दिपावली र छठ मनाउन घर गएको थिएँ। घर पुग्ने क्रममा बाटोमा धेरैसँग भेट भयो। उनीहरूसँग सञ्चो बिसञ्चोको खबर आदानप्रदान भयो।
रामुसँग पनि मेरो भेट भयो। खबर खाबर सोधेपछि उसले सोध्यो, 'दाइ, भोट कसरी हाल्ने हो?'
उसको प्रश्न सुनेर म अक्क न बक्क भएँ। किनकी मसँग जवाफ नै थिएन। जवाफ नआएर हैन, जवाफ दिन नसकेर के भनुँ भन्ने भयो।
मलाई थाहा थियो रामुको नागरिकता नै छैन। जब कि भोट हाल्न नागरिकता आवश्यक पर्छ। भोट हाल्नकै लागि नागरिकता त चाहिन्न तर मतदाता नामावलीमा नाम हुनुपर्छ जसका लागि नागरिकता चाहिन्छ।
उसलाई कसरी भन्नु कि तिम्रो नागरिकता नै छैन, नागरिकता भएको नागरिकले मतदातापत्र लिन्छ र त्यो लिएर भोट हाल्छ।
हरेक भेटमा उसले सोध्छ, 'दाइ, मेरो नागरिकता कहिले बन्छ?'
आज प्रश्न अर्कै भए पनि नागरिकता बिना जवाफ दिन नसक्ने प्रश्न सोध्यो।
रामु नपढेको भए पनि ऊसँग धेरै कुराको ज्ञान छ, अनुभव छ। पढेर हैन, उसलाई परेर हुनुपर्ने भन्दा बढी नै ज्ञान छ तर नागरिकलाई हुनेसँगको जस्तो केही कुराको अनुभव छैन।
म केही बेर नबोली यत्तिकै उभिरहेँ। म चुप देखेर रामु नै बोल्यो।
'दाइ, मलाई थाह छ तपाईं जवाफ दिन सक्नुहुन्न। मलाई जवाफको अपेक्षा छैन। तर साँच्चै भन्दा मलाई भोट हाल्ने मन छ।'
मन कटक्क भयो। म फेरि बोलिनँ। उसले नै थप्यो।
'मलाई त्यो उम्मेदवारलाई भोट दिने मन छ जसले मेरो समस्या मात्रै हैन, नागरिकता विहीन लाखौंको समस्या समाधान गर्नेछ। जसले जनताको वास्तविक मुद्धा उठाउने छ, आवश्यक नीति नियम बनाउने छ। जसले बनाएको काननुलाई आवश्यकताअनुसार परिमार्जन गर्न सक्नेलाई, देशको व्यवस्थालाई जोगाएर आर्थिक समृद्धको पहरेदार गर्नेछ। जसले हाम्रो आवाज संसदमा उठाउनेछ। भोट दिने मन छ तर कसरी दिनु?'
उसकै कुरा सुनेर बसेँ।
'तपाईं सोच्दै हुनुहुन्छ होला यो अनपढेलाई कसरी थाहा भयो होला? दाइ, पसल चलाएर बस्छु यहाँ कयौँ मान्छे आउँछन्, गफिन्छन्। म सुनेर सिकेको छु, जीवनको भोगाइले सिकाएको छ।
यहाँ आउनुले त 'पार्टीलाई जहिले भोट दियो, जितायो तर समस्या जहाँको त्यहीँ, यदि फरक धारका, राम्रो विकल्प भयो भने उसलाई नै भोट दिने' जस्ता कुरा गर्छन्।'
रामुले थप्यो, 'मान्छेहरू भन्छन्- स्वतन्त्रहरू जनताकासँग भिजेका छन्, स्वच्छ छविका छन् तर उनीहरूले जितेर के नै गर्न सक्छन् र? यो राजनीतिक पार्टीहरूको बीचमा संसदमा बोल्न पाउँछ कि नाई, जनताको समस्यालाई समाधान गर्छ कि नाई थाहा नै छैन।'
सुनेको थिएँ, असली राजनीति चर्चा पसलहरूमा हुन्छ। हो रहेछ। रामु पसल चलाउँदै धेरै कुरा बुझ्ने भएछ तर के गर्नु, बुझेको कुरा सदुपयोग गर्नका लागि योग्य छैन।
म घर आएँ। आमाले सोध्नुभयो, 'बाबु, यो पटक फलाना पनि पुनः उम्मेदवार भएका छन्। (पार्टीका उम्मेदवारको नाम लिँदै) जहिले जितायो, केही परिवर्तन हुने हैन क्यारे। म त यो पटक भोट नै दिन्नँ। जिताएर के नै गर्छ र?'
आमालाई सम्झाएँ। भोट नदिने कुरा गलत हो। मतदानमा सहभागी हुनु हरेक नागरिकको कर्तव्य र अधिकार हो। लोकतन्त्रमा मतदानमा आफू र अरुलाई पनि सहभागी गराउनु पर्छ। यही त लोकतन्त्रको सुन्दर पक्ष हो। भोट नहाल्नु राम्रो हैन बरू सही विकल्पलाई मतदान दिनु राम्रो हो। राम्रो उम्मेदवारलाई जिताउनु पर्छ तर राम्रो को हो त्यो छनोट गर्न सक्नुपर्छ।
आमाले सोध्नुभयो, 'बाबु, रामुले भोट हाल्न पाउँछ कि नाई? तिमीले भन्यौ कि मतदानमा सहभागी हुनु नागरिकको कर्तव्य र अधिकार हो तर नागरिकता विहीन रामुले पाउँछ त?'
'आमा, रामुले पाउँदैन नि। मतदान गर्नका लागि मतदातापत्र हुनुपर्छ जुन बनाउन रामुसँग नागरिकता छैन।'
'अनि बाबु, त्यसो भए कुन उम्मेदवारलाई भोट दिँदा रामु मतदान गर्न योग्य हुन्छ?'
मैले भनेँ, 'आमा, तपाईंलाई सबैको उम्मेदवारको बारेमा पूरा जानकारी दिन्छु। आफै छनोट गर्नु होला कुन उम्मेदवारले मतदान गर्ने भनेर।'
यो पनि-
बिहे गर्न पनि नागरिकता चाहिन्छ?