संघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्।
स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा सबैजसो राजनीतिक दलहरूलाई भने उम्मेदवारको टुंगो लगाउन सकस परिरहेको छ।
ठूला राजनीतिक दलका नेताहरू त्यसमा पनि युवा नेताहरू उम्मेदवार बन्न इच्छुक भए पनि टिकट पाउने/नपाउने अन्यौलतामा नै छन्। त्यसमाथि गठबन्धनका कारण ठूला नेताहरूलाई नै भाग नपुगिरहेका बेला सम्भावना बोकेका युवा नेताहरू उम्मेदवार बन्न पाउन मुश्किल छ।
जनचाहना अनुरूप देश विकास हुन नसकेका कारण राजनीतिक दलहरूप्रति वितृष्णा बढेसँगै नयाँ पार्टी र स्वतन्त्रका रूपमा उदाउँदै गएका युवा उम्मेदवारप्रतिको क्रेज पनि बढ्दै गएको छ।
यो अवस्थामा ठूला दलहरूले प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुने निर्वाचनमा उम्मेदवार बनाउँदा विवेक पुर्याउनुपर्ने चुनौती छ।
एउटै व्यक्ति हजरबुवादेखि नातिको पाला अर्थात् दशकौंसम्म एउटै क्षेत्रबाट चुनाव लडी शक्तिमा पुगे पनि देशको अवस्था भने हजुरबाको पालाको भन्दा पनि नराम्रो हुन पुगेकाले, पुराना र वृद्ध नेताहरूलाई आराम गर्न लगाई अब युवा र नयाँ अनुहारलाई अगाडि बढाउनुपर्ने तर्क बलियो बन्दै गएको छ।
प्रविधिको विकासका कारण अहिले हरेक देशका विकासका मोडलबारे देख्न र सुन्न पाइरहेको अवस्थामा नेपाली जनताले पनि सोही प्रकारको विकास र परिवर्तन चाहनु नौलो कुरो होइन, स्वाभाविक हो।
अबको ५ वर्षमा वा १० वर्षपछि होइन जनतालाई तत्काल विकास चाहिएको छ, तत्काल परिवर्तन चाहिएको छ। यत्रो समय त कुरेकै हो नि तर प्रजातन्त्र, लोकतन्त्र अनि अहिले गणतन्त्र आइसक्दा पनि देशको हालत ज्यूँ का त्यूँ, युवाको आक्रोशपूर्ण तर्क छ।
हो, व्यवस्था त परिवर्तन भयो तर व्यवस्थासँगै लोकतन्त्रका लागि लडेका नेताहरूले विकास दिन नसक्नु नै अहिले उनीहरूप्रति वितृष्णा बढ्नुको मुख्य कारण हो।
नयाँ पार्टी र स्वतन्त्र युवा उम्मेदवारप्रति क्रेज बढ्नुको प्रमुख कारण नै यही हो।
कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूका एउटै अनुहार हरेक चुनावमा दोहोरिने तर जनताका मुद्दा फास्ट ट्र्याकमा कहिले पनि सम्बोधन नगरिने परिपाटीका कारण दलीय नेताहरूप्रति जनता रूष्ट बनेका हुन्।
रूष्ट भएका जनताको आक्रोश यतिबेला सामाजिक सञ्जालमा छरपष्ट र छताछुल्ल भएर पोखिएको छ।
नेतालाई यति गाली गरिएको छ कि, ती गाली गरिएका शब्दहरू उल्लेख गर्न समेत नसकिने अवस्था छ।
कुहिने र नकुहिने फोहोर छुट्याउने दिन मंसिर ४, कुहिएको फोहोरको थुप्रो, नो नट अगेन, वृद्ध नेता बाइ बाइ, लगायतका टिप्पणीहरू भाइरल भइरहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक प्रयोगकर्ता देशका बहालवाला मन्त्रीका बारेमा टिप्पणी गर्दै यस्तो लेख्छन् ‘यो भन्दा भ्रष्ट चोर नेता कोही छैन, यो राष्ट्रघाती हो अब यस्तोलाई जिताउनु भनेको चाहिँ फोहोरको पोखरीमा आफैं हामफाल्नु हो, विचार गर्नुस् अनि जो असाक्षर सोझा साझा जनता छन् सबैलाई बुझाउनुहोस्, अब यस्ता नेतालाई गाँउमा आउनै नदिनुहोस्, बहिस्कार अभियान चलाउनुस्।’
यो आक्रोश एउटा प्रतिनिधि प्रतिक्रियाको रूपमा लिइएको हो। आजकल राजनीतिक दलका नेताहरूका बारेमा लेखिएका प्राय:जसो समाचारमा आउने एकाधबाहेक प्रतिक्रियाहरू लगभग यही सेरोफेरोको हुने गरेको छ।
कसैले गालीगलौज नै गरेर त कसैले सभ्य भाषामै नेताहरूको अर्कमण्यताप्रति आक्रोश पोखिरहेका छन्, प्रश्न उठाइरहेका छन्।
जनताका यी र यस्ता आक्रोशलाई सकारात्मक तरिकाले सम्बोधन गर्नुपर्ने ठूलो चुनौती यतिबेला राजनीतिक दलहरूलाई छ। त्यसका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवार छनोट गर्दा बुद्धि र विवेकको प्रयोग गर्नुपर्ने देखिन्छ।
आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा ध्यान नपुर्याए त्यसको दीर्घकालीन असर तिनै ठूला दल र नेताहरूलाई पर्ने कुरामा दुईमत छैन।
दलहरूप्रति आक्रोश यति बढेको छ कि, दलका ठूला नेतालाई बहिस्कार गर्ने अभियान समेत सुरू भइसकेको छ।
उनीहरू उम्मेदवार बनेको वा सिफारिस भएकोबारे सामाजिक सञ्जालमा राखिएका समाचारहरूमा आएका प्रतिक्रियाहरूबाट पनि अनुमान लगाउन सकिन्छ कि जनता राजनीतिक दल र तिनका ठूला नेताहरूसँग कति आक्रोशित छन् भनेर।
यो अवस्थालाई बेवास्ता गर्दै दलहरूले पुरानै थितिलाई निरन्तरता दिए भने अबको निर्वाचनको परिणाम पक्कै पनि दलहरूले सोचेभन्दा फरक आउने छ।
सामाजिक सञ्जालमा देखिएको घृणा निर्वाचनका बेला भयो भने ठूला राजनीतिक दलको अस्तित्व नै खतरामा पर्ने अवस्था छ।
यो अवस्थालाई सम्बोधन गर्न र जनतामाझ धुमिलिएको आफ्नो छविलाई उजिल्याउनका लागि दलहरूसँग रहेको बलियो विकल्प भनेको नै क्षमता भएका युवापिँढीलाई साथ लिएर अघि बढ्नु हो। त्यसका लागि अनुभवीसहित युवाहरूलाई समेटेर उम्मेदवार तय गर्नु हो।
यदि दलहरूले यसपल्ट पनि जनआक्रोशलाई सम्बोधन नगरी भागबण्डा मिलाउने नाममा पुरानैै रवैयाबाट अघि बढे निर्वाचनपछिको परिणामपछि थकथक मान्नुबाहेक अरू विकल्प हुने छैन।
नेपाली कांग्रेस होस्, नेकपा एमाले, माओवादी वा नेकपा समाजवादी, राप्रपा होस् वा अरू कुनै दल सबै प्रमुख राजनीतिक दलहरूमा राजनीतिक संस्कार भएका क्षमतावान् युवाहरू छन् जो अवसरको खोजीमा छन्।
त्यस्ता युवाहरूलाई अवसर दिएर आफ्नो र पार्टीको साख बचाउने बेला भएको छ। माओत्से तुङ्गले भनेका थिए ‘युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो तर अन्तिममा यो देश तिमीहरूको नै हो।’
तर बिडम्बना उनकै नक्षकदममा चलिरहेको भनेर दाबी गर्ने कम्युनिष्ट नेताहरूले समेत यो भनाइलाई शिरोपर गर्न सकिरहेका छैनन्। उल्टै युवाहरूलाई झोले र भरौटेमा सीमित गरेका छन्।
राजनीतिमा पनि अन्य पेशा सरह उमेर हद तोकिनुपर्छ भनेर विश्वभर नै बहस हुँदै आएको छ। नेपालमा पनि एकातिर राजनीतिमा युवाहरूलाई अवसर दिई वृद्ध नेताहरूलाई विश्राम लिनुपर्ने मुद्दा बलियो बन्दै गएको छ भने अर्कोतिर युवाहरूले योगदान, अनुभव र क्षमताबिनै चाँडो पद पाउने लालसा गरेको भनेर राजनीतिक दलका अनुभवी नेताहरूले आरोप पनि लगाउने गरेका छन्।
विश्व राजनीतिलाई नियाल्ने हो भने चिलीमा ३६ वर्षका ग्याब्रिएल बोरिक राष्ट्रपति छन्। त्यस्तै फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनको उमेर ३४ वर्षको छ। उनीहरू दुबैजना सफल र लोकप्रिय राजनीतिज्ञ हुन्।
त्यस्तै, नेदरल्याण्ड, इटली, डेनमार्कजस्ता देशमा पनि उल्लेख्य मात्रामा मूलधारको राजनीतिमा युवावर्गको सहभागिता छ। यसरी हेर्दा युवापुस्ता पनि देश हाँक्न सक्षम रहेको कुरा प्रमाणित भइसकेको छ। नेपालमै पनि गएको स्थानीय तहको निर्वाचनमा बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख बन्न सफल हुनुले युवा नेतृत्वप्रति जनताको क्रेज बढेको प्रमाणित भएको छ।
तर ठूला राजनीतिक दलमा भने युवाअवस्था रहुन्जेल नेताको पछि लाग्ने, उसको हो मा हो मिलाउने, क्षमता र दक्षता भएर पनि पद चाहियो भनेर भन्न नसक्ने युवा र मृत्युको मुखसम्म पनि राजनीतिक पदमै रहने वृद्ध नेताका कारण नेपाली राजनीति अहिलेको अवस्थामा आइपुगेको हो।
यति भनिरहँदा वृद्ध हुनेबित्तिकै राजनीति गर्न छोड्नुपर्छ भन्न खोजिएको होइन, राजनीति भनेको जागिर होइन निश्चित उमेर भइसकेपछि रिटायर्डमेन्ट लिनलाई। राजनीति भनेको त विचार हो, राज्यको नीति र व्यवस्थालाई ठिक गरी जनताको लागि काम गर्ने, अन्य देशसँगको कूटनीतिक सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था हो।
विचार समय, परिस्थिति र अनुभवसँगै निखारिँदै जान्छ। अतः विचार गर्ने निश्चित उमेर हुँदैन। जसले जुनबेलासम्म पनि विचार गर्नसक्छ। तिमी वृद्ध भयौ अब विचार नगर, जनताका लागि काम नगर, अब अन्य देशसँगको कूटनीतिक सम्बन्धका बारेमा नसोच भन्न नमिलेजस्तै बुढो हुनेबित्तिकै राजनीतिबाट रिटायर्डमेन्ट लिनुपर्छ भन्ने कथन सही होइन।
तर समयसँगै विचारमा निखारता ल्याउन नसक्नु, जनचाहनालाई बेवास्ता गर्नु, आफ्नो विचारमात्र राम्रो, असल र सही हो भन्ने मानसिकता हुनु, राष्ट्रघाती सम्झौताहरू गरिनु, एमसिसी लगायतबारे जनतालाई बुझाउन नसक्नु, क्षमतावान् र सक्षम युवाहरूको पहिचान गर्न नसक्नु र पहिचान गरे पनि अनुभव छैन भन्ने सोच राखी अवसर नदिनुजस्ता कारण राजनीतिक दल र तिनका वृद्ध नेताप्रति वितृष्णा बढ्दै गएको छ।
अहिलेका ठूला भनिएका राजनीतिक दल र तिनका नेताहरू जसले यो देश बनाउन र जोगाउन ठूलो त्याग र बलिदानी गरेको दाबी गर्छन्, तिनीहरूलाई अहिलेको पुस्ताले तुच्छ टिप्पणी गर्नुको एउटै कारण हो, विचारमा परिवर्तन ल्याउन नसक्नु, नयाँ प्रविधिको प्रयोगबारे अनविज्ञ हुनु, अरूको अस्तित्व स्वीकार गर्न नसक्नु, कामभन्दा बढी एकअर्काको विरोधमा समय खर्च गर्नु, युवाहरूलाई झोले बनाइराख्नु, अवसरबाट बञ्चित गर्नु, जनताको चाहना र आफैंले गरेका प्रतिवद्धताअनुरूप देश विकास गर्न नसक्नु, भ्रष्टाचार र कमिसनमा र राष्ट्रिय हितभन्दा व्यक्तिगत हितम लिप्त हुनु।
त्यस्तै मैले यति वर्ष जेल गएर ल्याएको व्यवस्थाका कारण तिमीहरू बोल्न पाएका छौ, स्वतन्त्र उम्मेदवारी दिन पाएका छौ, युवाहरू लोभी हुनुहुँदैन लगायतका बकम्फुसे टिप्पणी गर्दै जनताले चाहेको परिवर्तनको हुंकार सुने नसुनेझैं गर्नु।
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भनेका छन्, ‘देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि सुकिला मुकिला लुगा लगाउने र चिल्ला गाडीमा चढ्नेहरूको बिगबिगीले प्रजातन्त्र संकटमा पर्नेछ, प्रजातन्त्रको स्थायित्वका लागि इमानदार कार्यकर्ताले पुनः संघर्ष गर्नुपर्नेछ।’
यो भनाइ नेपाली राजनीतिमा अहिलेको परिवेशमा ठ्याक्क मिलेको छ। नेताहरू आफैं र अग्रजहरूले संघर्ष गरी जनताका लागि भनेर ल्याएको प्रजातन्त्रलाई आफ्नो पेवा ठानी आफूले जे गरे पनि हुन्छ भन्ने सोची पुनः प्रजातन्त्रलाई संकटमा पार्न खोजिरहेका छन्। तर अब यो मनोमानी प्रवृत्ति त्याग्नुको विकल्प कुनै नेतासँग पनि छैन। घमण्ड, जिद्दीपन त्यागी जनताको भावना, चाहना अनुसार अघि बढ्नु नै राजनीतिक दलका लागि अनि देशका लागि सही र सुरक्षित उडान र अवतरण हो।
नेताहरू अब पनि नसुध्रिने हो भने अहिले अनेक नाममा खुलेका वैकल्पिक शक्तिका कारण यो देश थप २० वर्ष पछाडि धकेलिने जोखिम बढ्दै गएको छ।
यो जोखिम आउन नदिन राजनीतिक दलहरू सुध्रिनैपर्छ। त्यसका लागि पहिलो खुड्किलो आगामी निर्वाचनमा उम्मेदवार तय गर्दा जनताको चाहनालाई सम्बोधन गर्नु नै हो।
नेता त सुध्रिनुपर्छ नै नेतासँगै हामी जनता पनि सुध्रिन आवश्यक छ। नेतालाई सामाजिक सञ्जालमा सक्दो गाली गरेर नेताको खोइरो खन्नुको सट्टा आफूले भोट दिएर जिताएको नेता के गर्दैछ, आफूले जनतासामु गरेको प्रतिबद्धतामा कत्तिको काम गरिरहेका छन्, लगायतका कुरामा प्रत्यक्ष र परोक्ष रूपमा खबरदारी गरिरहनुपर्छ।
यदि चुनावताका गरेका प्रतिबद्धता अनुरूप काम नगरेको पाइए उनीहरूलाई किन काम भएन भनी कार्यकक्षमै गएर सोध्न सक्ने हिम्मत राख्न सक्नुपर्छ। साँच्चै जनताका मुद्दा, समस्या समाधान गर्ने हिसाबले नेता बनेको भए आफूले चुनावी घोषणापत्र र भोट माग्दाताका जनतासामु गरेको प्रतिबद्धताहरूको अवस्था के छ, कति काम भइरहेको छ, यदि काम सुरू भएको छैन भने के कारणले त्यस्तो भइरहेको छ लगायतका कुराहरूमा जनतालाई जानकारी दिन सक्नुपर्छ।
त्यस्ता जानकारी दिनका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ वा कुनै विज्ञप्ति जारी गर्न वा जनतासँग प्रत्यक्ष सम्वाद गर्न सकिन्छ। भोट दिएर नेता एक ठाउँमा जनता एक ठाउँमा बस्ने परिपाटीले न त देश बन्छ, न नगर न गाउँ नै।
आगामी निर्वाचनमा पनि जनताको चाहनालाई मतलब नगरी भागबण्डाकै आधारमा मात्र उम्मेदवार बनाइए जनताले त्यसको राम्रो हिसाबकिताब गर्ने देखिएको छ। युवा नेतृत्व हुँदैमा देशमा कायापलट हुने पक्कै होइन तर अब सक्षम र राजनीति सुझबुझ, राजनीतिक संस्कार र क्षमतावान् युवाहरूलाई अवसर दिई अघि बढ्नैपर्छ। अनुभव र नयाँ सोचको समिश्रणबाट मात्र देश बन्न सम्भव छ।