यात्रा संस्मरण:
घडीमा बिहानको ११ बजेको थियो जम्मु स्टेसन आइपुगेछौं।
१ बजेसम्ममा पठानकोट पुगिन्छ भन्ने पूर्ण विश्वासले आँखा चनाखो पार्दै बाहिरको दृश्यहरू हेरेर रमाउँदै थिएँ। रेल आफ्नै रफ्तारमा थियो हामी आफ्नै।
१:३० मा पठानकोट आइपुग्यौं। पठानकोट आएपछि रेल्वे स्टेसनमा फ्रेस भएर केही ड्राई फ्रुट्स खाँदै पठानकोटको रमझम हेर्दै थियौं। रिजर्भ गरेको गाडी फुत्त हामीलाई लिन आइपुगिहाल्यो।
गाडीमा सबै सामान हालेर आनन्दले सिटमा गएर बस्यौं। पन्जाव पठानकोटको भूबनोट हेर्न केही नछुटियोस् भनेर झ्यालतिर बस्न दगुरें। सबैको दैनिकी उस्तै भए पनि भूगोल, संस्कृति र समाजले हामीलाई फरक पारेको हुने रहेछ।
यहाँ पनि हराभरा, सफा, खुला र फराकिलो भूगोल र बाटोहरू देखिए।
करिब २ बजेतिर ड्राइभरको सल्लाहमा निकै राम्रो चेन्नाइ एक्सप्रेस नामक होटलमा खाना खान गयौं। त्यहाँको मुख्य आकर्षण दहिबाडा रहेछ। सबैले मीठो दहिबाडाले खानाको सुरूआत गर्दै चावल, दाल तड्का, रोटी, मटर पनिर, दाल मखनी, साम्वर, नौलो खाना आदिले पेट पूजा गर्यौं।
हेर्दै मन लोभ्याउने साना साना बाल्टिनमा दाल, तरकारी र अचार थप्न ल्याइएको थियो। हाम्रो ध्यान त खानामा भन्दा ती चुटुक्कका बाल्टिनमा पो पुगे अनि फोटो खिचाउन पनि भ्याइहाल्यौं।
अब हाम्रो गाडी हिमाचल प्रदेश प्रवेश गर्यो। सेताम्मे हिमालहरूले मुस्कुराउँदै हामीलाई झुकेर स्वागत गरेको झैं लाग्यो। हिमालले पक्कै सोच्यो होला ‘बाफ्रे बाफ! यी त सगरमाथाको देशबाट आएका। यिनीहरूको सामु आफ्नो सुन्दरताको के घमन्ड गर्नु। कति महान छन् यी अतिथिहरू आफ्नो आँगनमा सगरमाथा भए पनि हामीलाई सम्मान दिएर हेर्न आएका छन्। नेपालीहरूको विशाल हृदयलाई स्वागत छ, हिमाचल प्रदेशमा। हामी त एउटै गोत्रका हौं।’
एउटा हिमालले सुटुक्क भन्यो।
फेरि सोच्न पुग्छु। सुशासन, चेतनशील जनता, दीगो सरकार, मानव स्रोतको उचित संरक्षण र कुशल राजनेताको सही संजोग मिलेको भए, प्रजातन्त्रमा सुशासनको सही सदुपयोग भएको भए, ७० वर्षसम्ममा मेरो देश कस्तो भैसक्थ्यो ?
हाम्रो देशमा पनि विशाल पहाडहरूलाई विज्ञान र प्रविधिको चमत्कारले सर्वसुलभ यातायातको विस्तार गर्न सकेको भए! सबै नेपालीले सगरमाथा चढ्न नसके पनि, सहज, सरल र सुलभ तरिकाले आँखाले मात्र भए पनि हेर्नसम्म त बन्चित हुनुपर्ने थिएन।
आज म पनि छाती फुलाए हिमाचलका हिमालसंँग आँखा जुधाउने थिएँ।
मेरो देशमा के छैन? राराको सुन्दरतादेखि, तिलिचोको लोकप्रियतालाई वृत्तचित्र, किताब र कविता मात्र हेरेर चित्त बुझाउने नेपालीहरूमध्ये म पनि पर्छु भनेर डाँको छोडेर रूँन मन लाग्यो।
घुम्तीमा गाडीको हर्न जोडले बज्यो, झल्याँस्स भएँ। गाडीको सीसा बाहिर हिमाचलको प्रकृतिले सायद मेरो मनको औडाहा बुझेछ क्या हो। त्यो सुन्दर दृश्यहरू मेरो पछिपछि आउँदै थिए। अनि मैले पनि ती दृश्यहरूलाई गाडीको सीसा बाहिरबाट सुमसुम्याउँदै अन्ताक्षरी खेल्न थाल्यौं। केही घन्टाको यात्रापछि एउटा क्याफेमा कफी र चिया खान ओर्लियौं।
हाम्रो बस धर्मशाला जाँदै थियो।
'१८४९ काँगडा जिल्लाको धौलाधार पर्वतमा ए सैनिक छावनीको लागि एउटा हिन्दु धर्मशालालाई प्रयोग गरिएको थियो। १८५५ मा धर्मशाललाई काँगडा जिल्लाको मुख्यालय घोषित गरिएको थियो। (विकिपिडिया)
बुद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल रहेछ धर्मशाला। विश्वविख्यात तिब्बती आध्यात्मिक नेता चौधौं दलाई लामाको बासस्थान भएको क्षेत्रले यो ठाउँ विश्वमाझ चर्चित छ।
बाटोमै दुई सय वर्ष अगाडि निर्माण गरिएको 'सेन्ट जाँन इन द पिल्डरनेस चर्च ' देखा पर्यो।
सबै जना ओर्लिएर धार्मिक सहिष्णुताको चोखो नमूना प्रस्तुत गर्न भ्याई पनि हाल्यौं । चर्चमा अंकुश शर्मा नाम गरेका भारतीय बस्दा रहेछन्। १४ वटा भाषा बोल्न जान्ने अंकुश निकै रमाइलो गाइड भएको पायौं। हाम्रो बोली सुनेपछि उनी पनि हामीसँग नेपालीमा कुरा गर्न थाले। हामी सबै दंगदास पर्यौं।
मेक्लोडगन्जलाई माथिल्लो धर्मशाला भनिँदो रहेछ। हामी बास बस्न मेक्लोडगन्ज पुग्दा झमक्क साँझ परिसकेको थियो। होटलमा हाम्रो बन्दोबस्त अगाडि नै भएकोले चिन्ताशून्य थियौं।
'ऐतिहासिक मेक्लोडगंजमा बौद्ध धर्मका अनुयायीहरू वर्षभरि यहाँ बनेको बौद्ध मठहरूको यात्रा गरिरहँदा रहेछन्। काँगडा जिल्लाको धर्मशालामा अवस्थित अति नै सुन्दर उपनगर हो मेक्लोडगन्ज। तिब्बतीहरूको बाक्लो आवादी भएको कारण मेक्लोडगन्ज ‘लिटिल ल्हासा’ या ‘ढासा’ को रूपमा प्रख्यात रहेछ।
मैकलियोड गंजको नाम सर डोनार्ड फ्रेल मैकलियोड, पंजाबको लेफ्टिनेंट गवर्नर अनि गंज शब्दको नामको आधारमा राखिएको थियो। फारसी भाषाको एक सामान्य शब्द हो मेल्कोडगन्ज जसको अर्थ हुन्छ ‘पडोस’।
२०२१ सम्म तिब्बतबाट निर्वासित भएका प्रसिद्ध १४ औं दलाई लामा, तेनजिन ग्यात्सोको घर थियो। (विकिपिडिया)
सबैले आ-आफ्नो सामान र भोकको उचित व्यवस्थापन गरेर रात्रिकालीन हिँडाइ मेक्लोडगन्जको बजार एरियालाई सदुपयोग गर्दै थियौं। गोरा रंगका विदेशीहरूले भरिभराउ थियो बजार। कतै युवायुवतीहरू लठारिँदै थिए, कतै जोडाजोडीहरू मस्किँदै।
सबैले आ-आफ्नो धर्म देखाइरहेका थिए। हामी चाहिँ कतै मीठो कफी पाइन्छ कि भनेर छट्पटाएका थियौं।
रातिको करिब ११ बजेपछि प्राय: जाडोले होला पसलहरू बन्द भएका रहेछन्। पुनः होटलमै फर्कियौं केहीबेर गफ चुटेर आ-आफ्नो बिछ्यौनामा लुटुक्क निदायौं।
बिहान करिब ८ बजेदेखि होटलमा नास्ताको राम्रो सेवा दिने व्यवस्था रहेछ। नास्तामा आलुपराठा, छोलेभटुरे र दही थियो। सबै जना होटलको छतमा गएर खाजा सँगसँगै मेक्लोडगन्जको प्रातकालीन मनमोहक प्राकृतिक दृश्यहरूको भरपूर आनन्द उठायौं।
आहा!! अति नै रमणीय प्राकृतिक सुन्दरताले सुसज्जित निकै रमाइलो रहेछ मेक्लोडगन्ज त्यसै अंग्रेजहरूले आँखा गाडेका रहेनछन् यहाँ।
अंग्रेजहरूको शासनकालमा निर्माण गरेको चर्च धर्मशालामा हिजै हेरेका थियौं। धर्मशालाबाट अलिकति उचाइमा मेक्लोडगन्ज अवस्थित रहेछ। हिमाचललाई किन देव भूमिको उपाधी दिएको रहेछ भन्ने कुरा आफ्नै आँखाले हेरेपछि प्रष्ट भयो।
हिमाचलको सुन्दरतालाई मेरो यात्रा वर्णनको लेखाइ सबै छोटो पर्छ। अवर्णनीय, अतुलनीय र अद्वितीय सुन्दरता र भरपुर शान्ति लुकेको रहेछ यहाँ।
ड्राइभरले गाडी निकाल्दै गर्दा हामी नजिकैको पसलमा पुग्यौं जहाँ नेपालीहरू व्यापार गरेर बसेका रहेछन्। ती नेपालीहरू हामीलाई देखेर निकै खुसी भए र हामी पनि।
हाम्रो गाडी अब सररर ओरालो झर्न थाल्यो। कुशल पन्जावी ड्राइभर निकै स्मार्ट पनि रहेछन्।
निकै आरामले गाडी चलाएका थिए।
सहिदहरूको सम्झनामा १९७७ मा निर्माण गरेको ऐतिहासिक र रमणीय सहिद स्मारक गाडेन धर्मशाला पनि घुम्दै फोटो खिचायौं।
अब ‘एचपिसिएच’ स्टेडियम घुम्नलाई निकै उत्साहित भएर स्टेडियमभित्र पस्यौं। अद्भुत भौगोलिक सुन्दरता र संरचना देखेर म त साँच्चै अवाक् नै भएछु। वरिपरिबाट हिमालले अँगालो मारेर घेरा लगाएको झैं देखिन्थ्यो स्टेडियम। सफा निलो आकाश, सेता हिमाल, चिसो बतास हरियो मैदान आहा! अनुपम दृश्य हेर्दै थिएँ। स्वर्गको एक टुक्रा उछिटेर धर्मशालामा टक्क अडिएझैं लाग्यो।
प्रकृतिको काखमा मानव निर्मित अलौकिक खेल मैदानमा एकएक गरेर क्रिकेटरहरू हुरूरू आउँदै गरेको दृश्यहरूको मीठो सपना हेर्दै थिएँ।
अझ मैले त दर्शकहरूले खचाखच भरिएको स्टेडियममा आफैंलाई पो देखें।
मैले त मेरै कान खाने गरी चौका, छक्का भन्दै आफैंलाई बुरूक्क उफ्रिएको देखें। सत्य जान्न आफैंलाई चिमोट्दै थिएँ मैदानमा त विराट कोहली, क्रिसगेल, मलिङ्गा सबै मलाई नै हेरेर हाँसिरहेको देखेर अनायासै मुस्कुराउन पुगेछु। एकोहोरो म हाँसेको देखेर बाबुले झक्झक्याउँदै बोलाउँदा पो म झसङ्ग भएँ। त्यो सुन्दर क्रिकेट मैदानमा त वरिपरिबाट हिमालहरू मात्र पो हाँसिरहेका थिए।
यी पनि:
दिल्ली डायरी: बाल्यकालको त्यो सपना पूरा भएको दिन
जब हाम्रो गाडीलाई भारतमा भिआइपी सवारीलाई झैं स्वागत गरियो
(अनिता कोइरालाको अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)