बिहानको आठ बजे मोबाइलमा अलार्म बज्यो। हतारिँदै उठेँ। एक घन्टामा तयार भएर ड्युटी जानुथियो।
राति सुत्दा डाटा अफ गरेर सुत्ने बानी छ मेरो, अलार्म अफ गर्न हातमा लिएको मोबाइलमा डाटा अन गरेँ।
म्यासेन्जरमा आएका म्यासेज अनि फेसबुकका नोटिफिकेसनले एकछिन मोबाइल टाङ टाङ बजिरह्यो।
म्यासेन्जर खोलेर हेरें, १५ मिनेट अघिको म्यासेज थियो एउटा। नेपालबाट मायालुले लेखेकी थिइन्, ‘मोबाइलमा ब्यालेन्स हाल्देऊ न डार्लिङ, प्लिज!’
जति नै हतार भएनी उनको आग्रह टार्न सक्दैनथें, मोबाइलमा रिचार्ज गर्दिएँ। ब्यालेन्स पुगेको एक सेकेण्ड नहुँदै उनको म्यासेज आयो ‘थ्याङ्क्यु बुढा!’
खुसी हुँदा बुढा, रिसाउँदा कुत्ता! उनको सम्बोधनले नै खुसी भएको या रिसाएको पत्तो लाग्छ।
मलाई अरू लेख्ने फुर्सद थिएन, लभको इमोजी म्यासेन्जरमा ठेलेर म काममा निस्किएँ।
काममा पुगेर उनलाई म्यासेन्जरमै फोन गरेँ। हामी आधा घन्टा बेतुकका गफमा रमायौं।
यता दिउँसो हुँदा उता रात पर्ने टाढा छौं हामी। हामीबीच हजारौं किलोमिटरको दुरी छ तर लाग्छ मनको दूरी एक इन्चको पनि छैन। उनलाई गुड नाइट भनेर सुताएँ अनि म फेरि काममा खटिएँ।
म कामबाट निस्कनै लाग्दा उनी उता उठ्ने बेला भयो। गाडी स्टार्ट गरेर उनको म्यासेन्जरमा फोन ट्राइ गरें तर लागेन। अनि म कोठातिर सोझिएँ।
घरभित्र पुग्नै लाग्दा उनको फोन आयो, अर्ध निद्रा अवस्थामै मायालुले ‘गुड मोर्निङ’ भनिन्।
दुई मिनेट गफ नसकिँदै भनिन्, ‘भ्यालेन्टाइन आउँदैछ, के पठाउँछौ मलाई?’
मैले उनको भ्यालेन्टाइन गफलाई टार्दै भनें, ‘को आउँदैछ र गिफ्ट पठाउनु?’
‘गिफ्ट ल्याइदिने मान्छे छैन भने पैसा पठाऊ, तिम्रो नामको म आफैं किन्छु यता,’ एकदमै सजिलो उत्तर दिइन् उनले।
‘लभ परेको वर्षौं भयो, केको भ्यालेन्टाइन गिफ्ट? नचाहिने कुरा नगर।’ मलाई हल्का रिस उठ्यो।
उनी चुप थिइन्, हरेक वर्ष आउने भ्यालेन्टाइनमा गिफ्ट पठाउँदा थाकेको थिएँ म।
मैले पुनः थपें, ‘यस्ता फोकटका डे मनाउनेहरू त स्वार्थी हुन्।’
‘ए! उसोभए मेरो माया स्वार्थी लाग्यो तिमीलाई?’ मायालुले चर्को स्वर सुनाउँदै थिइन्।
मैले एकछिनमा फ्रेस भएर फोन गर्छु भन्दै कल काटिदिएँ।
दिनभर कामको तनाव, उसैमाथि मायालुका असहज माग। मलाई झ्याउ लाग्दै थियो।
पोहोर साल रने दाइको भ्यालेन्टाइन गिफ्टको कथा मेरो दिमागमा ताजै थियो।
कोरोनाको कारण काम छाडेर बसेका रने दाइले मसँग पैसा सापटी लिएर आफ्नी प्रेमिकालाई मोबाइल पठाएका थिए।
मोबाइल पाएको एक सातामै प्रेमिका सम्पर्कविहीन, रने दाइ चिल्लै परेका थिए।
आमाको उपचार गर्ने बहाना गरेर मसँग पैसा सापटी लिएका रने दाइले भ्यालेन्टाइन गिफ्टको रूपमा प्रेमिकालाई मोबाइल पठाएका थिए।
आजभोलिको भेटमा प्रेमिकासँगका गफ सुनाउँछन् अनि दुबै हातले कान समातेर भन्छन्, ‘थुप्रो पैसा लुटी यार भाइ, आइन्दा प्रेमको चक्करमा पर्दिनँ।’
मलाई अर्ति उपदेश दिँदै भन्छन्, ‘बरू सक्छस् भने तैंले पनि त्यस्लाई छाडिदे।’
अमेरिका बस्ने रने दाइका नेपालमा कैयौं गर्लफ्रेण्ड थिए। तीमध्ये भ्यालेन्टाइन गिफ्टको रूपमा मोबाइल पाउने प्रेमिका जीवनका अन्तिम दिनसम्म साथ दिने कसम खान्थिन् रे।
तर एउटा मोबाइल हातमा परेपछि गर्लफ्रेण्ड टाप, रने दाइ रनभुल्लमा।
दिमागमा रने दाइका भ्यालेन्टाइन गिफ्टका कथा नाच्दै थिए, फेरि उनैको फोन आयो।
दुई घन्टीमै फोन उठाएँ, उनले भनिन, ‘किन रिसाको बेबी?’
मायालुले बेबी भनेपछि म कक्रक्क पर्छु, म साँच्चै बेबी नै हुँजस्तो फिल गर्छु। अबोध, जस्लाई मायाबाहेक अरू केही थाहा छैन।
‘रिसाको छैन मायालु, फ्रेस हुँदै थिएँ,’ म सम्हालिएँ।
‘पैला भन! यो भ्यालेन्टाइनमा के गिफ्ट दिन्छौ?,’ फेरि उही कुरा दोहोरियो।
मलाई झनक्क रिस उठ्यो, तर अघिको बेबि सम्बोधनले रिस देखाउन सक्ने अवस्थामा थिइनँ।
सम्हालिँदै भनें, ‘यो पटक नो गिफ्ट, अर्को वर्ष म आफैं आउँछु तिम्रोसामु। त्योभन्दा ठूलो गिफ्ट के हुन सक्छ भन त?’
मैले प्रेम देखाउन खोजें, उनले छोटो उत्तरमा चेपारे पार्दै भनिन्, ‘नाइँ, म मान्दिनँ केरे।’
म हाँसें मात्र, उनले फेरि भनिन्, ‘मलाई अलि खतरा गिफ्ट चाहिन्छ यो पटकको भ्यालेन्टाइनमा, नत्र म मान्दिनँ कस्सम।’
खतरा गिफ्ट? मैले मनमा कुरा खेलाउन थालें। आफैंले आफैंलाई प्रश्न गरें ‘के हुन्छ त्यस्तो ?’
म शान्त थिएँ, उनले बोलाउँदै भनिन्, ‘ओए! किन चुप के बेबी? भन्नु न मेरा लागि के हो भ्यालेन्टाइन गिफ्ट?’
‘आधा घन्टामा खानपिनको काम सकेर कल गर्छु हस्?’ यत्ति भनेर मैले फोन काटें, उनलाई चाहिँ फोन काट्ने मन थिएन।
साँच्चै भन्ने हो भने म आजित भैसकेको थिए। कहिले के पठाऊँ, कहिले के।
अमेरिका आएको वर्ष दिनबाट सुरू भएको हाम्रो प्रेममा मैले कैयौं सामान उनका निम्ति पठाएँ।
मोबाइलमा ब्यालेन्स त हप्तै पिच्छे। मानौं यता पैसा रूखमा फल्छ। उनका निम्ति टिप्न आएको।
बाको हातमा एउटा राम्रो घडी छैन तर मलाई त्यो कुराको वास्ता लाग्दैन।
भाइले आइफोन पठाइदे भन्दा नेपाल जाने मान्छे छैन भन्दै टार्दिन्छु। तर उनका निम्ति कुनै बहाना चल्दैन।
मोबाइल, मेकपका सामान, घडी, ब्याग त धेरै पटक गैसके। अब यो पटक अझ खतरा रे। के हुन्छ त खतरा?
खाना खाएर बिस्तारामा ढल्किएँ। फेसबुक र टिकटकतिर भ्यालेन्टाइन कै चर्चा थिए। के के डे मनाउँदै गरेका पोष्ट अनि भिडिओ।
गिफ्टले धानेको हाम्रो प्रेमलाई चोखो प्रेमसँग तुलना गर्दै थिएँ। फेरि म्यासेन्जरमा उनको फोन बज्यो।
उठाउने मुड थिएन। एउटा कल मिस्ड कल भयो। लगत्तै अर्को पटक बज्न थाल्यो।
मैले उठाएँ। उनले झर्किंदै भनिन्, ‘कस्तो छुचो छौ यार बुढो।’
‘किन मायालु?’ मैले सामान्य प्रश्न गरें।
‘किन मेरो फोन उठाउँदैनौ त अनि?,’ उनले रून्चे स्वर पार्दै भनिन्।
मैले बहाना पारेर फकाउँदै भने, ‘ट्वाइलेटमा थिएँ, त्यसैले हो। नरिसाऊ।’
‘बेबी! साँच्चि भन के, यो पटकको भ्यालेन्टाइन गिफ्ट के हो मेरा लागि?’ फेरि उही कुरामा आयो हाम्रो गफ।
‘आर्थिक अवस्था अलि नाजुक छ, अर्को वर्ष प्लिज!,’ मैले यो पटक अनुरोध गरें।
उनको छोटो प्रतिक्रिया आयो ‘नाइँ!’
मैले उनैलाई सोधें, ‘अनि के चाहन्छौ ल भन त यो पटक?’
खुसी हुँदै भनिन्, ‘साँच्चै भनम बेबी?’
‘भन!’ मैले जान्न चाहें।
खतरा नभएर सामान्य रैछ भने म पग्लिन सक्थें। बेबी सम्बोधनले मलाई एकदम पगाल्छ पनि।
‘मलाई स्कुटी किन्ने पैसा पठाइदेऊ न बेबी प्लिज!,’ उनले आफ्नो माग राखिन्।
म ट्वाँ परें। आफ्नो औकातलाई विगतमा फर्केर केलाएँ। वास्तवमा म आफैं गलत रैछु जस्तो लाग्यो।
पोहोर सालको भ्यालेन्टाइनमा लगभग स्कुटीकै मूल्य बराबरको मोबाइल गिफ्ट दिएको थिएँ। त्योभन्दा अघि लगभग स्कुटी भन्दा आधा कम पर्ने घडी उपहार।
उनको बानी मैले नै बिगारेको थिएँ। यो पालि उनले सजिलै स्कुटी मागिन्। म चुप लाग्नुको विकल्प थिएन।
‘बेबी! किन चुप के? भन न प्लिज, हुन्छ कि नाइँ?,’ उनले मलाई फकाउँदै थिइन्।
म एकछिन चुप भएँ, मेरो विगतलाई नियालें अनि सात समुन्द्र पारिको प्रेमलाई बचाउन गिफ्टको सहारा लिनु उचित देखिनँ।
‘मायालु सुन!’ उनको ध्यान खिच्दै भनें, ‘म अझ ठूलो भ्यालेन्टाइन गिफ्ट दिन चाहन्छु।’
‘के बेबी? मलाई स्कुटी नै भए हुन्छ के यो पटक प्लिज,’ उनले स्कुटीमै जोड दिइन्।
मैले मन र मुटु गाँठो पारें अनि लामो सास तानेर भनें, ‘यो पटकको भ्यालेन्टाइन गिफ्ट ब्रेकअप हो। अब हाम्रो सम्बन्धलाई यही गिफ्टबाट सदाको निम्ति तोड्दै छु।’
उनी चुप थिइन्, मैले फेरि भनें, ‘तिम्रो लागि सानो होला, मेरा लागि एकदम ठूलो भ्यालेन्टाइन गिफ्ट हो मायालु। लौ तिम्लाई यो पटकको भ्यालेन्टाइन गिफ्ट ब्रेकअप दिएँ।’
उनी सुक्क सुक्क गर्दै थिइन्, मैले कल काटिदिएँ। अनि तुरून्तै सबै ठाउँबाट ब्लक गर्दिएँ।
आजदेखि आनन्दको सास लिँदैछु, न त यस्ता फोकटका डे न त मोबाइलमा ब्यालेन्स दे। आनन्द को डे!