बिहानै बसपार्कमा हल्लाखल्ला थियो। हतारिँदै आइरहेका यात्रुलाई कन्डक्टर बसको गन्तव्य बताइरहेका थिए। धरान चोकको घन्टाघर सुन्तला रङको बत्तीले झिलिमिली थियो।
त्यही घन्टाघरको घडीमा समय टलक्क टल्कियो — ६।
हामी टुटे देउराली जाने गाडी कुरेर बस्ने निर्णय गर्यौं। संखुवासभाको गुफापोखरी हाम्रो गन्तव्य थियो। म्यालुङ जाने टिकट काट्न लाग्दा 'हिँड्ने हो भने त टुटे देउरालीबाट हिँड्नू' भन्ने सुझाव आएको थियो। त्यसैले टुटे देउराली जाने टिकट काटेका थियौं।
काउन्टरमा कुरा सकिएपछि मेरो ध्यान चियाको बास्नाले खिच्यो। काउन्टर छेउमा एक जना आमै चिया पकाउँदै रहिछन्। भुइँमा लडिरहेको मुढा टिपेर म कुर्सीमा बसेँ। मेरो साथी मुढा तानेर बस्यो।
'आमा दुई कप चिया,' मैले भनेँ।
'हस् बाबु' भन्दै आमै चिया पकाउन थालिन्। डढेको दूधlको बास्ना नाकमा ठोसिएर हुरूक्कै पार्यो। मलाई डढेको दूधको बास्नावाला चिया असाध्यै मनपर्छ। त्यसले मलाई त्रि-चन्द्र क्याम्पसमा बिएससी पढ्दाका दिनमा पुर्याइसकेको थियो। त्यतिखेरसम्म मलाई थाहा थिएन, कुनै दिन मलाई चराहरूले हुरूक्क पार्लान् र म तिनकै खोजीमा जंगलजंगल चहार्दै हिँडौंला!
बाबु चिया— आमैले बोलाएपछि म धरानको यो बसपार्क छेउमै फर्किएँ। एकैछिनमा चिया सकेर दोस्रोपटक मागेँ। आमै छक्क परिन्।
फेरि मख्ख पर्दै सोधिन्, 'सक्किसको?'
मैले पनि दंग परेर भनेँ, 'हो नि!'
तातो चिया सुरूप्प पार्दै थियौं, 'जाने बेला भयो' भन्दै कन्डक्टर आइपुगे।
गाडीभित्र छिरेर झ्यालको सिट रोजेँ। मलाई हिँडेर यात्रा गर्न मनपर्छ। पहाडी बाटोमा हिँड्दा त अझ बाटोमा पर्ने खोला र छहराको आवाज र वनस्पतिको बास्ना नाकमा ठोक्किएको खुब मनपर्छ। वनस्पतिमा परागशेचन गर्दै रमाएका मौरीहरू र ढुंगाको टुप्पैमा उम्रिएका खनिज सोसिरहेका पुतलीहरू हेरेर म कहिल्यै अघाउँदिनँ। रूख-बिरूवाका हाँगाहाँगामा उफ्रिँदै खानेकुरा खोज्दै हिँडिरहेका चरा र रूखका पात हल्लाउने हावाको सुसेली सुनेर म त्यतै कतै हराइदिन मन लाग्छ।
गाडीमा हिँड्दा यी सबै कुरा छुट्छन्। छुट्दै गरेका यी कुरा आँखाले एक निमेष भए पनि हेर्न पाइएला भनेर झ्यालतिर बसेको थिएँ। बस खाली नै थियो। त्यसैले साथी पनि पछिल्लो सिटको झ्यालतिर बस्यो।
साँघुरो बाटोमा गाडीको गति तेज थियो। तेज गतिमै, झ्यालबाटै भए पनि बाहिर मैले जुरेली चरी देखिरहेको थिएँ। घर र रूख भँगेरा पनि बेला बेला देख्थेँ।
हिलेभन्दा माथि एउटा होटलमा खाना खान रोकियौं। त्यहाँबाट मकालु हिमाल देखिने रहेछ। अघिल्लो रातदेखि मेरो पेट बिग्रेकाले दही मात्र खाएँ। अरूले खाना खाउन्जेल मैले चरा र हिमाल हेर्दै बिताएँ।
गाडी फेरि आफ्नो बाटो लाग्यो। तेह्रथुमको वसन्तपुरबाट केही किलोमिटर टाढा पर्ने टुटे देउरालीमा ओर्लिएपछि हाम्रो पैदल यात्रा सुरू भयो। हामीले दुई किलो सुन्तला किन्यौं र खाँदै हिँड्यौं।
गुफा पोखरीः २६ किलोमिटर
टुटेबाट माथि लागेपछि सहरको हल्लाखल्लाबाट टाढा भइयो। चराचुरूंगी र प्रकृतिको आवाजले सहरी हल्लालाई जित्दै गए। मलाई मनपर्ने खालको हल्ला! सहर टाढा भएपछि म त्यसै पुलकित हुन्छु। मानौं वर्षौंपछि घर आएको छु।
परपरको वनपाखामा चराले गीत गाएको सुन्दा मेरा आँखा आफैं चनाखा हुन्छन्। किनकी गीतबाट म धेरै चरा चिन्न सक्दिनँ। त्यसैले रोकिएर खोज्न थाल्छु। अहिले भने नजिकै कुनै चरा कराएको सुनेर म अडिएँ।
आवाज सुन्दा कुनै प्रकारको फिस्टे होलाजस्तो लागेको थियो। भेट्न पनि केही समय लाग्यो। एउटा फुच्चे चरा रूखको हाँगामा हिँडिरहेको देखेँ। छाती र तल्लो भाग सेतो, माथिल्लो भाग हरियो र टाउकोमा टोपी लगाएजस्तो फिक्का कालो कालो रङ — ब्लिथ्स लिफ वार्ब्लर।
फुत्त फुत्त उफ्रिने त्यो चराको फोटो लिन धेरै गाह्रो भयो। त्यही पनि सकिन्छ कि भनेर प्रयास गरेँ। मैले अर्को चराको आवाज सुनेँ। त्यो चरा भने आवाजले नै चिनेँ — रूफस सिबिया।
स्नातकोत्तर पढ्दाताका मनाङ जाँदा यसलाई धेरै देखेको र सुनेको थिएँ। यसको गीत रमाइलो लाग्थ्यो, 'के छ, कतै जाने हो कि' भनेजस्तो लाग्ने। त्यसैले सम्झिन सजिलो भएको थियो।
चराको गीत सुनेर तिनलाई चिन्ने कला सिक्न मलाई खुब मन छ। त्यसैले चराको गीत सम्झिन मैले सुन्दा उस्तै लाग्ने शब्दहरूसँग जोड्ने गरेको छु।
अमेरिकामा एउटा चरा पाइन्छ 'इस्टर्न टोवी'। त्यो कराउँदा 'ड्रिंक योर टी टी टी टी' भनेझैं सुन्छु। त्यसैले मलाई त्यो करायो भने चिया पिऊँ पिऊँ भइहाल्छ — चराले नै भनेको छ नि त भन्ने मिठो बहाना पनि हुन्छ।
'ओहो यो चरा चाहिँ म चिन्छु,' उत्साहित हुँदै साथीलाई सुनाएँ। म गीत आइरहेको ठाउँतिर खोज्न थालेँ। खोजी सजिलो हुनेवाला थियो।
गुराँसको रूखमा बसेको, लगभग कलेजी वा गाढा सुन्तले रङको, पखेटा अलि अलि कालो र टाउकोमा कालो टोपी लगाएको जस्तो देखिने, त्यही हो रूफस सिबिया!
ती दुई चरा हेरिसकेर यात्रा फेरि सुरू भयो। टुटेबाट केही बेरअगाडि गएपछि 'आरआर गार्डेन' आयो। भित्र पस्न भने पाएनौं। बगैंचा वरपर केही काग थिए। यहाँबाट केहीअगाडि गुर्बेसी डाँडामा सानो पाथिभरा मन्दिर रहेछ। मन्दिर जाने सल्लाह भयो। डाँडाकाँडा नचढेको धेरै भएकाले सानै भए पनि त्यो डाँडा देख्दा सातो गएको थियो।
म स्वाँस्वाँ गर्दै माथि चढ्दै थिएँ। एक हिसाबले ठिकै थियो, रोकिएर चरा हेर्न पाइने। नभन्दै भर्याङको फेदमा उफ्रिँदै गरेको एउटा चरा देखेँ। त्योसँग पनि मेरो पुरानै सम्बन्ध छ। देख्न नपाई चिनिहालेँ। मनाङ, गोसाइँकुण्ड र अरू हिमाली भेगमा जाँदा प्रशस्त देखेको थिएँ — अल्ताई एसेन्टर।
मैले साथीलाई देखाउँदै भनेँ, 'नेपालीमा अल्ताई लेकचरी'।
सानो पाथिभराबाट मकालु र महालंगुर हिमशृंखला राम्रो देखिने रहेछ। हामी हिमालको तस्बिर खिच्नतिर लाग्यौं र तल झर्यौं। केही तल एक बस भरिएर आएका विद्यार्थी थिए। ठुल्ठूला स्पिकर जोडिएको ठाउँमा गीत बज्न तयार हुँदै थियो। पिकनिक आएका होलान्!
हामी आफ्नै बाटो लाग्यौं। उकालो आउन थालेको थियो। २०-३० मिनेट हिँडाइपछि एउटा पासजस्तो देखिने ठाउँ आयो। त्यहाँबाट तल ओर्लिनुपर्ने रहेछ। पास पुग्नुअगाडि म र साथीले एकैचोटि एउटा चरा उडेर आएको देख्यौं। के चरा हो, ठम्याउन सकिनँ। चरा नजिकैको रूखमा गएर बस्यो। फर्किएर हेर्न खोजेँ, ठ्याक्कै टाउकोमाथि सूर्य परेका बेला थियो। म अझै पछाडि फर्किएँ।
हिँड्दै नै थिएँ, साथी करायो — ओहो उल्लू!
जंगल आउलेट डुन्डुल!
म अचम्म परेँ। क्यामरा तेर्स्याएर दुइटा फोटा खिचेँ। एउटा ब्लर आएछ, अर्को चिन्न सकिने थियो।
सोच्दै नसोचेका बेला प्रिय उल्लू देखेर खुसीको सीमा नै रहेन। त्यसपछि त यात्रा झन् रोमाञ्चक लाग्न थाल्यो। त्यो पासबाट तल झर्दा थाहा पायौं, चराहरूका लागि राम्रो वासस्थान रहेछ।
ट्री-क्रिपर, एक प्रकारको सानो चरा जुन रूखमा कीरा-फट्यांग्रा खोज्दै हिँड्छ।
लामो चुच्चो भएको त्यो सानो चराको आनीबानी हेर्न धेरै रमाइलो हुन्छ। रूखमा उल्टो हिँड्दै कीरा खोज्दै गरेको हेरेर हामी फेरि अगाडि बढ्यौं।
बाटोमा रूफस सिबियाहरू कराउँथे। हिँड्दै गर्दा केहीअगाडि रूखको टुप्पोमा एउटा चरा बसेको देखेँ। शरीरको आकार देखेरै कुन प्रकारको हो भन्ने थाहा पाएँ। ठ्याक्कै कुन प्रजाति भनेर चिन्न केही अगाडिसम्म जानुपर्यो। रूखको टुप्पोमा बसिरहेको त्यो चरा थियो— जुँगे जुरे चरा (विस्कर्ड युहिना)।
मैले मनाङ र अन्नपूर्ण बेस क्याम्पतिर धेरै देखेको चरा फेरि धेरै वर्षपछि देखेको थिएँ।
फेदी पुगेर खाजा खान हामी एउटा होटल छिर्यौं। अर्डर गरेर बाटामा खिचेका फोटा हेर्न थालेँ। सबभन्दा मनपरेको त त्यही उल्लू थियो। त्यो उल्लु पहिलोपटक मैले सल्यानमा देखेको थिएँ, लगभग सात वर्षअगाडि। बाटोमा देखिएको हरियो चिचिल्कोटेको पनि दर्जन फोटो खिच्न भ्याएछु। छिर्के तोरी गाँडा, कल्की तोरी गाँडा, कानटाटे तोरी गाँडाहरू पनि बाटोभरि थिए।
खाजा खाइसकेर हामी अगाडि बढ्यौं। मध्यदिन हुन लागेकाले चरा देख्न मुश्किल थियो।
मंगलबारे पुगेर माथि लागेपछि बाटो छेउको ढुंगामा प्रशस्तै मुरारी (पुतली चरा- वालक्रिपर) देखिन थाले।
यी चरा मेरा लागि नयाँ थिएनन्। तर धेरै वर्षपछि देखेकाले म खुसी नै भएँ।
नेपालको पूर्वी भेग म खासै हिँडेको थिइनँ। संखुवासभा जिल्लामा त पहिलो पटक टेक्दै थिएँ। चराहरू मात्र नभएर मलाई त्यो ठाउँ, पदमार्ग सबै मनपरेको थियो। बाटैबाटो हिँड्न परे पनि रमाइलो थियो, शान्त, सुन्दर र फोहोररहित। दृश्यहरू साह्रै मनमोहक। यो क्षेत्रमा धेरै लालीगुराँस रहेछ, २८ प्रजातिको पाइने रहेछ। बाटोभरि अनगिन्ती लालीगुराँसका बोट तर नफुलेको देख्दा गलत सिजनमा आइएछ जस्तो लाग्यो।
बाटोमा लामपोखरी पर्ने रहेछ। हामी पुग्नुपर्ने गुफापोखरी भने दुई किलोमिटर पर थियो। ठीकै छ, अँध्यारै भए पनि अब केही बेरमै पुगिन्छ भनेर चित्त बुझायौं। मोबाइलको बत्ती बालेर हिँँड्यौं।
एउटा होटलको ढोकैमा आमै उभिएकी रहिछन्।
सोध्यौं, 'बस्ने-खाने व्यवस्था छ?'
'छ बाबु, किन नहुनु? कति जना हो?'
'दुई जना' भन्दै हामी भित्र पस्यौं।
'कहाँबाट आउनुभयो' हामीसँगै पछिपछि लाग्दै गरेकी आमैले सोधिन्।
'टुटे देउराली,' हामी दुवैले एकैचोटि भन्यौं।
चिया माग्यौं। आमै भान्सातिर जानै लाग्दा मैले भनेँ — तीनवटा ल!
'अर्को साथी नि आउँदै हो र?'
'होइन, मलाई नै दुइटा,' मैले गर्व गर्दै भनेँ, 'मलाई जिब्रो पोल्दै चिया पिउनुपर्छ क्या! अनि छिटो पनि सकिन्छ।'
'मेरो जस्तो बानी रैछ' आमै यति भनेर हाँस्दै भित्र पसिन्।
आमैसँग हिँडाइ, गुफापोखरी, त्यो क्षेत्र र त्यहाँको पर्यटन विकासबारे कुरा गर्दै बस्यौं। कोठाभित्र बिस्तारै चिसो हुँदै थियो। फ्रेस भएर अगेनो छेउमा आयौं। भोलिपल्ट कहाँकहाँ जाने भनेर सल्लाह गर्न थाल्यौं।
म्याङलुङ हुँदै झर्ने कुरा गरेको सुनेर होला आमैले भनिन्, 'त्यसो भए म्याङलुङभन्दा चैनपुर पो झर्दा बेस हुन्छ बाबु!'
छिटोछिटो काठमाडौं पुग्नुपर्ने भन्दै हामीले दुरीको हिसाब गर्यौं। अन्त्यमा आएकै बाटो फर्किने भयौं। बिहानै उठेर ब्रेकफास्ट तयार हुँदासम्म हामी गुफापोखरी डुल्न निस्कियौं। गुफापोखरी आफैंमा मनमोहक ठाउँ रहेछ। अघिल्लो दिन अँध्यारो भएकाले वरपरको दृश्य देखिएको थिएन। बिहान छर्लंग देख्दा त एकछिन अचम्म परियो।
पहिलो पहिले यो ठाउँमा धेरै पोखरी थिए रे। लामपोखरी पनि ठूलो थियो रे। बाटो विस्तार र विकासका काम बढ्दै जाँदा पोखरी सुक्दै गएका रहेछन्।
केही वर्षपछि यो गुफापोखरी पनि रहन्न कि! सम्झेरै मलाई अत्यास लाग्यो।
यो पोखरी कति चराको घर होला! ती सबै कहाँ जालान्?
आमैले गुफापोखरीबारे एउटा कथा सुनाएकी थिइन् — गुफापोखरीमा कहिल्यै पनि पात वा अरू कुरा हुँदैन रे। त्यसैले पोखरी सधैं सफा देखिन्छ। पोखरीमा खसेका सबै कुरा चराले टिपेर सफा गर्थे रे। आजकल भने चरा देख्नै गाह्रो हुँदै गएको छ।
बिहान डुल्दा पनि मैले पोखरीमा रूख भँगेरा र कागबाहेक अरू चरा देखिनँ।
हामी पोखरी डुलेर टुटेतिर झर्यौं। बाटोमा नयाँ चरा भेटिएन। त्यही अघिल्लो दिन देखिएकै मात्र थिए। हामी अलि हतारमा भएकाले धेरै समय बस्दै, हेर्दै जान पनि पाएनौं।
टुटेदेखि गुफापोखरी पुग्दासम्म ४२ प्रजातिका चरा देखेँ। त्यहाँको बासस्थान र ठाउँ हेर्दा अझै बढी देखिन्छ भन्ने विश्वास छ!
तल झर्दै गर्दा चराहरू र गुराँसले भरिपूर्ण त्यो ठाउँ बिस्तारै हाम्रो पछाडि हराउँदै थियो। मनमा सम्झना लिएर फर्किएँ — फेरि कुनै दिन आऊँला!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)