अमेरिकी राज्य क्यालिफोर्नियाको सहर सन डियगोबाट मलाई टेक्ससको अस्टिन आउनु थियो।
प्लेन डिले भएर अरू एक घन्टा एयरपोर्टभित्रै भौंतारिँदै थिएँ।
एयरपोर्ट भित्रको पसलमा काम गर्ने एक जना पन्जाबी रहेछन्, टाउकोमा गुथेको फेटाबाट सजिलै भारतीय भन्ने लाग्यो।
नजिकै गएर हिन्दीमा गफ सुरू गरें उसले मेरो नाम र देश सोध्यो।
मैले उत्तर दिएपछि उ ट्वाँ पर्दै सोध्यो, ‘तु भारतीय नही हे?’
मैले होइन भनेपछि फेरि सोध्यो, ‘नेपालका अपना करेन्सी है?’
मैले हाँस्दै जवाफ दिँदै थिए, उसले फेरि सोध्यो, ‘तो फिर कौन हे बे तु ? नेपाल तो भारतका एक प्रान्त हे, अलग सा मुलुक नही हे नेपाल!’
उसलाई मोबाइलमा नेपालको नक्सा र भौगोलिक अवस्थाको बारेमा देखाएँ, सिकाएँ अनि बिदा भएँ।
बाहिर निस्केर छक्क पर्दै सोचें, ‘एउटा छिमेकी मुलुकको नागरिकलाई समेत थाहा छैन कि नेपाल भन्ने देश छ।’
हामी नेपाली सामान्य ज्ञानमा निक्कै तगडा हौं भन्ने गर्व लाग्यो, किनकि हामी अरू देशको बारेमा अलि अलि भए पनि ज्ञान संगाल्छौं।
त्यतिबेला मनमनै अनपढ पन्जाबी भन्दै रिस उठेर छुट्टिएको थिएँ।
एकदिन सोसल सेक्युरिटीसम्बन्धी कामले अमेरिकाको सरकारी कार्यालय गएँ।
त्यहाँ काम गर्ने शिक्षित कर्मचारीले समेत नेपाल देश थाहा नभएको बतायो।
म छक्क परें।
कहिले भारतीय होस् भन्छ त कहिले पाकिस्तानी! मैले आफ्नो परिचय दिएँ, देशको नक्सा देखाएँ। तर उसले अंग्रेजीमा त्यही सोध्यो जुन सन डियगोमा भेटिएको पन्जाबीले सोधेको थियो, ‘कौन हे बे तु?’
मैले काम गर्ने पसलमा दैनिक सयौंको संख्यामा ग्राहक आउँछन्। हरेक ग्राहक फरक फरक देशका।
एक पटक मैले हरेक ग्राहकलाई उसको देश सोध्ने अनि मेरो देशको बारेमा भन्ने निधो गरें।
मैले काम गर्ने ठाउँमा आउने अधिकांश ग्राहक ल्याटिनतिरका हुन्छन्। दक्षिण अमेरिकी देशतिरका। बाँकी अफ्रिकी अनि युरोपेली देशबाट आएर बसोबास गरेकाहरू पनि छन्।
मैले सोधेका हरेक ग्राहकलाई नेपालबारे थाहा छैन।
सबैले सोध्छन्, ‘कहाँ पर्छ यो देश?’
तर उनीहरूको देशको बारेमा धेरैजसो मलाई थाहा छ। उनीहरू देशको नाम भन्छन्, मैले छिमेकमा भएका देश र उनीहरूको राजधानीसम्म भन्दिन्छु। उनीहरू छक्क पर्छन्।
मैले हरेक दिन नयाँ लाग्ने हरेक ग्राहकलाई उसको देश सोध्छु। अनि ऊ पनि मलाई मेरो देश सोध्छ। तर आजसम्म एउटा ग्राहक भेटेको छैन जसले नेपाल भन्नेबित्तिकै सबै थाहा छ भनोस्।
एउटा भारतीय मूलको व्यक्तिलाई त नेपाल भन्ने अलग देश हो भन्ने थाहा छैन भने अमेरिकाको एउटा गाउँमा बस्ने सामान्य अमेरिकी नागरिकले नेपाल देश कसरी चिनोस्!
पन्जाबी मात्र होइन, मैले भेटेको एक जना हरियाणाबाट आएर टेक्सस ह्युस्टनमा बस्दै गरेको भारतीयलाई समेत सोधेको थिएँ, उसले पनि नेपाललाई भारतकै प्रान्त बतायो।
मनमनै अनपढ गवार नै रहेछस् भनेर माफी गर्दिएँ।
नेपाल देश चिनाउन नाम या नक्सा र झण्डा देखाएर मैले कहिल्यै सकिनँ, आजसम्म पनि।
नयाँ लाग्ने हरेक ग्राहकलाई सोध्छु, ऊ कि भारतीय नै ठान्छ कि एसियाको कुनै देश होला भनेर पन्छिन्छ।
तर नेपाल देश नचिने पनि अधिकांश अमेरिकीहरूले शेर्पालाई चिन्छन्।
सबै जसोले सगरमाथालाई चिन्छन् अनि गौतम बुद्धलाई पनि चिन्छन्।
गोर्खालीलाई नचिन्ने त झन् कमै हुन्छन्।
अनि यी सबैलाई नेपालसँग जोडेर म नेपाली हुँ भन्दा चाहिँ छक्क पर्छन र भन्छन्, ‘आर यु सिरियस?’
भियतनाम युद्धमा सामेल भएको एउटा वृद्ध मैले काम गर्ने पसलमा बियर-चुरोट किन्न आइरहन्छ।
उसले भियतनाम युद्धको बारेमा भोगेको भन्दा बढी गफ दिन थालेपछि मैले गोर्खालीहरूको विरताको कथा सुनाइदिएँ।
उसले गोर्खालीको बारेमा मैलेभन्दा बढी जानेको रहेछ, सुनायो। ब्रिटिस फौजमा काम गर्ने गोर्खालीको खुब गुणगान गायो।
तर अन्तमा नेपालको बारेमा थाहा छैन भनेर मेरो मन दुखायो।
अझ मैले ती गोर्खालीहरू नेपाली नागरिक भएको सुनाउँदा समेत पत्याउन तयार भएन।
हिमालसम्बन्धी रूचि भएकाहरूले शेर्पालाई नै चिन्छन्। तर ती शेर्पाहरू नेपाली नागरिक हुनभन्दा पत्याउन मान्दैनन्।
एक जना अफ्रिकी मूलको अमेरिकनलाई मेरो देशको सगरमाथाको बारेमा सुनाउनेबित्तिकै उसले मलाई शेर्पा होस् भन्यो। मैले शेर्पा भनेको एउटा थर हो तर हामी सबै नेपाली हौं भनेपछि उसले अनुहार खुम्च्यायो।
अनि भन्यो, ‘मैले नेपाली चिन्दिनँ, नेपाल पनि चिन्दिनँ तर सगरमाथा र शेर्पाहरूलाई चिन्छु, पढेको छु।’
नेपाल देशको बारेमा थाहा नहुने तर शेर्पा, सगरमाथा, बुद्ध, गोर्खालीको बारेमा राम्रोसँग थाहा हुने सबै हुन्छन् सायद मेरा ग्राहकहरू।
सडकमा बस्ने अमेरिकीले नेपाल नचिन्नु ठीकै हो, उसलाई आफ्नै देशका राज्यहरूको बारेमा थाहा हुँदैन।
सरकारले दिएको पैसाले ड्रग्स खायो, पुलमुनि सुत्यो अनि पैसा सकिएपछि सडक पेटीमा बसेर भिख माग्यो अनि गुजारा चलायो गर्नेहरूलाई देश दुनियाँको के मतलब!
उनीहरूलाई नेपाल देशको बारेमा थाहा नहुनु आश्चर्यको विषय होइन। तर सरकारी कार्यालयमा बस्ने शिक्षित कर्मचारीले समेत नेपाल चिन्दैनभन्दा चाहिँ अचम्म लाग्छ।
अमेरिकाका गल्ली पिच्छे हुने चर्चका पादरीहरू पनि मेरा ग्राहक छन्। उनीहरू आफू बुद्ध धर्मको बारेमा जानकार भएको बताउँछन् तर तिनै बुद्ध कहाँ जन्मिएका हुन् भनेर सोध्दा अड्कल काटन थाल्छन ‘चाइना या इन्डिया!’ भन्दै।
नेपालको त नामै लिँदैनन्, हामी आफैं भन्छौं ‘बुद्ध नेपालमा जन्मिएका हुन्।’
अनि गुगल गरेर देखाउँछौं र छक्क पर्दै भन्छन्, ‘मलाई पहिले थाहा थिएन।’
हामी नेपालीलाई विश्व जगतको बारेमा अलि बढी नै जानकारी भएको हो कि साँच्चै नेपाल गुमनाम हो?
नेपालसँग सम्बन्धित हरेक चिज लोकप्रिय हुने तर देशलाई कसैले नचिन्ने, पक्कै देश गुमनाम हो।
भारत लगायतका धेरै देशमा मःम लोकप्रिय हुँदै गइराको छ तर त्यो नेपाली परिकार हो भन्दा धेरैले पत्याउँदैनन्। चाइनिज परिकार हो भनेर बहस गर्न आइहाल्छन्।
यता अमेरिकामा पनि सगरमाथा, शेर्पा अनि गोर्खालीलाई चाइनासँग जोड्ने धेरै भेटिन्छन्।
सगरमाथा नेपाल भन्ने देशमा पर्छ भन्दा गुगलमा हेर्दै ‘यी चाइना’ भन्नेहरू धेरै भेटिन्छन्।
सगरमाथाकै वरपर बस्ने शेर्पाहरूलाई चाइनिज नै ठान्छन्, शारीरिक बनावट र सीमा क्षेत्र चाइनासँग मिलेकै आधारमा पनि शेर्पाहरूलाई नेपाली भनेर पत्याउन मान्दैनन्।
बुद्धलाई नचिन्नेहरूका के कुरा, चिन्नेहरू चाहिँ बुद्धलाई भारतमा जन्मिएका भनेर विश्वास गरेका भेटिन्छन्।
गुगलमा सर्च गरेर ‘लौ हेर, बुद्ध नेपालमा जन्मिएका हुन्!’ भनेर प्रमाण देखाएपछि बल्ल ‘नेफोल’ भनेर नेपालको नाम उच्चारण गर्छन्।
नेपाल नचिन्ने सबैका निम्ति र विश्वभरि नेपाल चिनाउन नेपाल सरकार लागि परोस्, हामी जाबाले एक जनालाई मोबाइल देखाउँदै देश चिनाएर सम्भव छैन।
नत्र हरेकले सोध्ने छन्, त्यो पन्जाबीले जस्तै ‘कौन हे बे तु?’
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)