भौतिक विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण एकजना मित्र आजभोलि बैँकिङ पेसामा मस्त हुनुहुन्छ। अर्को एकजना साथी इन्जिनियरिङ सकेर प्रशासनमा लोक सेवा पास गरी प्रशासनिक कार्यमा डटिरहनु भएको छ।
कोही शिक्षा शास्त्र अध्ययन पूरा गरी कर्पोरेट क्षेत्रमा जागिरे भने कोही कम्प्युटर इन्जिनियर गाउँपालिकाको प्रशासकीय अधिकृत।
यस्ता अनगिन्ती उदाहरणहरू हाम्रो सामु छन् जसमा अध्ययनको डिग्री र उनीहरूले अपनाएको पेसासँग कुनै तादम्यता छैन।
विज्ञानको विद्यार्थी म आफै पनि निजामती क्षेत्रमा करियर बनाउने धुनमा २४ वर्ष खर्चेर आर्जन गरेको शिक्षालाई एउटा कुनामा थन्क्याएर अर्कै बाटो हिँडिरहेको छु।
यसरी पढाइभन्दा परको पेसाकर्म आत्मसात् गर्दा पढाइको विशेषज्ञताले अनि निजले अपनाएको अन्जान पेसाले साँच्चीकै न्याय पाउला त? अनि व्यक्ति स्वयमलाई आफ्नो कर्मबाट आत्मसन्तुष्टी मिल्ला त? त्यही मानव संसाधनको उपयोग गरी संस्थाले आफ्नो उद्देश्य हासिल गर्दा जोखिम नहोला?
यस्ता स्वाभाविक प्रश्नहरू जो कोहीका मनमा पनि उठ्न सक्छन्। सुन्दा सामान्य लागे पनि यो एउटा गम्भीर विषय हो। समग्र राज्यको शिक्षा प्रणाली अनि नीति निर्माणको अन्तर्यलाई पनि चुनौती दिने कुरा हो यो। यस विषयमा हुनुपर्ने जति चर्चा नभएको हो कि भन्ने भान हुन्छ।
हुन त एकाध त्यस्ता नामहरू छन् जो अध्ययनको भन्दा फरक क्षेत्रमा लागेर पनि अत्याधिक सफल कार्यसम्पादन गरी निवृत्त भएका छन्। हामीकहाँ लोक सेवा पास गर्ने अधिकांश अप्राविधिक कर्मचारीहरूको अध्ययनको पृष्ठभूमि फरक-फरक रहने गरेको छ।
लोक सेवाको लागि भनेर छुट्टै अध्ययनको विषय विद्यालय शिक्षामा नसमेटिएका कारण त्यसो हुन गएको तर्क गर्ने गरिन्छ। तर त्यस्ता तर्कमा त्यति दम छैन भन्ने कुराको पुष्टि त्यतिखेर हुन्छ जतिखेर इन्जिनियर वैज्ञानिक जियोलोजिष्ट जु लोजिष्ट बोटानिष्ट हुनलाई कठिन मानिने विज्ञानको विषय अध्ययन गरेका विद्यार्थीहरूको भिडले लोक सेवाका अधिकांश अप्राविधिक परीक्षाहरू उत्तीर्ण हुनेको सूचिमा अधिपत्य जमाएका हुन्छन्।
यस आलेखमा सो विषयमा थोरै कुरा उठान गर्न खोजिएको छ।
कार्यक्षमतामा कस्तो असर पर्न सक्छ?
जुनसकै पनि शिक्षाले एक ढंगको ज्ञानको दायरा त बढाउँछ। यद्यपि शिक्षा र पेसाबीच संयोजन नमिल्दा कुनै पनि संस्था वा संगठनले चाहेअनुसारको गति र उद्देश्य भने हासिल गर्न सक्दैन।
पेसाअनुसारको जनशक्ति हुनुपर्नेमा जनशक्तिअनुसारको पेसा हुन जान्छ। जीवनमा आफूले सिकेको ज्ञानलाई काममा रुपान्तरण गर्दै कार्यदक्षता अभिवृद्धि गर्नुपर्नेमा कार्यक्षेत्रमा गएर सिक्दै काम पनि गर्दै जानुपर्ने अवस्था आउँछ।
विषय अनि आफ्नो क्षेत्रमा पारंगत जनशक्तिको अपेक्षा हरेक संगठनले गरेको हुन्छ। त्यस्तोमा कुनै विषयको विज्ञको सट्टा एउटा आधारभूत ज्ञान समेत नभएको मान्छेले संगठनको हितका लागि गर्न सक्ने योगदान भनेको अवश्य पनि न्यून स्तरकै हुनजान्छ।
संगठनको लगानी वस्तु र सेवाको महत्तम उत्पादन वितरण र संस्थागत विकासमा भन्दा जनशक्ति तयार पार्ने जस्तो अनुत्पादक क्षेत्रमा हुन जाने हुँदा उत्पादकत्व घट्न जान्छ। अधिकांश संस्थाहरू असफल हुनु, सोचेअनुरुप प्रगति गर्न नसक्नु अनि कतिपय टाटै पल्टिने अवस्थामा पुग्नुको मुख्य कारण कुशल जनशक्ति व्यवस्थापनको अभाव पनि हो।
हामीकहाँ विद्यमान शिक्षा प्रणालीबाट उत्पादित जनशक्तिहरूमा पढाइ अनुरुपको विज्ञता कार्यक्षेत्रमा रुपान्तरण गर्न नसकेको आरोप लाग्ने गरेको छ भने अध्ययनभन्दा इत्तर क्षेत्रमा गएर कसैले अनुकरणीय सफलता हात पार्न सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ। त्यस्तो जनशक्तिबाट नवप्रवर्तन कार्यक्षेत्रमा नयाँपन तथा रचनात्मक नेतृत्व आदिको अपेक्षा गर्न सकिदैँन।
किन यस्तो भएको हो?
हाम्रो देशमा हरेक क्षेत्रमा राम्रालाई भन्दा हाम्रालाई रोज्ने चलन रहेको छ। विद्यालयमा शिक्षक नियुक्त गर्दा होस् अथवा बैँकमा कर्मचारी शैक्षिक योग्यताभन्दा नातावादले प्राथमिकता पाउने गर्छ। सरकारी निकायमा करारमा कर्मचारी नियुक्तिमा त यो झन् व्यापक रहेको छ।
अर्को समस्या भनेको कृपावाद हो। ठूला भनाउँदाहरूको दबाबमा कुनै कुराको प्रलोभनमा परी तिनका आफ्ना मान्छेलाई जागिरमा लगाइदिने प्रचलन व्यापक रहेको छ। क्षमताभन्दा भनसुनको आधारमा जागिर खाने प्रवृत्तिले गर्दा शैक्षिक योग्यताको यहाँ कदर नभएको हो।
यसका अलावा हामीकहाँ अध्ययन गर्दा विषय छनोट गर्ने संस्कार पनि हचुवाको भरमा रहेको छ। भविष्यमा आफूले अंगाल्ने पेसा के हो भन्ने कुराको अनुमान गरी सोहीअनुसार शिक्षा आर्जन गर्ने परिपाटी नै छैन।
अतः आफ्नो रुची र भोलि अंगाल्ने पेसालाई मध्येनजर गरेर विषय छनोट नगरी अरुको लहलहैमा लागेर एउटा संकायमा उच्च शिक्षासम्म अध्ययन गर्ने अनि सोही विषयको विज्ञताका आधारमा गर्नुपर्ने पेसा मन नपरेर अथवा यथेष्ट रोजगारीको अवसर नभएर अर्कै क्षेत्रमा काम गर्नुपर्ने अवस्था आउने गरेको छ।
चौथो र महत्त्वपूर्ण कारण भनेको देशको शिक्षा प्रणाली हो। व्यावसायिकताभन्दा केवल डिग्री हासिल गर्नका लागि अध्ययन अध्यापन गराउने शैक्षिक संरचना यहाँ रहेको छ। व्यवहारिकभन्दा सिद्धान्त केन्द्रित पढाउने गरी विश्वविद्यालका पाठ्यक्रमहरू तयार गरिएका छन्। जसका कारण अध्ययन सकिएपछि पनि विद्यार्थीहरू बेरोजगार बन्नुपर्ने अथवा अन्य क्षेत्रहरूमा होमिन पर्ने बाध्यता आइपर्छ।
अबको बाटो कस्तो हुनुपर्छ?
शिक्षा मानव जीवनलाई सार्थक बनाउने एउटा मुख्य तत्व हो। हामीले जिन्दगीको लामो र महत्त्वपूर्ण हिस्सा यसको प्राप्तिमा खर्च गरेका हुन्छौँ। हामीले यसलाई अवमूल्यन गर्न हुँदैन। आर्जन गरेको ज्ञान र शिक्षालाई अधिकाधिक उपयोगमा ल्याउनु पर्छ। परिवार समाज अनि राष्ट्रको उन्नयनका लागि हाम्रो शिक्षाको सही उपयोगको सख्त आवश्यकता रहेको हुन्छ।
अतः पेसाकर्म आफ्नो शैक्षिक योग्यताअनुसारको अपनाउन सकेमा मात्र आर्जन गरेको शिक्षाले न्याय पाउँछ। पेसाले पनि दक्ष जनशक्ति पाउँछ। कार्यक्षमता स्वतः वृद्धि हुन जाँदा संस्था र संगठनको उत्पादकत्त्व गुणस्तरिय रुपमै बढेर जाने हुन्छ।
यसको पहिलो सुरुआत व्यक्ति स्वयमबाट अध्ययनको विषय छनोट गर्ने बेलादेखि नै हुनुपर्छ। त्यसपछि राज्यले बनाउने शिक्षा नीतिमा पनि सैद्धान्तिकभन्दा व्यावसायिक शिक्षालाई जोड दिनुपर्छ।
संघ संस्थाहरूले कर्मचारी तथा कामदारको भर्ना र छनोट गर्दा विषय विज्ञतालाई आधार बनाउने स्वच्छ परिपाटीको विकास गर्नुपर्छ। हाम्रालाई होइन राम्रालाई उपयुक्त स्थानमा उपयुक्त पात्रको छनोट गरी संगठन निर्माण गर्नुपर्छ। नातावाद र कृपावादलाई कुनै पनि बहानामा प्रसय दिइनु हुँदैन।
यति मात्र गर्न सकेमा पनि म र मजस्ता सयौँ साथीहरू आफ्नो उद्देश्यप्रति दिग्भ्रमित हुनपर्ने थिएन र शिक्षाअनुसारको पेसाकर्म अपनाउँदा हीनता बोध हैन गर्वले छाती फुलाउन पाइने थियो।