यो लेखको सुरूमा म पाठकहरूलाई मेरो परिचय दिन र यो लेखको महत्त्वबारेमा प्रस्ट पार्न चाहन्छु।
म दीपराज थापा, सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७ मा जन्मिएँ, त्यहीँ हुर्किएँ। तीन वर्ष काठमाडौं बसेँ। त्यही क्रममा अवसर खोजी गर्दै नर्डिक राष्ट्र स्विडेन आइपुगेँ।
यहाँको संघर्षपूर्ण जीवनको पनि १७ वर्ष पूरा भयो। यस अवधिको ११ वर्ष म विद्यार्थी रहेँ। त्यसयताका ६ वर्षदेखि काममा छु। यही बीचमा बिहे भयो। दुई सन्तान भए, यिनलाई हुर्काउने अनुभव लिँदैछु।
मैले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सको रूपमा पढाइ पूरा गरेर विधावारिधि (पिएचडी) गरेको छु। यहाँ म विश्वविद्यालयको प्राध्यापकका रूपमा काम पनि गर्दैछु।
म पाठकहरूसँग स्वास्थ्य सम्बन्धी ज्ञान बाँड्न चाहन्छु। मैले जानेको कुराले बालबालिकाको स्वास्थ्य सम्वर्द्धनमा अभिभावकलाई सहयोग पुग्न सकोस् भन्ने मेरो धेय हो। पाठक अभिभावकहरूले जिम्मेवारी पनि बोध गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ।
म सेतोपाटीमार्फत पाठकहरूलाई बच्चा जन्माउनु, हुर्काउनु, पढाउनु, तिनको संरक्षण र हेरचाह गर्नुको महत्व बुझाउने प्रयास गर्नेछु।
अभिभावक, आमाबाबु, समाजका सदस्यहरू लगायत स्वास्थ्यकर्मीको भूमिका लगायतका विषयमा निरन्तर लेख्नेछु।
हाम्रा दुई छोरा सिमोन र एडबिनलाई हुर्काउँदै गर्दाको अनुभव र बालबालिका सम्बन्धी विशेष नर्सका रूपमा मैले हासिल गरेको ज्ञान सकेसम्म सरल शैलीमा बुझाउने प्रयास गर्नेछु।
मेरा लेखहरूले विशेषतः बालमनोविज्ञान, बालस्वास्थ्य र बालआधिकार रक्षामा थोरै भए पनि टेवा पुर्याउन सकून् भन्ने मेरो अपेक्षा छ। मेरो लेख अभिभावक र स्वास्थ्यकर्मीलाई बालबालिकाको रेखदेखका लागि व्यावहारिक मार्ग दर्शन बन्न सकोस् भन्ने पनि मेरो चाहना छ।
बालबच्चा रेखदेख, बालअधिकार र बालसुरक्षाको बारेमा केही प्रश्न या जिज्ञासा भए तपाईंले मलाई ट्विटरमा फलो गर्न सक्नु हुनेछ।
अब म यो आलेखको मूल विषयमा प्रवेश गर्छु। यो भागमा बच्चा जन्माउनुको अर्थ र महत्त्वका बारेमा चर्चा गरेको छु।
जमाना फेरिँदै गएको छ।
म जन्मिँदा मेरा आमाबाले मेरो जन्मबारे सायद केही पनि सोच्नु भएन। मेरा दिदीहरू र दाइ पनि त्यसरी नै जन्मे।
त्यो बेला हाम्रो समाजमा जति धेरै सन्तान भए उति नै परिवारलाई फाइदा हुन्छ, धेरै जनाले काम गर्दा घरव्यवहार चलाउन सजिलो हुन्छ, आम्दानी धेरै हुन्छ भन्ने धारणा थियो।
धेरै सन्तान भए भने बुढेसकालमा कसै न कसैले त भरथेग गर्ला, पाल्ला भन्ने अपेक्षा हुन्थ्यो। सन्तानले डाँडाकाँडा ढाकून् भनिन्थ्यो।
बुढेसकालका आमाबाबुको हेरचाह गर्ने, बिरामी पर्दा उपचार गराउने लगायतका काम सन्तानको जिम्मामा रहने हाम्रो परम्परामा आमाबाबुको अपेक्षा पनि स्वाभाविक नै मानिन्छ।
यता स्विडेनमा वृद्धावस्थाको सबै जिम्मेवारी सरकारले लिने भएकाले नेपाली आमाबाबुले झैं सन्तानको सहयोगको अपेक्षा गर्नु पर्दैन।
प्रकृतिमा जीवको जन्म सबैभन्दा ठूलो सृष्टि हो। मानिसको जन्म त झन् परिवारमा खुसीयाली भएर आउँछ। आमा र बाबुका सूक्ष्म क्रोमोजोमको मिलनबाट भ्रूणको विकास हुँदै एउटा पूर्ण मानवको आकारमा बच्चा जन्मिन्छ।
सृष्टिमा मानव जीवन बुझ्न जति गाह्रो काम सायदै अर्को कुनै होला। धेरै वर्षको गहन वैज्ञानिक अनुसन्धानबाट पनि हाम्रो शरीर र मस्तिष्कभित्रका कयौं प्रणालीको बारेमा पूर्ण जानकारी प्राप्त हुन नसकेको छैन।
यो धर्तीमा सबैभन्दा विकेकशील र विचारशील प्रणाी मानिस नै मानिएको छ। शारीरिक र मानसिक विकास ढिलो हुने प्राणी पनि मानिस नै हो। धेरै जसो प्राणी जन्मेको केही घन्टाभित्रै हिँड्न र दौडिन सक्ने हुन्छन्। धेरै जसो प्राणीको तुलनामा गर्भाधानको अवधि पनि मानिसमा धेरै हुन्छ। यसो हुनुका मुख्य दुइटा कारण मानिएका छन्।
पहिलो, मानिसबाहेकका प्राणीहरू जीवन बाँच्न र बचाउन जन्मिने बित्तिकै कुद्न सक्ने हुनै पर्छ। मानिसको हकमा बच्चाको सुरक्षाबारे जन्मनुअघि नै सोचिएको हुन्छ। परिवारजनले जिम्मा लिन्छन्।
दोस्रो, मानिसको मस्तिष्कको विकास पूर्ण हुन अरू प्राणीको तुलनामा निकै लामो समय लाग्छ। मानिसको अपार क्षमतासहितको मस्तिष्कीय र पूर्ण शारीरिक विकास लामो समय लाग्ने भएकाले नै १८ वर्ष पूरा नहुँदासम्मको उमेर बालबालिका मानिएको हो।
बालबालिकाको शारीरिक, मानसिक र मनोवैज्ञानिक विकासका बारेमा विश्वमा धेरै अनुसन्धान भएका छन्। संयुक्त राष्ट्र संघ, युनिसेफ वा विश्व स्वास्थ्य संगठनले प्रकाशित गर्ने लेख तथा नीतिनियमहरू पूर्णतः वैज्ञानिक अनुसन्धानमा आधारित हुन्छन्।
यसै कारण विश्व समुदायमा बालअधिकार र सुरक्षाको कुरामा वैज्ञानिक आधारहरू हुन्छन्।
यसर्थ, १८ वर्ष पूरा नहुँदासम्म शारीरिक, मानसिक र मनोवैज्ञानिक सुरक्षा दिने मुख्य दायित्व आमाबाबुको हुन्छ, अभिभावकको हुन्छ।
बालबालिकाको मानवअधिकारले तय गरेको नीति अनुसार शारीरिक, मानसिक र आर्थिक अक्षमताका कारण अभिभावकले जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा सरकारले दायित्व लिनु पर्छ। बच्चा जन्माउनुअघि नै आमाबाबु, अभिभावक र परिवारजन पूर्ण रूपमा तयार भएको हुनु पर्छ। समाज र सरकारले पनि गर्भदेखि नै समन्वय र तयारी गरेको हुनु पर्छ।
यसो भयो भने मात्रै शिशुको सबै किसिमको सुरक्षाको ग्यारेन्टी हुन्छ। बच्चा जन्माउनुअघि श्रीमान–श्रीमती मात्र होइन, सिंगै परिवारमा सल्लाह हुनु आवश्यक हुन्छ।
बच्चाको जन्मदेखि १८ वर्ष पूरा नहुँदासम्म जिम्मेवारी पूरा गर्नु पर्ने भएकाले आफ्नो करियर, काम, आर्थिक आम्दानी लगायतका पक्षमा श्रीमान–श्रीमतीले राम्ररी सोच्नु पर्छ, योजना बनाउनु पर्छ। यसमा परिवारका अन्य सदस्यहरूले आवश्यक मद्दत गर्नु पर्छ।
नेपाली समाजमा बच्चा जन्माउने काम महिलाको करियर र व्यासायिकतामा बाधक बन्ने गरेको पाइन्छ। कति आमाको त जागिर नै खोसिन्छ। बालबच्चा पढाउन र हुर्काउन धेरै नेपाली युवाहरू कामका लागि विदेश जान बाध्य हुने गरेका छन्। राम्रो तयारी नगरेर पनि यस्तो अवस्था आएको हुन सक्छ।
नियमित आम्दानी हुने पेसा, व्यवसाय अपनाएर बालबच्चाको भविष्यको सुरक्षाको तयारी गर्न सकिन्छ।
स्विडेनमा स्वस्थ नागरिकले ६५ वर्षको उमेरसम्म अनिवार्य रूपमा काम गर्नै पर्छ। सामान्यतया महिलाले स्थायी आम्दानी नहुन्जेल बच्चा जन्माउँदैनन्।
त्यसो त करियर र स्थायी आम्दानीका लागि संघर्ष गर्दागर्दै बच्चा नजन्माउने महिला पनि हुन्छन्। स्विडेनमा बच्चा जन्माउने औसत उमेर महिलाको ३० वर्ष र पुरुषको ३५ वर्ष हाराहारी छ। विकसित पश्चिमा राष्ट्रहरूमा धेरै जसो महिलाहरू पहिले करियर विकास र आम्दानीको स्रोत पक्का भएपछि मात्र बच्चा जन्माउँछन्।
बच्चा जन्माउन करियर मात्र नभएर शारीरिक अवस्था र उमेर पनि विचार गर्नु पर्ने हुन्छ।
विशेष गरी गर्भवती हुने सबैभन्दा उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ। तीस वर्षपछि महिलामा बच्चा जन्माउने शक्ति बिस्तारै कमजोर हुँदै जाने हुन्छ। पैंतीस वर्षपछि त महिलालाई सकेसम्म बच्चा नजन्माउन सल्लाह दिने गरिन्छ।
म स्विडेन आउँदा २३ वर्षको थिएँ। नयाँ देशमा करियर बनाएर स्थायी प्रकृतिको काम नपाउन्जेल बिहे गरिनँ।
जेठो छोरो जन्मँदा म ३१ वर्षको थिएँ। करियर र कामले मलाई बच्चा जन्माउनमा ढुक्क बनाएको थियो।
प्रत्येक व्यक्ति र दम्पतीमा आआफ्नै कथाव्यथा हुन्छन्। चाहेर मात्रै सबै कुरा प्राप्त हुँदैन। सबै योजना पनि पूरा हुँदैनन्। यसो हुँदैमा सृष्टि त रोकिँदैन। सकेसम्म परिस्थिति आफ्नो काबुमा राख्न र सक्षम आमाबाबु बन्न पूर्वतयारीको प्रयास गर्नु पर्छ। भविष्यको जिम्मेवारी बोधले नै मानिसलाई असल कर्ममा लाग्न प्रेरित गर्छ।
यहाँ मैले अलिकति आफ्नै भोगाइको कुरा गरेँ। अलिकति मैले पढेको, जानेको र विज्ञानले प्रमाणित गरेको कुरा गरेँ।
यस्तै कुरामार्फत बालबालिकाको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा अभिभावक र समाजको जग बलियो बनोस् भन्ने हेतु लेख्नेछु भनेर माथि नै भनिसकेँ।
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)