खेतमा भर्खर धान काटिएको थियो। धान, पराल घर लैजान सबै हतारमा थिए। परदेशको बसाइँको कारण लामो समय खेततिर खेतीपातीको समयमा जाने मौका मिलेको थिएन।
यसपालि भने खेतबारी र मेलोपातो गर्ने साइत जुर्यो।
खेतमा पुग्दा पुराना सम्झना मस्तिष्कमा आए।
बाल्यकालका कुरा सम्झनाको रूपमा उर्लिए। त्यो बेला अहिले जस्तो खेतमा ठूला गह्रा हुँदैन थिए। स-साना गह्रामा गोरुले खेत जोती खेतीपाति गरिन्थ्यो।
त्यो समयमा कसका गोरु बलिया र मोटा भनेर प्रतिस्पर्धा नै हुने गर्थ्यो।
रोपाइँको बेलामा गोरु दौडाउने, हिलो खेल्न कुरो त सामान्य नै हुन्थ्यो। त्यो बेला बाहुनले जोत्न नहुने भन्ने प्रचलन पनि व्यापक थियो।
अर्को रमाइलो कुरो के थियो भने हेगा, खोक चढेर खेत सम्याउन हुने तर हलोको अर्नौं समाउन नहुने रे।
म त्यति बेला कक्षा आठमा पढ्थें होला। हाम्रो खेत जोत्न एक जना मगर दाइ हली आउनु हुन्थ्यो।
गोरु भने हाम्रो घरमै थिए। अहिले जस्तो पढाइमा ध्यान दिने अवस्था गाउँतिर कहाँ थियो र?
बिहानभरी गोरुलाई घाँस काट्न बारीमा जानु दैनिकी नै हुन्थ्यो। पढाइ त काम सकेपछि समयमा गर्ने अवस्था थियो। त्यही अनुसार घाँस काट्न गइन्थ्यो। उस्तै परे खेतीपातीको समयमा स्कुलभन्दा कामको नै महत्त्व बढी हुन्थ्यो।
म अलि विद्रोही किसिमको मान्छे भएकोले होला, बाहुनले जोत्न हुन्न भन्ने कुरोमा विश्वास गर्दिन थिएँ।
बाबा आमा सामुन्ने जे सुकै भए पनि म मगर दाइसँगै जोत्न चाहन्थें।
मगर दाइ भने बाहुनले जोत्न हुन्न भन्दै मलाई जोत्न दिनु हुन्थेन। हुन त सानै थिएँ। रहर मात्र ठूलो थियो। मेरो रहर बढ्दै गर्दा गाउँतिर भने एक दुई जनाले त्यो बेलामा जोत्न सुरू गरेका थिए।
गाउँमा भने उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक थियो। त्यो अवस्थाले मलाई कहिलेकाहीँ सोच्न बाध्य बनाउँथ्यो। मलाई सम्झना छ। कहिलेकाहीँ मगर दाइले जोत्न नआउँदा बाबा चिन्तित हुनुहुन्थ्यो भने काम ढिलो हुन्थ्यो।
म भने बासँग आफैं जोत्छु भन्दै फूर्ति लगाउँथें। बाले केही जवाफ नै दिनुहुन्थेन। बाको मौनतालाई म मौन स्वीकृतिको रूपमा लिन्थें।
मेरो रहर बढ्दै गयो। खेत जोत्न आउने हली दाइको नखरा बढी हुँदै गयो। कहिले समयमा न आउने कहिले बीचैमा छाेडेर हिँडिदिने।
शनिबारको दिन थियो। बासँगै गोरु लिएर खेतमा गएँ। हली दाइ आइसकेका थिए। खेतमा गोरु छोडेर बा घर फर्कनुभयो। म भने खेतमै थिएँ। दिउँसोपख हली दाइ पानी पिउन कुवातिर जानुभयो, म हलो समाएर जोत्ने प्रयास गरें। तल-माथिबाट बाहुनको छोराले हलो समायो भन्दै हेर्दैथिए। गोरुलाई लौराले हिर्काउँदा दौडिएँ। जोत्नु त परै जाओस्। समाइरहेको अनौबाट फुत्किएर तल्लो गह्रामा पुगेँ। हली दाइ दगुर्दै आएर गोरुलाई अड्याउनुभयो।
म रातोपिरो भएँ। हली दाइलाई बालाई नभन्न अनुरोध गरें। हली दाइले केही जवाफ नै दिएनन्। बा दिउँसोको खाजा लिएर आउनु भयो। म बाको नजिक नै पर्न सकिनँ। दिउँसोको खाजा खाएर बासँगै घर हिँडें।
हली दाइले बालाई जोतेको बारेमा बताउनु भएन। मैले मनमनै धन्यवाद दिएँ। गाउँलेहरूको मुख भने बन्द रहेन बालाई सुनाइ हाले।
बाले पनि छेकबार लगाई हाल्नु भयो। व्रतबन्ध भएको छैन। व्रतबन्ध गरेसी नछुनु नि! म हेरिरहें केही बोलिनँ।
समय बित्दै गयो। म पनि बच्चाबाट जवान हुँदै गएँ, समय अवस्था पनि केही सहज हुँदै गयो। व्रतबन्धभन्दा पहिला सुरू भएको त्यो जोत्ने कार्यपछि पनि सुचारू भयो।
बाको बिमारीको कारण आर्थिक अवस्था कमजोर हुँदै गएपछि आफैं हली दाइ हुन थालियो।
मनमा भने गर्व नै थियो। आफ्नो कर्म गरी खान हुन्छ भन्ने विश्वास बढ्यो। पहिला रहर बिस्तारै बाध्यतामा बदलिन पुग्यो।
स्कुल बिदाको दिन काँधमा हलोजुवा अगाडि गोरु गाउँलेहरू बाहुन हली भन्दै बोलाउँदा पनि हिम्मत भने घटेन।
त्यो परिस्थिति अहिले भने बिल्कुल देखिएन।
पहिलो कुरो त अब गोरुले जोत्ने अवस्था नै बिस्तारै विस्थापित नै भएको छ।
अहिले खेतमा पुग्दा गोरु होइन ट्र्याक्टर देखिन्छन्। न बिहानभरी घाँस काटेर गोरुको पेट भर्नुपर्ने। खेतका गह्रा पनि ठूला ठूला भएका छन्।
अहिले पहिला जस्तो हली खोज्नुपर्ने अवस्था पनि कहाँ रह्यो र?
म एकछिन विगतको सम्झनामा हराएँ। अहिले त हली र गोरु होइन खेत जोताइमा ट्र्याक्टर र ट्र्याक्टर ड्राइभर (गुरुजी) भेटिन्छन्। हली त भन्ने कुरो भएन ड्राइभर या गुरूजी जे भनौं फरक पर्दैन।