हामी मानिसहरू बिहान उठेपछि राति नसुतुन्जेल विभिन्न क्रियाकलापमा व्यस्त रहन्छौं। रात परेपछि एउटा निश्चित समयमा सुत्छौं।
हामीलाई प्रकृतिले नै दिउँसो काम गर्ने र रातिमा सुत्ने बानी गराएको छ। मानिस मात्र होइन, धेरै जसो जनावरहरू पनि राति नै सुत्ने गर्छन्। विश्वको जुनसुकै ठाउँमा रहे पनि मानिस र सबै जीवको थकान मेट्ने र सुत्ने प्रक्रिया लगभग उही हुन्छ। निद्रा पुर्याउनु अनिवार्य हुन्छ।
जब हामी सुत्छौं तब शरीर र मस्तिष्क दुबैले शक्ति प्राप्त गर्छन्। सुतेपछिको दिमागले दिनभरि भए/गरेका कामका अनुभवहरू बटुलेर ज्ञानको रूपमा सञ्चय गर्छ। आरामयुक्त सुताइ र गहिरो निद्रा हाम्रो रोग प्रतिरोधात्मक शक्तिका लागि पनि महत्वपूर्ण हुन्छ।
बालबालिकामा त शरीर वृद्धि गराउने हर्मोन उत्पादन नै सुतेको समयमा हुन्छ। यसकारण उनीहरूका लागि सुताइको महत्व वयस्कका लागि भन्दा धेरै हुन्छ।
स्वस्थ जन्मिएका धेरै जसो शिशुहरूमा सुत्न नसक्ने समस्या हुँदैन। नवजात शिशु दैनिक कम्तीमा २० घन्टा सुत्छ। खाना पर्याप्त भएपछि शिशुहरू निकै राम्ररी निदाउँछन्।
शिशु सुत्न नसक्नु चाहिँ खतरनाक हुन सक्छ। नसुत्ने अर्थात ननिदाउने लक्षण देखिएमा स्वास्थकर्मीको परामर्श लिनु आवश्यक हुन्छ। बालबालिका हिँड्न थालेर शारीरिक क्रियाकलापमा केन्द्रित भएपछि सुताइमा समस्या देखिन सक्छ। आजकाल मोबाइल फोन र आइप्याड चलाउने जस्ता कारणले पनि बालबालिकाको सुताइ र निद्रामा समस्या देखिन थालेको छ।
निद्रा नपुगेको लक्षण
निद्रा नपुग्दा बालबालिका शान्त बस्न नसक्ने, रूने–कराउने, झगडा गर्ने, आक्रमक बन्ने, स्मरण कमजोर हुने, ध्यान केन्द्रित गर्न नसक्ने, नयाँ कुराहरू सिक्न नचाहने जस्ता लक्षणहरू देखा पर्छन्। कहिलेकाहीँ बच्चाहरू निद्राले झुप्पझुप्प भइरहेका हुन्छन्। निद्रा नपुगेको अवस्थामा यस्तो हुन्छ। हल्ला भएको ठाउँमा पनि बच्चा सुत्न सक्दैन। गहिरो निद्रा हुन शान्त ठाउँ चाहिन्छ।
मानिसका लागि गहिरो निद्राको निकै महत्व हुन्छ। बच्चाका लागि झन् बढी महत्व हुन्छ। गहिरो निद्राले स्फूर्ति दिन्छ। राम्ररी निद्रा पुगेका बच्चाहरू चलाख देखिन्छन्।
निद्रामा हुने समस्या
नवजात शिशु र पाँच वर्ष पूरा नभएका बालबालिकाको निद्रा नपुग्नुमा धेरै कारणहरू हुन सक्छन्। रूघाखोकी लागेको वा कुनै बिसन्चो भएको अवस्थामा निद्रा नपग्नु स्वाभाविक नै हुन्छ।
दाँत उम्रिने बेलामा पनि बच्चाहरू राम्ररी निदाउन सक्दैनन्। भित्री गिजा धेरै दिन दुख्ने हुन सक्छ। त्यसको असरले सुताइ बिग्रिन्छ, निद्रा पुग्दैन। कहिलेकाहीँ वातावरण परिवर्तनको पनि असर पर्छ। स्कुल जान सुरू गर्दा वा बसाइ सर्दा नयाँ वातावरणमा घुलमिल नहुँदासम्म निद्रामा असर पर्न सक्छ।
बच्चाको मनमा डर उत्पन्न हुने कुरा र दृश्यहरूले पनि असर पर्छ। भूतप्रेतको कुरा गर्ने, चोर आउँछ भनेर डर देखाउने, मृत्युका घटना सुनाउने वा यस्तै अन्य डर लाग्ने कुराबाट पनि बच्चाको निद्रामा असर पर्न सक्छ। राति धेरै पटक पिसाब फेर्ने बानी भएका बच्चाको पनि निद्रा बिग्रन सक्छ।
आजकाल सुत्नुअघि मोबाइल फोन, आइप्याड वा कम्प्युटरमा गेम खेल्नु; धेरै बेर टिभी हेर्नु जस्ता कारणहरूले अलि ठूला बालबालिकाको निद्रा नपुग्ने हुन थालेको छ।
किशोरावस्थामा पुगेपछि पनि निद्रा नपुग्ने हुन सक्छ। साथीसँग सम्बन्ध बिग्रेको, कुनै कुलतमा फसेको वा कुनै डरलाग्दा दृश्य देखेको अवस्थामा गहिरो निद्रा नलाग्ने हुन सक्छ। केही बालबालिका डरलाग्दो सपना देख्ने हुन्छन्। यस्तो सपनाले ब्युँझिएपछि निद्रा बिथोलिने हुन सक्छ। कतिपय बालबालिका निद्रामा हिँड्ने पनि हुन सक्छन्। यसबाट पनि निद्रामा असर पर्छ।
निद्रा पुर्याउने उपाय
बालबालिका राम्ररी सुत्ने र गहिरो निद्रा पर्ने वातावरण बनाउने जिम्मेवारी आमाबाबु–अभिभावकको हो।
१. शारीरिक क्रियाकलाप बढाउनेः बच्चाहरूलाई दिउँसो शारीरिक रूपमा सक्रिय हुन र खेल्न प्रोत्साहित गर्नुपर्छ। दिउँसोभरि सक्रिय रहेको बच्चाको शरीरबाट बेलुका मेलाटोनिन हर्मोन उत्पादन हुन सुरू गर्छ। यसले गहिरो निद्रा लाग्न मद्दत गर्छ। सुत्ने कोठा अँध्यारो बनाउनु राम्रो हुन्छ। यस्तो कोठामा गहिरो निद्रा पर्ने हुन्छ।
२. सुत्नुअघि सञ्चार उपकरण नचलाउनेः सुत्नुभन्दा करिब दुई घन्टाअघि मोबाइल, आइप्याड र कम्प्युटर चलाउन बन्द गराउनु पर्छ। टिभी हेर्नमा पनि यही नियम लगाउनु पर्छ। यी उपकरणबाट निस्कने प्रकाशले सुत्न मद्दत गर्ने हर्मोन कम गराउँछ। रेडिएसनले पनि नकारात्मक असर पुर्याउँछ र निद्रा बिगार्छ। यस्ता उपकरण चलाउँदा हुने असरबारे सानैदेखि सचेत बनाउनु पर्छ।
३. समयबद्ध आनिबानी विकासः मानिसको जीवनमा कामको समय तालिकाको निकै ठूलो महत्व हुन्छ। बच्चालाई सानैदेखि समयबद्ध अर्थात समयतालिका अनुसार काम गर्ने बानी लगाउनु निकै राम्रो हुन्छ। बिहान उठ्ने, नित्यकर्म गर्ने, खाने, पढ्ने, खेल्ने, सुत्ने इत्यादि सबै कामको रूटिनमा बच्चालाई बानी लगाउनु निकै राम्रो हुन्छ। यसबाट उसको शारीरिक र मानसिक विकास, अनुशासन तथा सामाजिकीकरणमा मद्दत पुग्छ।
सामान्यतया बच्चा एक वर्षको पूरा भएपछि उसलाई समय तालिकामा बानी बसाउन सुरु गर्नु राम्रो हुन्छ। रात पर्दै गएपछि पनि बच्चा खेलिरहेको छ भने उसको शरीर र मस्तिष्क शान्त बनाएर सुत्ने हर्मोन तयार गर्न केही समय लाग्ने हुन्छ। यस्तो अवस्थामा बच्चा निदाउन निकै बेर लाग्ने हुन्छ। हत्पति निदाउँदैन। बच्चालाई बेलुका सुत्नुभन्दा कम्तीमा एक घन्टाअघिदेखि शान्त वातावरणमा राख्नु उचित हुन्छ।
ध्यान दिनुपर्ने कुरा के छ भने सुतेन भनेर डर देखाउने काम गर्नु हुँदैन। यसो गर्दा चुप लागेर सुत्ने त हुन सक्छ तर निद्रा गहिरो हुन पाउँदैन। मनमा डर बोकेर निदाउँदा नराम्रो सपना देख्ने र आत्तिने हुन्छ। बालमनोविज्ञानमा नकारात्मक असर पर्ने हुन सक्छ। सुत्ने ठाउँ र ओछ्यान सबै दृष्टिले उपयुक्त हुनुपर्छ।
४. आमाबाबु–अभिभावकको सक्रियताः बच्चालाई सुख्खा कपडा लगाइदिएर सुताउनु पर्छ। सुत्नुअघि दूध या यस्तै केही खाने कुरा दिनु पनि राम्रो हुन्छ। सुताउने क्रममा कथा वा गीत सुनाउनु निकै राम्रो हुन्छ। कहिलेकाहीँ सुत्नुभन्दा केही बेरअघि मनतातो पानीले नुहाइदिँदा पनि बच्चाहरू राम्ररी निदाउँछन्।
बच्चा निदाउन नसकेको अवस्थामा कुनै बिसन्चो पो छ कि भन्ने पनि ख्याल गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ पेट दुखेर बच्चा नसुत्ने, ननिदाउने हुन सक्छ। बच्चालाई कोक्रोमा हल्लाउँदै सुताउने बानी लगाउनु राम्रो होइन। यस्तो बानी लागेको बच्चा आफैं सुत्न र निदाउन नसक्ने हुन्छ। कुनै कारणले राति ब्युँझियो भने फेरि निदाउन कठिन हुन्छ।
पाँच वर्षमाथिका बालबालिकाका लागि
पाँच वर्षमाथिका बालबालिकाहरू आफ्नो कुरा भन्न सक्ने हुन्छन्। सुनेर कुरा बुझ्ने हुन्छन्। यस्ता बालबालिकाहरू निदाउन सकेनन् भने बाबुआमा–अभिभावकले समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। यस्तो अवस्थामा कथा र गीत सुनाउने उपाय निकै राम्रो हुन्छ।
कहिलेकाहीँ कुनै कारणले डराएर पनि ननिदाउने हुन सक्छ। यस्तो अवस्थामा आमाबाबु–अभिभावकले आफूसँगै वा नजिकमा सुताएर उसलाई सुरक्षित महसुस गराउनु पर्छ।
सुताइ राम्रो भएन, निद्रा पुगेन भने बालबालिकाको मानसिक विकास र सिकाइमा नकारात्मक असर पर्छ। उसको ध्यान केन्द्रित हुँदैन। साना बच्चा वा पाँच वर्षमाथिका बालबालिकाको निद्रामा असर परेको छ, राम्ररी सुत्न र निदाउन सकेको छैन, अनिद्राका लक्षणहरू देखिएका छन् भने विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ।
(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)