फुटबलको चर्चा भइराख्दा यसो केही कुरा गर्न खोजेँ, हाम्रा फुटबल प्रेमी दाजुभाइले धेरैजसो ठडाउने प्रश्न हो यो।
फिफा पुरूष फुटबल विश्वकप भए पनि खोइ भकुन्डोले त दर्शकलाई फलानो केटी, फलानो केटा भनेर पक्षपात गरेको जस्तो लाग्दैन मलाई। जब म अन्तर्राष्ट्रिय रंगशालाहरू पनि हेर्छु, पुरुषहरू जत्तिकै महिलाहरूले पनि खेलको आनन्द लिइरहेको देख्छु। निस्सन्देह, परम्परागत रूपमा खेलकुदमा पुरुषहरूको प्रभुत्व रहेको थियो तर अहिले परिदृश्य फरक छ। त्यसो भए किन बारम्बार खेलकुदद्वारा सूक्ष्म लिंगवादलाई संकेत गर्न निरन्तर प्रयोग गरिन्छ?
अहिलेसम्म आइपुग्दा मैले जीवनमा धेरै शौखहरू पालेको छु। लेख्ने, बोल्ने, नाच्ने, गाउने, मौका पाउनासाथ म सबै कुरामा भाग लिइहाल्थेँ। सानैदेखि मेरो विशेष कमजोरी भएको क्षेत्र भने खेलकुद।
समाजका स्वघोषित विश्लेषकहरूले अहिले मलाई हेरेर भन्लान्, 'शरीर हेर्दा कत्तिन खेल्न सक्ने जस्तो!'
म सानोमा निकै फिट, राम्रो र एथ्लेटिक हुँदा पनि खेलकुदतर्फ सधैं हिचकिचाउँथेँ। सानो हुँदा धेरै बिरामी पर्थें। अलिकति चिसो लाग्ने बित्तिकै एन्टिबायोटिक चलाइहाल्नु पर्थ्यो। यसो बारीतिर जानासाथ भुरूरू जीउभरी एलर्जी आइहाल्थ्यो। साह्रै अनाडी पनि थिएँ, लडी हाल्ने, चोट लगाई हाल्ने खालको। मेरा बाआमा त्रसित हुन्थे। घरमा कहिले छोरी सहीसलामत आइपुग्ली भनेर। त्यसैले म अरू जसरी बाहिर खेल्न जाँदिनँ थिएँ।
मेरो घरै अगाडि एउटा स्कुल छ। त्यहाँको ठूलो खेल मैदान मेरो आँखै अगाडि हुन्थ्यो। अरू साथी खेलेको, धुलोमा लडिबुडी गरेको, लडेर धुलो टक्टक्याउँदै खिस्स हाँस्दै उठेको, म अरूका यस्ता गतिविधि झ्यालबाट टुलुटुलु हेर्थेँ। रापुन्जेलले अग्लो टावरबाट लामो कपाल झारेर बाहिरी संसार कस्तो होला भनेर मनन गरे जसरी। म मेरो भुइँ तले घरबाट मसरूम कट भएको छोटो कपाल लिएर यो खेलकुदको दुनियाँ कस्तो होला भनेर सोचिरहन्थेँ।
अलि बुझ्ने भएपछि बाबाले चाख दिएर क्रिकेट हेर्दा म पनि खुबै ध्यान दिएर हेर्न थालेँ। त्यतिबेला टिभीमा हातिम, सोनपरी मात्र त्यति लगावले हेरिरहन्थेँ। त्यहाँको जादुतिलस्मी दुनियाँ निकै रमाइलो लाग्थ्यो। तर बाबा भने मैले जादुगरहरू, परीहरू, भूतहरू एकटकले हेरेजसरी अफ्रिदी, तेन्दुलकर, पोन्टिङलाई हेर्थे। मलाई यो निकै रोमाञ्चक लाग्थ्यो। यसो टिभी हेर्दा न संगीत थियो न केही, हातमा लौरीजस्तो बोकेर दुई जना कुदी मात्र रहन्थे।
के रमाइलो होला त भनेर छक्क पर्थें। यसरी बाबाले मन्त्रमुग्ध भई क्रिकेट हेरेको देखेरै म पनि क्रिकेट हेर्न थालेँ। बिस्तारै बिस्तारै खेलका नियम बुझ्न थालेँ, खेलाडी चिन्न थालेँ। मन आफैं फुरुङ्ग हुन्थ्यो।
‘बाबा यो अलस्टैर कुक हो है?
बाबा नो बल भन्या के हो?
हत्तेरिका कति डक भाको।’
यसरी अलिअलि गर्दागर्दा मैले क्रिकेट मन पराउन थालेँ। हरेक वर्ष दसैं जसरी घरमा आइपिएल पनि आउँथ्यो। हुँदाहुँदा मैले सबैलाई एउटा चुट्किला सुनाउन थालेँ।
‘मेरो नाम मिमांशा ढुंग थियो। अनि मैले क्रिस गेलसँग बिहे गरेँ, अनि मेरो नाम मिमांशा ढुंगेल भयो।’
म सानोमा पढ्ने स्कुलमा त्यतिखेर रोलबल भर्खर नेपालमा आएको थियो। रोलबल दुई टोलीहरूबीच खेलिने खेल हो। यो रोलर स्केट, बास्केटबल, ह्यान्ड बल र थ्रोबलको अद्वितीय संयोजन हो। यो ‘रोलर जुत्ता’ मा खेलिन्छ। त्यतिखेर म ५ कक्षामा पढ्थेँ। ठूला-ठूला दाइ-दिदी सबै रोलबल खेल्ने भनेर रोलर स्केट किन्न थाले। प्रशिक्षण स्कुलमै हुन्थ्यो। मलाई यो खेल्ने साह्रै रहर लाग्यो। घरमा मैले निकै बिन्ती गरेँ। रोइकराइ कोलाहल पनि गरेँ, बाआमाले मान्दै मानेनन्।
‘खुट्टा पिटिक्कै भाँचिन्छ। हड्डी जोड्न रड हालेपछि जिन्दगीभर खुट्टा खोच्याउँदै हिँड्नु पर्छ।’
रोलबलको नाम लिनासाथ मेरा दूरदर्शी बा-आमा एकैचोटि मेरो हात, खुट्टा भाँचिएको, टाउको फुटेको, ह्वाल्ल रगत बगेको दूरको दृश्य देखिहाल्थे। रोलबल खेलेर अरू देश-विदेश घुम्न थाले। आफू थुक निल्दै सद्दे हात, खुट्टा, टाउको लिएर बाँचिरहे।
ठूलो क्लासमा उक्लिँदै जाँदा खेलकुदलाई पढाइले नै गोपी क्याच पार्यो। हाम्रो कक्षाका केटाहरूले छोटो ब्रेकमा हात र पेपर बलले टेबल टेनिस खेल्थे।
मैले पनि कहिलेकाहीँ खेल्न खोज्थेँ, जान्थिनँ। अनि उनीहरू झर्को मान्थे।
‘बल्लबल्ल खेल्न पाको छ, उता जा अहिले’
मेरा मिल्ने साथीहरू पनि मसँग खेल्न मान्दैनथेँ।
खेलकुद अवधि भनेको हप्तामा एकपटक स्पोर्टस् पिरियड हुन्थ्यो। हाम्रो क्लासका थुप्रै केटाहरू घन्टी लाग्नसाथ कुलेलाम ठोक्थे खेल्न। जाबो ४५ मिनेट हुन्थ्यो। हाम्रो लागि त्यो नापभन्दा अमूल्य समय थियो। मेरा केटी साथीहरू खेल्न हत्तपत्त जान्थेनन्। अरू क्लासमा निकै राम्रो खेल्ने केटीहरू नभएका होइनन् तर मेरो क्लासमा भने कर गर्नै पर्थ्यो। बल्लबल्ल कोही खेल्न मान्थ्यो, त्यो पनि ब्याडमिन्टन मात्र। आफूलाई बास्केटबल, फुटबल खेल्न मन लाग्थ्यो। केटीहरू बरू गफै गरेर बस्थे, खेल्न जान्थेनन्। कोही होमवर्क गर्थे, कोही के, म एक्लै पर्थें।
कत्तिपटक एक्लै भए पनि केटाहरूलाई मलाई पनि खेलाओ न भन्दै बास्केटबल खेल्न पुग्थेँ, कहिलेकाहीँ टिममा राख्थे पनि। तर खेले पनि एकअर्कालाई मात्र पास गर्थे। मैले स्कोर गरे पनि श्रेय सधैं आफैँ लिन्थे, अनि दिक्क लाग्थ्यो।
केही सीप नलागेपछि स्कुलको वार्षिक खेल दिवसमा केटीहरूको रिले रेसमा ब्लु हाउसबाट मैले पनि भाग लिएँ। जिन्दगीमा खेलकुदमा पहिलो मेडल त्यही दिन प्रथम भएर पाइयो।
११-१२ म पढ्न थालेपछि, मैले नयाँ अनुभव बटुल्न थालेँ। हाई स्कुलमा महिला खेलकुदका लागि धेरै अवसरहरू थिए। स्कुलको तुलनामा धेरै केटीहरूले चासो पनि देखाएका थिए। तर पनि मैले कहिल्यै गएर खेल्ने हिम्मत जुटाउन सकिनँ।
बेलाबेला फिमेल फुटबलको लागि कसलाई रूची छ भनेर नाम टिप्न आउँदा पनि म मनमनै गम खाँदै बस्थेँ, नाम दिन्नथेँ। हाम्रो हाई स्कुलमा बर्सेनि मिनी म्याराथन हुन्थ्यो। त्यसमा भने जोड गरेरै भए पनि भाग लिन्थेँ। म्याराथन पूरा गर्न सबैलाई मेडल दिइन्थ्यो। म त्यतिमै चित्त बुझाउँथें।
१२ पढ्दासम्म मलाई साइकल चलाउन नि आउँथेन। मेरो घर तल बस्ने भाइ श्रेयमणिले एकपटक साइकल लिएर आयो। बहिनीले त उबाटै साइकल चलाउन सिकी हालिछ। मलाई घनघोर बेइज्जत महशुस भयो। एकदिन कोही नभएको बेला सुटुक्क साइकल लिएर मलाई आफैं साइकल चलाउन पनि सिकें। १२ क्लासमा पढ्नेले ३ कक्षामा पढ्ने भाइको साइकल चलाउन सिकेकोमा गद्गगद हुनुपरेको कस्तो बिडम्बना थियो!
फुटबलको बारेमा मलाई त्यति धेरै ज्ञान थिएन। मलाई याद भएको पहिलो विश्वकप २०१० को हो। साउथ अफ्रिकामा भएको त्यो विश्वकप मलाई फुटबलले भन्दा शकिराको वाक्का वाक्का गीतले गर्दा याद छ। त्यतिखेर लिरिक्स लेखी/लेखी याद गर्ने जमाना थियो। गीत साह्रै राम्रो लागेर कपीमा लेखेरै वाक्का वाक्का कण्ठ पारेको थिएँ।
२०१४ मा ९ क्लासमा पढ्दा स्कुलमा विश्वकप मनाउने, सबै जना आफ्नो आफ्नो टिमको जर्सी लगाएर आऊ भनेर भनियो। मेरो कुनै टिम थिएन, तर जर्सी लगाउन खुबै रहर थियो।
घर आएर सोध्नुपर्यो, ‘बा-आमा म कुन टिमको जर्सी लगाम?’
२००२ देखि विश्वकप नजितेको ६ पटकको विजेता ब्राजिलबाहेक मेरो बाआमाले अर्को टिम भन्नै सकेनन्।
बहिनी निकै सानी थिई, 'आरजेन्टिना, आरजेन्टिना' गर्दै थिई, एक जना घरमा आएका आफन्तले भनिहाले
'हुँदैन! आरजेन्टिनाले नेपालीहरूलाई हेप्छ।'
‘फकल्याण्ड्स युद्धमा गोर्खाहरूले बेलायतको तर्फबाट लडेका थिए, त्यसैले आरजेन्टिनामा नेपालको झन्डा जलाइन्छ, नेपालीले भिसा नि पाउँदैनन्।’
खै के आधारमा उनले यो कुरा मलाई सुनाए। यो मान्यता अझै पनि धेरैको छ।
फकल्याण्ड्स युद्ध १९८२ मा अर्जेन्टिना र युनाइटेड किङडमबीच दक्षिण अटलान्टिक मा दुई ब्रिटिस निर्भर क्षेत्रहरू को लागि एक दश हप्ताको अघोषित युद्ध थियो। तर कुन आधारमा मानिसहरूले यसलाई अर्जेन्टिनाको सम्पूर्ण राष्ट्रविरूद्ध दुश्मनी बनाउन प्रयोग गरे, यो मेरो समझ बाहिरको कुरा हो।
अर्जेन्टिनाले नेपालीप्रति रिस गर्छन् अरे। मार्च २५,२०१७ मा अर्जेन्टिना र बार्सिलोना एफ सि फुटबलका सुपरस्टार लियोनल मेस्सीले आफ्नो लियो मेस्सी फाउन्डेसनमार्फत नेपालको भूकम्प प्रभावित जिल्लाहरूमा १४ स्वास्थ्य सेवा केन्द्रहरू निर्माण गर्न योगदान दिएका थिए, हामीले यस निर्णयमा अर्जेन्टिनाका जनता रिसाएको देखेका थिएनौं त!
फुटबलको विश्वकप विश्व युद्ध जस्तै तात्तिन्छ। कोल्ले जित्ला भनेर हजारौंको बाजी हाल्ने मान्छे पनि भेटेको छु, रातरात भर जागेर राता आँखा लिएर पढ्न आउनेहरू पनि भेटेको छु। आफ्नो टिम हार्यो भनेर ग्वाग्वा रूने जमात नि यही छ, मेस्सी भर्सेस रोनाल्डो, नेयमार भर्सेस ओस्कार्स गर्ने पनि चिनेको छु।
२०१८ को फाइनल फ्रान्स विरूद्ध क्रोएसिया हुँदा म ठूलो धर्म संकटमा थिएँ। फ्रान्स मलाई मनपर्ने टिम थियो, फाइनलकै भोलिपल्ट भने म क्रोएसिया उड्नेवाला थिएँ।
मनले भन्छ,'क्रोएसियाले जितोस्, भोलि त्यही जाने हो, विश्वकप जित्यो भने त त्यहाँ कति रमाइलो होला'
मस्तिष्क भन्छ, 'फ्रान्ससँग उत्कृष्ट लाइनअप छ। फ्रान्स हार्ने कुनै चान्स नै छैन।'
नभन्दै फ्रान्स जित्यो र म क्रोएसिया उडें।
जाग्रेब एयरपोर्टबाट निस्कना साथ क्रोएसियामा एउटा कारबाट झन्डा बोक्दै एउटा सानो बालक निस्कियो।
उसले हर्षोल्लासका साथ मलाई हेरी भन्यो, 'वी बिकेम सेकेन्ड, डिड यू सी? वी बिकेम सेकेन्ड'
त्यो फुच्चेको खुसीमा म यति खुसी थिएँ कि मानौं विश्वकप मैले नै जितेको हुँ।
म २०१९ मा जर्मनी पुगें। नयाँ देशमा मेरो नयाँ अठोट थियो। जेजे कुरा गर्न डर थियो, म सबै गरेरै छाड्छु। मेरो जीवनको सबभन्दा ठूलो डर खेलकुदमा उत्कृष्ट नहुनु थियो। म फुटबल टोलीको लागि प्रयास गर्न धेरै हिचकिचाउँथे। लामो समयसम्म फुटबल खेल्ने इच्छा भए पनि हिम्मत जुटाउन सकिनँ।
मेरा केही सर्बियाई साथीहरू थिए जो भलिबल खेल्थे, उनीहरूको लहैलहैमा लागेर म पनि भलिबल खेल्न जान थालें। मलाई भ्रम थियो कि सबै मजस्ता सुरूआतीहरू होलान्, तर त्यहाँ त राष्ट्रिय अन्डर १९ का खेलाडीहरू थिए। खेल्दिनँभन्दा पनि आऊ, आऊ भनेर मलाई भलिबल खेलाउन थाले।
म गोज्याङरी सर्भिस कटाउन पनि नजान्ने थिएँ। तर उनीहरू कुर्थे। २-३ पटकमा सर्भिस कटाएसम्म धैर्य गरी बस्थें। एकपटक बल थाप्ने हुँदा कान्छी औंलामा भलिबल पर्यो। बाआमाको डर आज पूरा भो भनेर म तर्सिएको थिएँ, औंला पूरै नीलोमात्र भो। शिवजी नीलकण्ठ थिए, म निलअम्ले!
म बेला-बेला अरूहरूले टेबल टेनिस खेलेको नि हेर्न जान्थें। तिनीहरूले खेलेको गतिले मलाई छक्क पार्थ्यो। मानिसहरूले मेरो भयानक खेलकुद कौशल हेरेर मलाई निरूत्साहित गरेनन्। मान्छेहरू मलाई सिकाउन तत्पर थिए। विस्तारै खेलकुदमा आत्मविश्वास बढ्दै गयो।
कोरोनापछि मैले फुटबल खेल्न अब पर्खिन नसक्ने निर्णय गरेँ। धेरै डर, हिचकिचाहट र शंकाको भूमरी लिएर म एकदिन महिला फुटबल टोलीको लागि नाम दर्ता गर्न गएँ। मैले वरपर हेरेँ। मैले चिनेको कोही थिएन। मैले प्रायः युरोपेली र ल्याटिना केटीहरू देखेँ। मबाहेक नेपालका कोही पनि थिएनन्। नेपाललाई छाडौं, दक्षिण एसियाबाटै एउटै अनुहार पनि थिएन। मैले कहिल्यै फुटबल खेलेको थिइनँ। मलाई गहिराइमा नियमहरू पनि थाहा थिएन।
हामीसँग महिला प्रशिक्षक हुनुहुन्थ्यो। उनले बुन्डेसलिगामा समेत खेलिसकेकी थिइन्। उनको व्यक्तित्व ओजपूर्ण हुनुका साथै धेरै गम्भीर अनुहार थियो। उनले सबैलाई प्रश्न सोध्दै थिइन्। म त्रसित भएँ।
उनी मेरो छेउमा आएर भनिन्, ‘तिमीले कहिल्यै फुटबल खेलेको छौ?’
म इमानदार हुनैपर्यो। तल हेरेर भनें, 'छैन'
उनले मलाई हेरेर मुसुक्क हाँसिन् त्यसपछि भनिन्, 'अब रोकिन पाइँदैन। टिममा स्वागत छ। हप्ताको ३ दिन ट्रेनिङ हुन्छ। समयमा आउनु!'
त्यसबेलादेखि मैले हप्तामा तीन दिन धेरै मेहनत गरें। हामीले वार्मअप, दौड, व्यायाम, के के जाति ट्रेनिङ गर्नुपर्थ्यो अनि नियमित फुटबल खेल्नुपर्थ्यो। पानी परे पनि कहिलेकाहीँ ट्रेनिङ रोकिन्थेन। हाम्रो टिम सानो लिगमा पनि थियो। मैले मेरो फुटबल खेल्ने धोको जर्मनीमा मज्जाले पूरा गरे।
नयाँ विश्वकप विजेता छिट्टै छनोट गरिनेछ।
फुटबल मेरा लागि अहिले पनि त्यति नै आकर्षक छ, जति केही वर्ष पहिले थियो। धेरै जनाको लागि यो एउटा खेलभन्दा निकै बढी छ। धेरैको लागि यो जीवन बाँच्ने एउटा तरिका हो। वर्ल्डकप एउटा पर्व हो जुन हरेक ४ वर्षमा आउँछ र पुस्ता, पृष्ठभूमि र परिवारलाई जोड्छ। फुटबल एउटा धर्म हो जसले खेलभन्दा माथि कुनै भगवान देख्दैन। म फुटबल विशेषज्ञ होइन। न त म सबै खेलाडीको नाम लिन सक्छु। तर मैले फुटबल चिनेको छु, फुटबल खेलेको छु र फुटबललाई अर्गानिक रूपमा हेरेको छु।
र त्यसपछि म यस्ता मानिसहरूलाई भेट्छु जसले मेरो कथा वा पृष्ठभूमि केही थाहा नपाइकन, मेरो लिङ्गको आधारमा खेलकुदको मेरो ज्ञानलाई सीमित गर्न खोज्छन्।
सन् २०२२ को अमेरिकाको तथ्याङ्क हेर्दा २०.९% खेल पत्रकार महिला र ७९.१% खेल पत्रकार पुरुष छन्।
यदि हामीले नेपालका महिला खेलाडी वा महिला खेलकुदको तथ्याङ्क गुगल गर्ने प्रयास गर्छौं भने कुनै निश्चित संख्या पत्ता लगाउन निकै गाह्रो छ।
महिलाहरूलाई खेलकुदसम्बन्धी प्रोत्साहनबाट टाढा राख्ने सामाजिक संरचना नै यस न्यून प्रतिनिधित्वको कारण हो। नारी नाजुक भएको बहानामा हामी पितृसत्तात्मक संरक्षणको पर्खालमा थुनिएका छौं।
यदि एक महिलाले खेलकुदमा आफ्नो राय राख्न खोज्दा, पुरूष-प्रधान समाजले सम्पूर्ण खेलकुद नै आफ्नो विरासतको सम्पत्ति जसरी 'म्यन्स्प्लेन' गर्न केही समय लाग्दैन। मैले अद्भूत महिला खेलाडीहरू देखेको छु।
मैले खेलकुद उत्साहीहरूलाई भेटेको छु जो मुख्यतया महिलाहरू छन्।
मसँग खेलकुद खेल्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने महिला साथीहरू छन्।
मेरी एक महिला साथी छ जो जिल्ला स्तरको खेल ओलम्पियाड विजेता हो।
गौरिका सिंह, रमा सिंह, संगिना वैद्यजस्ता धेरै महिला खेलाडी छन् जसले राष्ट्रलाई गौरवान्वित गरेका छन्।
भर्खरै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दा त्यहाँ राष्ट्रको जयजयकार गर्न दर्शकको भीड थियो। तै पनि खेलकुदलाई लिंगमा सीमित गर्ने मूर्खहरू यत्रतत्र छन्।
तपाईं एक महिलालाई उनको खेलकुद कौशलको लागि प्रशंसा गर्न सक्नुहुन्न तर उनको अपमान गर्न कुनै कसर छोड्नुहुन्न।
खेलकुदमा महिलाको वस्तुकरण तथाकथित बुद्धिजीवी मानिसहरूको लागि लज्जास्पद कुरा हो।
सेरेना विलियम्स, सिमोन बिल्स र मेगन रापिनोजस्ता आधुनिक दिनका सुपर स्टारहरूदेखि लिएर खेलकुदमा महिलाको प्रतिनिधित्व र हकको लागि लडिरहेका महिला अधिवक्ताहरूसम्म, महिला खेलाडीहरूले शताब्दीयौंदेखि एथ्लेटिक्समा आफ्नो छाप छोड्दै आएका छन्।
फुटबल वा कुनै पनि खेल एक मनोरञ्जन गतिविधि हो जसको उद्देश्य टोली कार्य, एकता र मानव गतिशीलताको सन्देश साझा गर्नको लागि हो। तपाईंको पूर्वाग्रही सोचले कसैको उत्साह मार्न बिल्कुल आवश्यक छैन।
मेरो गुनासो मेरो बाबाप्रति होइन जो म्याच सुरू हुनलाग्यो भनेर जोडजोडले, 'सुनु! आज ब्राजिलको खेल छ', भन्दै बोलाउँछन्।मेरो गुनासो मेरा पुरुष साथीहरूसँग पनि होइन जो मसँग मस्त एम्बाप्पेको तारिफ गर्दै बस्छन्।
मेरो गुनासो मात्र समाजका केही लज्जास्पद कार्टुन पात्रहरूसँग छ जो खेलकुदलाई खुलेआम लिङ्गको आधारमा बेच्दै छन्।
म फाइनलको लागि धेरै उत्साहित छु र मेरो व्यक्तिगत फुटबल मेमोरी लेनमा कसले उनीहरूको नाम थप्छ भनेर हेर्न पर्खिरहेको छु।
अब के मैले तपाईंलाई मेरो उत्साह प्रमाणित गर्न ५ फाइनलिस्टको नाम भविष्यवाणी गर्नुपर्छ?