केही समयअघि म मेरो घरगाउँ गएको थिएँ। गाउँले र आफन्तकहाँ जाँदा एउटा रोचक घटना भयो। यसलाई दुखद पनि भन्न सकिन्छ।
पहिलेपहिले अरूको घर जाँदा बसौं न भन्दै पानी, चिया वा मही खान दिन्थे। अचेल यी सबैलाई प्रतिस्थापन गरेछ 'चिसो' ले।
चाहे भेटघाट होस् वा साना-ठूला भोज, रमाइलो, खुसियाली, उत्सव, चाडवाडदेखि सबैजसो जमघटमा चिसो!
ठूला मान्छेले भित्र्याएको चिसो केटाकेटीले नखाने कुरा भएन। गुलियो पेयपदार्थ खान पाएपछि बच्चाहरू खुसी नहुने पनि कुरा भएन। तर त्यो चिसोले भावी दिनमा उनीहरूको स्वास्थ्यमा पनि कति चिसो निम्त्याउँछ भन्नेबारे सबैले बेवास्ता गरेझैं देखिन्थ्यो।
अत्यधिक मात्रामा चिनी मिसिएको त्यो पेयले कलिला केटाकेटीमा देखिने सम्भावित समस्या सम्झेर मेरो भने छाती दुखिरहेको थियो।
शरीरका विभिन्न अंगमध्ये मुख महत्वपूर्ण हो। मुखले खानालाई ससाना टुक्रा बनाउने र र्याल मिसाएर खाना नरम पार्ने काम गर्छ। यो मात्र नभएर जिब्रोले विभिन्न स्वाद दिमागमा सञ्चय गर्छ। फरकफरक खाना चिनाउँछ। खाना रूचिमा लगाव पार्ने काम पनि गर्छ।
मुखको स्वास्थ्य राम्रो छैन भने बालबालिका, वयस्क, वृद्ध सबैलाई शक्तियुक्त खाना प्रशस्त लिन कठिन हुन्छ। खानामा स्वादको रस कम हुँदै जान्छ। खाने रूचि र शरीरलाई आवश्यक पौष्टिक पदार्थ कम हुन सक्छ। विस्तारै शरीरको तौल घट्दै जान्छ। किटाणु संक्रमणले सताउने हुन सक्छ। विभिन्न रोगको संक्रमण बढ्दै जान्छ। त्यसैले मुखको स्वास्थ्यबारे बच्चा जन्मिएदेखि नै सचेत नरहने हो भने त्यसले सम्पूर्ण स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ।
केटाकेटीको दन्त्य स्वास्थ्यमा सानैदेखि ध्यान दिइनुपर्छ। नभए उनीहरूमा दाँतको हेरविचार गर्ने र स्वस्थ दाँतका लागि आवश्यक असल बानीको बस्दैन। यस्तो बानीमा लगाव पनि हुँदैन। अनि दातमा ढुंगा जम्मा हुने,
कीराले खाने, सानैमा दाँत झर्ने, पहेँलो भएर बिग्रिने जस्ता समस्या आउन सक्छन्।
दाँत उम्रिने बेलादेखि नै दाँत र मुखको स्वास्थ्यमा ध्यान नदिए शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ। पर्याप्त खाना सेवन गर्न नसक्नुको मुख्य असर पढ्न, खेल्न र अरू गतिविधि गर्न सक्ने क्षमतामा पर्छ। रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन सक्छ।
संयुक्त राष्ट्रसंघको बालाधिकारभित्र राम्रो स्वास्थ्य उनीहरूको अधिकार हो भनिएको छ। यसको अर्थ बालबालिकाको स्वास्थ्यलाई नकारात्मक असर पुग्ने सबै काम रोकी स्वास्थ्य प्रवर्द्धन गर्न सक्नु अभिभावकको पहिलो कर्तव्य हुन्छ। दन्त स्वास्थ्यको हेरविचार र स्वास्थ्य सेवा उपलब्ध गराउनु भने सरकारको जिम्मेवारीभित्र पर्छ।
बच्चाको पहिलो दाँत आउन ६ महिनादेखि सुरू हुँदै एक वर्षसम्म पनि लाग्न सक्छ। जब दाँत उम्रिन्छ, त्यति नै बेलादेखि माझ्न सुरू गर्नुपर्छ। त्यसो गर्दा दाँत वरिपरि खाना जम्मा हुँदैन। गुलियो र अमिलो कुरा टाँसिएर बस्दैन। दाँत माझ्नुपर्ने रहेछ भन्ने बानी पनि सानैदेखि बस्छ।
दाँत माझ्न नरम खालको ब्रस र बच्चालाई लाभदायी हुने मन्जन प्रयोग गर्नुपर्छ। बिहान खाजा र बेलुकी खाना खाएपछि दैनिक दुईपटक माझ्दा दाँत स्वस्थ रहने विज्ञहरूको अध्ययनबाट देखिएको छ।
दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने कुरा खाने र पिउने बानी हो। गुलियो र अमिलो पदार्थले दाँतको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँछ। धेरैचोटि चुपुरचुपुर खाने बानी पनि दाँतको स्वास्थ्यका लागि नकारात्मक हुन सक्छ। जति धेरै र जति लामो समय दाँतमा गुलियो वा अमिलो कुरा भरिरहन्छ, त्यति नै बढी ढुंगा लाग्ने, कीराले खाने अनि दाँत खिइने डर हुन्छ।
हाम्रो समाजमा भेटघाट क्रममा चकलेट, बिस्कुट, मिठाइ आदि दिएर बच्चालाई खुसी बनाउने चलन छ। उपहार वा कोसेली पनि गुलिया परिकार नै लिएर गइन्छ। यस्ता चिजले बच्चाको दन्त स्वास्थ्यलाई अत्यन्तै नाजुक बनाउँछ। शारीरिक स्वास्थ्यमा पनि गम्भीर स्थिति सिर्जना गर्छ।
खाना गुलियो बनाउन चिनी मिसाइदिने वा केकजस्ता परिकार खुवाउने गर्नुभएको छ भने त्यो दाँत र पूरै स्वास्थ्यका लागि हानिकारक छ। सानो छँदा सानोतिनो कलहका कारणले उनीहरूलाई गुलियो खुवाउने बानी बसाउनाले ठूलो भएपछि झनै समस्या हुन्छ।
धेरै गुलियो पदार्थ खाने बच्चाको शरीरमा बोसोजन्य पदार्थ सञ्चय हुन्छ। मधुमेह जस्ता रोग सानै उमेरदेखि लाग्ने खतरा बढ्छ। चिनीजन्य चिसो पेयपदार्थ खाँदा पनि दाँत बिग्रिने हुन्छ। गर्मी महिनामा बच्चालाई शितल बनाउन वा तिर्खा कम गर्न चिसो पिउन दिनुहुन्छ भने त्यो भ्रम मात्र हो। चिनी मिसिएको पेयले तिर्खा घटाउँदैन। बढाउँछ। भरपर्दो र स्वस्थ पेय भनेको पानी नै हो।
दन्त स्वास्थ्यका दृष्टिकोणबाट बच्चालाई जुसहरू धेरै दिनु पनि राम्रो होइन। बिहान खाजा र फलफूल, त्यसपछि खाना, दिउँसो खाजा र फलफूल र बेलुकी खाना खुवाउने र पानी खान प्रेरित गरे दन्त स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुने देखिन्छ।
त्यसो त बालबच्चालाई गुलिया पदार्थ दिनै हुँदैन भन्ने होइन। हप्ताको एक दिन परिवार सँगै बसेर गुलियो मिठाइ, चकलेट या अन्य खानेकुरा खान दिन सकिन्छ। सँगै बसेर गुलियो खान पाइन्छ भन्ने दिनलाई उनीहरूले विशेष महत्वको बनाउन सक्छन्। दिनदिनै गुलियो खाने बानी पनि हट्दै जान्छ।
केटाकेटीको दन्त स्वास्थ्य उनीहरूको अधिकार हो। त्यसबाट उनीहरूलाई बन्चित गरिनु हुँदैन। उनीहरूलाई निःशुल्क र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्न सक्नु राज्यको कर्तव्य हो। लगातार दन्त विशेषज्ञकहाँ लगेर दन्त स्वास्थ्यको रेखदेख र उपचार गर्ने दायित्व अभिभावक या मुख्यतः आमाबाबुको हुन्छ।
बच्चाको दूधे दाँत देखिएसँगै राम्ररी सफा गर्ने र राम्रो खानेकुरा खाने बानी बसाल्न सके समस्या कम हुन्छ। दाँतको सफाइ सानो उमेरदेखि आजीवन गरिरहनुपर्छ।
दाँत स्वास्थ्यका लागि महत्वपूर्ण कुरा हो। बच्चाहरू ८/१० वर्ष नपुगुन्जेल बिहान र बेलुकी खानापछि दाँत माझ्ने बानी बसाइदिनुपर्छ। तलमाथि चारैतिर मन्जन लगाएर कम्तीमा दुई मिनेटसम्म माझ्न लगाउनुपर्छ।
दैनिक रूटिन बनाएर दाँत माझ्न आमाबुवाले सहयोग गरे दस वर्षको उमेरदेखि राम्रो बानी सिक्ने छन्। अनि यो आजीवन चलिरहने प्रक्रिया बन्छ। उनीहरूको शारीरिक र मानसिक दुवै स्वास्थ्यमा राम्रो बानीको सकारात्मक प्रभाव देखिन्छ।
(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)