रातमा धपक्क बलेका सेता थुम्काको लश्करले ध्यान खिचिसकेको थियो।
उनीहरू त्यतैतिर तानिए। उनीहरूले यस्तो दृश्य कहिल्यै देखेका थिएनन्।
माथिबाट हेर्दा चम्किएको अचम्मको धरती!
'कस्तो ठिंग उभिएको है?' एउटाले भन्यो।
'यो हाम्रोभन्दा धेरै अलग ठाउँ छ, त्यहीँ जाऊँ,' उनीहरूले सल्लाह गरे।
हवाइयन्त्र तिनै सेता थुम्काको लश्करतिर बत्तियो। नजिकै पुगेपछि उनीहरू यन्त्र रोकेर बाहिर निस्किए। आफ्नो संसारमा भन्दा भिन्नै वातावरण! जता हेरे पनि सेतो भू-भागबाहेक केही थिएन।
'यहाँ त केही छैन त, कस्तो सेतो जे पनि?' टोलीको नेताले भन्यो।
बाँकी तीन जनाले हो त है भन्ने संकेत गरे। उनीहरू दंग परे, केहीबेर यताउता हेरे। एउटाले भुइँको सेतो पदार्थ हातमा लियो। चिसो महसुस हुने त्यस्तो कुरा कहिल्यै नछोएको उसको हातले पनि अनौठो मान्यो। ऊ अरूभन्दा ज्यादा जिज्ञासु थियो।
'यो चिज के हो?' उसले भन्न नपाउँदै अरूलाई भने सेतो रङले वाक्क पारिसकेको थियो।
'भो, अन्तै जाऊँ,' तेस्रोले भन्यो।
'यो ठाउँ रमाइलै छ है। एकै छिन बसौं,' जिज्ञासुले सेतो पदार्थ हातमा खेलाउँदै भन्यो।
'हामी यहाँ आई नै सक्यौं, डुली हेरौं,' टोली नेताले मन फेर्यो। अरू चुपचाप बसे। सेतो चिसो पदार्थसँग खेल्दै जिज्ञासु मुग्ध थियो। एउटा हवाइयन्त्रभित्र गएर बस्यो। धेरैबेर डुलेपछि अरू पनि हवाइयन्त्रमै पसे।
सेतो धरती छाडेर यान दक्षिणतिर लाग्यो।
यानमुनि उनीहरूले अर्कै परिदृश्य देख्न थाले। थुम्काहरूको आकार उस्तै थियो। लश्कर उस्तै। रङ भने फेरिँदै गयो। सेतो सकिँदै जाँदा हरियो सुरू भयो।
उनीहरूका आँखाले 'नाइट-भिजन' र 'युभी' (विकिरण) मा पनि देख्न सक्थे। त्यसैले अँध्यारोमा पनि हरिया कुरा प्रष्ट देखिरहेका थिए। हरियाली कतै छुट्टिएको, कतै जोल्टिएको। कतै पातलो कतै घना!
आफ्नो संसारमा नभएको यस्तो रङले उनीहरूको मन खिचिरहेको थियो। शरीरलाई समेत रौनक दिने हरियो रङ! कतै कालाकाला धब्बाहरू, कतै बगिरहेको निलो पदार्थ!
उनीहरू अनौठो मोहमा फसिरहेका थिए।
हवाइयन्त्र बत्तिँदै एउटा थुम्काको हरियो मैदानमा रोकियो। थुम्काको भुइँ त आफ्नै संसारको जस्तो लाग्यो तर भिन्नै तत्वले बनेको चाल पाए। खैरो भुइँमा उभिएर हरिया कुरा मानौं आकाश छुन माथितिर गएका थिए। हरिया वस्तुलाई टेको दिइरहेको चिज भने गाढा खैरो देखिन्थ्यो।
उनीहरूका आँखा र मन त्यो अनौठो संसारमा हराएका थिए।
जिज्ञासु एउटा सानो थुम्कोतिर लम्कियो। नजिकै गएर भुइँतिर छोयो। साह्रोसाह्रो थियो। चिसो भने थिएन। खैरो कुराको मुनिबाट उठेर आकाश चुम्न निस्किएको कुरालाई पनि उसले छोएर हेर्यो। कति हरिया कुरा त धरतीमै पनि टाँसिएका थिए। जसरी ती हरिया चिज मन्द हल्लिँदै थिए, उसैगरी उसको मन उत्सुकताले चलायमान भयो!
अरूले यताउता नियालिरहे। त्यत्तिकैमा माथि चढेको जिज्ञासु तल झर्यो। ऊ झर्दाझर्दै एउटा जिनिस उड्यो। उनीहरूको हवाइयन्त्रझैं। आवाज नभएको त्यो उडान सबैले देखे। तर न आकार ठम्याउन सके न रङ।
नौलौ संसारमा अनौठो गति भएको त्यो वस्तु के थियो जसले उनीहरूलाई अनौठो अत्यास दिलाएर बेपत्ता भयो?
उनीहरू खुब डराए। कोही पछ्याइरहेको त छैन? कसैले आक्रमण गर्ने त होइन? यी प्रश्न सबैको मनमा तुफानझैं आए।
'हामीलाई पछ्याएको भए त्यो यहीँ वरिपरि होला,' एउटाले भन्यो।
'हो, त्यो फेरि आउँछ कि हेरौं,' टोली नेताले भन्यो।
अँध्यारोमा पनि वस्तुहरू ठम्याउन सक्ने उनीहरूका आँखाले दिउँसो झन् राम्रो देख्थे। टोली नेताले निर्णय गर्यो— उज्यालो नहुन्जेल यतै बसौं। उसलाई खोजौं।
डरको सामना गर्ने हिम्मत उनीहरूलाई यसअघिका लामालामा यात्राहरूले दिइसकेका थिए। डराउँदै खोज्दै, हेर्दै, जान्दै हिँड्नुको मज्जा मानौं लत भएको थियो।
'यस्तो अनुभवले यात्रा रोमाञ्चक बनाउँछ,' जिज्ञासुले साथीहरूलाई सम्झाउन थाल्यो।
त्यो टापूको मैदानमा डुलेर, वरिपरिको हरियोभित्र पसेर उनीहरूले आफ्नो नजरबाट बत्तिएको जिनिस खोजिरहे।
भुइँभरि हरियो थियो। कतै अरू रङका वस्तु पनि देखे, कुनै रातो, कुनै पहेँलो, कुनै नीलो, कुनै उनीहरूले कहिल्यै नदेखेको रङ। कतैकतै वस्तुहरूबीचबाट गन्ध आइरहेको थियो। त्यसले उनीहरूलाई झन् आनन्दित बनायो।
तर यो के थियो, उनीहरूले ठम्याउनै सकेनन्। उनीहरूले न त्यति सुन्दर धरती देखेका थिए न यति मीठो महसुस गरेका थिए।
परपरबाट विस्तारै उज्यालो आइरहेको चाल पाएर उनीहरू उत्साहित भए। एउटा हरियो थुम्का पछाडिबाट धपक्क बलेको गोलो आकारको वस्तु निस्कियो। सुन्तले रङको त्यो झलझलाकार कुरा भने उनीहरूले पहिले देखेका थिए।
'यो त हाम्रो घरमा महिनामा एक चोटि मात्र पो आउँछ त है?' तेस्रोले भन्यो।
चौथोका आँखा चम्किए। मानौं उसले घर सम्झियो।
जिज्ञासु केही नबोली टोलायो। सायद उसलाई पनि घरको याद आइरहेको थियो।
टोली नेताले भन्यो— यो धरतीमा पहिलोपटक हामीले चिनेको कुरा देख्यौं है?
बिस्तारै उज्यालो हुँदै गयो र त्योसँगै उनीहरूले अझै धेरै कुरा देख्दै गए। उनीहरूका आँखा तेजिला थिए। धेरै परसम्म देख्न सक्थे।
थुम्काको टुप्पाबाट उनीहरूले धेरै पर साना-ठूला अनेक आकृति देखे जो चलमलाइरहेका थिए। सबैजसो आकृति एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका छन्, उडेका छन्, हिँडेका छन्।
उनीहरूले देखेमध्ये केही जीवको भने गतिविधि अलि चलाख थियो। तिनीहरू धेरैजसो समूहमा देखिन्थे। एक्लै हिँडेका पनि हुन्थे। ती कोही अग्ला थिए, कोही साना। सानालाई अलि ठूलाले काखमा, हातमा लिएर हिँडिरहेका थिए।
ती जीवहरू अरूभन्दा फरक यो हिसाबले पनि थिए कि उनीहरूको वास्तविक शरीरबाहिर केही रंगीबिरंगी कुराहरू टाँसिएका थिए। अझ छक्क पार्ने कुरा, ती जीवहरू एउटा कोठाजत्रो बाकसभित्र बसेर पनि एक ठाउँबाट अर्को ठाउँमा गइरहेका थिए। ती बाकसहरू गुडिरहेका हुन्थे। उनीहरूको गति धेरै छिटो थियो। ती अग्ला-होचा रंगीबिरंगी जीवहरूले बाकस नियन्त्रण गरिरहेको उनीहरूले थाहा पाए।
उनीहरू त्यो ठाउँको गतिविधि हेरेर छक्क परिरहेका बेला एउटा वस्तु तल जमिनबाट आकाशतिर उड्न थाल्यो।
'यो त जमिनमा कुदिरहेका बाकसभन्दा निकै ठूलो छ। यसलाई पनि तिनै जीवले चलाइरहेका होलान्,' चौथो पहिलोपटक बोल्यो।
'यो भने हाम्रो हवाइयन्त्रजस्तो हुनुपर्छ,' जिज्ञासुले भन्यो।
'आकार फरक छ त,' तेस्रोले भन्यो, 'यसको त चुच्चो छ। हाम्रो यानभन्दा फरक छ।'
जिज्ञासुले फेरि भन्यो— यहाँबाट मात्र हेरेर भएन, जाऊँ त्यहीँ।
टोली नेताले हुन्छ भन्यो। अरू भने डराइरहेका थिए। फेरि चालचुल नगरीकन उडेको वस्तु पनि उनीहरूले भुलेका थिएनन्। त्यसले पनि उनीहरूलाई तर्साइरहेकै थियो। आफूले देख्न नपाएको चिजको चुपचाप उडान खतरनाक हुन सक्छ भन्नेमा उनीहरू विश्वस्त हुँदै गएका छन्।
'हामी स्टेल्थ (अरूले नदेख्ने, नसुन्ने) माोडमा जाने हो, डराउनु पर्दैन,' टोली नेताले भन्यो।
उनीहरू चुपचाप भिडतिर लागे।
'ओहो कस्तो हल्ला?' चौथोलाई दिक्क लाग्यो।
अरू भने यति छिटो चिढिएका थिएनन्। उनीहरूले ती हल्लामा कुनै संकेत भने बुझ्न सकेनन्। उनीहरूलाई त्यो ठाउँ खासै मन परेन। सेतो र हरियो तथा रंगीन भूमि नै योभन्दा आनन्ददायक थियो।
यो ठाउँमा निकै अग्लाअग्ला कुराहरू थिए। तिनमा पनि जीवहरू बसेको, हिँडेको देखिन्थ्यो। यस्तो उनीहरूले अन्त कहीँ पनि देखेका थिएनन्। आवाज बुझ्न नसके पनि उनीहरूले दिनभरि घुम्दा थाहा अनुमान लगाए— यी जीवहरूको नियन्त्रणमा धेरै कुरा छ।
'यी जीव निकै चलाख छन् जस्तो छ,' टोली नेताले ठट्टा गर्यो, 'तिमीहरूले त हामी मात्र बुद्धिमानी ठानेको थियौ होइन त? यिनीहरू झन् चर्का छन्।'
'हामी बँचेर हिँड्नुपर्छ है,' जिज्ञासुले भन्यो।
त्यो आकाशको परिचित डल्लोबाट आएको प्रकाश झन् चर्को हुँदै गयो। सबै कुरा प्रष्ट देखिन थाले। हल्ला बढ्न थाल्यो। सबभन्दा त हावामा केही गन्ध आइरहेको थियो जो रातीको जस्तो गजब महसुस गराउने खाले थिएन। त्यो गन्धले उनीहरूलाई अत्यायो मात्र।
केही टल्किने अर्को कुरा पनि थियो जसले उनीहरूका आँखालाई असर गर्न थाल्यो। उनीहरूका आँखा पिरा हुन थाले। उनीहरू राती बास बसेको त्यही थुम्कोमा फर्किए जहाँ जान उनीहरू डराएका थिए। त्यो ठाउँ जाने बाटो एकान्त थियो। जमिनबाट निस्किएर आकाशमा हरियो बनेर बसेका वस्तु यहाँ पनि थिए। तिनको बीचबीचबाट मीठो आवाज आइरहेको थियो। यति मिठो आवाजको हल्ला उनीहरूले कहिल्यै सुनेका थिएनन्।
उनीहरूले आँखा र कान चनाखो पार्दै लगे। हरिया वस्तुमाथि साना साना जीवहरू बसिरहेका थिए। कोही खेलिरहेका देखिन्थे। उनीहरू भुर्रभुर्र उड्न सक्ने पनि रहेछन्।
'हामीले अघि तल भिडमा देखेका जीव त उड्न सक्दैनथे, यी त उड्छन् त,' चौथोले भन्यो।
'यी जीव फरक हुन्,' टोली नेताले भन्यो, 'हेर न रूपरङ, आकार र आवाज पनि फरक छ नि।'
जिज्ञासु भने ती साना वस्तुको नजिकै गयो। ऊ नजिक जाँदा ती उड्थे। आवाज पनि निकाल्थे। माथि हरियोतिर बसेकाहरूले भने मीठो आवाजमा केही भनिरहेझैं लाग्यो उसलाई।
त्यत्तिकैमा उसले पछाडि फेरि अरू आवाज सुन्यो। दौडिँदै आफ्ना साथीहरू भएको ठाउँँमा पुग्यो।
'सुन त, यो अघि हामी गएको ठाउँको जस्तो आवाज छ नि,' उनले भने।
सबै चनाखो भए। नभन्दै एक हुल बाठा जीव आउँदै गरेको देखे। उनीहरूले भने खासै हल्ला गरेका थिएनन्। उनीहरूको आवाज सुनी नसक्नु नै पनि थिएन।
जिज्ञासुले याद गर्यो, ती जीवहरूले एउटा वस्तु आफ्नो आँखामा लैजान्थे र तिनै सुरिलो आवाज निकाल्ने सानासाना जीवहरूतिर सोझ्याउँथे। ती जीव जता जान्छन्, उनीहरूको ध्यान त्यतै पुग्थ्यो।
कुनै कुनै बेला त तिनलाई हेरेर आफू पनि उफ्रिन्थे। सायद उनीहरू खुसी भएका होलान्।
जिज्ञासु र उसका साथीहरू पनि ती जीवहरूसँगै माथिमाथि लागे। ती हल्लाखल्ला भएका ठाउँहरू तल देखिन्थे। तर केही प्रकारको तहले विस्तारै दृश्य छोप्दै गएको थियो। उनीहरूको उच्च दृष्टिले पनि देख्न छोडिसकेको थियो।
त्यो देखेर नेताले भन्यो, 'त्यो ठाउँमा त बस्न सकिन्न जस्तो छ हामी। यी जीवहरू कसरी बस्ने रहेछन्?'
'हामीलाई के थाहा,' जिज्ञासुले ठट्टा गर्यो।
ती जीवहरूको भिडभाडभन्दा यता यी हरिया वस्तुको भिड आनन्ददायक थियो। तर यो हरियो ठाउँमा पनि उतैको जस्तो टल्किने एक खालको पदार्थ भने पाइँथ्यो।
जिज्ञासुलाई लाग्यो, यो भुइँमा भएको टल्किने वस्तु यहाँ पाइने विशेष वस्तु होला। त्यसैले जता पनि छ। हरियो, पहेँलो, नीलो, रातो देखिने र गन्ध आउने वस्तु पनि होला।
उसको मनमा अर्को प्रश्न पनि आइहाल्यो— के यो टल्किने वस्तुको पनि गन्ध हुन्छ?
केहीबेरपछि यो वस्तु यहाँ पाइने कुरा होइन भन्ने उसले थाहा पाउँछ। माथिबाट झर्दै गरेका बाठा जीवहरूको अर्को झुन्डले ती टल्किने वस्तुबाट केही झिकेर मुखमा हाल्दै थिए। टल्किने वस्तु केहीबेरमै भुइँमा छोड्दै जान्थे।
जिज्ञासुले सोच्यो— यी कुरा काम नलाग्ने चिज रहेछन्!
आफ्नो संसारमा त काम नलाग्ने चिजलाई पनि उनीहरूले मिलाएर राख्थे। यहाँ फालेको देखेर ऊ अचम्म परेको थियो।
जिज्ञासुले यस्तो सोचिरहँदा अरू भने राती देखेको त्यो अदृश्य उडानबारे कुरा गर्दै थिए। त्यो वस्तु एकदमै डरलाग्दो भएको र आफूहरू सतर्क रहनुपर्ने सल्लाह गरे। यस्तो सल्लाह गर्दा उनीहरू वरिपरि आँखा डुलाउँथे।
जिज्ञासु भने यही धरतीका जीवहरू नियाल्दै थियो। बाठा जीवहरू पनि सानो उड्ने कुरा हेरेर रमाइरहेका थिए। उनीहरूले पहिलोपटक देखेको ठाउँमा भन्दा यो ठाउँमा ती सानासाना उड्ने जीव धेरैथरीका थिए। विभिन्न रङ, विभिन्न प्रकारका, विभिन्न आकारका। कहिलेकहिले त बाठो र उड्ने जीवभन्दा पनि फरक जीव भेटिन्थे। ती पनि कुदिरहेका हुन्थे। कोही आरामले बसेका पनि हुन्थे।
जिज्ञासुको संसारमा यति धेरै जीवहरू हुँदैनन्। एकै खाले, आफूजस्तै मात्र हुन्छन्।
'कति धेरै जीवहरू है यहाँ?' जिज्ञासुले आफ्ना साथीसँग भन्यो।
'एकै ठाउँमा यतिथरी कसरी बाँच्न सक्छन् है?' टोली नेताको प्रश्न थियो।
'हामीलाई के थाहा?' जिज्ञासु फेरि जिस्कियो।
उनीहरू त्यही बाठो टोलीसँग माथिमाथि लागे। फेरि सेतो भएको ठाउँमा पुगे। ती साना उड्ने कुराहरू त्यति नै थिए। झनै राम्रा राम्रा।
बाठा जीवहरू भने नयाँ उड्ने कुरा देख्दा एकआपसमा सानोतिनो हल्ला गर्थे। हातमा भएका वस्तुमा केही कोर्थे। यो कुरा ठम्याएको जिज्ञासुले नै हो। उसले याद गरेको थियो, बाठा मान्छेको हातमा भएको वस्तुमा चित्रहरूभन्दा पनि अर्कै संकेत थिए।
'यिनीहरू त अर्कै केही कोर्ने रहेछन् है,' तेस्रोले भन्यो।
उनीहरूको संसारमा जस्तो कुरा देख्यो, त्यसको दुरूस्त चित्र कोरिन्थ्यो। भाषा वा अक्षर नबुझिए पनि यो उड्ने जीव खानेकुरा खोज्दै हिँडेको हो भन्ने ज्ञिज्ञासु र उसका साथीले अनुमान गरिसकेका थिए।
जिज्ञासुले त झन् आफ्नो कापीमा देखेको जत्तिको चित्र पनि कोरिसकेको रहेछ— ७५ वटा जीव।
'ओहो कति धेरै,' तेस्रोले उसको कापी देखेर भन्यो।
जिज्ञासुको टोलीले केही कुरा बुझ्न लाग्दै थियो, केही अनुमान गर्न खोज्दै थियो, बाठा जीवहरू तल फर्किन थाले। यिनको पछि लागेर उनीहरूले धेरै कुरा अनुमान लगाउन सकेका थिए। ती सानासाना उड्ने जीवको चिरबिर र रंगीबिरंगी ज्यानले उनीहरूलाई लोभ्याइरहेकै थियो।
जिज्ञासुलाई त झन् पुगेकै थिएन।
बाठा जीवहरू फर्किन लागेपछि उनीहरूसँग पनि विकल्प भएन। तर जाने ठाउँ कतै थिएन।
'हामी आफैं जाऊँ न त,' जिज्ञासुले भन्यो।
सबैले ऊतिर फर्किएर शंकास्पद हिसाबले हेरे।
'के गर्न जाने?' टोली नेताले सोध्यो।
'त्यो उड्ने कुरा अझ धेरै खोज्न! हामी यहाँ नयाँ कुरा खोज्न आएको होइन र?'
टोली नेतालाई जिज्ञासुको कुरा कुरा बुझ्यो।
सेतो, हरियो थुम्का कटेर उनीहरू मैदानतिर सोझिइसकेका थिए। यहाँ पनि ती हरिया वस्तु आकाश छुन जमिनबाट निस्केकै थिए। जिज्ञासुको टिमले देख्यो, उड्ने र बाठा जीव बाहेकका अरू जीव पनि उत्तिकै धेरै थिए। कोही निकै ठूला, कोही चकचके, कोही छिटो दौडिन सक्ने। एउटा जीवको त झन् अनुहार अगाडिबाट एउटा लामो अर्को जीवनै निस्केको जस्तो थियो।
उनीहरू बेलाबेला बाठा जीवलाई पनि देख्थे। जहाँजहाँ ती जीव हुन्थे, त्यहाँ धेरै हल्ला हुन्थ्यो। जिज्ञासुले एउटा कुरा नछुटाई याद गर्यो, जहाँ ती जीव हुन्थे भुइँ टल्किने सेतो पदार्थ पाइन्थ्यो। यति बेलासम्म त उसले बुझिसकेको थियो, ती पदार्थ बाठो मान्छेले छाडेर हिँडेका हुन्। नचाहिने कुरा हुन्।
त्यो टल्किने कुरा राम्रो हो कि होइन भन्नेबारे उनीहरूबीच विवाद पनि भएको थियो। राम्रो चिज भए त बाठा जीवले आफैं लिएर जान्थे!
उनीहरूले मैदानतिर पनि डुलेर सकिसकेका थिए। अब जाने दिन नजिकिँदै थियो। जिज्ञासु भने भावुक भइरहेको थियो। किनभने यो संसार उसैलाई ज्यादा मनपरेको थियो। ती उड्ने जीवले उसको मन चोरिसकेका थिए। कतिसम्म भने आफूले देखेका सबै उड्ने जीवको उसले कापीमा चित्र बनाएको थियो। उनीहरूका लागि उसले ती बाठा जनावरलाई पनि झेल्न तयार भइसकेको थियो।
जाने दिनको कुरा गर्दा ऊ भावुक हुन्थ्यो। उसका लागि भनेर अरूले पनि उड्ने जीव खोज्दै अलिक समय बिताइदिए।
'यी उड्ने कुराहरू समातेर हाम्रो घर लान मिल्दैन?' उ भन्थ्यो।
टोली नेताले त्यसलाई घर पुर्याउँदासम्म मरिसक्ने जानकारी दिएर सम्झायो। उनीहरू फेरि पहिलो दिन आएर बसेको हरियो थुम्कामा फर्किए। उज्यालो थोरै मात्र बाँकी थियो।
उनीहरू यन्त्रमा बस्न ठिक्क परिरहेका बेला एउटा कुरा हुइँकियो। त्यो पनि उड्न सक्ने जीवहरूजस्तै मान्यो जिज्ञासुले। नभन्दै त्यो जीव त परको एउटा हरियोमा गएर बस्यो। जिज्ञासुले आफ्नो हातमा भएको कापीमा त्यसको चित्र कोर्यो।
गोलागोला दुइटा आँखा। तिनमा अलिकति रहस्य, अलिकति रिस र अलिकति 'क्युटनेस' मिसिएको। शरीर सानो र चिटिक्क।
जिज्ञासु आफैंले कोरेको चित्र हेरेर मख्ख पर्यो। उसलाई आफ्नो यन्त्रले आकाशको बाटो पक्डिसकेको पनि याद भएन। यो धरतीका सम्झना आफ्नो कापीमा कोरेर बसेको भावुक जिज्ञासु र उसको टोलीलाई बोकेर यन्त्र माथिमाथि बादलमा बिलायो।
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)