'कलि दुई कुरामा अडिएको छ रे, पैसा र सुन’ हुजुरआमाले सधैं सुनाइरहनु हुन्थ्यो।
झलक्क याद आयो, सुनको भाउ पनि कति उकालो लागेको हो! जति उकालो लागे पनि सुनको मोह घटेको छैन। सुनमा गरिने लगानी बढेर त भाउ बढेको होला नि।
पैसाले कतिका सम्बन्ध सकिएका छन्। यही पैसाका कारण दाजुभाइबीच मुद्दा चलेका छन्। आमा-बा घर न घाटका भएका छन्। आज यही पैसाको हरहिसाब मिलाउन नसकेर विचलित मनोदशाको बिरामी मान्छेले आफ्नो जीवन सिध्याएका छन्।
सम्पत्तिलाई निहुँ बनाएर कति बा-आमा दुर्व्यवहारको शिकार हुने गरेका छन्। कतिपय सामाजिक समस्याको मूल जड नै पैसा हो। पैसाको कारण कति सम्बन्धमा दरार देखिएका छन्। कतिपय उदाहरण हाम्रा छिमेकमा, हाम्रा घरमा नै हामीले देखेका, सुनेका र भोगेका छौं।
कालिमाटी तरकारी बजारमा गएर फर्कँदै थिएँ। महँगीको मारले काठमाडौं उखरमाउलो भएको छ। दुई/चार रुपैयाँ सस्तो पाइन्छ, रोजी-रोजी तरकारी किन्न पनि पाइन्छ। यता सरेपछि तरकारी किन्न प्राय: कालिमाटी नै जान्छु। हुन त गेटमै तरकारी आइपुग्छ तर किन्दिनँ। खुट्टा तन्काउने बहाना पनि हुन्छ।
थोरै तरकारी हुँदा त हिँडेरै आउँछु। आज भारी अलिक गह्रौ थियो। गाडी पर्खिराखेकी थिएँ। छेउमा एक वृद्ध बुबा आएर बस्नुभयो। थानकोट घर बताउने बुबा नेवार हुनुहुन्थ्यो। ८५ वर्ष उमेर बताउने उहाँसँग म आधा घण्टा जस्तो नै गफ गरेर बसेँ।
बुबाले थानकोट जाने साझा बस कुरेरे बस्नु भएको थियो। म पनि श्रीमान् अफिसबाट फर्कने बेला पारेर कालिमाटी गएकी थिएँ। जाममा परेकाले केहीबेर कुर्नुपरेको थियो।
थानकोट जाने बस त जति पनि आए, बुबा ती बसमा नचढेर किन साझा बस नै कुरेर बस्नु भएको होला? मनमा तुलबुल भएको थियो।
सोध्नै आँटेकी थिएँ बुबाले नै भन्नुभयो- 'अरु बसमा पैसा लाग्छ, साझा बसमा पैसा लाग्दैन नि नानी। जति बेर नआए पनि कुरेर जाने हो।’
एक हातमा लौरो, दौरा-सुरुवाल लगाउनु भएको उहाँलाई हेर्दा पैसा नभएर अरु बसमा जान नसक्ने जस्तो त देखिनुहुन्न थियो। हुन त देखिनु र भोग्नु फरक कुरा हुन्।
सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले कत्ति पनि पैसा नदेख्ने बुढाबुढीले पनि ३\४ महिनामा १२\१५ हजार रुपैयाँ हातमा पार्छन्। बसमा चढ्ने पैसा नै नभएर त हैन होला। मनोवादमा अल्मलिएँ एकछिन।
बुढाबुढीहरू आफू बैसमा हुँदा निकै दु:ख गरेका, पैसाको महत्त्व बुझेका, मौकामा हिरा फोड्न पछि नपर्ने, बेमौकामा कौडी पनि खर्च नगर्ने हुन्छन् कि क्या हो? अहिलेका जस्तो अर्काको कमाइमा बेहिसाब खर्च गर्नु बुबाआमाको सिद्धान्तको खिलाफ नै हो कि क्या हो।
आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ। पैसा कमाउनु मात्र कमाउनु हैन, जोगाउन पनि जान्नुपर्छ। विदेशमा जस्तो समाजिक सुरक्षा भए त केलाई जोरजाम गर्नु पर्थ्यो र? रोग लागेर अस्पताल जानु परे गोडा एक लाखलाई अगाडि नलगाइ हुन्न।
सरकारले दिने समाजिक सुरक्षा पर्याप्त छैन। साझा बसले जेष्ठ नागरिक सबैलाई निःशुल्क बस सेवा दिँदोरहेछ कि क्या हो। बसमा राखिएका आरक्षणका सिटले कति लाभान्वित भएका छन्? स-साना कुराले पनि कति आत्मसन्तुष्टि दिन्छ है! साझा बसमा पैसा लाग्देन नि भन्दा बाको अनुहारको चमक नै अर्को थियो।
यस्तै-यस्तै स-साना कुरामा पनि सुबिधा दिए, अनियमिततालाई नियन्त्रण गरे, विकास त सुस्त-सुस्त हुँदै गर्छ नि। हाम्रो देशभन्दा कति अविकसित भनिएका देशहरूले विकासमा कति छलाङ मारिसके।
'एउटा छोरा थियो रे। बा धनी भएको हुँदा उसले रवाफले पैसा खर्च गर्थ्यो। आफ्नो कमाइ नभएको त्यो परजीवीलाई पैसाको महत्त्व केही थाहा थिएन। बुबाआमाका हात बस्दै गएपछि बा-आमाले खाइ-नखाई बचाएको जग्गा जमिन पनि उसले बेचेर सकेछ। बुढा बा-आमाले कति सम्झाउँदा पनि ऊ मान्दैनथ्यो। सबै सकिएपछि मात्र उसको घैटामा घाम लागेछ। उसले काम गर्न थालेछ। पहिलो पटक कमाएको पैसा ल्याएर बुबाको हातमा राखिदिएछ। बुढा बाले हातमा समाएको पैसा फ्यात्त अँगेनामा फालिदिएछन् रे। बाले पैसा आँगोमा फालेको देखेर उसले आगोको वास्ता नगरी आफूले कमाएको पैसा जोगाउन लागेछ। यसो गर्दा उसको हात पनि पोलेछ। बाले छोरालाई सम्झाउँदै भनेछन्- 'देखिस् बाबु, आफ्नो मेहनतको कमाइको कति माया लाग्छ!’
म बालक हुँदा सुनेको लोककथामा कस्तो दर्शन लुकेको रै छ। आजभोलि म सोच्छु। अनि यसो समाजमा दैनिक घटेका घटनाका दृश्य साक्षात्कार गर्छु।
७२ वर्षकी मेरी आमा आफूले खाने तरकारी आफै उब्जाउनु हुन्छ।
'दिन उमेरमा जागिर खाएर पैसा नकमाए पनि तेरी आमाले घर व्यवहार नहेरेको भए, बचत गर्ने, लगानी गर्ने नगरेको भए हामी मात्र हैन हाम्रो सिङ्गो परिवारको दशा सुध्रिने थिएन। तेरी आमाको त्याग र बलिदानको जगमा हाम्रो परिवार बलियो भएको हो,’ बुबा भनिरहनु हुन्छ।
आमा अझै पनि त्यस्तै स्वाभिमानी हुनुहुन्छ। दुःखमा नआत्तिने, सुखमा नमात्तिने आमाको बानी छ।
'मै खाउँ मै लाउँ सब सुख सयल वा मोज मै गरुँ, मै हाँसु मै नाँचु अरु सब मरुन दुर्बलहरू’ लेखनाथ पौडेलको यो पङ्ति जस्तै केबल आफ्नो लागि मात्र, आफ्नो सुख सयलको लागि मात्र सोच्ने अहिलेको मतलबी दुनियाँमा पहिला-पहिला आफूले निकै दुःख र त्याग गरेका वृद्ध आमा-बालाई घरको कसिङ्गर देख्नेहरूको कति पनि कमि छैन।
हाम्रै परिवारभित्र पनि त्यस्ता मान्छे भेटिन्छन् जसले आफ्ना आमा-बालाई मनका कुनामा फूलजस्तै सजाएका छन्। कोही-कोहीले वचनका तिखा वाणले आमा-बाका मनलाई द्रवित बनाएका छन्। त्यान्द्रो बराबरको हैसियत नदिएर आमा-बाहरूलाई जिउँदै नर्कको भोग गर्न बाध्य बनाएका छन्।
द्रव्यपिसाच जस्ता उनीहरूलाई पैसा, पैसा र पैसा चाहिन्छ। भगवान स्वरुप मान्यजनको आशीर्वाद चाहिन्न। अर्काको कमाइमा रमाइ गर्न कति लाज नमान्ने आजभोलिको हाम्रो समाज बन्दैछ। घाँटी हेरेर हाड निल्नु त कहाँ हो कहाँ, अरुले घोडा चढे आफूले धुरी चढ्ने सोचले धेरै परिवारमा विचल्ली भएको छ।
पैसाले सुख किन्न सक्छ, खुसी किन्न सक्दैन। विस्तारा किन्न सक्छ, निद्रा किन्न सक्दैन। कात्रोमा गोजी त हुन्न। जोडेको सबै यही छोडेर जाने हो। तर किन जे जस्तो गरेर नि पैसाको रवाफ देखाउन पर्छ मानिसलाई? समाजमा त्यस्तै रवाफ दिनेको वाह-वाह हुन्छ।
नैतिकता, इमानदारिता र सदाचारलाई रसातलमा पुर्याउनेहरू नै समाजका अगुवा छन्। उनीहरूकै दबदबा छ। उनीहरूकै रवाफ छ। रवाफ नदेखाउने वा देखाउन नचाहनेहरूलाई फरक दृष्टिले हेर्छन्। सरलताको केही मूल्य छैन? सदाचारको मूल्य खोई?
यसो वरपरको जीवन र जगत हेर्दा जो प्रकृतिको नजिक छ, जो सरल छ, जो सामान्य छ र देखावटी छैन जो सदाचारी छ, ऊ नै धेरै खुसी छ। भलै ऊ भौतिक रुपमा सुखी छैन। हरेक खुसीलाई भौतिक सुखसँग दाँजेर हेर्नेहरूलाई आनन्दको मोल कसरी थाहा हुन्छ र?
८५ वर्षका ती बुबाले दिन उमेरमा हिँडेर नै थानकोट आउजाउ गर्नुहुन्थ्यो। उता फलेका तरकारी यता ल्याएर बेच्नुहुन्थ्यो। अहिले सुख त छ तर खुसी छैन। आफ्नो दुःखको कथा भन्दा बाको आँखामा खुसीको आभा थियो।
भौतिक सुख, अरुलाई देखाउने देखावटी दुनियाँले साँच्चै खुसी दिन्छ होला कि नाई? मनको शान्तिका लागि भौतिक सुख चाहिन्छ? कसैलाई केले, कसैलाई केले खुसी दिन्छ। सुख र खुसी सापेक्ष कुरा हो।
मान्छेले प्रकृतिको रक्षा गरेनन्। जताततै घर र गाडी। हावा पनि बहन छोडेजस्तो लाग्छ यतातिर।
टेकु अस्पतालमा जँचाएर आएको। त्यहाँ स्वास्थ्य बिमाको सुविधा उपयोग गर्न पाइन्छ। हामी बुढाबुढीलाई सरकारले यथेष्ट सामाजिक सुरक्षा दिए, अशक्त अवस्थामा हेरिदिए हामीले खाइ नखाइ जोडेको,जो गाएको सबै सरकारलाई दिनहुन्थ्यो।
सरकार र कानुन बलियो हुनुपर्छ। लहलह टाइचिन धान फल्ने काठमाडौं दुई चार आनामा काक्रा जस्तो चिरियो। सबैले आफ्नो लागि आफै गर्नुपर्छ। अहिले उद्यमशीलता छैन। पितापूर्खाले जोडेका सम्पत्तिमा रमाइलो गर्ने, आफैले मात्र मोज गर्ने सोच छ। यही सोचले नै काठमाडौं टुक्रिएर चिरा-चिरा भयो।
तीन आना, चार आनामा कित्ता काट भयो। धर्ती त अनाज फलाए, फलाउन पाए पो हराभरा हुन्छ। खुसी हुन्छ। आफू नै खुसी नभएको पृथ्वीले अरुलाई कसरी खुसी दिने हो र? बागमती र विष्णुमतीलाई हेर्छु दिक्क लाग्छ। त्यहा पानी बगेको खै?
ऊबेला कस्तो सफा पानी थियो। अँजुली भरेर पिउन मिल्ने। बागमती त बगेर अलिक पर पुगेर शुद्ध भएको छ तर मान्छेको कर्म कहिले शुद्ध हुन्छ कुन्नी?
बुबाको साझा बस आधा घण्टामा आयो। उहाँ बिदा भएर जानुभयो। बुबा शोभाकान्त गौडेलको कविता सम्झे-
'यस्तै तालले खण्डित हुँदै गए भने धर्तीहरू...
अनाज खाने धर्तीकै हो चन्द्रलोक पुगे पनि’
काठमाडौं मात्र होइन, तराईका विशाल फाँट पनि धुर र कठ्ठामा घडेरीकरण भइरहेका छन् भनेर भर्खरै प्रकाशीत जनगणनाको तथ्यांकले जनाइरहँदा यसको बारेमा सोच्ने जिम्मा क-कसको हो?
पहाडका बस्ती, फाँट र टारहरू रित्तिँदै छन्। रोजगारीको सिलसिलामा विदेशिने युवाको भिड घटेको छैन। भित्रिएको विदेशी रेमिट्यान्स दैनिक उपभोगमा सकिन्छ। शिक्षा र स्वास्थ्य अति महँगो भएको छ। जे-जस्तो भए पनि भौतिक वस्तुको उपभोगलाई सबै ठान्ने परिपाटीले हाम्रो समाज अति उपभोक्तावादी बनेको छ।
विदेशको जस्तो जीवन चाहने तर विदेशमा गरेको जस्तो श्रम गर्न नचाहने, दिन दुई गुना रात चौगुना समृद्धि चाहने तर काम गर्न लाज मान्ने परिपाटीले हामीलाई मनोरोगी बनाइरहेको त छैन? हामीलाई अनैतिकता र अराजकताको बाटोतिर धकेलेको त छैन?
म बाटोको जाम हेरेर बसिरहेँ।