रोइरहेको सानो दूधेबालकलाई फुल्याउन होस् वा चकचक र होहल्ला गर्न रुचाउने उमेरका बच्चालाई शान्त पार्न, अक्सर अभिभावकले प्रयोगमा ल्याउने आधुनिक हतियार हो- स्मार्टफोन।
बालबालिकालाई हेरचाह गर्न यति सजिलो माध्यम पाउँदा प्रायः आमाबाबुहरू सन्तुष्ट होलान्। यस किसिमको गतिविधिबाट म भने कता-कता तिनको र समग्र मानवसमाजको भविष्यप्रति त्यति विश्वस्त हुन सकिरहेको छैन।
सायद यहाँहरू धेरैलाई पनि यस्तो लागेको हुनुपर्छ। यो प्रवृत्तिको यही प्रकारको निरन्तरता पक्कै पनि भविष्यको पुस्ताको लागि शुभ संकेत हुन सक्दैन।
आज डर भनेको हाम्रो पुस्ताले आउने पीडिलाई के सिकाँउदै छ भन्ने कुरामा हो। अभिभावकहरूले बालबालिकालाई आफूसँगै स्मार्टफोनको प्रयोगमा अभ्यस्त बनाउँदै गरेको प्रवृत्तिप्रति नै अहिलेको गम्भीर ध्यानाकर्षण हो।
वैदेशिक रोजगारीले गर्दा उपभोक्तावादी बन्दै गरेको हाम्रो समाजमा मोबाइल, त्यो पनि स्मार्टको पहुँच सहरमा मात्र नभएर ग्रामीण भेगसम्म सजिलै पुगेको छ। असीमित रुपमा मोबाइलको प्रयोग गर्ने छुट दिँदा बालबालिकामा एक किसिमको नशा लागेजस्तो भएको छ।
अधिकांश बालबालिका घण्टौँसम्म त्यसैमा झुण्डिने भएका छन्। बालबालिकाहरू कोही गेम खेलेर, कोही नानाभाँतीका भिडिओहरू हेरेर लामो समय व्यतित गरिरहेका हुन्छन्। त्यसो गर्दै गर्दा कति आमाबुवा आफू पनि सामाजिक सञ्जालतिरै रुमलिएका हुन्छन् त कति बेवास्ता गरिरहेका हुन्छन्।
बच्चाहरूमा बढ्दै गरेको मोबाइल फोनप्रतिको झुकाबले उनीहरूमा रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने लगायतका गम्भीर किसिमको असन्तुलित लक्षणहरू देखिन थालेका छन्। जुन आज हर घरको नियति बन्दै गएको छ।
यसले पारेको र पार्न सक्ने ठूलो असर भनेको बालबालिकाको सिर्जनशीलतामा हो। विवेकमा हो। संवेदनामा हो।
कोरा कागजरुपी बाल मस्तिष्कलाई अधिकाधिक रचनात्मक कार्यमा संलग्न गराएर सिकाइको स्तर बढाउनु पर्ने बेलामा सिकाइको बहानामा एक ढंगको सम्मोहनमा पार्ने काम यसले गरेको छ।
बाल मस्तिष्कलाई दिग्भ्रमित तुल्याएको छ। गलत र सही छुट्ट्याउन नजान्दै दलदलमा पुर्याएको छ। शारीरिक परिश्रम गर्न अल्छी बनाएको छ। खेलकुदमा रुची राख्न छाडेका छन्। कथा, कविता, चित्र कोर्न नसिक्ने भएका छन्।
गाउँ, घर, छर-छिमेकको महत्त्व बुझाउन कठिन हुन थालेको छ। प्राकृतिकभन्दा कृत्रिम संसार रुचाउन थालेका छन्। खोला-नाला, झरना,पहाड हिमालको सौन्दर्यमा तिनको कुनै चाख छैन।
देश र विदेशमा फरक लाग्दैन तिनलाई। राष्ट्र प्रेम केही होइन तिनका लागि। यसरी दिमागको सही विकास नहुँदै ब्रेन वाश गर्ने काम गरेको छ स्मार्टफोनको अधिक प्रयोगले आजका बालबालिकाको।
बालबालिकामा स्मार्टफोनले निम्त्याएको समस्या केवल हाम्रो मात्र होइन, यो विश्वको साझा समस्या बनेको छ। विश्व समुदायनै यसबाट निकै चिन्तित पनि बनेको छ। साइबर अपराध अश्लीलता आदिको शिकार बालबालिकाहरू बनेका कयौँ समाचारहरू हाम्रासामु दैनिकजसो आइरहेका छन्।
मानव तस्कर र दलालहरू बालबालिकाको नादानीको विभिन्न तरिकाले नाजायज फाइदा उठाइरहेका छन्। यिनै माध्यमहरूबाट बालबालिकालाई विभिन्न अपराधिक गतिविधिमा समेत संलग्न गरायरहेका छन्। वयस्कहरू समेत यसको शिकार बनेका छन्।
वास्तविक दुनियाँबाट पर रहेर भर्चुअल दुनियाँमा हराउँदा कतिलाई लाग्दो हो हाम्रो पनि पहुँच दुनियाँका विकसित र संभ्रान्त वर्गसम्म पुगेको छ। हामीलाई लागिरहेको छ हामी आधुनिक बनिसक्यौँ। जुन हाम्रो गलत बुझाइ हो भनेर बुझ्न हामी जति ढिला गर्छौं, त्यति नै हामी र हाम्रो आउँदो पुस्ताको लागि हानिकारक बन्न जानेछ।
हाम्रो सृजनशीलता अनि कार्य क्षमतामा व्यापक ह्रास ल्याइरहेको यथार्थबाट हाम्रो पुस्ता विमुख हुँदै गइरहेको छ। वास्तविकता र यथार्थभन्दा पर रहेर बाँच्नु भनेको मूर्खता हो। भ्रम हो। सामाजिक सञ्जाललगायत इन्टरनेटको हाम्रो उपयोगको अवस्थाले हामीलाई भ्रममा बाँच्न सिकाएको छ।
अर्थात् मानिसको विवेकमाथि नजाँनिदो रुपमा हमला गरेको छ। हामी र हाम्रो पुस्ता दैनन्दिन त्यसको दास बन्दै गैरहेका छौँ जसको सिधा असर बालबालिकमा पर्ने कुरा बुझेर पनि बुझ पचाइरहेका त छैनौँ।
यसो भनेर प्रविधिलाई दोष दिएर हामी पन्छिनु र यसको प्रयोगबाट टाढा रहनु फेरि झन् ब्लन्डर हुन जान्छ। विज्ञानले गरेको चमत्कारको फलस्वरुप विकास भएको कृतिम वौद्धिकताको प्रयोगले गर्दा नै हिजोका साधारण फोन आज स्मार्ट बनेका छन्।
सम्भवतः विकासको पहिलो दशक मात्र पार गर्दै गरेको यो प्रविधिको मजबुत अनि कमजोर दुवै पक्ष भनेको यसको असीमितता हो। जुन असीमितता नै या त वरदान या अभिशाप दुवै बन्न सक्ने जोखिम हाम्रा लागि रहेको छ। हाम्रो पुस्ताको चुनौति भनेकै स्वाभाविक रुपमा यसलाई सही ढङ्गले प्रयोग गर्दै अभिशाप बन्न नदिनु हो।
कुनै पनि चिजको प्रयोग निरपेक्ष हुँदैन। हुनु पनि हुँदैन। अर्थात् आजको विकसित दुनियाँको गतिलाई कैयौँ गुणा बढाइदिएको सूचना प्रविधिको विकासबाट टाढा रहेर बस्नु कदापि सही होइन। समयअनुसार सापेक्षित प्रयोग आजको आवश्यकता हो।
विकास र पूर्वाधारको अवस्था हिसाबले निकै पछाडि रहेका हामी कम्तीमा सूचना प्रविधिमा भने त्यो हदसम्मको पिछडा अवस्थामा छैनौँ भन्न पनि यसको संयमित प्रयोग जरुरी छ। हामीले त यसको प्रयोग हाम्रो विकासको धिमा गतिलाई बढाउन पनि गर्न सक्नु र्छ।
सूचना प्रविधिलाई वस्तु अनि सेवाको उत्पादन र वितरणमार्फत विकासका कैयौँ आयामहरूसँग जोड्न सक्नु पर्छ। जसका लागि दक्ष र सक्षम मानवशक्ति तयार बनाउनु पर्ने हुन्छ।
अघिल्लो पुस्ता (६० वर्ष माथिको) सूचना प्रविधिको साक्षरताका हिसाबले आश गर्ने कुनै ठाउँ नै छैन। वर्तमान पुस्ता (२० देखि ६० वर्ष बीचको) ले सिक्दै छ र जानी नजानी अंगाल्ने प्रयत्न गर्दैछ। अझ भन्नुपर्दा अल्मलिएको छ।
बिहानले दिनको संकेत गर्छ भनेझैँ यसले देखाएको प्रारम्भिक रुझान सन्तोषजनक छैन। यो भनेको एक किसिमको सङ्क्रमणको अवस्था हो। यस्तो बेलामा धेरै कुरा मिल्दैन। त्यही नमिलेकै कारणले गर्दा यसको प्रयोगलाई सकारात्मक दिशा दिन सकिएको छैन।
सुरुआती चरणमा भएकाले शंकाको लाभ लिन पाउने भए पनि यो पुस्तालाई यसमा लामो समयसम्म अल्मलिने छुट छैन। किनकी आफूले मात्र सिकेर उसलाई पुग्दैन, भावी पुस्तालाई सिकाउनु पनि पर्नेछ।
सूचना प्रविधिमा निपुणता हासिल गरेर देश र समाजलाई प्रगतिको मार्गमा डोर्याउने अभिभारा पनि यही पुस्तामा निहीत छ। त्यसका लागि गम्भीर भएर सोच्ने र आगामि दिनको बाटो तय गर्ने जिम्मा हाम्रो काँधमा छ।
अबको आवश्यकता भनेको स्मार्टफोनको स्मार्ट प्रयोग नै हो। हामीले हाम्रो विवेकलाई कृत्रिम वौद्धिकतासँग एकाकार गराउँदै बालबालिकामा सकारात्मक रक्तसञ्चार गराउन कसरी सकिन्छ भनेर चिन्तन गर्ने बेला आएको छ।
यस कामको सुरूआत हर घरबाट आजकै मितिबाट गर्न जरुरी छ। बालबालिकालाई स्मार्टफोनको प्रयोगमा शत प्रतिशत स्वतन्त्रता दिइनु हुँदैन। घरका कुनै सदस्यको प्रत्यक्ष निगरानीमा निश्चित समय छुट्याएर सीमित साइटहरूको प्रयोग गरी सिकाइको माध्यम बनाउने हिसाबले यसको प्रयोग गर्नु र गराउनु पर्छ।
यसो गर्दा नैतिक शिक्षालाई जोड दिँदै बच्चाको सुषुप्त अवस्थामा रहेको सिर्जनशीलतालाई नजिकबाट परख गर्न पनि सकिने हुन्छ।
मौलिकता र यथार्थबाट बालबालिकालाई साक्षात्कार गराउन विभिन्न गतिविधिमा संलग्न गराउने कुरा पनि समानान्तर रुपमा लैजान सकियो भने वास्तविक र कृत्रिम दुवै दुनियाँमा बालबालिकाको आजको सिकाइ र भोलिको उपस्थिति बुलन्द हुन सक्छ।
यसबाट भविष्यमा राज्यले पनि स्वाभाविक रुपमा फायदा लिन सक्नेछ। त्यति बेला गर्वले भन्न सकिनेछ कि- स्मार्टफोन अभिशाप हैन साँच्चीकै वरदान पो रहेछ।