शनिबार मैले लेखक, पत्रकार तथा साहित्यकार ध्रुवसत्य परियारको सामाजिक सञ्जालमा एउटा पोस्ट देखेँ। उक्त पोस्ट गायक प्रकाश सपूतको हालै सार्वजनिक भएको नयाँ गीत 'दमाई महाराज' सम्बन्धी थियो।
परियारले आफ्नो पोस्टमा लेखेका छन्, 'कुनै कालो मान्छेलाई काले वा कालो भनियो भने त्यो यथार्थ हुन्छ। रिस, झोँक, माया सबै हुन्छ। तर कालोलाई सेतो वा सेते भन्यो भने त्यो व्यंग्य हुन्छ। दमाई इतिहासमा कहिले महाराज थियो र? दमाहा बजाउनेलाई दमाई भनियो। पछि विवाह, भोजन लगायत अनेक नियमका कारण समाज र शासकले थुप्रै मानिसलाई कथित उपल्लो जातबाट खसालेर दमाई बनाए। खसेको, हेपिएको, पिल्सिएको जात हो दमाई। अनि उसलाई महाराज भन्नुजस्तो व्यंग्य अर्को के हुन्छ? यो प्रकाश भाइ पनि अनेक फन्डा गर्छ, गरिखाओस्।'
यो पोस्ट पढेपछि प्रकाश सपूतको उक्त गीतको भिडिओ हेर्न कर लाग्यो।
ध्रुवसत्य परियार एक समीक्षक भएकाले उनको यो पोस्टले सो करिब १४ मिनटको भिडिओलाई कसरी र किन हेर्ने भन्ने पत्रकारिताको भाषाको 'एंगल' दियो। त्यसलाई सोही एंगलबाट दुई/तीनपटक अद्योपान्त हेरेँ।
यसपछि ध्रुवसत्यले दमाई इतिहासको कुनै कालखण्डमा महाराज नभएको अल्पज्ञान तथा भिडिओको कथा वस्तु, प्रस्तुति तथा सन्देशलाई पूरै बेवास्ता गरेर हतारमा गरिएको टिप्पणीजस्तो लाग्यो।
मलाई प्रकाश सपूतको सिर्जना देख्दा सधैं अचम्म लाग्छ। उनको जुन सिर्जनशीलता छ, त्यो विरलैमा देख्न सकिन्छ।
मलाई भारतका प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीको सम्झना आउँछ। उनी आफैंमा एउटा पूर्ण 'प्याकेज' हुन्। उनले कथा, पटकथा लेखन तथा निर्देशन मात्रै गर्दैनन्, आफ्ना फिल्ममा संगीत पनि भर्छन्। त्यो पनि पूरै शास्त्रीय ज्ञानसहितको र हिट हुने खालको। तर उनले आफैं अभिनय गरेको भने देखिएको छैन।
नेपालको सन्दर्भमा यस्तै बहुसीप तथा कला भएको कमसेकम मैले देखेको छैन। अलिअलि तुलसी घिमिरेमा देख्छु। उनी मूलतः निर्देशक भए पनि कथा, पटकथा तथा गीत लेख्छन् र अभिनय पनि जीवन्त गर्छन्। उनैले निर्देशन गरेको 'दक्षिणा' फिल्मको 'यो मुटुलाई कसरी सम्झाई बुझाऊँ' भन्ने नारायण गोपालको गायन र रञ्जीत गजमेरको संगीतको गीतमा उनले जीवन्त अभिनय गरेका छन्। घिमिरेका प्रख्यात गीतहरूमध्ये 'लाहुरे' फिल्मको नारायण गोपालले गाएको 'वीरताको चिनो, वीरको सन्तान' भन्ने गीत हो। त्यसैले उनी बहुमुखी प्रतिभाका धनी हुन्।
महाकवि देवकोटा एक महान कवि हुन्। गद्य साहित्यमा पनि उनको त्यत्तिकै सशक्त कलम चलेको छ। मैले पढेका केही निबन्धमध्ये 'तीज' एउटा हो जसमा तीज चाडले परिवारमा कस्तो तनाव सिर्जना गर्छ भनेर जीवन्त कथा उनेका छन्। उनले त्यसमा संगीत भने भरेका छैनन्।
मैले सुनेअनुसार बालकृष्ण सम बेलायती प्रसिद्ध नाटककार विलियम शेक्सपियरबाट प्रभावित थिए। वरिष्ठ नाटककार तथा कवि उनले नाटकको अभिनय र निर्देशन दुवै गर्थे। उनमा नाटककार, कवि तथा अभिनेताको तीनवटा गुण भेटिन्छ। गायक र संगीतकार भने बालकृष्ण सम पक्कै थिएनन्।
सायद मेरो यो भनाइ अतिरञ्जित पनि लाग्न सक्छ तर प्रकाश सपूत कथा, पटकथा, लेखन, गीत, संगीत, अभिनय तथा निर्देशनको सबै विधामा जमेका छन्। त्यति मात्रै नभई उनी कुशल नर्तक पनि हुन्। 'डाँडाघरे साइँली' गीतमा उनले लोक भाकामा राम्रो नृत्य गरेका छन्। यसरी एउटै व्यक्तिमा यति धेरै गुणको मिलन कसरी हुन सक्छ भनेर मलाई अचम्म पनि लाग्छ।
अव कुरा गरौं 'दमाई महाराज' को।
सपूतका गीत आफैंमा सम्पूर्ण छोटा चलचित्र हुन्। तिनमा गीत, संगीत, कला, अभिनय, भव्य सेट, प्रस्तुति तथा मार्मिक कथा र मूलतः विभेदविरूद्धको सन्देश हुन्छ। यो 'दमाई महाराज' लाई उनले आफ्नै गीत 'गलबन्दी' र 'बोल माया' को सिक्वेलका रूपमा प्रस्तुत गरेका छन्। सिक्वेलमा सुरूका प्रस्तुतिको जे कथा वस्तु वा परिवेश हुन्छ, त्यसैलाई पछ्याउने गरी नयाँ कथावस्तु पस्किने गरिन्छ। अतः 'दमाई महाराज' र 'बोल माया' को बीचमा त्यस्तो के सम्बन्ध हुन सक्छ भन्ने मेरो कौतुहलको विषय थियो।
'बोल माया' मा वैदेशिक रोजगारी गएर बाकसमा फर्किएका बाबुको छोरा पनि बाबुजस्तै हुन्छ। आफ्नै बाबुजस्तो फेसन गर्नुपर्ने ऊ गाउँको मन्दिरमा पस्दा गाउँलेले लखेटेका हुन्छन्। यसरी सानो केटालाई लखेट्दा कहाँ पुग्छ भनेर त्यसमा देखाइएको हुँदैन। त्यही कथालाई जोडेको छ यो 'दमाई महाराज' ले।
गाउँबाट लखेटिएको त्यही केटो कुनै धार्मिक शिक्षा दिने विद्यालय तथा ठाउँमा पुग्छ। हिन्दु धर्मका शास्त्र, ग्रन्थ, वेद पुराण आदि सबै पढ्छ र धार्मिक आस्था राख्ने सबैलाई ऊ शिक्षा तथा प्रवचन दिने व्यक्ति बन्छ।
त्यस्तो उदाहरण कताकता प्रकाश सपूतले वाचन शिरोमणि नारायण पोख्रेलका छोरा दिनबन्धु पोख्रेलबाट लिएका हुन् कि जस्तो पनि देखिन्छ। किनभने पोख्रेल बाबुछोराले आफ्ना प्रवचनहरूमा जातीय विभेदको विरोध गर्थे र दलितहरूलाई पनि त्यस्ता यज्ञ, महायज्ञ तथा सप्ताहहरूमा प्रवेश गराउँथे।
दमाई महाराजका रूपमा प्रकाश सपूतले पनि यही बाटो रोजेका छन्। उनको वाचन, प्रवचन तथा गीतमा मान्छेहरू आकर्षित छन्। उनलाई लाखौंको दानदक्षिणा प्राप्त हुन्छ। दमाई महाराजले त्यसलाई समाज सेवा अर्थात मन्दिर र स्कुल बनाउनमा प्रयोग गर्छन्।
उनले अन्त्यमा सन्देश दिन्छन्, 'यदि म अछुत दमाई हो भने यहाँ मैले लगाएको सप्ताहमा उठेको सबै दानदक्षिणा बिटुलो भएका छन्। अतः यसलाई जलाई दिनुस् वा जंगलमा गाडी दिनुस्।'
तर उनको वाचनबाट सबै प्रभावित भएका हुन्छन्। उनको त्यस्तो उद्घोषमा विरोधको सट्टा फूल बर्साइन्छ।
यो 'दमाई महाराज' उनले कसरी नामकरण गरेका रहेछन् भन्ने सन्दर्भमा पनि म उनको सिर्जनशील रचनाकर्म देख्छु। नेपाली कुनै पनि शब्दकोषमा दमाईको अर्थ महाराज भन्ने भेटिँदैन। तर उनले 'द' को दस हजार, 'म' को महात्मा तथा 'ई' को ईश्वर भन्ने अर्थ लगाएर 'दस हजार महात्मा तथा ईश्वर' को विशेषता बोकेको अर्थमा यसलाई प्रस्तुत गरेका छन्। एउटा सामान्य मान्छेले दमाईको अर्थ, त्यो पनि धार्मिक सन्दर्भमा यसरी अर्थ्याउला भनेर कल्पना पनि गरिएको हुँदैन।
अतः यहाँ ध्रुवसत्य परियारले भनेजस्तो राजा वा महाराजाको अर्थमा 'दमाई महाराज' भनिएको रहेनछ।
जहाँसम्म दमाई समुदायहरू इतिहासको कुनै कालखण्डमा राजा महाराजा थिए कि थिएनन् भन्ने सन्दर्भमा, खासगरी मध्य तथा सुदूरपश्चिममा दमाईहरूको सभ्यता, संस्कृति तथा लिपि समेत पाइएको छ। ११ औं शताब्दीसम्म उनीहरूको ठूलो साम्राज्य नभए पनि ससाना राज्यहरू थिए भन्ने कुरा अध्येता तथा लेखक डिबी नेपाली दमुले 'रैथाने दमाई जातिको लोकजीवन' भन्ने पुस्तकमा सविस्तार उल्लेख गरेका छन्। उनले केसम्म तर्क गरेका छन् भने, डडेल्धुराको खास नाम दमाईधुरा हो र पछि उनीहरूलाई खास गरी मल्ल राजाहरूले हराएपछि दमाईधुराबाट डडेल्धुरा भएको हो।
अहिले हामी सबै समुदायहरूको आत्मगौरव तथा पहिचानको युगमा छौं। सबै जातजाति, भाषा धर्मका सम्प्रदायहरूले आफ्नो भाषा, संस्कृतिमा गर्व गर्नुको साथै त्यस्तो पहिचानको सकेसम्म जगेर्ना गरिरहेका छन्।
त्यसमध्येको एउटा, खासगरी बाहुनहरूले गाउने, बजाउने र नाच्ने 'वालन नाच' हो। यो नाच मूलतः भगवान राम-कृष्णहरूको स्तुति गान अर्थात् भजन भए पनि यसमा सभ्यता, संस्कृति र मनोरन्जनको मिश्रण छ। 'दमाई महाराज' मा प्रकाश सपूतले यसको संयोजन गरी कलात्मक ढंगले प्रस्तुति गरेका छन्। वालन नाचको संस्कृति अपनाएका समुदायले 'दमाई महाराज' को भिडिओबाट धेरै कुरा जान्न र मनोरञ्जन लिन सक्छन् भन्ने लाग्छ।
मैले प्रशंसाका धेरै कुरा गरेँ। तर यो भिडिओमा खट्केका कुराहरू पनि छन्।
प्रकाश सपूतका अन्य भिडिओहरूमा पनि यी कुरा हुन्छन्, प्रायोजकहरूका अनावश्यक विज्ञापन। यसले गर्दा पूरै भिडिओ एउटा चलचित्र हो कि विज्ञापनको मिश्रण भनेर छुट्ट्याउन गाह्रो पर्छ। यसले राम्रो कला तथा सिर्जना भए पनि त्यसको सारलाई व्यापारीकरण गरिदिन्छ। यसमा प्रकाश सपूतले भविष्यमा विचार पुर्याउनुपर्ने देखिन्छ। नभए उनका सिर्जना केबल सस्तो विज्ञापनमा रूपान्तरण नहोलान् भन्न सकिँदैन।
अन्त्यमा प्रकाश सपूतलाई उत्कृष्ट सिर्जना गर्ने प्रेरणा मिलिरहोस् भन्ने शुभकामना दिन चाहन्छु।