अतीतको कुनै यस्तो घटना जुन सम्झने बित्तिकै वर्तमान बनेर ह्वात्तै तपाईंको सामु ठिंग उभिएर तपाईंको सातो लिएको छ?
एउटा घटना सम्झने बित्तिकै मेरो सातो जान्छ। घटना हो २०७२ साल वैशाख १२ गते जुन सम्झने बित्तिकै छातीमा ऐठन पर्छ। महाभूकम्पको त्यो डरलाग्दो आवाज आज पनि कानमै आएर कराउँछ। त्यो अनौठो आवाज त्योभन्दा अगाडि कहिले सुनेको थिइनँ।
आज पनि त्यो घटनालाई वर्णन गर्न शब्द अपुग हुन्छ मलाई।
२०७२ वैशाख १२ सालको भूकम्पलाई मैले आजीवन बिर्सिन सक्दिनँ। एक किसिमको जीवन्त अनुभूति हो भूकम्प अनुभूति।
वैशाख ११ गते चन्दागिरिको डाँडोबाट कसैले बम पड्काए झैं चट्याङ परिरहेको छ। प्रकृति के विधि रिसाएकी! दिउँसैदेखि बिजुली चम्केर उखापातै छ। आकाशको छानो फुटेर जमिनमा सम्पूर्ण समुद्र पोखिएझैं, मुसलधारे वर्षा रोकिएको छैन। एकतमासले झ्याल बाहिर हेर्छु।
अहो! हावाको आवाज कस्तो अत्यासलाग्दो।
जुन कुरा अदृश्य छ त्यो नै सायद शक्तिशाली छ। घरको तेस्रो तलामा छु, वायुको वेग थामिसक्नु छैन। हावाको प्रवाह जब आल्मुनियमको झ्यालमा पर्छ तब झ्याल थरर गर्दै काम्न थाल्छ। अझ चट्याङ पर्दा त सात्तो टिप्छ।
छोरीहरू लुपुक्क टाँसिने आएका छन्। श्रीमान् कानमा औंला कोचेर चट्याङको आवाजलाई मत्थर मार्ने प्रयास गर्दै हुनुहुन्छ। म जय नरसिंह! जय नरसिंह! भन्दै नरसिंहको जाप गर्छु। खोइ कसले हो चट्याङ पर्दा नरसिंहको नाम जप्नु भनेर मेरो कानमा फुसफुसाएको पत्तो छैन।
सायद हिरण्यकशिपुलाई नरसिंह भगवानले मार्ने बेलामा चराचर प्रकृति यसैगरी कराएकी थिइन् कि?
दिउँसै अँध्यारो भएको छ।
यो डरलाग्दो बिपनालाई हेर्दै तीन दिन अगाडि देखेको सपना सम्झन पुग्छु।
सपनामा चारैतिर धुलो उडेको छ। मान्छे कुदाकुद गरेका छन्। धुलोले सम्पूर्ण सम्पूर्ण आकाश ढाकेको छ। म घक्रक्क भूमिमा घोप्टो परेर चिच्याइरहेको छु।
सपना देखेको भोलिपल्ट नजिकै भएकी दिदी र काकीलाई प्रातकालीन घुमाइमा सुनाएको थिएँ। तर तीन दिनपछि पृथ्वी नै बगाउला जसरी पानी पो पर्दैछ, यो कस्तो उल्टो सपना। आफ्नै मनसँग सपना र बिपनाको हिसाब खोज्दै छु।
ल्याण्डलाइनमा फोनको घण्टी जोड्ले बज्छ। एक झमटमा रिसिभर उठाउँछु- ‘हेल्लो, भाउजू दर्शन। वैवाहिक वर्ष गाँठको मंगलमय शुभकामना। त्यताको के छ खबर? यता त पानी परेर उल्का छ त।’
‘आशिर्वाद! अलि कम भएको छ यता त। सबै ठीक छ हाम्रो। आमा सौराहा जानु भएको छ। आज बिहे भएको दिन भान्जीहरूलाई लिएर ज्वाइँसहित कपन आउनू है।’
झ्यालबाहिर पानीसहितको हुन्डरीले केराको थामलाई अब ढाल्यो तब ढालो गर्दैछ। झ्याल बाहिर आँखा तेर्स्याएर भाउजूलाई भनेँ- ‘कसरी आउनु यस्तो पानी परेको छ, चट्याङ पर्दा झ्याल हल्लिएर ठूलै भुइँचालो आएझैं गर्छ, केटाकेटीको सात्तोपुत्लो गइसक्यो।’
‘केही बेरमा पानी रोक्किहाल्छ नि। भोलि शनिबार पनि छ, १२ त बज्दै छ भर्खर। २/३ बजेतिर हिँड्नू नि। आज रमाइलो गर्ने क्या।
एउटी भएकी नन्द पनि नभए मज्जा नै आउँदैन। अरूबेला कहिले मिल्दैन, आज शुक्रबार परेर पो त कसैगरी साँझसम्म भए पनि आउनू।’
यति प्रेमले भाउजूले बोलाउँदा मेरो मन फुरुङ्ग भइ पो हाल्यो। गोडाहरू पनि चमक्क भए। विस्तारै पानीको गति मन्द हुँदै गयो।
हामी पनि कपनतिर लाग्यौँ। दाजुभाउजूको वैवाहिक वर्षगाँठ निकै उल्लासमय तवरले सम्पन्न गर्दै राति १२ बजे केक पनि काट्यौं। रातिको करिब एक बजेसम्म हाम्रो रमाइलो यथावत नै थियो।
ओछ्यानमा पल्टिँदा पनि नन्द-भाउजूको भलाकुसारी जारी नै थियो, कतिखेर निद्रादेवीको काखमा गएछौं पत्तै भएन।
२०७२ वैशाख १२ गते बिहान ५:३० बजे हामी कपन गुम्बालाई गन्तव्यमा राखेर स्पोर्ट जुत्तामा जुर्मुरायौँ। प्रातकालीन घुमाइ ऊर्जावान छ, हातमा हरियो तरकारी उस्तै शोभायमान। घर आएपछि भाउजू र म भान्सामा तैनाथ छौं।
चिया र कफीको समय पनि मज्जाले सदुपयोग भएको छ। ज्वाइँ, पाहुना त्योमाथि शनिबार दुई चार वटा परिकार त पाक्नै पर्यो।
ज्वाइँ, दाजु र केटाकेटीहरूलाई खाना खुवाएर बल्ल भाउजू र मैले खाना खाने सुर कस्दै थियौँ।
पतिदेव हाँस्दै आएर मलाई सूचित गर्दै भन्नुभयो- ‘तँलाई माइती बस्न भनेपछि कहिले अघाउँदिनस् है! घर जाने बेलामा कहिले हतार हुँदैन त। लु! अब चाँडै गर, सबैरै घर जाउँ।’
पतिदेवको भनाइ पूर्णरूपमा असत्य पनि त थिएन। वास्तवमा घरबाट माइत जानेबेला हतार नै हुन्छ, सकेसम्म चाँडै आमाको नजिक पुग्यौं भन्ने हुन्छ भने माइतबाट घर फर्कने बेला अल्याङमल्याङ गर्न मन लाग्छ, खोइ किन त्यस्तो भएको होला।
मनमनै पतिदेवलाई भन्छु- ‘जन्म घरमा आउँदा जुन किसिमको आनन्द हामीलाई आउँछ त्यो आनन्द घर छोड्नु हिँड्नु नपर्ने पुरुषहरूले कहिले थाह पाउँदैनन्।’
‘भर्खर भात खाएकी छु। अहिले नै त मरिगए जान्नँ। हजुरआमा भन्नुहुन्थ्यो- भात खाने बित्तिकै चिसो हातले कहिले पनि घरबाट हिँड्नु हुँदैन। भरेभरे जाने, चियासिया खाएर, के हतार छ त, घरै पुग्नु पर्ने त हो नि। बरू आराम गर्नू हजुर पनि। यो टाउको फुट्ने घाममा म त निस्किन्नँ।’
घडीमा ठिक ११:३० भएको थियो।
दाजु पनि हतार गर्दै बाहिर जाने लुगा लगाएर आउनु भयो।
‘दाजु टाढै’ प्वाक्क बोलिहालें।
‘म भक्तपुर गएर आउँछु।’
‘उसोभए चाबहिलमा बत्तीको बिल तिरेर मात्र जानू है भक्तपुर,’ भाउजूले दाजुको हातमा बत्तीको बिल दिँदै भन्नुभयो। दाजु मोटरसाइकल कुदाउँदै हिँडिहाल्नु भयो।
घरमा केटाकेटीहरू आफ्नै सुरमा झ्याउँझ्याउँ गर्दै थिए। दाजु चार दिन अगाडि इलाम गएर फर्किनु भएको रहेछ। भाउजूले इलामको कोसेली खुवाको चकलेट धुइँपताल खोज्नुभयो।
आमाको कोठा, भान्सा कतै भेटिएन कोसेली।
भाउजूले अझ आश मार्नु भएन- ‘हिँड्नु मैयाँ माथि, दाजुले पक्कै माथि कोठामा राख्नु भएको होला। खुवाको चकलेट झन् हजुरलाई मिठो लाग्छ भनेर धेरै राखिदिएको थिएँ।’
नन्द-भाउजू माथिल्लो तल्लामा जाँदै थियौँ। सुभांषा र मानस पनि हाम्रो पछि लागे।
दराजको माथिल्लो भागमा इलामको कोसेली अँध्यारो भएर बसेको रहेछ।
साना-साना काठमा छेस्का जस्ता चक्लेट मुखमा हालेको मात्र के थिएँ, एकैचोटि हुत्तिएर दराजमा ड्याम्म ढोक्किन पुगें। कहिले नसुनेको आवाजसहित घर हल्लिन थाल्यो। तल्लो तल्लाबाट कोकोहोलो गर्दै सबैजना एकैचोटि चिच्याउन थाले- भूकम्प! भूकम्प!
हाम्रो होस् केही थिएन। मैले कान्छी छोरीलाई बोकेको रहेछु। भाउजूले मानसलाई चेप्नु भएको छ। चेतनाशून्य भएर हामी भर्याङसम्म त पुग्यौं। भर्याङभन्दा ठिक मुनि ठूलो पानी राख्ने ट्याङ्की छ।
भर्याङले पिङ खेलेको सायद त्यो दिन आफ्नै आँखाले देख्न पायौँ। हामी भर्याङमा चिप्लेटी खेल्दै बीचको तल्लामा कसोकसो पुग्न सफल भयौँ। जमिन हल्लिएर होला टाउकोमा छुट्टै तनाव भएर रिँगटा लागेको छ।
पड्याक्कको आवाजसहित हेर्दाहेर्दै घरको भित्तो चिरियो। घरको दिवार चरर चर्किएको आफ्नै आँखाले देखेर होला भर्याङ ओर्लने होस हराउँदै गएछ।
जीवनको अन्तिम दिन आजै हो भनेर मैले भाउजूलाई भने- ‘भाउजू, नजिकै आउनू। अब सँगै मरौं।’
सुभांषालाई मैले अझ बोकिरहेको रहेछु। मेरो होस पटक्कै थिएन। घक्रक्क परेर भर्याङमा झुल्दै थिएँ मेरा कानहरू, एकोहोरो शंख फुकेको आवाज आएको छ।
आठ वर्षकी छोरीले साहस जुटाएर मेरो मुख आफूतिर फर्काएर बोली- ‘मामु! हामी पनि बाहिर जाउँ, अहिले हामी नमरौं, हिँड्नु बाहिर।’
छोरीले आँखाभरि आँसु पारेर बोल्दा पो म झल्याँस्स भएँ र खुर्मुरिँदै भाउजूसहित एकैचोटि घरको अगाडि पुग्यौं। घर अगाडि मान्छेको भिड जम्मा भैसकेको छ।
पतिदेव त सबैभन्दा अगाडी भुइँचालो भन्दै बुर्कुसी मारेर तल झर्दा गेट बन्द रहेछ। गेट खोल्न नसकेर आँगनमै घोप्टो परेर नराम्रोसँग पछारिनु भएछ। अरू केटाकेटी काहालिँदै बाहिर आएका रहेछन्।
अब पो दाजुको याद आयो। एकातिर भाउजू भक्कानिएर रुन थाल्नुभयो। जमिन अझ हल्लिएको छ। छिमेकीको घरको पर्खाल ढलेर बाटो छेक्दै सुतेको छ।
‘दाजु! भक्तपुर जाने भन्नुभएको थियो, फोन गर्नु न ज्वाइँ साहेब, भक्तपुरमा के भयो?’
भक्तपुर जान्छु भनेर हिँडेको मान्छे कता पुग्नुभयो होला, फोन कतै लाग्दैन।
भिडमा एउटा मान्छे चिच्याउँदै थियो- ‘धरहरा ढल्यो, आज शनिबार धरहरा चढेका सबै खतम भए कोही बाँचेनन्। भक्तपुर त झन् सिनित्तै छ।
राम! राम! राम! कपन पनि ध्वस्त भयो। कस्ता कस्ता घरहरू गर्लम्मै ढले, असन के भयो होला? मर्ने मान्छेहरूको लेखा कति हो कति।’
भिडका यस्ता कुरा सुनेर अझ मुख प्याकप्याक भएको छ। नन्द-भाउजूकै मुखबाट मुटुकलेजो ह्वात्तै बाहिर आउला जसरी वाकवाक आउला जस्तो भएको छ। भाउजू आँखामा समुद्र छचल्काउँदै टुलुटुलु मलाई हेर्दै हुनुहुन्छ। भाउजूलाई हेर्न नसकेर म भिडको बीचमा गएँ।
छिमेकी दाइलाई देखेर मनको पीर पोखेँ।
‘हेर्नू न दाजु भक्तपुर जान्छु भनेर जानुभएको केही अत्तोपत्तो छैन, भाउजू रोएर खपिसक्नु छैन। के गर्ने होला?’
‘भक्तपुर जानुभएन होला, मैले ठिक ११:४५ मा चाबहिलमा भेटेको। भुइँचालो जाँदा उत्तम जी चाबहिलमा नै हुनुहुन्थ्यो।’
यति सुन्नासाथ ती दाइलाई धन्यवाद नै नभनी भाउजूलाई खुसीको खबर सुनाउन दगुरिहालें।
‘भाउजू, दाजुलाई केही भएको छैन, दाजु भक्तपुर जानुभएन जस्तो छ, भुइँचालो जाँदा दाजु चाबहिलमै हुनुहुन्थ्यो रे। ऊ त्यो दाइले भनेको।’
मैले औंला देखाएतिर भाउजू बेतोडले दौडिनु भयो। दाजु पनि निलोकालो हुँदै उत्तिनैखेर टुप्लुक्क आउनुभयो।
‘कता हराएको यतिका बेर?’ हत्तपत्त मैले दाजुलाई सोधें।
‘सडकमा रगतले लतपत भएका भूकम्प पीडितहरूलाई सकेको मद्धत गरेर आएँ।’
दाजुलाई सकुशल देखेपछि देवघाट घुम्न जानुभएकी आमा, सासू-ससुरा, दिदी, भिनाजु, छोरीहरू सबैको याद एकैचोटि भुटुङटुङ आउन थाल्यो।
निकै बेर बन्द भएको मोबाइल जस्तै थियो मेरो मस्तिष्क। छोरी, भदा र भदैनी एकोहोरो आँखा बन्द गरेर शिवलाई पुकारेका छन्। पराकम्पन आई नै रहेको छ। काठमाडौं ध्वस्त, भक्तपुर त केही छैन भन्ने कुरा चारैतिर फैलिएको छ।
साँझतिर आमाहरू पनि भूकम्पको अनुभव लिएर सकुशल काठमाडौं आइपुग्नु भयो। डरले भुराहरूको त भोक उडेको थियो, हाम्रो त के कुरा। त्यो रात हामी सबैजना भूकम्पको झट्का खाँदै जाग्राम बस्यौँ।
बिहान भएपछि मुटु ढुकढुक पार्दै घरभित्रको शौचालय गयौं। विस्तारै भात पकाउने सुर गर्नुपर्ने थियो। डरको आगो अझ निभेको छैन, जतिखेर पनि हल्लाएको जस्तो भएको छ शरीर।
आमाको हिम्मतमा झोल र भात भित्र र बाहिर गर्दै पाक्यो। गेट पूरै खुला छ। भान्सा धन्न भुइँतल्लामा थियो र सजिलो भयो। भोलिपल्टदेखि घरको ग्यारेजमा हाम्रो सुत्ने व्यवस्था भयो।
अप्ठ्यारोमा हामीलाई आधारभूत आवश्यकताभन्दा अरू केही चाहिएको थिएन। केवल खाना, नाना र छाना भए पुगेको थियो। सायद भूकम्प पनि गुरु बनेर आएको थियो मान्छेको अहंकारलाई परास्त पार्न।
समाचार सुन्दा मेरो मुटुको चाल तीव्र हुन्थ्यो। त्यसैले भूकम्पको खबर हेर्न र सुन्न सकेको थिइनँ। तीन दिन माइतीको आँगनमा बसेपछि चौथो दिन दाजुले गुर्जुधारा ल्याइदिनु भयो।
महाराजगंज हुँदै हामी आएका थियौं। बालाजु, बसपार्क, सीतापाइला तिरका घरहरू डरलाग्दो गरी लडेका थिए, झ्यालबाट हेर्दाहेर्दै मेरो मुटु पुनः चिसो भयो अनि हतार-हतार आँखा बन्द गरें।
दाजु-भाउजू गुर्जुधारा चोकबाटै फर्किनु भयो। गुर्जुधारामा भएका केही पुराना संरचना माटोमै मिलेका थियो। छिमेकीको घर ढलेको थियो। साँच्चै मैले देखेको सपना विपनामा परिणत भयो।
धुलैधुलो बुङ्बुङ्ती उडेको छ। मान्छेहरू डराएका छन्, जताततै भूकम्पको अनुभूति चर्को-चर्को स्वरमा गुन्जिएको छ। तरकारी लगाएका बारी मासेर मान्छेले अस्थायी घर बनाएको छ। डरले कोही निदाउन सकेका छैनन्।
भात, खाजा चाउचाउ नै भएको छ।
सिङ्गो समाज आकुलव्याकुल छ।
डरलाग्दो समाचारहरू सुन्नु परेको छ।
बालाजु, सीतापाइला, बसपार्कतिर अझ बढी धनजनको क्षति भएको। भौतिक संरचनाले पुरिएकाहरूको जीवितै उद्वार भएका सुखद खबरले आश पलाएको छ।
हाम्रो पीडामा बेलाबेला आकाश रोएकी छन्। घरलाई जोगाएर घरको पर्खाल भत्किएको रहेछ। घर पछाडि पाल टाँगिएको छ।
भाडामा बस्ने बहिनी रन्जुले कपनबाट आएको दिन र भोलिपल्टसम्म आफ्नै भान्साको भोजन खुवाइन्। आत्मीय माया दर्शाउँदै भन्थिन्- ‘दिदी, माथि नजानू तलै खाना खाने अनि पालतिर जाने। केटाकेटीलाई माथि नपठाउनू, अझ हल्लाउँदै छ।’
निद्रा नपरेको पाँच दिन भैसकेको छ, जे पर्लापर्ला भनेर छैटौं दिनदेखि घरभित्र सुत्न थाल्यौं, भात पनि माथिनै पकाउन थालें। भूकम्पले यस्तो झट्का दिएछ् कि बिर्सेर पनि आजीवन यो भूकम्पको त्रास भुल्न सक्दिनँ।