यसअघिका लेखमा मैले गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्य हेरविचारमा अपनाउनुपर्ने कुराहरू लेखेको थिएँ।
ती लेखमा केही प्रविधिका कुराहरू समावेश भए पनि मुख्य उद्देश्य गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी होओस् भन्ने नै थियो।
गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्य राम्रो रहेको अवस्थामा सामान्यतया धेरै समस्या देखा पर्दैनन्। जन्म लिने र जन्म दिने प्रक्रिया प्रकृतिको देन हो। यसमा आमाको शारीरिक बनावट बच्चा जन्माउने गरी नै भएको हुन्छ।
सामान्यतया धेरै बालबालिकाहरू स्वस्थ नै जन्मिन्छन्। गर्भ असामान्य भएको अवस्थामा तथा गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्यमा जटिलता पहिचान भएका उपचार आवश्यक पर्छ।
मेरा कतिपय आफन्त र साथीहरूले भनेको सुन्छु कि सहरमा बस्ने धेरै जसो महिला सर्जरी गरेर बच्चा जन्माउँछन्। नेपालमा आमाबाबु दुबैको सल्लाह मिले सर्जरी गरेर बच्चा जन्माउने निर्णय लिन सक्छन्।
सर्जरीबाट जन्मेका बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन रूपमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा साह्रै कम बहस हुने गरेको छ।आधुनिक प्रविधिले गर्भस्थ शिशुको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने जान्न सहयोग गरेको छ। नयाँनयाँ प्रविधिको विकाससँगै बच्चा प्राकृतिक रूपमा जन्माउनु ठीक कि सर्जरीबाट भन्ने विषयमा बहस र छलफल आवश्यक भएको छ।
यहाँ प्राकृतिक भन्नाले सुत्केरी बेथा पूरा भएर योनीबाट जन्माउने र सर्जरी भन्नाले पेट चिरेर जन्माउने कुरा हो।
मेरो जन्म हुने क्रममा मेरी आमा एकपटक पनि अस्पताल जानु भएन। कुनै डाक्टरलाई देखाउनु भएन। सुत्केरी हुने दिन आएपछि गाउँकै अनुभवीहरूले सघाए। आमालाई सुत्केरी गराए। त्यो समय गाउँमा यस्तै हुन्थ्यो। छिमेकी महिलाहरू भेला भएर सुत्केरी गराउँथे। अनुभवीहरूले सम्हाल्थे। शिशुको स्याहार गर्थे।
अझै पनि नेपालका धेरै गाउँमा यस्तै हुन्छ। कयौं नेपाली गर्भवतीहरू अस्पताल जानु, गर्भ परीक्षण गराउनु, नर्सको सम्पर्कमा बस्नु र अस्पताल वा स्वास्थ्य केन्द्रमा बच्चा जन्माउनु अनिवार्य मानिएको छैन। दिउँसोभरि मेलामा काम गरेर आएकी गर्भवतीले बेलुका घरमै बच्चा जन्माउनु, कसैले मेलामै जन्माउनु, केही बेरको बेथाले नै बच्चा जन्मिनु सामान्य घटना मानिन्छ। यस्तो अवस्थामा गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्यको जोखिम भइरहन्छ।
यसले महिला आफ्नो गर्भ संरक्षण गर्न र प्राकृतिक रूपमा बच्चा जन्माउन सक्षम छिन् भन्ने चाहिँ देखाउँछ। यसरी जन्मेका बच्चाहरू स्वस्थ रहन्छन् भन्ने केही तथ्यहरू पनि प्रस्तुत गर्न सकिन्छ।
नेपालजस्ता विकासोन्मुख देशहरूमा आधुनिक प्रविधिको विकाससँगै अवसर मिलेसम्म सर्जरी गरेर बच्चा निकाल्ने प्रवृत्ति बढ्दो क्रममा छ। गर्भवती र उनका परिवारजनसँग छलफल नगरी चिकित्सकहरूले सर्जरी गरिदिने प्रवृत्ति पनि बढ्दो छ। सर्जरी गरेर बच्चा निकाल्नु चलन नै भएको छ। व्यावसायिक नाफाका लागि खोलिएका धेरै अस्पतालहरूले सजिलै सर्जरी गरिदिन्छन्। खासमा यस्ता अस्पतालले सर्जरीबाटै बच्चा जन्माउन प्रेरित पनि गर्छन्। यसो गर्दा अस्पताललाई बढी लाभ हुन्छ।
यसरी हेर्दा प्राकृतिक रूपमा जन्म दिने काम बिस्तारै बन्द नै हुने हो कि भन्ने अनुमान गर्न सकिने भएको छ।
सर्जरीबारे यति कुरा गरिसकेपछि थप केही पक्षमा चर्चा गर्नु आवश्यक हुन्छ।
सर्जरी गरेर बच्चा जन्माउनु गलत हो? सर्जरी गराउनुमा के फाइदा छ?
सर्जरी गर्नुपर्ने मुख्य तीन कारण हुन्छन्– एक, बच्चाको स्वास्थ्यमा गम्भीर समस्या भएर सुत्केरी हुने समय अगावै बच्चा निकाल्नु पर्ने अवस्था आउनु।
दुई, आमाको स्वास्थ्यमा समस्या हुनु।
तीन, जन्मनुअघि बच्चा गर्भाशयमा तेर्सो पर्नु, नचल्नु र बच्चा धेरै ठूलो हुनु।
यस्तो अवस्थामा आमा र शिशुको ज्यान जोगाउन सर्जरी गर्नै पर्ने हुन्छ। जटिल अवस्थामा आमा र शिशुको ज्यान बचाउन सक्नु नै सर्जरीको सबैभन्दा ठूलो फाइदा हो। ज्यानभन्दा ठूलो कुरा अर्को हुने भएन।
अब जटिलताको अवस्था अलग राखेर हेरौं।
प्राकृतिक जन्मको विकल्पमा सर्जरी रोज्नु कति उचित हुन्छ? सर्जरीको बेफाइदा के छ? सर्जरीमा आमा र शिशुको पीडा कम हुन्छ? आमा र शिशुको स्वास्थ्यका लागि सर्जरी फाइदाजनक छ? दीर्घकालमा कस्तो प्रभाव पर्छ?
विकसित देशहरूमा वैज्ञानिक अनुसन्धानका निष्कर्षहरू आएपछि स्केन्डिनेभियन मुलुकहरूले प्राकृतिक जन्मलाई विशेष प्राथमिकता दिन थालेका छन्। विभिन्न वैज्ञानिक अनुसन्धानहरूले प्राकृतिक रूपमा जन्मेको शिशुले बाहिरको वातावरणमा आफूलाई अनुकूलनको तयारी गरेको हुन्छ भन्ने निष्कर्ष निकालेका छन्।
यस्तै यस्ता शिशुको जन्मने बित्तिकैको स्वासप्रश्वासमा खास ठूलो समस्या नपरेको देखिएको छ।
सर्जरी गरेर निकालिएका शिशुको तुलनामा प्राकृतिक जन्मका शिशुमा स्वास्थ्यसम्बन्धी समस्या कम पाइएको अध्ययनहरूको निष्कर्ष छ। अर्को महत्त्वपूर्ण कुरा, प्राकृतिक जन्म हुने क्रममा शिशुले पानी निल्छ, पानीसँगै लाभदायक जैविक र खनिज पदार्थहरू निल्छ। यसबाट शिशुमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ भन्ने निष्कर्ष अध्ययनहरूको छ।
सर्जरी गरेर निकालिएका बच्चामा प्राकृतिक जन्मका बच्चाको तुलनामा रोगले छुने अवस्था बढी देखिएको छ। दम, एलर्जी, मधुमेह जस्ता केही रोग सर्जरीबाट जन्मेका व्यक्तिमा बढी देखिएको छ। आमाको अवस्थामा पनि केही फरक हुने निष्कर्ष केही अध्ययनहरूको छ। प्राकृतिक जन्म दिँदा आमाको शरीरमा हर्मोन उत्पादनको राम्रो तयारी भएको हुन्छ। यस्ती आमालाई सुत्केरीपछिको संक्रमण र जटिलताको सम्भावना निकै कम देखिएको छ।
सर्जरी गर्दा आमाको स्वास्थ्यमा नकारात्मक असर पर्ने अवस्थाहरू धेरै छन। संक्रमण, रक्तस्राव, लामो समय दुखाइ इत्यादिको समस्या हुने सम्भावना बढी हुन्छ। प्राकृतिक जन्ममा प्रसवपीडा भए पनि छोटो समयका लागि हुन्छ। दीर्घकालका लागि आमा र शिशु दुवैलाई लाभ हुन्छ।
चिकित्सकको सल्लाहअनुसार बाध्यात्मक अवस्थामा बाहेक प्राकृतिक जन्म उत्तम मानिन्छ। सर्जरी जीवनको जोखिम हुने अवस्थाका लागि मात्र हो भन्ने बुझ्न जरूरी भएको छ। प्रविधिको प्रयोग सजिलोका लागि नै हो तर प्रकृतिका विरूद्ध होइन। सुत्केरी हुनुअघि गर्भवती र परिवारजनले गम्भीरतापूर्वक सोच्नु अत्यावश्यक छ।
बच्चा जन्माउने तरिका निर्धारण गर्ने अधिकार पूर्ण रूपमा आमामा हुन्छ भन्ने जिकिर ठिकै हो। तर आमा र शिशु दुवैको हित र आम्दानीको उद्देश्यले चिकित्सकले सर्जरी सिफारिस नगरोस् भन्नका लागि यसमा ध्यान दिन जरूरी देखिन्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा पिएचडी गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)