- माघे संक्रान्तिका दिन घरघरमा घ्यु, चाकु, तरूल खाने चलन छ।
- यसको सेवनले शरीरमा ताप बढ्छ। ऊर्जा बढ्छ। रोगसँग लड्ने क्षमता पनि बढाउँछ।
- जाडो याममा शरीरलाई न्यानो बनाउन र शक्ति सञ्चय गर्न चाकु खाइन्छ। अहिले सामान्यत सबैको भान्छामा चाकु हुन्छ।
बुझ्नुपर्ने कुराः हाम्रा पुर्खाले वातावरण अनुकुल शरीरलाई चाहिने खानपान गर्ने सही तरीका हाम्रो अगाडि पस्केर जानुभएको छ। यहीँ अनुरूप हामी पनि गर्ने गर्छौ। जाडोमा चाकु सेवनले शरीरमा ताप बढाउँछ तर यसको सेवन आवश्यकता भन्दा बढी भएमा यसले शरीरमा गर्मी बढाई पित्त समस्याहरू टाउको दुख्ने, छाति, घाँटी, आँखा पोल्ने, पायल्स बढ्ने, सुगर बढ्ने आदि हुन सक्छ। त्यस्तै अत्यधिक गर्मी बढेमा नाथ्रि फुटेर नाकबाट रगत बग्ने सम्म हुन्छ। तसर्थ यसको सेवन आफ्नो शरीरको अवस्था हेरेर ठिक मात्रामा गर्नु पर्छ।
तर सुगर बढेका, टाउको दुख्ने, पाइल्स भएका वा शरीरमा गर्मी बढ्ने अन्य समस्या भएकाले चाकु सेवन नर्गनु बेस हुन्छ। अन्य अवस्थामा चिसोमा चाकु प्रयोगले लाभ गर्छ।
शरीर सबैभन्दा पहिलो र प्रत्यक्ष प्रयोगशाला हो। जे खाँदा पनि आफूसँग भएको शरीरलाई मापदण्ड बनाएर खाने तथा पिउने गरेमा स्वस्थ रहन सकिन्छ।
चाकु बनाउन सिप चाहिन्छ त्यस्तै चाकु बनाउन सिपालुहरूको बस्ती हो–काठमाडौंको टोखा। टोखामा बनाइएको चाकु स्वदेशमा मात्र होइन, विदेशमा समेत निर्यात हुन्छ।
टोखा
काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा पर्ने टोखा (१,४०० मिटर) प्राचीन (२,००० वर्ष पुरानो) नेवार बस्ती हो। झोर महाँकाल गाविस, धापासी, गोगंबु, टोखा चण्डेश्वरी गाविस, टोखा सरस्वती गाविस मिलेर टोखा नगरपालिका बनाइएको छ।
टोखाको पूर्वमा बूढानिलकण्ठ, पश्चिममा तारकेश्वर, उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा काठमाडौ पर्दछ।
‘टोखा’ नामको विषयमा किंवदन्ती छन्। पहिले गाउँमा धेरै फाँट थिए जहाँ उखु खेती गरिन्थ्यो। नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट। पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो। पछि अपभ्रंस हुँदै टोखा भन्न थालियो।
उखु धेरै उत्पादन हुने भएकाले त्यसको रसलाई पकाएर चाकु बनाइन्थ्यो। बढ्दो शहरीकरणसँगै उखु खेती हुने जग्गामा घर ठडिएका छन्। अचेल उखु खेती गरिँदैन, तै पनि चाकु बनाउने पुस्तौनी कामले निरन्तरता पाइरहेकै छ।
टोखामा विभिन्न किसिमका चाकु उत्पादन गरिन्छ। सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुुलगायत।
चाकु बनाउन ठूलो फोसी (भाँडा) मा सख्खर–पानी उमालिन्छ। त्यो लेदो बाक्लो भएपछि भाँडोमा खन्याइन्छ। चिसो हुन थालेपछि ढुंगाले कुट्नुपर्छ। अनि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर तानिन्छ। त्यसपछि विभिन्न आकारमा ढालिन्छ।
जाडोमा शरीरलाई तातो गराउने खानेकुराको माग बढ्दो हुन्छ। टोखामा जाडो मौसम सुरु हुनलाग्दा कात्तिकदेखि माघसम्म चाकु बनाइन्छ। माघबाट भने गर्मी बढ्ने भएकाले चाकु बनाउन बन्द गरिन्छ। ‘चाकु बनाउने गाउँ’ का रुपमा टोखाले ख्याती कमाएको छ।
‘टोखाली चाकु’ भन्ने त उखानै छ। ‘टोखाको चाकु’ ब्रान्ड लोकप्रिय छ।
त्यसो त टोखाको पहिचान चाकु मात्र होइन, विभिन्न पुरातात्विक महत्वका मन्दिर र जात्रापर्वहरूको साँस्कृतिक सहर पनि हो।
टोखा लिच्छविकालमै व्यवस्थित बनेको थियो। यहाँ लिच्छवी संवत ५१९ लेखिएको शिलालेख पनि छ। साथै टोखामा मात्र नाचिने नाचहरूमा ‘याप्याखं’ र ‘नागप्याखँ’ हुन्। लाखे नाचका लागि समेत टोखा प्रख्यात छ। त्यसैगरी यहाँ हरेक वर्ष विस्केट जात्रा पनि मनाइन्छ।
विस्केट (विस्का) जात्रा
भक्तपुरमा जस्तै यहाँ पनि विस्केट जात्रा मनाइन्छ। यहाँ मनाइने विस्केट जात्रालाई परम्परागत धार्मिक पदयात्रा भन्न सकिन्छ। हरेक वर्षको चैत मसान्तमा टोखाबाट हिँडेर बागद्धार र भोलिपल्ट नयाँ वर्ष बैशाख १ गते सपनतिर्थ आउने गरिन्छ।
करिब ३८ कि.मि. दूरीको यो पदयात्रा गर्न करिब १२ घण्टा लाग्छ। २ गते जात्रा, ३ गते रथ (गणेश, कुमारी आदि) यात्रा र ४ गते विशेष जात्रा गरेर समापन गरिन्छ। यसलाई बैज्ञानिक जात्रा अथवा वातावरण मैत्री जात्रा भन्न सकिन्छ समाजसेवी तथा सम्पदा संरक्षण समाज (दबु) का संस्थापक अध्यक्ष मणिराज डंगोलले जानकारी दिए। आजसम्म जात्रामा कुनै अमानवीय घटना नभएको डंगोल बताउँछन्।
यसका अलावा टोखा नगरमा बज्रयोगिनी, गणेश, संकटामाई, भीमसेन, सपनातीर्थ, मसानकाली, चण्डेश्वरीलगायत मठ मन्दिर र चैत्य छन्।
चण्डेश्वरी मन्दिरमा हरेक वर्ष स्वस्थानी मेला लाग्छ। महिना दिनसम्म माधवनारायणको व्रत बस्ने चलन छ। हिन्दू मान्यताअनुसार चण्डेश्वरीमा सतीदेवीका पिता दक्ष प्रजापतिले अश्वमेघ यज्ञ गरेका थिए। प्रमाणस्वरुप मन्दिर हाताको हवन कुण्डमा सतीदेवीको मूर्ति छ।
टोखाका अधिकांश वासिन्दा कृषिकर्ममा छन्। उनीहरू कलात्मक घर बनाउने काममा समेत पोख्त छन्।
टोखा एउटा खुला संग्रहालय पनि हो। प्राचीन नेवार बस्ती भएकाले नेवार समुदायको रहनसहन, कला, संकृति परम्परा आदिको अध्ययन गर्न सकिन्छ।
शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण स्वच्छ हुन्छ। हरियोडाँडा मुनिको बस्ती। नेवार शैलीका घरहरू, पाइलैपिच्छे मन्दिर, दह, पोखरी, पाटीपौवा, ढुंगेधारा अनि खेतीयोग्य जमिन।
अन्यत्रका नेवार बस्तीमाझैं टोखामा पनि प्रवेशद्धार छन्। उहिले सुरक्षाका लागि बनाएका ढोका अहिले प्रवेशद्वार भएका छ। यहाँ पाँच वटा प्रवेशद्धार छन्।
टोखालाई काठमाडौंको ‘उत्तरी ढोका’ पनि भनिन्छ। उहिले उहिले काठमाडौंका नेवार व्यापारको सिलसिलामा तिब्बतसम्म ओहोरदोहोर गर्दा काठमाडौं खाल्डोबाट बाहिर निस्कने र भित्र आउने ढोका पनि टोखा नै थियो।
शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको टोखा प्राकृतिक हिसाबले सुन्दर छ। हरियाली, खेतीयोग्य जमिन र कृषि कर्मले सबैको मन तान्छ। टोखालाई धार्मिक र ऐतिहासिक पर्यटकीय नगरीका रुपमा विकास गर्न सके नेवारी कला सस्कृति अवलोकन गर्ने पर्यटकको भिड लाग्न सक्छ।
गाउँमा नेवार परिकार पाइने खाजा घर छन्। चण्डेश्वरी नजिकै विदेशी लक्षित गेस्ट हाउस पनि छन्।
दिनभर घुमफिर गर्न सकिन्छ टोखामा। मोटर बाटोले टोखालाई नुवाकोटको बट्टारसँग जोडेको छ।
टोखा क्षेत्रमा घुम्न लायक धेरै सम्पदा छन्। तिनको यहाँ चर्चा गरिएको छ।
भूतखेल चौर
भूतखेल चौर १०६ रोपनीमा फैलेको छ। चौरको बीचमा प्यागोडा शैलीमा बनाइएको मन्दिर छ जसलाई ‘पिगंण द्य’ भनिन्छ। पिगण भनेको पीठ र द्य भनेको देवता। नजिकै मसानघाट छ। लास जलाउने ठाउँ भएकाले यसलाई मसानकाली पनि भनिन्छ। पहिला लास जलाउँदाजलाउँदै बनेको खरानीको थुप्रो थियो तर हाल खेल खेल्ने मैदान बनाइएको छ। खुला चौरबाट राम्रो दृष्य देखिन्छ।
सपनतीर्थ
बस्तीबाट १ कि.मि. दूरीमा छ– सपन तीर्थ। मन्दिर नजिकै पोखरी। पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविश्वास। त्यतिबेला यहाँको डाँडागाउँमा क्षयरोग अस्पताल बनाइएको थियो, निकुञ्जभित्र परेकाले हाल त्यसमा सैनिक व्यारेक बनाइएको छ।
यहाँ वैशाखमा मेला लाग्छ। शिवपुरी बाघ भैरब गएर यहाँ आउने चलन छ। सपनतीर्थमा गणेश मन्दिर छ। चैत मसान्तमा बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थको कुण्डमा नुहाएर बिस्केट जात्राको लिंगो ढाल्न भक्तपुर जाने चलन छ।
बरूणेश्वर
टोखाबाट ४ किलोमिटर दूरीमा पर्दछ बरुणेश्वर। यहाँको खोंचमा श्रीकृष्ण बरूणेश्वर गुफा र झरना छन्। गुफा भित्र महादेव र पार्वतीका मूर्ति छन्। गुफा करिब २५ मिटर लामो छ। गुफाको दायाँ नारायण र लक्ष्मीका मूर्ति छन्। जनबोलीमा बरुणेश्वरलाई ‘बौंडेश्वर’ भनिन्छ। श्रीस्वस्थानी ब्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ उनको बायाँ स्तन पतन भएको थियो। पछि यहीँ आएर श्रीकृष्णले तपस्या गरेका थिए।
अर्को किंवदन्तीअनुसार भष्मासुरले महादेवलाई लखेट्दै जाँदा महादेव भाग्दैभाग्दै यही गुफामा आएर बसेका थिए। त्यसैगरी पाँच पाण्डव पनि यही बाटो भएर गएको भनाई छ। सानो पोखरीमा पाण्डव बसेको भनाई छ। त्यसैगरी यहाँका चट्टानमा मृग र सीताको पाइलाका आकार पनि देखिन्छ।
यहाँ छन् दुइटा झरना। बरुणेश्वर संरक्षण समितिका अनुसार एउटा झरना २८ मिटर र अर्को ३६ मिटर लामो छ। बर्खामा सुन्दर देखिन्छन् झरना। यहाँको जल पवित्र मानिन्छ। काठमाडौंका युवा यहाँ आएर नुहाउँछन्। लुगा लगाएरै नुहाउने चलन छ। यसरी नुहाउँदा शरीरका चर्म रोग पखालिने जनविश्वास छ।
चट्टामा रहेको झरनामा क्यानोनिङको सम्भावना छ। हिउँदमा चाहिँ झरनाको पानी सुक्छ।
टोखा सडक मुन्तिर खोंचमा छन् महादेव। सडकबाट ५ मिनेट ओरालो झरे बरुणेश्वर पुगिन्छ। गुफा बाहिर पनि महादेव, गणेश र बिष्णुका मूर्ति छन्। नेवारीमा यसलाइै ‘गु“ महादेव’ भनिन्छ।
गुफा क्षेत्रमा खाजा पसल छन्। झोर (१,५०० मिटर) बाट टोखा बस्ती र काठमाडौंको दृश्य राम्रो देखिन्छ।
गुर्जेभञ्ज्याङ (१९०० मिटरः
टोखा, काठमाडौं र नुवाकोटको संगममा पर्दछ गुर्जेभन्ज्याङ (१,९०० मिटर)। निकुन्जभित्रको भन्ज्याङबाट नुवाकोटको दृष्य देखिन्छ भने हिमाल खुल्दा पूर्वदेखि पश्चिमसम्म हिमालका लश्कर देखिन्छन्। यहाँ सैनिक ब्यारेक छ। निकुन्ज पस्न टिकट काट्नुपर्छ।
यहाँको चौरमा बसेर खाजा खान सकिन्छ। निकुन्ज भित्र फोहर फाल्न र हल्ला गर्न भने पाइँदैन। प्लास्टिकका खोल आफैसँग ल्याउने वा सम्बन्धित ठाउँमा फाल्ने गर्नुपर्छ। निकुञ्ज सार्वजनिक सम्पत्ति हो यहाँका विरूवा उखल्ने वा चुँड्ने गर्नु हुँदैन। जंगली इलाका भएकाले एक्लै नहिँड्ने र जंगली जनावरलाई नजिस्क्याउने।
चण्डेश्वरी
टोखा बस्तीबाट करिब २ कि. मि. दूरीमा छ चण्डेश्वरी मन्दिर। शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण सधैं शितल हुन्छ। चण्डेश्वरीलाई टोखाको प्रमुख मन्दिरका रुपमा मानिन्छ। चण्डेश्वरीमा कालीको मूर्ति पनि छ। यसलाई पुरानो चण्डेश्वरी मन्दिर भनिन्छ। यसकै सिको गरेर पछि बनेपामा बनाइएको स्थानीय बताउँछन्।
श्रीस्वस्थानी ब्रतकथाअनुसार यहाँ सतिदेवीको दाहिने कुम पतन भएको र दक्षप्रजापतिको यज्ञकुण्डको पवित्रस्थलका रुपमा लिइन्छ। मन्दिरमा चण्डेश्वरी देवीको मूर्ति छैन, मण्डलालाई पुज्ने गरिन्छ। मुस्कानेश्वर महादेव, महाकालीको मूर्ति, विष्णु मन्दिर, यज्ञकुण्ड, पाँच धारा यहाँका मुख्य आकर्षण हुन्। १२ वैशाखको भुइँचालोले मन्दिर भत्किएको थियो, हाल पुनः निर्माण हुँदैछ।
टोखा केव
वि.सं. २०७३ सालमा स्थापना भएको टोखा केव रेष्टरेन्ट शान्त र सुन्दर छ। यहाँ टोखाको संस्कृति झल्काउने सङ्ग्रहालय, बालबालिकालाई खेल्न मिल्ने स्थान, स्विमिङ पुल लगायत सुविधा छन्। पारिवारीक वातावरण भएको टोखा केवमा स्वास्थ्यवर्द्धक खाना पाइन्छ।
सम्पदा सम्रक्षण समाज (दबु) का सस्थापक अध्यक्ष मणिराज डंगोल यसका सस्थापक हुन्। टोखामा रहेका धार्मिक सम्पदा, संस्कृतिको सम्रक्षण गर्दै आफ्नो ठाउँ आफै बनाऔं, स्वस्थ्यमा आत्मनिर्भर रहौं भन्ने अभियानका साथ रेष्टुराँ सञ्चालनमा ल्याएको उनले बताए।
हाम्रो देशका सम्पूर्ण स्थानका आ-आफ्नै पहिचान, विशेषता र सम्भावना छन्। जहाँ जस्तो सम्भावना (भूगोल, वातावरण, सम्पदा) लाई बुझेर त्यहीँअनुसार गरेमा हामी आफ्नो ठाउँ आफैं बनाउन सक्षम हुन्छौं। यसका लागि आ-आफ्नो ठाउँबाट हामी आफैं स्थानीय पनि सक्रिय हुनुपर्छ।
‘टोखा प्राचिन नेवार बस्ती हो। त्यसैले यहाँका सम्भावना, कला संस्कृति र सम्पदाको संरक्षण गर्दै टोखालाई सबैको सामु चिनाउने अभियानमा छौं। हामीले त्यसका लागि टोखा सम्पदा सर्किट हाइकिङ गराउँछौ’, डंगोलले भने, ‘करिब १५ देखि २० किलोमिटरको पदयात्रामा टोखाका प्राचिन सम्पदा, नेवारी कला सस्कृति अवलोकन गर्दै आफ्नो स्वास्थ्य पनि बनाउन सहयोग पुग्नेछ।’
यहीँ पर्यटकीय नगरी ‘चाकुको शहर’ टोखामा प्रकृति प्रेमी समूहको १७२ औं मासिक पदयात्रामा वि.सं. २०७९ मंसिर २४ गते हामी पुगेका थियौं। टोखा केबमा टोखाली चाकु र चना खाएर हाम्रो पदयात्रा शुरु भएको थियो। हामीलाई मार्गनिर्देशन गर्न टोखा सम्पदा संरक्षणका सस्थापक अध्यक्ष मणिराज डंगोल र वरिष्ठ पत्रकार हिक्मत डंगोल थिए।
टोखा घुमेपछि हामीले गुभन्ज्याङको जंगलबाट पदयात्रा सुरु गरेका थियौं। हामी जंगलको उकालो हुँदै गुर्जेभन्ज्याङ र भन्ज्याङबाट सूर्यचौरसम्म पुगेका थियौं।
सूर्यचौर (सुईरे चौर १९०० मिटर:
झलमल्ल खुलेका सेता हिमालको लर्कन। तलतल नुवाकोट बस्ती। गुर्जेभन्ज्याङबाट चार कि.मि. दूरीमा रहेको ठूलो चौर। यो चौरबाट देखिने दृष्यमा जो कोही रमाउँछन्। त्यसो त गुर्जेभन्ज्याङबाट पदयात्रा गरेदेखि नै हिमालले मुस्कुराएको हेदै हिड्न सकिन्छ।
नुवाकोट जिल्ला, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्दछ सूर्यचौर। हाल हिमाली दृष्यावलोकन, सूर्योदय र सूर्यास्त हेर्न निकै प्रख्यात छ। त्यसैगरी हाइकिङ, साइक्लिङ र बाइकिङका लागि पनि चलेको गन्तव्य। यहाँ खान र बस्न राम्रो सुविधा छ। चौरमा होटल खुलेका छन्।
काठमाडौंबासीका लागि हिमाल अवलोकन गर्न नजिकको गन्तव्य हो सूर्यचौर। पिकनिकका लागि समेत प्रख्यात छ। यहाँ एक रात विताएर सूर्योदय, सूर्यास्त र बिहानी दृश्यमा रमाउन सकिन्छ। त्यसैले सप्ताहन्त मनाउन उपयुक्त छ सूर्यचौर।
जोजो दाइको पसल
सूर्यचौरमा ‘जोजो दाइको पसल’ पसल छ। त्यहाँ हामी हाइकर्सका लागि खाना (ब्राउन राइस, दुई थरी हरियो तरकारी र अन्तमा सलाद) पाकेको थियो। झलमल्ल हिमालको दुश्यमा रमाउँदै, पहारिलो घाम ताप्दै हामीले स्वस्थ्यवर्द्धक ३ बराबर आहार खाना खायौं। खानापछि चौरको उत्तर ओरालो झर्दै गुरुङ गाउँ र त्यहाँबाट ठाडो उकालो चढेर गर्जेभन्ज्याङसम्म पदयात्रा गर्यौं। फर्कंदा टोखाबाट चाकु पनि किनेर ल्यायौं।
सम्पर्कः
जोजो दाइको पसल
मोबाइल नंः ९८४१४८०१४५
प्रकृति प्रेमी समूहले स्वास्थ्य र आन्तरिक पर्यटन विकास गर्न हरेक महिनाको चौंथो शनिबार काठमाडौंका डाँडापाखाका विगत डेढ दशकदेखि निरन्तर हाइकिङ गराउँदै आएको छ।
टोखालाई केन्द्र बनाएर धेरै ठाउँमा पदयात्रा गर्न सकिन्छ। यहाँबाट गर्न सकिने पदयात्रा गन्तव्यहरूः
झोर– चण्डेश्वरीः भुतखेलचौर– सपनतीर्थ– झोर– गुर्जेभन्ज्याङ– शिवपुरी निकुञ्ज– डाँडागाउँ– चण्डेश्वरी। टोखा–झोर ६ कि.मि।
झोर– गुर्जेभन्ज्याङ ३ कि. मि., गुर्जेभन्ज्याङ–डाँडागाउँ–चण्डेश्वरी ९.५ कि.मि.। जम्मा पदयात्रा दुरीः १८.५ किमी। समय ७ घण्टा।
तारकेश्वर महादेवः टोखा–झोर–गुर्जेभञ्ज्याङ–शिवपुरी निकुञ्ज–तारकेश्वर महादेव– पाँचमाने। पदयात्रा दूरी १५ कि. मि., समय ६ घण्टा ।
विष्णुद्धारः टोखा–चण्डेश्वरी– विष्णुद्धार– पानी मुहान। पदयात्रा दूरी १५ कि. मि., समय ६ घण्टा।
सुन्दरीजलः टोखाबाट गुर्जे भञ्ज्याङ हुँदै सुन्दरीजल र डाँडागाउँ हुँदै बूढानीलकण्ठ पदयात्रा गर्न सकिन्छ। त्यहाँबाट झोर हुँदै बालाजु बाइपास निक्लन पनि सकिन्छ।
सूर्यचौरः टोखा, गुर्जेभन्ज्याङ, सूर्यचौर, गुरुङगाउँ, गुर्जेभन्ज्याङ। पदयात्रा दूरी १० कि. मि.। समय ५ घण्टा।
ककनीः टोखा, गुर्जेभन्ज्याङ, शिवपुरी निकुञ्ज, सैनिक पोष्ट, स्काउट भवन, ककनी। पदयात्रा दूरीः १४ कि. मि.। समय ५ घण्टा।
टोखामा हाइकिङ मात्र होइन, साइकलिङ र बाइकिङ पनि गर्न सकिन्छ। यतिबेला चाकु खाँदै, सेता हिमाल हेर्दै वनको छहारीमा रम्दै पदयात्रा गर्दा शरीरमा ऊर्जा र ताजापन भरिन्छ।
तर टोखालाई पनि शहरीकरणले छोइसकेको छ। पुराना घर भत्काएर कंक्रिट घर बनाइँदैछ। मलिलो जमिनमा घर ठडिँदैछन्। घरको बाहिरी आवरणलाई पुरानै शैलीमा बनाउन सके राम्रो हुन्छ। साथै पुरातात्विक महत्वका मन्दिर संरक्षण गरिनुपर्छ। यसका लागि सरकार, सरोकारवाला र टोखाबासी आफैं जागरुक हुन जरुरी छ।
आफ्नो गाउँठाउँ आफैं बनाऔं,
आफ्नो देश आफैं बनाऔं,
निरोगी नेपाल निर्माणमा हातेमालो गरौं।
कसरी पुग्ने ?
काठमाडौंको धरहराबाट ९ किलोमिटरमा टोखा। टोखा भ्रमण गरी गुर्जेभन्ज्याङ मुनिसम्म गाडीमा। त्यहाँबाट जंगलको ठाडो उकालो हुदै गुर्जेभन्ज्याङ र त्यहाँबाट सुर्यचौर, गुरुङ बसती हुदै गुर्जेभन्ज्याङ सम्म पदयात्रा।
गुर्जेभन्ज्याङ– सुर्यचौर ४ किमी, सुर्यचौर–गरुङ गाउँ– गुर्जेभन्ज्याङ ६ किमी। जम्मा पदयात्रा दूरी करिब १० कि.मि.। समय ५ घण्टा। अधिकांश बाटो निकुञ्ज भित्र पर्छ।
(‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक महर्जन योग उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)
रामदेवीका थप लेख पढ्नुहोस्