एक्काइसौं शताब्दीमा सबभन्दा ठूलो चमत्कार सञ्चार क्षेत्रमा भएको छ। बीस वर्ष अघिसम्म पनि इमेल भनेको के हो भन्ने धेरैलाई थाहा थिएन। कलमले लेखेको चिठी हुलाकीले घरमै ल्याएर दिएको सम्झना छ मलाई। केही वर्षमै कागजमा लेखिने चिठी इमेल हुँदै च्याटमा आइपुगेको छ।
गाउँमा टेलिफोन पनि थिएन। एक कल फोन गर्न घन्टौं हिँडेर सहरबजार पुग्नुपर्थ्यो। बिस्तारै घरमा फोन जोडिन थाल्यो। फोन जोडिएको दिन अपार खुसी छाउँथ्यो।
आजभोलि भिडिओ कलमा दुईतिर मात्रै होइन, धेरैतिर आमनेसामने झैं जति कुरा गरे पनि हुने भएको छ।
टिभीको त झन् कुरै अर्को। सुरूका दिनमा गाउँको कुनै एउटा घरमा श्यामस्वेत (ब्ल्याक एन्ड ह्वाइट) टिभी हुँदा रात परेपछि गाउँभरिका मान्छे जम्मा हुन्थे। समाचार भन्ने मान्छे नै टिभीमा देखिनु र घटनाका दृश्यहरू हेर्न पाउनु हुनसम्मको अनौठो कुरा थियो। त्यो समयको ढुंगोजस्तो गह्रौं टिभी बिस्तारै रंगीन र हलुका हुँदै भित्तामा टाँसिने गरी पातलो र हलुंगो भएको छ।
कम्प्युटर र इन्टरनेट मोबाइल फोन सेट र आइप्याडमा उपलब्ध छन्। अहिले त हातको एउटा मोबाइल सेट नै टिभी, कम्प्युटर सबै भएको छ। संसार नै हातमा अटाउने भएको छ। आजभोलि युवा होऊन् कि वृद्ध, सशक्त होऊन् कि अशक्त, बाल होऊन् कि किशोर, सबै जसोका हातमा मोबाइल हुन्छ। मोबाइल र आइप्याड मानिसको अभिन्न साथी भएको छ।
यो साथीले बालमस्तिष्कमा भने कस्तो प्रभाव पारेको छ भनेर आमाबुबा अर्थात अभिभावकले जान्नु आवश्यक छ। हुर्किँदा बालबालिकामा मोबाइल र आइप्याड चलाउने बानी कस्तो छ, त्यसप्रतिको आकर्षण वा लगाव कस्तो छ भन्ने कुरामा जानकार हुनु महत्वपूर्ण हुन आउँछ।
प्रविधिको उपयोग र दुरूपयोगले मानिसको जीवनमा ठूलो फरक पार्छ। इन्टरनेटयुक्त मोबाइल र आइप्याडको सदुपयोगको लाभ जति हुन्छ, दुरूपयोगको हानी पनि त्यति नै वा अझ बढी हुन सक्छ। यस पक्षमा अभिभावक सचेत रहन आवश्यक छ।
बालबालिकाको कुन उमेरमा कति समय मोबाइल देखाउने वा त्यसमा खेल्न दिने भन्ने प्रश्नहरूमा धेरै अनुसन्धान भएको छ। अनुसन्धान जारी छ। प्रमाणित थुप्रै सूचनाहरू बाहिर आएका छन्। बालबालिकाले इन्टरनेटयुक्त मोबाइल वा आइप्याड चलाउने सन्दर्भमा आमाबाबु–अभिभावकको जिम्मेवार भूमिका हुन्छ।
बालबालिका भन्नु नै राम्रो–नराम्रो, असल–खराब, उचित–अनुचित इत्यादि पर्गेल्न नसक्ने उमेर हो। मानिसको जीवनमा बानी अर्थात आदतको ठूलो भूमिका हुन्छ। धेरै जसो आदत बनाउने भनेको बाल्यकालमै हो। आमाबाबु–अभिभावक आफ्ना छोराछोरीको आनिबानीबारे जानकार हुन्छन्। आदत विकासमा अभ्यस्त हुन्छन्। खाने, सुत्ने, उठ्ने, दिसापिसाब गर्ने, पढ्ने, सरसफाइ गर्ने इत्यादिमा आमाबाबु–अभिभावकले खासखास आदत बसाइदिएका हुन्छन्।
यो आधुनिक युगले यसमा इन्टरनेट, मोबाइल र आइप्याड पनि थपिदिएको छ। यसको समयबद्ध उपयोगिता अर्थात सदुपयोगले बालबालिकाको क्षमता वृद्धिमा मद्दत गर्छ। यसको विपरीत प्रयोग गर्नु दुरूपयोग हो। दुरूपयोगले हानी गर्छ, खराब आदत विकास हुन्छ।
बालबालिकाहरू सम्झनासाथ मोबाइल वा आइप्याड नपाउँदा रिसाउने, झर्किने, रूने, कराउने भुइँमा लडीबडी गर्ने इत्यादि प्रतिक्रिया देखाउने हुन सक्छन्। मोबाइल वा आइप्याडलाई लिएर यस्तो प्रतिक्रिया आउन थाल्यो भने खराब आदत बस्यो भनेर थाहा पाउनु पर्छ।
किशोरवयमा पुग्दा सुत्न नसक्ने, खान मन नगर्ने, पढ्न ध्यान नदिने, शारीरिक आलस्य हुने जस्ता समस्याहरू देखा पर्ने गरेका छन्। कतिपयमा त डिप्रेसन पनि देखापरेको छ। हुँदाहुँदा दुर्व्यसनमा फसेको समेत पछिल्ला अध्ययनहरूले फेला पारेका छन्।
यो स्थिति कुलत नै हो। यस्तो कुलत बढ्दै जाँदा बालबालिका बिरामी पनि हुन सक्छन्। करिब तीन वर्षको उमेरसम्म बालबालिकालाई मोबाइल वा आइप्याड नदेखाउनु नै उचित मानिएको छ। यो उमेरमा मोबाइल वा आइप्याडले मानसिक र शारीरिक अस्वस्थता हुन सक्ने देखिएको छ।
विकास हुँदै गरेको बाल मस्तिष्कका कोषहरू नरम र कमजोर हुने भएकाले मोबाइलबाट निस्कने विकिरणले नकारात्मक असर पुर्याउँछ। यसको असरले दिमागको क्यान्सर समेत हुन सक्ने चेतावनी अनुसन्धाताहरूले दिएका छन्। यसर्थ, तीन वर्षको उमेरसम्म मोबाइल, आइप्याड वा कम्प्युटरमा भिडिओ देखाउनु उचित हुँदैन।
बालबालिकालाई मोबाइलमा भुलाउँदै खाना खुवाउने प्रवृत्ति बढ्दो छ। यस्तो आदत निकै खतरनाक हुने देखिएको छ। बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्छ। बच्चालाई खाना खुवाउने नेपाली परम्परा निकै राम्रो थियो। बाहिरतिर डुलाउने, गोठतिर लैजाने, कथा सुनाउने र को खाइ को खाइ भन्दै खुवाउने हाम्रो चलन हो। यो चलन मोबाइल फोन सखाप पार्न थालेको छ।
हतारमा हुने छोराछोरी आमाबाबु मोबाइलमा भुलाएर खाना खुवाउन सजिलो मान्छन्। सजिलो त होला तर त्यसको नकारात्मक असर भने दूरगामी हुन्छ। कहिलेकाहीँ त असाध्यै पनि हुन सक्छ। बालबालिकालाई समयतालिका मिलाएर खुवाउनु पर्छ। परिवारका अन्य सदस्यहरू पनि सँगै बसेर खाँदा बालबालिकाले प्रतिस्पर्धा गर्दै खान्छन्। उनीहरूसँग कुरा गर्दै, अब यो खाने, यो कति मिठो भन्दै खान प्रेरित गर्दै खुवाउने गर्दा सहज हुन्छ।
उमेर चार वर्ष लागेपछि पनि स्वतन्त्र रूपमा मोबाइल चलाउन दिनु हुँदैन। रचनात्मक कुरा मात्रै देखाउने गरी दिनमा थोरै समय, आधा घण्टा हाराहारी, अभिभावकले नै चलाइदिनु राम्रो हुन्छ।
बालबालिकाका लागि ६ वर्षसम्मको उमेर खेल्ने, खेलेरै सिक्ने, घरबाहिरको वातावरणमा घुलमिल हुने, वरपरका वस्तुहरू हेरेर र छोएर अनुभव गर्ने समय हो। यही उमेर प्रकृति र वरिपरिको सामाजिक वातावरणमा घुलमिल हुने समय पनि हो। उनीहरूले यसरी नै मानसिक र शारीरिक क्षमता वृद्धि गर्छन्। आफैंले अनुभव गरेर सिक्छन्।
बालबालिकाले सिक्ने पहिलो ठाउँ आफ्नै घर र आफ्नै आमाबाबु तथा अभिभावकहरू हुन्। आमाबाबु र ठूला मानिसहरू जे गर्छन्, बालबालिका पनि त्यही गर्न खोज्छन्। लुगा धोएको ठाउँमा गएर लुगा धुन खोज्छन्। तरकारी काटेको देख्दा त्यही गर्न खोज्छन्। अर्थात उनीहरू आमाबाबु वा आफूभन्दा ठूलाकै सिको गर्न खोज्छन्। ठिक यसै गरी, आमाबाबु र अभिभावकहरू मोबाइल, आइप्याड वा कम्प्युटर चलाउँदै छन् भने बालबालिका पनि त्यही गर्न खोज्छन्।
यसकारण आमाबाबुले नै यस्ता उपकरण चलाउन कम गर्नु पर्छ। बालबालिकाका अगाडि सकेसम्म चलाउनु हुँदैन। उनीहरूलाई साथमा राखेर यी उपकरण चलाउनुको साटो उनीहरूसँगै खेल्ने, गफ गर्ने, वरिपरि डुल्न निस्केन उपाय राम्रो हुन्छ।
स्विडेनमा स्कुल सुरू गर्ने उमेर ६ वर्ष मानिएको छ। नेपालमा तीन–चार वर्ष उमेरमै स्कुल पठाउने चलन बढेको छ। उमेर ६ वर्ष लागेपछि बालबालिकाले पढाइमा आधुनिक उपकरणहरूबाट सिक्न सक्छन्। उपकरणमा लत नलागोस् भन्नेतर्फ भने सचेत रहनु पर्छ। समयबद्ध तरिकाले मात्रै चलाउन दिनु पर्छ। यसो गर्दा उसले सदुपयोग र दुरूपयोग पनि थाहा पाउँदै जान्छ। आमाबाबुले भनेको मान्ने पनि भएको हुन्छ।
छोराछोरी किशोर उमेरमा प्रवेश गर्न थालेपछि आमाबुबा–अभिभावकले उनीहरू मोबाइलमा के हेर्छन्, कस्ता सामग्रीहरू पढ्छन्, कोकोसँग सम्पर्कमा रहन्छन् इत्यादि पक्षमा ध्यान दिनु पर्छ।
यी पक्षमा खराब आदत विकास हुँदैछ भन्ने लागेमा नियन्त्रणका उपायहरू अपनाउन आवश्यक हुन्छ। यस्ता छोराछोरीलाई मोबाइल र आइप्याडमा उपयोगी सामग्री खोज्ने, तीबाट सिप हासिल गर्ने र ज्ञान आर्जन गर्ने तरिका सिकाउनु पर्छ। खोज्दै जाँदा कहिलेकाहीँ नचाहिने र खराब मानिने सामग्री फेला पर्यो भने तीबाट कसरी अलग रहने भन्ने पनि सिकाउनु राम्रो हुन्छ।
बाल्यवस्थाका छोराछोरीलाई त गाली गरेर हुँदै हुँदैन, फकाईफुल्याई कुरा बुझाउनु पर्छ। किशोर उमेरकालाई पनि सतर्कतापूर्वक सम्झाईबुझाई गर्नु पर्छ। बाल तथा किशोर मनोविज्ञानअनुसार व्यवहार गर्नु पर्छ। यसतर्फ आमाबाबु सचेत रहनु आवश्यक हुन्छ।
असल पारिवारिक वातावरणमा बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ। उनीहरूमा असल आदत विकास गर्न पनि सजिलो हुन्छ। आमाबाबुले आफ्ना बच्चासँग जति बढी समय बिताउन सक्यो उति नै आपसी सम्बन्ध बलियो हुन्छ। बलियो सम्बन्धले समस्या समाधान सहज बनाउँछ। छोराछोरीलाई खराब आदत र कुलतबाट बचाउन सजिलो हुन्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)