समाजको लागि मेरो विवाह गर्ने उमेर भए पनि मेरो लागि भएको छैन। गाउँघरतिर जाँदा हरेक व्यक्तिसँग भेटेपिछै ठोकिने पहिलो प्रश्न- विवाह कहिले गर्ने?
यी प्रश्नले कहिलेकाहीँ मन रिसाए पनि सोच डगमगाउँदैन। म अहिलेको अवस्थामा जे छु ठिक छु र यो पनि थाहा छ कि एक न एक दिन विवाह गर्नु नै छ।
टोलतिर छरछिमेकका हजुरआमा हजुरबुवाले भन्नुहुन्छ- ‘समयमै बिहे गरेको राम्रो हो।’
हुन्छ, विवाह गरौँला तर चिनेकोसँग विवाह होस्। जसको बारेमा मलाई थाहा होस्, मेरो बारेमा उसलाई थाहा होस्। मेरो बानीसँग परिचित होस्, उनको बानीसँग चिरपरिचित होस्।
जस्तो कि मलाई लेख्न मनपर्छ, घुम्न मनपर्छ, कुनै काम गर्दा हराउँछु, अन्य कुराहरू उसलाई थाहा होस्। मैले उसलाई उसले मलाई बुझेको होस्।
मलाई बुझ्ने मात्रै हैन मेरा परिवारलाई बुझ्ने हुनुपर्यो। किनकी उनीसँग केही समय हैन, जीवनका अन्तिम यात्रासँग साथ रहनु छ।
निधो गरेँ विवाह गर्ने तर मेले सोचेको चिनेको हुनेवाली कहाँ होली? मलाई कुरिरहेकी होलिन् त?
जसरी उसलाई चिन्न, जान्न, बुझ्न र आफ्नी बनाउनका लागि व्यग्रताका साथ प्रतीक्षामा छु, उनी पनि प्रतीक्षामा होलिन् त?
आजकल त कतै कोहीलाई भेट्ना साथ मेरै विवाहको चर्चा सुरु हुन्छ। कुरा आउँछ उमेर भयो रे, कमाउन थालेको छौ, तिम्रा साथीहरूले घरजम गरिसके तिमी कहिले गर्ने? म केही नबोली हाँसिदिन्छु।
तर अनयासै यस्ता प्रश्नहरूमाथि मभित्र पनि कयौँ प्रश्न उब्जिन्छ; विवाह गर्न उमेर मात्र पुगे हुन्छ? कमाउन थालेपछि हुन्छ? अरूले विवाह गरेपछि मैले पनि गर्नैपर्छ र?
समाजमा भनेको सुन्छु, प्रायः चिजको समाधान विवाह नै हो। तर यसरी हुन्छ र? विवाह गर्न शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ हैन र? अनि यति हतार किन विवाह गर्नका लागि?
विवाह गरेका साथीहरूको जिन्दगी देख्दा कहिलै विवाहित जिन्दगीको लोभ लागेन मलाई र आफ्नो इच्छाविपरीत जिन्दगी बाँचेको पनि छैन मैले।
वर्तमान अवस्थामा प्रायः विवाहमा करियर सफल हुनुपर्यो, धनसम्पत्ति, राम्रै खानदान हुनुपर्यो जस्ता कुराहरू आउँछ। तर त्यहाँ सबैभन्दा महत्वपूर्ण अभाव ‘माया’को हुन्छ।
विवाह धुमधामसँग होस् वा साधारण तर त्यहाँ मेरो र उनको परिवारको खुसी होस्, साथीहरूको रमाइलो होस्।
मलाई लाग्छ कि विवाह भएपछि उनी र म एक हुन्छौँ। हरेक कुरामा एकअर्काको कुरा बुझ्ने, हरेक अवस्थामा साथ दिने, हाम्रो सपनालगायत परिवारको अवस्था बुझेर आगाडि हुनुपर्छ।
साथीहरूको विवाह भएपछि प्रतिक्रिया सुन्दा द्विविधामा पर्छु तर कुरा जे भए पनि विवाहपछि हाम्रो जिन्दगी खुसीमै राख्ने मन लाग्छ।
विवाह गर्न तयार भएँ तर तिम्रो खोजीमा छु। हामी एकअर्कालाई बुझ्नका लागि तत्पर हुनुपर्छ। जीवनको यात्रामा सँगसँगै हिँड्न आवश्यक कुराहरू जोहो गर्नुछ। यस्तो होस् हाम्रो जिन्दगी कि अरुलाई डाह हैन सिक होस्।
विवाह गर्न तयार हुनासाथ घरपरिवारले मेरो हुनेवाली खोज्न थाल्छन्। तर कसरी भन्नु कि तपाईंले खोजेको वाली भए पनि मैले चिन्नु पर्छ। यति भन्दा हस्तक्षेप गरको जस्तो हुने हो कि? यो कुराले पनि मन पिरोलिन्छ।
तर यतिका सोच्नुभन्दा विवाह गर्ने बेलामा परिस्थितिअनुसार अगाडि बढ्ने निधो चाहिँ गरेँ है।
म विवाह गर्छु तर चिनेकोसँग मात्र विवाह गर्छु। आऊ तिमी र म चिनजान गरौँ र जीवनको नयाँ यात्राको शिलायान्स गरौँ। सँगै हिँड्ने बाचा गरौँ।