करेसा बारीमा मालभोग केरा निकै राम्रोसँग फस्टाएका छन्। एक बिहान केराको बुङ्गो टिप्दै थिएँ। नजिकै बस्ने आमा कम्पाउन्ड वालबाट मलाई नियालिरहनु भएको रहेछ।
हाम्रो करेसा बारी साँच्चै हेरिरहूँ जस्तो थियो।
कुनै केराका बोटहरूमा मज्जाको घरी लागेका। कुनै घरी काट्ने बेला भएका। त्यसै त्यसै खाइलाग्दो गरी मौलाएको केराबारी हेरेर ती आमाले आफ्नो मुखबाट बिहानै गनाउने ढलजस्तै बोली ह्वात्त निकाल्नुभयो।
‘के गर्नु बारीभरि केरा मौलाएर, आखिर सन्तान छैनन्।’
म ट्वाँ परें! अनि फ्याट्ट भनी हालें- ए आमा! के भनेको त्यस्तो मेरा सन्तान छैनन् र?
ती आमालाई भलिभाँति थाहा थियो मेरा दुई छोरीहरू छन् तर कसरी सन्तान छैनन् भन्न सक्नुभयो! आमाको मुखबाट कस्तो बोली निस्कियो म छक्क परें।
अनि रिस, आक्रोशलाई निलेर निलकण्ठ हुँदै हाँसेरै भनें- आमा! मेरा छोरीहरू देख्नु भएको छैन जस्तो गर्नु भयो त! स्कुल पुर्याउन जाँदा सधैं सोध्नुहुन्छ ‘नानीहरू पुर्याउन जान लाग्या?’ भनेर, कि बिर्सन थाल्नु भयो?
चित्त दुखे पनि आमाको उमेर उहाँले भोगेको समाज र संस्कार सम्झेर माफ गरिदिएँ।
‘होइन, छोरा छैनन् भनेर भनेको। छोरी त के अलिदिन पछि अर्काको घर हिँडिहाल्छ्न्, छोरीलाई पनि के सन्तान भन्नु र!’
आमाको बोलीमा उहाँको सोच, शिक्षा र संस्कार छर्लङ्ग देखेर धेरै बोल्न मन लागेन।
नजिकै कालो काग जोडले कराउन थाल्यो। झट्ट सम्झिएँ।
‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ अनि कुरालाई टारिदिएँ।
खोइ के सोचेर हो। ती आमा फेरि बोल्दै हिँड्नुभयो।
‘न रिसाऊ है अनिता! के बोल्न आएछ, आएछ।’
‘बन्दुकबाट निस्केको गोली र मान्छेको मुखबाट फुत्केको बोली फिर्ता हुँदैन’ मनमनै भनें।
बुढी आमालाई म रिसाएकी भन्ने चिन्ताले डस्न थालेछ।
कठैबरी! ती आमासँग के रिसाउनु!
जान्ने सुन्नेहरूको त सोच प्रायः यस्तै छ। चलन नै यस्तै छ, अर्काको घर र परिवारमा बढी चासो राख्ने समूह ज्यादा छन् हाम्रो समाजमा।
ती आमासँग नरिसाए पनि, झगडा नगरे पनि, नबोले पनि, मेरो मस्तिष्क चाहिँ आफैंसँग बोल्दै थियो।
हात गोडा धोएर माथि उक्लिएँ। म्यासेन्जरमा घन्टी बजिरहेको रहेछ।
कलेज पढ्दाको साथीले हिजोभर्खर साथी बन्ने अनुरोध पठाएको थियो, आजै फोन गरेछ।
खुसी भएर फोन उठाएँ। करिब बीस वर्षपछि कुराकानी हुँदैथियो। हालखबर सोधपुछ गर्दै स्कुल जीवनका कुरा गर्दै थियौं अरू साथीभाइहरूलाई सम्झँदै सामान्य कुराकानी हुँदै थियो। उताबाट साथीले प्रश्न तेर्स्यायो- ए साँच्चै तिम्रो कति जना नानीबाबु?
मैले सहजै उत्तर दिएँ - दुई छोरीहरू छन्
साथीको मुखमा अनौठो मुस्कान उर्लेको स्पष्ट देखें। साथीले अप्रत्याशित रूपमा खित्का छोडेर हाँस्दै भन्यो- अनुहार हेर्दै छोरी पाउनेजस्ती छ, अनि कहाँबाट पाउनु त छोरा।
साथीको कुरा सुनेर म तीन छक्क परें।
अवाक् भएँ। कुनै प्रतिक्रिया दिन सकिनँ।
एकैचोटि छाँगाबाट खसेकोझैं भएँ।
हे भगवान्! कुन स्तरको मान्छेसँग साथी भनेर म बोल्दै छु। मैले आफूलाई हतार भएको बहाना पारेर फोन काटें। अनि तुरून्तै त्यो साथीलाई अनफ्रेन्ड गरें। म सोच्न थालें एउटै कलेज पढेको, एउटै शिक्षकले पढाएको, एउटै मुहानको पानी खाएका हामी कसरी यति फरक सोचका भयौं? यस्तो संवेदशील कुरामा मजाक गर्न मेरो साथीले कसरी सक्यो? कति सजिलै त्यतिसम्मको तल्लो स्तरबाट मसँग बोल्न सक्यो?
कस्तो दरिद्र सोच। मलाई त्यसो भन्नुभन्दा अगाडि रत्तिभर सोच्न पनि सकेन 'के बोल्दै छु' भनेर।
आफ्नो मान, सम्मान र इज्जतको हेक्कासम्म राखेन। वर्षौंपछि त्यो साथीसँग फेसबुकमा जोडिन आएकोमा मलाई पश्चाताप भयो।
उमेरले परिपक्व भएको मान्छेले आफ्नो बोलीलाई किन परिपक्क पार्न सक्दैनन् हँ?
हामी किन आफ्नो बोलीलाई तौलेर, परख गरेर,ठीक्कमात्र बोल्न सक्दैनौं? हामी किन सोच्न सक्दैनौं?
आफ्नो बोलीले अर्को मान्छेलाई कस्तो असर गर्छ भनेर। उमेरले चालीस कटेको साथीले आफ्नी सहपाठीसँग यतिका वर्षपछि बोल्दा थोरै भए पनि किन गम्भीर हुन सकेन? मलाई दिक्क लाग्यो।
मेरो साथी कस्तो परिवेश, संगत र वातावरणमा परेछ भन्ने चिन्ता पनि पर्यो।
धन्न श्रीमान र छोरीहरू फोन नजिक थिएनन् नत्र साथीको छवि कस्तो हुन्थ्यो होला। त्यो घटिया मजाक गर्ने मान्छे मेरै सहपाठी हो भनेर मैले कसरी चिनाउँथे होला छोरीहरूलाई ?
आजको दिन नै खराब रहेछ। बिहानदेखि नै मेरो दिमाग खाने परिवेश सृजना हुँदै थियो। पढ्न, लेख्न मन नलागेपछि अनि मोबाइल चलाएर बस्दै थिएँ।
क्यानडाबाट बहिनीले फोन गरी, धेरै दिन भएको थियो कुराकानी नभएको।
मुख हेर्ने बित्तिकै सोधी हाली- के भयो दिदी अनुहारमा चिन्तित छ त?
मैले सामान्य हुन खोज्दै भनें- केही होइन बारीमा गएर आएको त्यसैले होला।
मैले कुरा लुकाउन खोजें।
‘अँ, त्यस्तो हँसिलो अनुहार जति नै थाके पनि ग्रहण लागेको त कहिले देखेको छैन। के हो कुरा भनिहाल्नु त। कुरो नलुकाउनु। के कुरामा चित्त बुझेन, कि कसले के भन्यो?’
मेरो अनुहार हेरेर मेरो मनको अवस्था बुझ्ने बहिनी खासमा मेरी अर्की सहपाठीकी साख्खै बहिनी थिई।
म फुरुङ्ग पर्दै साथीकी बहिनीसँग सम्पूर्ण मनको व्यथा खोलें।
‘दिदी! ती बुढाबुढीका के कुरा गर्नुहुन्छ। यहाँ देश छोडेर आएका शिक्षित मान्छे त छोरा भए स्वर्गको ढोका खुल्छ छोरी भए मरेपछि पानीसम्म खान पाइँदैन भन्छन्। मलाई दुई छोरीहरू हुँदाहुँदै छोरा पाउन सल्लाह दिनेको कमी छैन क्यानडामा पनि। गोल्ड मेडल भित्तामा झुन्ड्याएका घरमा पनि छोराको चाहनामा मुटु जलेको भेट्छु। कति दिदीबहिनीहरू बाध्य भएर लोग्ने र घरका मान्छेलाई स्वर्ग पठाउन आफू चाहिँ दिनरात नर्कमा बाँचेका छन्।
नेपालीको मन जहाँ गए पनि उस्तै हुने रहेछ दिदी। छातीमा कुसंस्कार बोकेर आएका यस्ता मान्छेको कमी छैन विदेशमा पनि।
बौद्धिकता त अरूलाई देखाउने दाँत हो दिदी। प्रगतिवादी हुँ भन्दै भाषण ठोक्ने अभिभावकहरू पनि जब अरूको छोरो देख्छन्, भित्रभित्रै कुँडिन्छन्, आफैंलाई धिक्कार छन्।
धिक्कार होस् मेरो चाहिँ छोरो छैन भनेर एकान्तमा टाउकोमा हात राखेको मैले देखेको छु। यस्ता प्रगतिशील भनाउँदाहरू जाँड खाएको बेला छोरो पाउन नसकेको पीडामा क्वाँ क्वाँ रोएर पीडा र कुन्ठा ओकलेको पनि देखेको छु दिदी।
महिलाहरू पनि कोही कोही त उस्तै छन् ।
यहाँ पनि अस्ति त एक जना इन्जिनियर दिदीले मलाई पो सल्लाह दिन थाल्नुभयो।
एकचोटि पुनः कोसिस गर्दा के फरक पर्छ त, दुई छोरी हुर्किहाले , अब योचोटि बाबु नै पो हुन्छ कि, बाबु नभए एबोएर्सन गर्दा भैहाल्छ नि रे।
मेरो कन्पारोको रौं झनन्न तातेको थियो। होइन आइमाइको काम चाहिँ बच्चा मात्र कोरलेर बस्नु हो र? सन्तान हुर्केलान् केही गरौंला भन्ने सोच पलाउन नपाउँदै निमोठ्नु पर्ने, ए बाबा! बच्चा पाउन त सजिलै होला, त्यो बच्चालाई हुर्काउन, बढाउन र पढाउन कति समय खर्चिनु पर्छ, लु भन्नु त दिदी!
के भन्नु, दिदी वाक्क लाग्छ हामी नेपालीको सोच देखेर! गधालाई नुहाएर गाई कहिले बन्दो रहेनछ।’
तीन छक्क परें। हे भगवान ! आज पनि यो कस्तो विभेदपूर्ण सोच। यो कस्तो चाहना? सन्तान भए पुगेन हामीलाई। छोरा होस् या छोरी स्वस्थ हुन्, शिक्षित हुन्, सभ्य हुन्, असल मान्छे बनुन्। के छोरा पाउनेको मात्र सामाजिक प्रतिष्ठा छ ? तीनटी लायकदार छोरीहरू हुँदाहुँदै जबर्जस्ती छोरा पाउने आशमा कयौंपटक श्रीमतीलाई गर्भपतन गराउन विवस पार्ने प्रगतिशील श्रीमानहरूलाई देख्दा दिक्क लाग्छ। उनीहरू नै फेरि प्रजनन स्वास्थ्यको बढो चिन्ता व्यक्त गर्छन्, छद्मभेषीहरू।
ढोङ्गी चरित्र देख्दा त झन् ब्रह्माण्ड खल्बलिन्छ।
आफ्नो शरीर, इच्छा , विचार र प्रजननमा आफ्नै अधिकार नभएका चेतनशील नारीहरूको विवशता देख्दा मुटु फुटेर बाहिर आउन खोज्छ। शिक्षाले खोइ चेतना जागृत गरेको? धिक्कार छ यस्तो शिक्षा, संस्कार र समृद्धिलाई जसले मानवलाई मानवता सिकाउन सक्दैन।
'छोरा र छोरी समान हुन्' भन्ने धारण चौतर्फी रूपमा बढ्दो छ तर गहिरेर मानव मनलाई हेर्ने हो भने मुखले मात्र यस्तो महान विचार ओकल्नेहरूको समूह ज्यादा हुने रहेछ।
डेलिभरी रूमबाट जब छोरी जन्मेको सूचना नर्सले दिन्छिन् घरका सदस्यहरूको अनुहारको भाव छोरा जन्मिएको सूचना सुन्दा उत्पन्न हुने भाव भन्दा निकै फरक हुन्छ, यो कस्तो बिडम्बना।
छोरीको संख्या बढ्दो छ भर्खरै सम्पन्न एसइई परीक्षामा छोरीहरूको सहभागिताले पनि देखाएको छ। दु: खका साथ भन्नुपर्छ अझ पनि गर्भमा छोरी छ भनेर गर्भ पतन गराउनेको संख्या ५० % छ।
यस्तै कुराहरू मनमा खेलाउँदै थिएँ। घरको निर्जीव चरो जोडले करायो। झसङ्ग भएर घरको द्वारमा पुगें। अनुहारमा साउनको आकाश लिएर दुर्गा आएकी रहिछे। दुर्गालाई भित्र लिएर गएँ। अनायासै मलाई अंगालो हालेर साउने झरी पो मेरो काखमा ओइर्याई।
दुर्गा साँच्चै दुर्गा नै थिई तर जब दुर्गा रामकी सीता बनि अनेकन अग्नि परीक्षामा होमिँदै गई।
दुर्गा एक बुलन्द आवाज भएकी जेहेन्दार छात्रा थिई। बाआमाकी कर्मवीर छोरी, परिवारकी हक्की, निडर चेली मात्र नभएर नेपाल सरकारको एक अब्बल र कर्मठ कर्मचारीका साथै दुई छोरीकी आमा।
वृद्ध सासूससुराकी असल बुहारी।
श्रीमानकी पियारी पनि थिई।
तर अग्नि परीक्षाहरूको उकुसमुकुसले दुर्गा कहिलेदेखि मुर्गा बन्दै गई हेक्कै भएन।
आँखाबाट भेल बग्न छोडेपछि सुकेका ओठ बिस्तारै खोली-
जागिर र घरले मलाई खाने भयो यार!
अब हेर्न उहाँले दिनदिनै मलाई अर्को तनाव दिन थाल्नु भएको छ। आफूलाई भने कान्छी छोरी पनि हुर्की भनेर ढुक्क भएकी थिएँ तर उहाँलाई त छोरो कसैगरी पाउनै पर्छ रे। बल्ल सानी स्कुल जान थाली भनेर थोरै सजिलो हुन्छ कि भनेर खुसी हुँदै थिएँ। कसैगरी छोरो त चाहिन्छ चाहिन्छ भन्दै दिनरात किचलो गरेर मेरो मस्तिष्कलाई कचुमर बनाइदिई सक्नुभयो। हिजोआज त मेरो मस्तिष्क प्रायः शून्य हुन थालेको छ। तैंले त देखेकी थिइस् नि मेरो दु:ख।
यतिका वर्ष गधा भएर जोतिएँ दुई छोरीहरू छँदैछन्, मलाई छोराको रहर पनि छैन। के गर्नु हेर्न।’
दुर्गाको कुराले म भित्रैबाट निमोठिएँ।
हे भगवान! मलाई पत्यार नै लागेन राम सरले पनि दुर्गालाई यस्तो भन्नुहुन्छ होला र ? कहिलेदेखि मान्छेले छेपारोसँग मितेरी लगाएको होला ?
राम सरले कयौं सभालाई सम्बोधन गर्दा छोराछोरीमा विभेद गर्नु नहुने तर्क पेश गरेको यो कानले हजारौं पटक सुनेको छ। हरेक मञ्चमा राम सरलाई वक्ताको रूपमा आमन्त्रण गरिइन्छ। रामसरको भाषणमा दुई मिनेटसम्म परर ताली बजेर रोकिँदैन।
हे पशुपतिनाथ! राम्रा कुरा जति त भाषण गर्नलाई मात्र पो रहेछन्.......