युरोपियन देश फ्रान्सको मुख्य केन्द्र पेरिस अनि त्यही पेरिसको मुख्य केन्द्रबाट पूर्वतिर लागेपछि ५ किलोमिटर अगाडि भेटिन्छ छातीमा ठूला अक्षरले इनाल्को युनिभर्सिटी लेखिएको भिमकाय विल्डिङ।
त्यही विल्डिङको १५ नम्बर लेखिएको कोठाभित्र पुग्नुभयो भने तपाईंले ह्वाइट बोर्डमा नेपाली अक्षर लेखेको देख्नुहुनेछ। वाउ! नेपालीका लागि कति उत्साहपूर्ण खबर।
नेपाली सिक्नका लागि लालायित फ्रान्सेलीहरूको मोहलाई सम्बोधन गरेर विश्वविद्यालयले १९६० देखि यस्तो व्यवस्था गरेको हो। विश्वभरका १५० भाषा पढाउने विश्वविद्यालयले नेपाली भाषा पनि प्राथमिकताको सूचीमा सूचीकृत गरेको छ।
नेपाली भाषा सिक्न चाहने फ्रान्सेलीहरूलाई विगत पाँच वर्षदेखि ‘गाइड’ गरिरहेकी छिन् धादिङकी सुमित्रा बुर्लाकोटीले।
उनी विश्वविद्यालयकी एक्ली नेपाली शिक्षक हुन्। फ्रान्सको चल्तीको विश्वविद्यालयमा पढाउनु त्यो पनि फ्रान्सेलीहरूलाई नेपाली, निकै कठिन जस्तोलाग्ने काम सुमित्राले सुरू गरेको ५ वर्ष पुगिसकेछ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अत्यन्त विकट सुकौरा गाउँकी बुर्लाकोटीले फ्रान्सका विश्वविद्यालयभित्र काउनडाउनमा पर्ने इनाल्कोसम्मको यात्रा कसरी गरिन्? कथा वडा रोचक छ।
सुरू गरौं धादिङबाट।
यात्रा सुरू गर्न पनि कहाँ सजिलो छ र? राजमार्ग भेट्न नै उनको गाउँबाट ५ घण्टा जति हिँड्नुपर्छ। अहिले कच्ची बाटोमा गाडी गुड्न सुरू भएको छ क्यार।
सुमित्राका दाइ गाउँकै प्राथमिक विद्यालयका प्रधानाध्यापक थिए। उनले त्यही प्राथमिक तहको अध्ययन पूरा गरिन्।
दोस्रो शब्द उनलाई कहिल्यै पनि मन परेन। सुमित्रा पहिलो मात्रै भइन्। गाउँभन्दा अलि पर्तिर अचने मावि थियो। त्यहाँबाट कक्षा १२ पास गरिन्। विद्यालय जाने मात्रै होइन उनले विभिन्न संघसंस्थामा काम गरेर आफ्नो खुट्टामा उभिन सक्ने क्षमताको विकास समेत गरिसकेकी थिइन्।
नेपालमा राजाको प्रत्यक्ष शासन र उनको एसएलसीपछिको कक्षाको सुरूआत एउटै साइतमा भयो। १२ कक्षासम्मको शैक्षिक यात्रामा सुमित्राले १२ हजार हन्डर खाइन्। बाह्रै हजार पटक उठिन्, अनि हिँडिन् विस्तारै दौडिइन्।
कमरेड सुमित्रा
गाउँमा माओवादीको बिगबिगी थियो। गरिबको सत्ता ल्याउने नाराहरूले गाउँका निमुखाहरूको रगत उम्लिरहेको हुन्थ्यो।समाजका लागि केही गर्नुपर्दछ भन्ने सोचकी सुमित्रा विद्यालय तहबाटै कार्यक्रममा जान थालिन्।
पढाइमा अब्बल, बोल्नमा अब्बल, आँटमा अब्बल, नेतृत्व गर्नमा अब्बल। चारथान अब्बलले उनलाई माओवादीको आँखामा पार्यो। राजनीति भन्ने बुझ्दै गरेकी उनलाई माओवादी आन्दोलनले तान्यो अनि मुठ्ठी कसेर अभिवादन गर्ने कमरेड सुमित्रा बनिन्।
माओवादीहरूले पढाउँदा पढाँउदै चक र किताबसँगै शिक्षकलाई पनि लैजान्थे। सबैको भरोसाको केन्द्र उनै थिइन्। केयौं शिक्षकहरूलाई उनले नै जीवन जोगाइन्। उद्धार गरिन्। भरोसा बनिन्।
देश बदल्न कमरेड बन्नुपर्दछ भन्ने सोचले उनलाई केही समय डोर्याइरह्यो। अहिले उनलाई त्यो सबै भ्रम लाग्छ।
‘कहिलेकाहीँ भ्रमहरूले पनि आनन्द दिँदा रहेछन्,’ उनलाई विगतले मिठो सम्झना दिएका छन्।
आमा र सातु
तीजको बेला थियो। गाउँमा त्यसै पनि रमझम हुने भइहाल्यो। सुमित्रालाई केटाका कपडा लगाउन मन पर्ने। तीजको मेसो पारेर आमाले किनेर ल्याइदिएकी थिइन्। नाचगान र नयाँ लुगा ८ वर्षको बालिकाका लागि तीज विशेष नै थियो।
आमा अघिल्लो दिनदेखि नै सामान्य बिरामी थिइन्। तर पनि दर खाने दिन घरमा मिठा परिकार पाकेको थियो। गाउँघरमा मिठो मसिनो खानका लागि त्यही चाडवाड नै त हो कुर्नुपर्ने।
दरखाने दिन सुमित्रा अधिक उत्साहित थिइन्। उनको खुसी लहरै लागेर आउने मालचरीका बथानमा मिसिएर उडिरहेको थियो।
केही दिन अगाडिदेखि नै उनलाई दरखाने दिनको प्रतिक्षा थियो। तर त्यही दिन आमासँगै दर खाने उनको सपनामा चट्याङ पर्यो। मिठो खाना पस्किएर खान देलिन् भनेकी आमाले सधैंका लागि संसार छाडिन्।
मामाघर गएकी भए पो आमा आउलिन् र खाउँला भन्नु भगवानको घर गएकी आमा कहाँ फर्कनु? सुमित्रा एक्ली भइन्। निराश भइन्। रोइरहने भइन्।
‘बोल्ड’ हुन्छे भनेकी छोरी त रून्चे पो भइ त। छोरीका लागि बाबु आफैं आमा बने, सुसारे बने।
घाउ लाग्दा मल्हम बने, निद्रा नलाग्दा लोरी बने। आमाको पनि माया मिसाए। उनका लागि त संसारमा को थियो र? तर उनी छोराछोरीका लागि सहारा बने, बलियो धुरी खाबो बने।
सुमित्राका आँखाहरू विस्तारै ओभाउँदै गए।
मनमा रहेको पीडाको कुहिरो ममताको घामले हटाउँदै लग्यो। फाइनल्ली उनी चंगा भइन्। राम्रोसँग अन्न पनि फल्दैनथ्यो। खान मन भएको कुरा कहाँ खान पाइन्थ्यो र? आमासँग उनको मार्मिक स्मृति पनि छ। गाउँमा अर्मपर्म चलिरहन्थ्यो। वर्षाको समय आमा खेत रोप्न सधैं व्यस्त हुन्थिन्।
सुमित्रालाई सातु निकै खान मन लाग्ने। रोपाइको याममा रोपाहाराहरूलाई खाजाका रूपमा सातु दिइन्थ्यो।
आमाले दिनभर भोको पेट पटुकीले बाँधेर उनलाई सातु ल्याइदिन्थिन्।
आमासँगका अनेक स्मृति छन् उनका मस्तिष्कमा।
‘हिँडिसकेको मान्छेको सम्झनामा त हो नि आफूसँग रहने’ आँखा केही ओभानो पारिन् उनले।
बेलायतको यात्रा
नेपालमा दोस्रो जनआन्दोलन चलेको याम सुमित्रा बिहानभर पद्म कन्यामा पढेर दिनभर बोर्डिङ पढाउँथिन्। आफैंले कमाएर आफैं पालिनुपर्दछ भन्ने उनको सोच थियो।
पढ्ने, पढाउने अनि आन्दोलनमा सहभागी हुने यी कुराले उनको दैनिक अत्यन्त व्यस्त ढंगले चलेको थियो।
विस्तारै आन्दोलन पनि सफल भयो। सरकारले आन्दोलनमा सहभागी भएर चोटपटक लागेकाहरूलाई राहस्वरुप केही रकम दिने भयो।
उनका केयौ साथीहरूले ‘फेक’ चोटपटकको कागज बनाएर पैसा लिइरहेका थिए।
संसार बदल्ने साथीहरूको आर्थिक लालचले उनलाई आन्दोलनप्रति नै निकै वितृष्णा आयो।
‘आन्दोलन के पैसाका लागि थियो त?’ उनले हजार पटक आफैंलाई प्रश्न गरिन्, चित्त बुझ्दो जवाफ नै मिलेन।
‘बाबा सबैले पैसा लिएका छन् फेक कागज बनाएर म पनि लिऊँ?’ उनले गरेको प्रश्नले बा निकै रिसाए। पहिलोपटक गाली गरे। ‘हरामको कमाइ खाने मेरो छोरी हुन सक्दैन’ बाबुको यही भनाइले उनको मन बदलियो। नेपाल बस्नै मन लागेन।
सन् २००८ मा उनले पढ्नका लागि कम, मनलाई राहत दिन र दुखलाई नजिकबाट स्पर्श गर्न नेपाल छाडिन् र बेलायत उडिन्। बेलायतमा उनले रस्किन विश्वविद्यालयबाट मार्केटिङ र इन्नोभेसनमा मास्टर्स पूरा गरिन्।
छेकबार बिनाको जीवन
सुमित्राले जीवनमा पर्खाल कहिल्यै पनि महसुस गरिनन्। घरमा जाँदा ढिलो भएको होस् या गाउँलेले नानाथरी कुरा घरमा लगाउँदा होस् घर परिवारबाट उनलाई कहिल्यै पनि दबाब भएन।
उनले पार गर्न नहुने रेखा घरमा कहिल्यै कोरिएन। पारिवारिक स्वतन्त्रता पूर्णरूपमा उपभोग गरेकी उनलाई त्यसले थप जिम्मेवार बनायो।
‘बाबाले कहिल्यै पनि केही कुरामा रोक्नुभएन मलाई उहाँले दिनुभएको स्वतन्ताले थप जिम्मेवार बनायो। नेपाली छोरीहरूलाई गरिने बन्देजका कारण पनि कतिले बाटो बिराएका छन् जति स्वतन्त्रता दियो त्यति छोरीहरू जिम्मेवार हुन्छन् भन्ने कुरा यो समाजले बुझ्न सकेको छैन।
‘साना साना कुरामा पनि अभिभावकले अनावश्यक प्रश्न गर्ने भएकाले छोरीहरू इरिटेट हुने गरेका छन्’ सुमित्राको भोगाइ हो यो। छोरीहरू बाँधिएका थिए तर म बाँधिइनँ।
जिम्मेवारीले बाँधेको थियो। जिम्मेवारीले जीवन र यौवन चिन्नै दिएन। सबैले खुला छाडिदिँदा पनि म बाँधिएँ। मरेका मान्छेको सम्झनामा मनाइने प्रेम दिवसका दिन उनलाई धेरैले गुलाब दिन खोज्थे, उनलाई कसैको मन गुलाबजस्तो कोमल लागेन।
बेलायतदेखि फ्रान्ससम्मको यात्रा
बेलायतमा सन् २०१४ सम्म अध्ययन गरेपछि उनलाई बेलायतमा बस्न मन लागेन।
घरमा नआएको पनि ५ वर्ष भइसकेको थियो। बाबु बिरामी भन्ने सुनेकी थिइन्। घरमा आउने साइत पनि बनाइन्। तर बेलायत नछाड्दै बाबुले संसार छाडे भन्ने सुनिन्। उनको धुरी खाँबो भाँचियो। तर जीवनलाई आफैं अडाउन सिकिसकेकी थिइन्। नेपाल फर्किएर उनलाई थप एक्लो महसुस भयो। आफन्तहरूले घेरिँदा पनि उनलाई एक्लो महसुस भयो। उनले फेरि देश छाड्ने निधो गरिन्।
युरोपका विभिन्न देश हुँदै उनी फ्रान्स पुगिन्। दु:खलाई अति नजिकबाट महसुस गर्ने उनको सपना पूरा गर्ने अवसर उनले युरोपमा पाइन्।
फ्रान्समा ३ वर्षको कठिन संघर्षले उनलाई विश्वविद्यालयसम्म डोर्यायो।
‘नेपाली र फ्रान्सेली दुबै भाषा राम्रोसँग जान्ने भएको हुँदा मलाई विश्वविद्यालयमा अवसर मिल्यो,’ सुमित्राले भनिन्।
किन सिक्न चाहन्छन् नेपाली भाषा?
सन् १७९५ मा स्थापना भएको इनाल्कोमा १९६० देखि नेपाली भाषा पढाउन थालिएको हो। म्याक डोनाल्डले नेपालको भ्रमण गरेर गइसकेपछि इनाल्कोमा अध्यापन हुने भाषाको सूचीमा नेपाली भाषा पनि थप गरेका थिए।
‘१९५० देखि फ्रान्सेलीहरूले नेपालको भ्रमण गर्न आरम्भ गरेका थिए। उनीहरूले नेपालको बारेमा थप जानकारी लिनका लागि नेपाली भाषा जान्ने सोच बनाएँ’,सुमित्राले सुनाइन्।
नेपालमा अध्ययनका लागि धेरै विषयहरू रहेका छन्।
ती विषयहरूलाई उनीहरू अनुवाद गरेर भन्दा पनि आफैंले अध्ययन गर्न चाहन्छन्।
त्यही भएर फ्रान्सेलीहरूले नेपाली भाषा अध्ययन गर्दा रहेछन्। सुमित्राले अधिकांश पिएचडीका विद्यार्थीहरूलाई अध्यापन गराउने गर्दछिन्।
‘सबैले नेपालका कुनै न कुनै विषयमा अध्ययन गरिरहेका छन्, नेपाली भाषामा लेखिएका कुराहरू अध्ययन गर्नका लागि उनीहरू नेपाली पढ्न चाहन्छन्।’
उनले हरेक वर्ष १५ देखि २० जना विद्यार्थी नेपाली भाषा कक्षामा अध्ययन गर्नका लागि भर्ना हुने गरेको सुनाइन्।
केके पढाउँछिन् उनी ?
सुमित्राले फ्रान्स टेकेको ८ वर्ष जति भयो। उनले फ्रान्सेली भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन्। फ्रान्सेलीहरूलाई अध्यापन गराउने भएको हुँदा नेपाली पढाउनका लागि फ्रान्सेली भाषा अनिवार्य जान्नुपर्ने हुन्छ।
नेपाली भाषा सिकाउनु त छँदै छ त्यसका अलावा उनीहरू नेपालको इतिहास, संस्कृति, कला लगायतका कुरामा पनि चासो राख्छन्। ‘नेपाली भाषा मात्रै नसिकाएर नेपाल पनि सिकाउने गरेको छु।’ उनले भाषाको मद्दतले नेपाललाई पनि चिनाइरहेको बताउँछिन्।
‘भाषा सिकाउने क्रममा नेपालसँग सम्बद्ध अनेकानेक प्रश्नहरू विद्यार्थीहरूसँग हुने गर्छ मैले हरेक प्रश्नको जवाफ दिनुपर्ने हुन्छ, नेपाल चिनाउन पाउँदा मलाई निकै आनन्द पनि आउने गरेको छ’, सुमित्राको भोगााइ हो यो।
यी पनि:
हामी नेपाल त आएनौं!
नेपाल भए जानेको थिएँ, पेरिसमा के गर्नू!
ब्रसेल्समा भेटिएको बसन्तपुर!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)