‘मान्छे मरेपछि उसका बारेमा केही नराम्रो बोल्नुहुन्न भन्ने धारणासँग मेरो सहमति छैन। मृत्युले राजा, महाराजा, सन्त, पापी, विद्वान, भिखारी, जवान या वृद्ध कसैलाई छोड्दैन। मृत्यु अरूलाई आउँछ, आफूलाई आउँदैन भन्ने भ्रमबाट मुक्त हुनु जीवन बुझाईको पहिलो र सबैभन्दा सारभूत बुझाई हो’, प्रसिद्ध भारतीय लेखक खुस्वन्त सिंहले २१ वर्षको उमेरमा आफ्नै श्रद्धाञ्जली लेखेका थिए, ‘जिवित छँदा दानवीय प्रवृतीको मान्छे मृत्युपछि महान हुन सक्दैन। जिवित छँदा गलत गर्नेलाई मृत्युले महान बनाउँदैन।’
हामीले हालै गुमाएका प्रदिप गिरि र भारतीय लेखक खुस्वन्त सिंह दुबै यथार्थवादी र तर्कवादी थिए।
मृत्युपछिको संसारमा यी दुबैलाई विश्वास थिएन। बिडम्बना! तिनै प्रदिप जसलाई मृत्युपछि प्रशंसा चाहिएको थिएन तर उनैलाई तारिफको बाढी आएको छ।
मृत्युमा दु:ख जनाउनु ठिकै हो। तर प्रदिप गिरीको विचार र आदर्शबाट आफू प्रभावित छु भन्ने गरे पनि व्यवहारमा देखाउनुपर्ने हुन्छ। खुस्वन्त सिंहकै शब्दमा भन्नु पर्दा श्रद्धाञ्जली इमान्दार र पुर्वाग्रहरहित सत्यमा आधारित हुनुपर्छ।
मैले यो लेख प्रदिप गिरिप्रति भक्तीभाव गर्न लेखेको होइन। हामीले प्रदिप गिरिलाई कती बुझ्यौं भन्ने प्रश्न मात्र गरेको हुँ।
प्रदिप गिरिसँग मेरो पहिलो भेट मेरै ससुरालीमा भएको थियो। हावामा उडिरहेको सेतो कपाल, अनुहारमा मुस्कानका साथ उनी कुरा गर्दै थिए।
मलाई ससुरा बाले परिचय गराएपछि उनले मेरो काँधमा हात राख्दै भनेका थिए, ‘बढीया काम गर्दैछौ जमाइ बाबू।’
त्यसपछि हाम्रो भेट बाक्लियो। थुप्रै पटक भेट भयो उहाँसँग। म कहिलै विश्वविद्याद्यालयको अनुहार नदेखेको मान्छेले प्रदीप गिरिमा प्रोफेसरको रूप देखेँ। तर उनी प्रोफेसर भन्दा धेरै माथि थिए।
उनी पुराना विचार भत्काएर नयाँ विचार निर्माण गर्थे। उनी विचारको दास थिएनन्। उनको लवाइ, खवाइ, हिँडाइ आफैंमा एक विचार थियो।
उनमा एक अराजकता र उन्मुक्ति थियो। जो एउटा कविमा हुन्छ। बोल्दा बोल्दै हिन्दी, मैथली, उर्दू, अंग्रेजी बोल्दा लाग्थ्यो उनी गीत गाई रहेकाछन्। उनी मलाई देश भूगोल, जातीय र लैंङिक पहिचानभन्दा माथि लाग्थे।
मैले एक पटक उनलाई सोधेको थिएँ- तपाईँ पहाडीया मुलको मान्छे मधेशको आवाज कसरी बन्नुभयो?
‘मधेशविनाको नेपाल नेपाल हुन्छ र? मधेशीको पीडा मेरो पीडा होइन र? हामीले मधेशलाई हेर्ने नजरीया बदल्नुपर्छ जमाइ बाबू,’ उनले मलाई अर्थ्याए।
त्यस लगत्तै म धनगढीबाट काठमाडौं रात्रि बसमा फर्कँदै थिएँ। संयोगले मेरो सिटको दायाँ पट्टि मैले एसएलसी दिएको विद्यालयका प्रधानाध्यापक बस्नुभएको थियो। बस कन्डक्टर हाम्रो टिकट जाँच गर्न आए।
मलाई ‘हजुरको टिकट पाउँ त’ भने। त्यसपछि उनले मेरो छेउमै बस्नुभएका मेरा प्रधानध्यापकलाई भने- ‘खै तिम्रो टिकट देउ त?’, कन्डक्टरको त्यस्तो अपमानजनक व्यवहारबाट आक्रोशित मधेशी समुदाएका मेरा सरले भन्नुभयो, ‘कसलाई तिमी भनेको आफ्नो बुवा समानको उमेरका मान्छेसँग यसरी बोल्ने हो?’
‘चुप धेरै नकरा’ कन्डक्टर मेरा शिक्षकमाथि जवाफ फर्काएपछि म चुप बस्न सकिनँ। ‘भाइ मुख सम्हालेर बोल,’ मैले भने।
‘हजुर न बोल्नुहोस् दाइ,’ उसले मलाई उल्टै सम्झाउन खोज्यो।
‘धोती मुला,’ उसले भन्यो।
सर कराउन थाल्नुभयो। मैले कन्डक्टरलाई पुनः ‘माफी माग भाइ, तिमीबाट गल्ती भयो,’ भने।
उसले माफी माग्न साफ इन्कार गरिदियो।
सरको आत्मामा चोट लागिसकेको थियो। तर म जस्ता पहाडियाहरूले आजसम्म बुझ्न सकेका छैनौं। मानसिक आघात भौतिक यातनाभन्दा कयौं गुणा कष्टकर हुन्छ। यस प्रकारका विभेदले मान्छे कोर समुदायको मनोवैज्ञानिक रूपमा नै हत्या नै गरिदिन्छ।
आजसम्म सरको त्यो पीडा र अपमानले रन्थनिएको अनुहार मेरो मानसपट्लमा घुमिरहन्छ।
मैले बल्ल बुझेँ- प्रदिप गिरिले संविधानमा किन हस्ताक्षर गरेनन् भनेर।
प्रदिप गिरिको जीवनको सार नै सत्य बोल्नु थियो। पीडित र शोषितको पक्षमा बोल्नु थियो। न्यायको पक्षमा बोल्नु थियो। उनको विध्वता यसैमा थियो।
उनी सधैँ भुईँमान्छेको पक्षमा उभिन्थे। किसानको, भूमिहीनको, महिला, दलित र सीमान्तकृत समदुायको विषयमा उहाँ प्रष्ट उभिएर बोलिदिन्थे । ती समुदायले अहिलेको संविधानमा अधिकार पाउने कुरामा उनको निकै ठूलो योगदान छ ।
व्यहार ठिक नभएको शिक्षा र विध्वता पाखन्ड हो। प्रदिप गिरि नेपाली समाजको पाखन्ड विरूद्ध एक शक्तिशाली सोचको नाम हो। उनमा कुनै पदीय लालसा थिएन । उनी विचारको नेता हो, सत्ता शक्तिप्रति कुनै आकांक्षा थिएन।
प्रदिप गिरिलाई बुझ्न मधेश हेर्ने नजर बदल्नुपर्छ। यो देश सबैको देश हो। यति बुझे प्रदिप गिरिलाई बुझिन्छ।
आशा गरौं, हाम्रो सोच हाम्रो व्यवहार बदलिने छ। प्रदिप त उज्यालो छरेर नयाँ यात्रामा निस्किसके तर अगाडिको हाम्रो समाज बदल्न उनको प्रेरणा काफी छ।