श्रीमान बितेपछि फनपार्क गएर टहलिने र छोरा उपदेशसँग खेल्ने मेरो दैनिकी नै थियो। छोरा स्कुलबाट आएपछि खाजा खाएर हाम्रा पाइला फनपार्कतर्फ मोडिए।
ऊ नानाथरीका खेलहरू आफ्नै सुरमा खेल्थ्यो। म एउटा कुनामा बसेर यताउता हेर्थेँ। हुन त पार्कभरि अनेकौं मान्छे हुन्थे। मलाई कोहीसँग बस्न बोल्न भन्दा एकान्त नै मनपर्न थालेको थियो।
सधैंजस्तो एकदिन घर फर्किँदा छोरोले नयाँ साथी भेटेको कुरा सुनायो।
'उसको पनि बाबा मात्र हुनुहुँदो रहेछ।'म र ऊ निकैबेर मिलेर खेल्थ्यौं,' छोराले सुनायो।
छोरालाई मैले नयाँ साथीलाई भेटाउन भनेँ। उसले उत्सुक हुँदै हुन्छ भन्यो। एकदिन छोरा उसको साथीसँग खेलिरहेको थियो। म एउटा कुनामा बसेर टोलाइरहेकी थिएँ। एक्कासि हल्लाखल्ला सुरू भयो। मेरो ध्यान हल्लातर्फ मोडिएन।
एक जना बच्चा आएर भन्यो, 'आन्टी तपाईंको बाबुलाई लडेर चोट लागेको छ।'
म झसंग भएँ। दौडिँदै जाँदा छोरा र उसको नयाँ साथीसँग ऐया, ऐया भन्दै थिए। उनीहरू चिप्लेटी खेल्दा लडेका रहेछन्। दुबैलाई उठाएर एकै ठाउँमा राखेँ। उनीहरूलाई के भएको हो नियालेँ। छोराकी साथीसँग उसको बाबुको नम्बर मागेँ। मैले घटना विवरण फोनमा सुनाएँ।
फोनमा उनले भने, 'हस्पिटल लैजाँदै गर्नु। म एउटा काम सकेर आइहाल्छु। निकै महत्वपूर्ण काममा छु।'
मलाई झनक्क रिस उठ्यो।
'कस्तो गैर जिम्मेवार बाबु रहेछ। बच्चालाई चोट लाग्दा पनि काममा व्यस्त छु भन्ने,' मनमनै सोचेँ।
बच्चालाई ट्याक्सीमा राखेर अस्पताल पुर्याएँ। अस्पताल पुगेको केहीबेरमा उनको बाबु आइपुगे। नाम दर्ता गराउँदा छोराकी साथीको नाम उपमा रहेको थाहा भयो।
जाँच गराउँदा छोरा र उसकी साथी दुबैलाई केही दिन भर्ना गर्न चिकित्सकले सल्लाह दिए। घटनास्थलमा चोट सामान्य देखिए पनि उपदेशको हात र उपमाको खुट्टाको प्लास्टर गर्नुपर्ने देखियो। उपमाको बुवा तारतम्य मिलाउन लाग्नुभयो। मैले घटनाबारे बाबुको स्कुल र परिवारका सदस्यलाई खबरे गरेँ। चिकित्सकको सल्लाह अनुसार नानीहरूलाई पाँच दिन अस्पताल राख्नुपर्ने भयो।
हामीले दुबै जनालाई एउटै क्याबिनमा राख्ने निधो गर्यौं। उपदेशको त हातमा प्लास्टर थियो अरू सामान्य चोटपटक थिए। ऊ सजिलै यताउता हिँड्थ्यो। विचरी उपमा खुट्टा हेर्दै घरीघरी रुन्थी। बाथरूम जान उसलाई निकै गाह्रो हुन्थ्यो। कैले उसको बाबा र कैले मैले पालैपालो पुर्याउँथ्यौं।
दिउँसोको समयमा म अस्पताल बाहिरको मौसमको हेरेर टोलाइरहेकी थिएँ। त्यही बेला नर्स छिरेपछि उपमाले बोलाई। म तुरून्त भित्र गएँ। उपमालाई सलाइन चढाएको हातबाट रगत बगिरहेको रहेछ।
'नानीको ख्याल गर्नुस्। हजुरले नानीभन्दा बढी बाबुलाई स्याहार गरेको जस्तो लाग्यो,' नर्सका शब्दले म निशब्द भएँ।
दुबैको स्याहारमा मैले कमी त गरेको थिइनँ। नर्सको भनाइ सुनेर उपमाले गहभरि आँसु पारी।
'आन्टी मैले हजुरलाई धेरै दुःख दिएँ है? न म तपाईंको छोरी हो न कोही, बस् उपदेशको साथी त थिएँ। तै पनि हजुरले मलाई कति माया गर्नुभएको छ, त्यो नर्सलाई के थाहा? त्यसै बचन लगाउँछन् है?' उसका शब्दले मेरा आँखा टिलपिल भए।
उपमालाई अँगालोमा कसेँ। यो दृश्य नियालिरहेको उपदेशले नर्सलाई भेटेर सबै बेलिविस्तार लगाएछ। नर्सले पछि आएर माफी मागिन्। अस्पतालमा कार्यरत अर्की नर्सले उपमा र मेरो सम्बन्धबारे चासो राखिन्।
'म्याडम तपाईंले नानीको कति केयर गर्नुभएको ऊ तपाईंको को हो?'
नर्सले चासो राखेपछि मैले हाँस्दै भनेँ, 'ऊ मेरो छोरीजस्तै त हो नि, छोराकी साथी।'
मलाई प्रश्न गर्ने नर्सलाई उपमाको पृष्ठभूमि सबै थाहारहेछ। ती नर्सले उपमाको कानमा गएर साउती गरिन्। उपमा खिस्स हाँसी। हाँस्दा उपमा धेरै राम्री देखिन्थी।
उसको बाबा चाहिँ अस्पतालमा कम र बाहिर ज्यादा व्यस्त हुन्थे। अस्पतालमा मैलेनै दुबैको हेरचाह गरिरहेको थिएँ। चोटको पीडा भुलेर उपमा र उपदेश एकअर्कासँग मज्जाले गफिन्थे। उपमाको बाबु बेलुका आइपुगे। अस्पताल आइपुग्नेबित्तिकै उनले भने, 'इमर्जेन्सी कामले गर्दा ढिला भयो, सरी छोरी।'
उपमाले बाबालाई जवाफ दिई, 'इट्स ओके बाबा।'
त्यसपछि उपदेशको बेड नजिक आएर उनले कस्तो छ तिमिलाई भनेर सोधे।
'ठीक छ बाबा,' उपदेशले जवाफ दियो। उपदेशले बाबा सम्बोधन गरेपछि मलाई अप्ठ्यारो भयो।
मेरो अप्ठ्यारो महशुस गरेर उपमाले भनी, 'मेरो बाबा पनि उपदेशको बाबा नै त हो नि आन्टी।'
त्यस दिन उपमाको बाबा र मबीच परिचय भयो। '
म दिपेश राष्ट्रसेवक हुँ। तपाईंको छोरा बारेमा उपमाले धेरै कुरा गर्थी,' उनले कुरा उप्काए।
आफ्नो परिचय दिँदै मैले भनेँ, 'म उर्मिला पहिले कम्पनीमा काम गर्थेँ। अहिले पसल चलाउँछु।'
दिपेशले मेरो श्रीमान नभएको कुरा अनुमान गरेका थिएनन्। उनले श्रीमानबारे जिज्ञासा राखे।
'श्रीमान तपाईंजस्तै राष्ट्रसेवक हुनुहुथ्यो। फिल्डमा जाँदा सवारी दुर्घटनामा परेर बित्नुभयो,' मैले भनेँ।
एकछिन सन्नाटा छायो। दिपेशलाई मैले उनकी श्रीमतीबारे जिज्ञासा राखेँ।
'मेरो संसारमा आफ्नो भनेकै छोरी हो। म गर्भे टुहुरो थिएँ। म १४ वर्षको हुँदा आमाले छोडेर जानुभयो। दाजु एक वर्षअघि क्यान्सरले बित्नुभयो। छोरा र श्रीमती प्लेन….' त्यसपछि उनको वाक्य फुटेन।
मैले कुरा बुझेँ। धेरै नबोल्ने मान्छेभित्र पनि पीडा र अनुभव धेरै हुँदा रहेछन् भन्ने लाग्यो। हामीले कुरा सक्दा रातको दुई बजेको थियो।
'रात धेरै बितिसक्यो केहीबेर भए पनि आराम गर्नुस्,' मैले भनेँ।
'माफ गर्नुस् है मैले मेरा कष्ट सुनाएर हजुरलाई दु:खी बनाएँ। किन किन तपाईंलाई देखेदेखि आफ्नै जस्तो आभाष हुन्छ, तपाईंलाई के लाग्छ?' दिपेशको यो प्रश्नले म केही बोल्न सकिनँ।
दिपेशलाई सुत्न आग्रह गरे पनि मलाई पटक्कै निद्रा लागेन।
बिहानीपख एकैछिन झुपुक्क निदाएछु।
'मामु उठ्नुस्,' उपदेशले मलाई ब्युँझायो। उपमा एक्लै बाथरूम जान लागेकी रहिछिन्। लड्न लागेपछि उपदेशले मलाई बोलाएको रहेछ।
'किन एक्लै जान लागेकी बोलाउनुपर्दैन?'
म निदाएको देखेर नउठाएको जवाफ उपमाले दिई। म रिसाएको जस्तो लागेर उसले भनी, 'सरी आन्टी।'
उपमालाई बाथरूम पुर्याएर ल्याउँदा उसको बाबाले खानेकुरा लिएर आएका थिए। हामीले खाजा मिलेर खायौं। बिहानको खाना उपमाकी काकीले ल्याइदिनुभयो। त्यो पनि मिलेर खायौं।
अस्पताल बसाइको त्यो दिन अन्तिम थियो। डाक्टरले हेरेर दुबैलाई घर जान अनुमति दिए।
घर जाने भनेपछि दुबै जना खुशी पनि थिए। दुखी पनि भए। उपमाले उपदेशलाई धेरै माया गर्थी। त्यसैले उसले मीस गर्ने भइहाल्यो।
डिस्चार्ज हने बुझेपछि उपदेशले मलाई भन्यो,' उपमालाई मासु खान मन लाग्या छ रे। मामुले त मीठो बनाउनुहुन्छ। के गर्ने?'
मैले बेलुकाको खानासँगै खाने तारताम्य मिलाए। अडहरको दाललाई जिम्मु र लसुनले झानेँ। टमाटरको तिल छोप हालेको चटनी, साग अनि कुखुराको मासु पकाएँ।
खाना खाएपछि उपमाले भनी, 'घरमै खाए जस्तो पो भयो बाबा। ममीले पस्केर दिए जस्तो मलाई पनि यस्तै मीठो खाना बनाउन सिकाइदिनुस् है।'
उपमाको बाबाले पनि खानाको तारिफ गरे। त्यो दिन उपमा र दिपेश हामीकहाँ नै बसे। त्यस रात पनि हामी गफियौं। भोलिपल्ट निस्किने बेलामा पनि उपदेश पनि टोलायो। म पनि टोलाएँ। उपमा र दिपेश पनि निराश देखिन्थे।
'यो कस्तो माया, कस्तो सम्मान कस्तो आदर। एक अर्काप्रति अन्जान हामी छोटोसमयमै निकट भयौं।
उपदेशका लागि राम्रो साथी भेटिएको थियो। उपमाका लागि भाइ। हामी त पूर्ण परिवार जस्तो छौं,' मनमनै सोचेँ।
हिँड्ने बेला उपमाले सधैं यस्तै माया गर्नु है भनी। उसको न्याउरो मुख देखेर म पनि भक्कानिएँ। उपदेश पनि मसँगै लुटपुटिएर रून थाल्यो।
'मलाई भेट्न आऊ है मेरो घरमा,' उपमाले उपदेशलाई भनी।
हिँड्ने बेला उपदेशले नम्बर माग्यो। पिलपिल गर्दै उपमाले नम्बर दिई। केही दिनपछि उपदेशले उपमाका जाने कुरा बतायो। मैले एक दुई दिनमा जाने भनेपछि ऊ फुरुंग भयो।
उपदेशले एक दिन उपमालाई फोन गर्यो।
'के गर्दैछौ, मामु के गर्दै हुनुहुन्छ?' उपमाले मामु भनेपछि म फेरि झसंग भएँ। उनीहरू आफ्नै पारामा गफ गर्दै थिए। म तरकारी टिप्न करेसामा गएँ।
एक सातापछि उपमाले फोन गरेर कहिले आउने सोधी। त्यस दिन उसको बाबाले पनि छोरीले साह्रै रहर गरेकाले आउन आग्रह गरे। हामीले उपमाकोमा जाने निधो गर्यौं। त्यसपछि उपदेशले मासु किनेर बनाउन आग्रह गर्यो। ऊ उपमालाई भेट्न जान निकै उत्सुक थियो। मासु पकाएर हामीले लिएर गयौं।
उपमाको घरमा छिर्नेबित्तिकै उसले मामु भन्दै अँगालो हालेर रुन थाली। एकछिन हामी रोयौं। सायद यो खुशीको आँशु थियो। मिलनको आँशु थियो।
उपमाले घरभित्र लगेर हामीलाई देखाई। सानो घर सरसफाइको कमीले फोहोर थियो। उपमा र उपदेश गफिँदै गर्दा किचनमा गएर खाजा बनाएँ।
खाजा दिएर सोधेँ, 'उपमा बाबा खोइ त?'
अफिसको कामले बाहिर जानुभएको जानकारी उपमाले गराई। मैले घरको सामान्य सरसफाइ गरेँ। काम सकेर उपमाको बाबालाई फोन गरेर घरमा आएको जानकारी दिएँ। उनले केहीबेरमा आउने बताए। उनी आउनुअघि मैले उपमाका कपडा धोइदिएँ। नमिलेका कपडा मिलाइदिएँ। केहीबेरमा उनी आए।
उनलाई देखेपछि मेरो मन रमायो। किचनमा गएर खाजा खान मैले आग्रह गरेँ। उनले मीठो मानेर खाए।
खाजा खाएपछि उपमा र उपदेशलाई भेटे। भेट्नेबित्तिकै उपदेशले बाबा भन्दै अँगालो हाल्यो। उनले पनि छोरा भन्दै हालखबर सोधे। हामी आएपछि उपमा निकै प्रशन्न थिई।
उपमालाई खुशी देखेर उनले भने, 'बल्ल छोरीले भनेजस्तै घर भयो।
हामी एकछिन गफियौं। समय गएको पत्तै भएन। घडीमा पाँच बजेको रहेछ।
'बाबु अब हामी फर्किनुपर्छ,' उपदेशलाई भनेँ।
फर्किने शब्द सुन्नासाथ ऊ नियाउरो भयो।
जाने कुरा सुनेपछि उपमाले भनी, 'मामु आज यहीँ खाना खाएर जाँदा हुँदैन।'
उपमा हामी आज त्यहीँ बसे हुन्थ्यो भन्ने चाहन्थी। उसको चित्त दुखाउन मन लागेन। त्यस दिन त्यहीँ बस्ने निधो गर्यौं।
'तिम्रो आगमनले उपमान निकै खुसी छ, देख्यौ,' दिपेशले भने।
उनले तिमी सम्बोधन गरेपछि म अकमक्किएँ। मैले बनाएको खानाको प्रशंसा गर्दै भने, 'सधैं तिमीले पकाएको खाना पाए त ज्यान पनि लाग्थ्यो होला!'
उनी जिस्किन थाले।
आफूलाई सम्हाल्दै उनीसँग कुरा गर्न थालेँ।
'जुन चीज आफ्नो हुँदैन त्यसको महत्व धेरै हुन्छ। मलाई कुनै चीज पाउने रहर र गुमाउने डर लाग्दैन। भोग्नैपर्ने कुरा नचाहेर पनि भोग्नुपर्ने रहेछ। सरकारी सेवामा प्रवेश गर्ने रहर मलाई पनि थियो। तर समय परिस्थितिले सम्भव भएन।'
मेरो कुरा सुनेर उनले अझै केही नबिग्रिएको बताए। मनमा दृढ इच्छाशक्ति राखेर कोशिस गर्न सुझाए। आफूले साथ दिने प्रतिवद्धता जनाए। उनको हौसलाले मनमा उमंग बढेर आयो।
मेरो लागि पनि कोही साथ दिने मान्छे रहेछ।
उनको हौसलाले मैले लोकसेवाको पढाइलाई निरन्तरता दिने निधो गरेँ। परीक्षामा सामेल पनि भएँ। प्रथम पत्रमा सफल भएँ।
द्वितीय पत्र पढ्न थालेँ। आफ्नो परीक्षा आफैं लिएर उनलाई जाँच गराउन लगाउँथे। उनले समय मिलाएर हेरेर सल्लाह सुझाव दिन्थे। लेख्ने सीप सिकाउँथे। मेरो परीक्षाको समयका लागि ६ दिन मात्र बाँकी थियो। त्यस दिन उनले दुईजना मात्रै घुम्न जाने प्रस्ताव गरे। मैले सहजै स्वीकार गरेँ।
'छोराछोरीसँग भेट्दा हामीले हाम्रो कुरा भन्न पाएका थिएनौं, यो एउटा मौका पनि हो,' मनमनै सोचेँ।
म घरबाहिर निस्किन लागेको थाहा पाएपछि उपदेश रुन थाल्यो। उसलाई पनि सँगै लिएर उपमाको घर गएँ। त्यस दिन पनि उपमा गेटमा अँगालो हाल्न आई। उपमाले सायद हामीमात्रै भेट्ने कुरा थाहा पाएकी थिई।
केही बेरपछि उसले भनी, 'तपाईंहरूको योजना सफल बनाउनुस्। उपदेश र म घरमै बस्छौं।'
उनीहरूलाई खाजा बनाएर हामी घरबाट निस्किने तयारीमा थियौं।
'समयमै फर्किनुस् है,' उपमाले भनी।
उसका शब्दले मेरो मन छोयो। अरू बेला छोराछोरीसाथै राखेर भेट्ने हामी पहिलोपटक उनीहरू बेगर कतै जाँदै थियौं।
हामीले २ घण्टा बाहिर समय बितायौं। त्यो दुई घण्टा मलाई निकै डर र कौतुहलताले सताइरहेको थियो।