एक वर्षअघि मात्र वैवाहिक बन्धनमा बाँधिएकी मेरी एक नाता पर्ने बहिनीसँग केही समयअघि भेट भयो। त्यो पनि अचानक किनमेल गर्ने स्थानमा। उनको विवाह हुनुअघिसम्म कम्तीमा महिनामा एकपल्ट हाम्रो भेट हुन्थ्यो भने फोनमा त दिनहुँजसो नै कुराकानी हुन्थ्यो।
विवाहपछि भने मुस्किलले ४/५ पटक फोनमा कुराकानी भएको थियो। यति मिल्ने बहिनीसँग धेरै समयपछि भेट्दा म निकै उत्साहित भएँ र उनलाई गर्लम्म अंगालो हालेर भने ‘कता हराएको तिमी, बिहे गरेपछि त गुमनाम भयौ त’।
मैले जिस्केर भनेको कुरा शायद उनले अलि गम्भीर भएर लिइन् क्यारे, मलिन अनुहार लगाउँदै भनिन्, ‘दिदी यो विवाह भन्ने चिज नहुनु नि!’
मैले अलिक ठ्टयौली पारामा भनें, ‘विवाह भन्ने चिज नभएको भए त हामी पनि हुँदैनथ्यौ होला नि!’
अनि फेरि जिस्काउँदै थपेँ, ‘सिंगो जीवन बिताउनुछ, अहिले नै यस्तो भनेर हुन्छ त!’
यति भन्दै गफैगफमा हामी नजिकै रहेको एउटा क्याफेमा छिर्यौं। निकै रहर अनि तामझामका साथ विवाह गरेकी उनले क्याफेमा रहेको कुर्सीमा बस्दा बस्दै आफ्नो मनमा उकुसमुकुस रहेको कुरा यसरी भनिन्,‘दिदी बिहे गरेपछि हामी केटी मान्छेको सबै कुरा परिवर्तन हुने रहेछ। प्राथमिकता पनि परिवर्तन गर्नुपर्ने, आफ्नोभन्दा बढी अरूहरूको बारेमा सोच्नुपर्ने, हरेक कुरामा मैले यसो गरे भने श्रीमानले वा उसको परिवारले के सोच्छ होला भनेर सोचिराख्नुपर्ने, आफूलाई मन लागेको कुरा गर्न हजारचोटि सोच्नुपर्ने, आफ्नो भाइबहिनीहरू, बुवाआमा पराइजस्तो बनिदिने। आखिर किन दिदी? केटा मान्छेको चाहिँ केही पनि परिवर्तन नहुने, अनि हामी केटी मान्छेको चाहिँ जीवन नै युटर्न मोडमा परिवर्तन हुने, आखिर यस्तो नियम कसले बनायो अनि किन बनायो?’
उनका कुरा सुनिरहेँ किनकी उनले भोगेका कुराहरू मैले पनि त भोगेकी थिएँ। मैलेमात्र किन हाम्रो समाजमा हरेक छोरीले बुहारी वा श्रीमती भएपछि भोगेकै कुराहरू उनले बताइरहेकी थिइन्।
उनले बताएका कुरा कतिले नबताएरै जीवनभर भोग्छन्, कतिले भोगेका कुरा उनले जसरी बताउँछन् अनि कतिले भने भोगेको आभास समेत गर्दैनन् तर एउटी महिलाले श्रीमती र बुहारी बनेपछि भोग्नुपर्ने यथार्थ उनले मसँग व्यक्त गरिरहेकी थिइन्। मैले जे सोच्थेँ, आभास गर्थेँ सोही कुरा उनले बताइरहेकी थिइन्।
सबै थाहा भएर पनि मैले उनलाई ढाडस दिने प्रयत्न गरेँ ‘समाजको नियम नै यस्तै छ, पितृसत्तामा छौँ हामी। समाज निर्माण गर्नेहरूले आफू अनुकूलको समाज बनाए, त्यही भएर हामी महिलाहरूलाई गाह्रो भएको हो।’
यति भनिसक्दा नसक्दा उनको सोधिन्, ‘नियम किन बराबरी छैन, नियम किन महिलाका लागि मात्र छ, पुरूषका लागि किन छैन?’
यसको उत्तर त म आफैँ खोजिरहेकी थिँए उनलाई कसरी दिन सक्थेँ र!
मैले यो विषयमा कुनै दिन फुर्सदमा कुरा गरौँला भनेँ। यति कुरा गरिसक्दा हाम्रो चियाको सबै चुस्की सकिसकेको र साँझ पनि परिसकेको थियो। दुबै जना विवाहित महिला भएकाले चाँडो घर जानुपर्ने समाजको नियमलाई पछ्याउँदै हामी केहीबेरको भलाकुसारी गरेर छुट्टियौँ र आफ्नो आफ्नो गन्तव्यतिर लाग्यौं।
उनीसँग छुट्टिएपछि मेरो मनमा अनेक कुराहरू खेल्न थाल्यो। श्रीमान जतिनै पढेलेखेकी छिन्, श्रीमानसरह पैसा कमाउँछिन्। केही कुराका लागि कसैसँग हात फैलाउनुपरेको छैन। उल्टै अरूलाई दिनेमा पर्छिन् उनी। विवाह अगाडि पनि आफ्नो र परिवारको सम्पूर्ण जिम्मेवारी लिएर बसेकी थिइन्। खासमा उनको विवाह गर्ने सोच नै थिएन। विवाह गर्न पटक्कै मन थिएन उनलाई।
भन्थिन् ‘दिदी मलाई मनदेखि बिहे गर्न मन छैन। म यत्तिकै खुसी छु। मलाई जीवनभर विवाह नगरी पनि बस्न सक्ने हिम्मत छ तर घरपरिवारबाट एकदम दबाब दिन्छन्। तैंले विवाह गरिनस् भने भाइबहिनीलाई गाह्रो हुन्छ भन्छन्। यो सबै देख्दा चाहिँ बिहे त गर्नैपर्ने रहेछ जस्तो महसुस हुन्छ। बिहे नगरे त परिवार, आफन्त र यो समाजले मलाई बारम्बार प्रश्न गरेर बाँच्न कठिन बनाउँछ। बुढीकन्या भन्छ। बिहे त गनैपर्ने रहेछ, तर मलाई मनदेखि बिहे गर्न चाहिँ मन छैन।’
मैले उक्त बेला उसलाई भन्थें ‘विवाह गर्नैपर्छ भनेर अनावश्यक दबाब नदेऊ आफैँमाथि। सोचेजस्तो, चाहेजस्तो मान्छे आयो भने गर नत्र पर्दैन। यत्रो कमाउँछौँ, आत्मनिर्भर छौ, केको चिन्ता?’
अहिले विवाहपछिको उनको परिवर्तित जीवन देखेर म आश्चर्यमा पर्छु। उनी त एक उदाहरण मात्र हुन्, कहिलेकाहीँ विवाहअघि र पछिको मेरो आफ्नै जीवनको परिवर्तन देखेर म आश्चर्यमा पर्ने गर्छु। स्वीकारे पनि नस्वीकारे पनि समाजको यथार्थ यही नै हो, विवाहपछि प्राय: महिलाको जीवनमा अकल्पनीय परिवर्तन हुन्छ।
मेरो पनि भयो, उनको पनि भयो र तपाईंको पनि भएको छ। अनि मेरी र तपाईंकी छोरीको पनि हुन्छ। सम्झँदा नै अधैर्य, छट्पटी र अत्यास त त्यसबेला हुन्छ, जब म मेरी पाँच वर्षकी छोरीका बारेमा सोच्छु।
मेरी पाँच वर्षकी छोरीको पनि यही सोच र व्यवहार हुने समाजमा विवाह हुन्छ र विवाहपछि उनको पनि जीवन यसरी नै युटर्नमा परिवर्तन हुन्छ।
उनलाई पनि यो परिवर्तनमा समाहित हुन मेरी बहिनी, तपाईं अनि मलाई जत्तिकै गाह्रो पर्छ। उनले पनि विवाहपछि अहिले बसिरहेको आफ्नो घरलाई माइतीघर भन्नुपर्छ, आफ्ना आमाबाबालाई भेट्न माइत धाउनुपर्छ, माइत धाउनका लागि पहिले श्रीमानको वा श्रीमानको आमाबुवाको अनुमति लिनुपर्दछ, माइतमा गएर पाहुना जस्तो बन्नुपर्छ, हिजो आफैंले सजाएको कोठा र खाटमा सुत्न आमाबा र दाजुभाउजूको अनुमति लिनुपर्छ, आफूले विवाह अघि गर्दै आएका सबै काम, रमाइलो, गर्नका लागि विवाह भएर गएको घरका मान्छेको अनुमति लिनुपर्दछ वा उनीहरूलाई रिझाएर गर्नुपर्दछ।
उफ् सम्झँदा नै कहाली लागेर आउने जीवन मेरी पाँच वर्षकी छोरीले पनि भोग्नुपर्दछ।
मानिस सामाजिक प्राणी हो, समाज बन्नका लागि परिवार चाहिन्छ, र परिवार निर्माण हुनका लागि पति, पत्नी र तिनीहरूका सन्तानको आवश्यकता पर्छ। अतः समाज निर्माणको आधार नै विवाह हो।
विवाह गर्नु भनेको जीवन साथी पाउनु, बाँच्ने आधार पाउनु तथा परिवार निर्माण गर्नु हो। सामान्यतया दुई विपरीत लिंगी बीचको सम्बन्धको सार्वजनिकीकरण नै विवाह हो। यद्यपि आजकल भने समान लिंगी भएकाहरूबीच पनि विवाह हुन थालेको अवस्था छ।
विवाहलाई एक पवित्र र आत्मीय सम्बन्धका रूपमा समाजले स्वीकारेको छ।
विवाहको उद्धेश्य एउटै भए पनि समाजको बनोट, धर्म, संस्कृति, जातजाति, भूगोल, सामाजिक मान्यता लगायतका आधारमा संसारभर छुट्टाछुट्टै तरिका अपनाएर विवाह गर्ने चलन छ।
परम्परागत बेलाको कुरा गर्दा पुरूषहरू घरबाहिर गएर काम गर्थे, पैसा कमाएर ल्याउँथे र महिलाहरू पुरूषले ल्याएको पैसाले घर व्यवहार चलाउने र छोराछोरीका हेरविचार गर्ने गर्थे। एक किसिमले कामको समान बाँडफाँट थियो।
यही चलनले विस्तारै विस्तारै पुरूषहरू बढी शक्तिशाली बन्दै गए किनकी उनीहरू कमाउँथे र कमाउने मान्छे शक्तिशाली हुन्छ भन्ने अवधारणाको पनि विकास हुँदै गयो।
यही शक्तिलाई प्रयोग गरेर पुरूषहरूले महिलालाई विवाह गरेर आफ्नो घरमा ल्याउने पितृसत्तात्मक संस्कारको विकास भयो। पुरूषहरूले महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित गर्ने र त्यसको बदलामा महिलाहरूले परिवारको हेरविचार गरेर बस्नुपर्ने खालको अवस्था सृजना हुनगयो।
पुरूषहरू कमाउने भएका कारण र महिलाहरूलाई आर्थिक रूपमा सुरक्षा प्रदान गरेका कारण नै विवाह गर्दा महिलाहरूले आफू जन्मेको स्थान छोडेर पुरूषको घरमा जाने चलनको उत्पत्ति भएको हो। आज परिवेश फरक छ। महिलाहरू पनि पुरूषहरु जत्तिकै आर्थिक रूपमा सक्षम हुन थालेका छन्, पुरूषहरूले महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित पार्नुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ तर अब विवाहपछि महिला पुरूषको घर जाने कुरा संस्कार भएको छ, संस्कृति अनि परम्परा भएको छ।
कानुनी रूपमा महिला र पुरूषको बराबरी हैसियत छ, त्यो मात्र होइन अहिले सामाजिक र आर्थिक रूपमा पनि महिला र पुरूषहरू बराबरीकै हैसियतमा देखिएका छन् तर व्यवहारिक रूपमा भने ठीक उल्टो छ।
महिलाहरू आर्थिक र सामाजिक रूपमा सबल भएर पनि पितृसत्ताको हैकममा बन्दी भएर बाँचिरहनुपरेको छ।
एकातिर छोराछोरी बराबरी भन्ने अनि अर्कातिर विवाह भएको भोलिपल्टदेखि नै अरूको हैकममा बस्नुपर्ने यो कस्तो बराबरी हो?, समान हैसियत भए किन महिलाहरूले मात्रै हरेक कुरामा त्याग गर्नुपर्ने?, विवाह गरेर गएपछि श्रीमानको घरको नियमअनुसार मात्र किन चल्नुपर्ने?, आफू जन्मेको, हुर्केको आफ्नो घर आउनका लागि श्रीमान र उसको परिवारको अनुमति किन लिनुपर्ने?
यति मात्र होइन आफूलाई मन लागेको काम गर्न, खान, लाउन, हिँड्न, साथीभाइसँग भेट्न लगायत हरेक साना ठूला कुरामा उनीहरूको अनुमति र स्वीकृति लिनुपर्ने।
महिलाका लागि मात्र यो नियम किन? विवाहपछि पुरूषका लागि चाहिँ केही नियम बनाउनुपर्दैन? यी प्रश्नको उत्तर कसले दिने?
तर जब कुनै महिलाले यस्ता असमानताबारे आवाज उठाउन सुरू गर्छे, विभेदकारी सामाजिक नियमहरूमाथि प्रश्न उठाउन थाल्छे, तब ती महिलामाथि आफूलाई समाजको ठालु ठान्नेहरूले उल्टै आक्रमण गर्न थाल्छन्– समाज भाँड्ने, धर्म मास्ने, संस्कार नभएकी, घमण्डी इत्यादिको उपमा दिन्छन्। पुरूषहरूको अनुकूल अनुसार महिला हिँडे सभ्य र संस्कारी नारी, अनि आफ्ना अधिकार र असमानताका बोले चाहिँ कुसंस्कारी, महिलाहरूले कहिलेसम्म टाउकोमा लिएर घुम्ने यो पितृसत्ताको भारी?
हामी हाम्रा छोरीहरूलाई खाना बनाउन, पति, सासू ससुरा, नन्द आमाजू, देवर, जेठाजुको आदर गर्न सिकाउँछौ तर हाम्रा छोराहरूलाई यस्ता कुरा सिकाउन जरूरी नै ठान्दैनौं। बच्चादेखि नै ‘छोरा हो नि’ भन्ने सोच उनीहरूमा घुसारिदिन्छौं अनि वयस्क भएपछि हामी त पुरूष हौं, नारीभन्दा एक कदम अगाडि छौं भन्ने सोचाइले उनीहरूको दिमागमा जरा गाड्छ। छोराहरूलाई केही नसिकाएकै कारण पितृसत्ता २१ औं शताब्दीमा पनि मौलाउँदै गइरहेको छ।
पुरूषहरूले आफूहरू शक्तिशाली र विशेष रहेको दम्भ देखाउँदै महिलाहरूमाथि दमन गरिरहेका छन्। चाहे त्यो शारीरिक दमन होस्, मानसिक होस् वा भावनात्मक नै।
महिलाहरू आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर, आत्मविश्वासी बने पनि पितृसत्तात्मक सोचको हाबीका कारण पुरूषमै आश्रित रहन बाध्य छन्।
आफूले कमाएको पैसा विवाहपछि आफ्ना लागि खर्च गर्न वा आफ्ना आमाबाबा वा भाइबहिनीलाई दिनका लागि श्रीमानको अनुमति लिन बाध्य छन्।
एकातिर विवाहपछि महिलाहरूलाई आफू जन्मेको घर अर्थात् माइतीघर जानका लागि पनि पुरूषको अनुमति लिनुपर्ने अवस्था छ भने अर्कोतिर कुनै पुरूष महिलाको जन्मघर अर्थात् ससुराली गएर एक हप्ता मात्र बस्यो भने पनि उक्त पुरूषलाई जोइटिंग्रेको संज्ञा दिने गरिन्छ।
कस्तो पट्यारलाग्दो यथार्थ महिलाले चाहिँ विवाह गरेको दिनबाटै श्रीमानको घरका सबैलाई, जसलाई उनले राम्रोसँग चिनेको पनि छैन, अपनाउनुपर्ने, सबैले भनेको मानिदिनुपर्ने, हरेक काम गर्नुअघि उनीहरूको अनुमति लिनुपर्ने अनि पुरूषको जीवन चाहिँ सधैं उस्तै रहने, श्रीमतीको घरमा एक रात बस्न पनि समाजले के भन्ला सोच्नुपर्ने?
नियम पनि कति अवैज्ञानिक के, आफैं जन्मेको, हुर्केको ठाउँमा, आफ्नै बाबुआमा, दिदीबहिनी, दाजुभाइसँग यतिको नजिकको सम्बन्ध बनाउन त वर्षौं लागेको छ भने एकैरातमा चिन्दै नचिनेको परिवारलाई आफ्ना सबैलाई छोडेर पूरै अपनाइदिनुपर्ने रे।
तपाईं आफैं सोच्नुहोस् त के यो सम्भव छ? तपाईं आफ्नै श्रीमतीको बाआमालाई बाआमा भन्नसमेत असहज महसुस गर्नुहुन्छ, उनको घरमा गएर दुई दिन बिताउन मुस्किल पर्छ। अनि उनले चाहिँ विवाह गरेर आएको दिनदेखि तपाईंका साखा सन्तानलाई आफ्नो बाआमाभन्दा बढी गरिदिनुपर्ने?
यो समाज निर्माण हुँदा जति पुरूषको भूमिका छ, त्यति नै अझ त्यो भन्दा बढी महिलाको भूमिका छ। यथार्थमा भन्दा महिलाहरूका कारण नै यो सृष्टि चलिरहेको छ। तर महिलाहरूका लागि यो समाज सधैं अनुदार किन? हिजो त परिस्थिति फरक थियो, पुरूषहरू कमाएर ल्याउँथे र महिलाहरूले घर व्यवहार चलाउँथे तर आज महिलाहरूले आर्थिक उपार्जनमा पुरूषसरह हैसियत राख्दा पनि उनीहरू नै झुक्नुपर्ने, तल पर्नुपर्ने आखिर किन?
अनि यस्तो हुनुहुँदैन, सबै समान हुनुपर्छ भनि आधारभूत अधिकारका लागि आवाज उठाउँदा असंस्कारी नारी? हो, म असंस्कारी नारी हुँ, किनकि म समाजले नचाहेको यही प्रश्न बारम्बार उठाउनेछु। दोहोर्याइ तेहर्याइ उठाउनेछु।