विदेशमा भाडा माझ्न गएको भन्छन्। कोही कोही त तल्लो स्तरमा उत्रेर’ साला शरणार्थी’ सम्म भन्छन्।
तर एउटा युवा आफ्नो परिवार छाडेर झोलामा कपडा र हातमा पासपोर्ट बोकेर सजिलै परदेश उड्दैन, ऊ बाध्य भएर देश छाड्छ भनेर कसैले बुझ्दैनन्।
नेपालमै गर्न सकिन्छ भनेर अर्ति उपदेश दिनेहरू पनि प्रशस्तै भेटिन्छन् गाउँघरमा। तर ती केही गरौं भनेर नेपालमै बसेकाहरूको अवस्था पीडा पनि नजिकबाट भोगेको छु, देखेको छु मैले।
त्यो साथी पहिलो पटक दुबई उड्ने सपना बुन्दा ‘विदेश घुम्न जाने हो केटा, पसिना बेच्न होइन। नेपालमै गरौं’ भन्दै आदर्श छाँट्ने मान्छे मै हुँ।
अनि म विदेश उड्ने सपना देख्दा ‘अब नेपालमै केही गरौं यार, म फर्कंदै छु नेपाल!’ भन्दै मलाई रोक्न खोज्ने साथी त्यही हो, जो आजभोलि मेरो लास पनि नेपाल नआओस् भन्दै स्टाटस लेख्दैछ अनि बुन्दै छ सपना विदेशको।
हो! विदेशमा बस्दा नेपालको अथाहा माया लाग्छ। कसैले नेपाल भनेको थाहा छैन भन्दा पनि रिसले चुर भइन्छ।
नेपाल गएर यस्तो गर्छु, उस्तो गर्छु भन्दै यो जाबो विदेश को बस्छ? भनेर धाक लगाइन्छ पनि। तर जब नेपाल पुगिन्छ, अनि फेरि विदेशै ठीक लाग्छ।
अरू केही नभए पनि विदेशमा हुँदा नेपालको माया त लाग्छ।
बाँकी बाध्यताले विदेशिएकाहरूको कथा नै नबुझी तुच्छ गाली गर्नेहरूको भीड त सामाजिक सञ्जालमा लामै छ।