अहिले धेरै गर्मीको समय छ। साथै बर्षायाम पनि। अहिलेको मौसममा घरी घाम चर्केर ताप बढ्ने त घरी पानी परेर मौसम चिसो हुने हुन्छ। यसरी मौसम परिवर्तन हुँदा वातावरणमा तापक्रम घटबढ हुने भएकाले त्यस अनुकूल हुन सकेन भने स्वास्थ्यमा हल्का समस्या आउने गर्छ। अहिलेको समयमा पखाला लाग्ने, बान्ता हुने, रुघाखोकी, भाइरल जरो, टाउको दुखाई, छाती, घाँटी तथा हातखुट्टा पोल्ने, पिसाब पोल्ने देखि लिएर जण्डिस, टाइफाइड लगायत लामखुट्टेको टोकाइले हुने समस्याहरु डेङ्ग्यू, मलेरिया जस्ता समस्या बढी देखिन्छ।
तसर्थ अहिलेको मौसममा ताप बढी हुने, चाँडै खाना गल्ने, बर्खाले पानी फोहोर हुने, झिँगा भन्कने हुनाले स्वास्थ्यको राम्रो हेरचाह गर्नुपर्छ। हामीले गर्ने खानपानमा पिउने पानी, सरसफाइमा धेरै ध्यान दिनुपर्छ।
तर बुझ्नु पर्ने कुरा मौसम परिवर्तन हुँदैमा स्वास्थ्यमा समस्या हुनैपर्छ भन्ने छैन। हामीले गरेको आहार, विहार, विचार नमिल्दा वातावरणमा आउने उतारचढावका कारण शरीरमा समस्या हुन्छ।
यहाँ पखाला, आउँयुक्त र रगतयुक्त पखाला र यसको सरल समाधानबारे चर्चा गरिएको छ।
पखाला
- हामीले खाएको खाना पाचनमार्ग मुख, पेट हुदै सानो आन्द्रामा पाचन भएर सानोसानो अंशमा टुक्रिने काम हुन्छ।
- सानो आन्द्रामा पाचन भएका खाद्यअंशबाट शरीरलाई चाहिने रस सोसेर लिन्छ र बाँकी भएको कस ठूलो आन्द्रामा पुग्छ।
- ठूलो आन्द्राले त्यसमा बाँकी भएको पानी अवशोषण गर्ने काम गर्छ।
- त्यसपछि बाँकी भएको कस दिसाको रुपमा मलमार्ग हुदै मलद्वारबाट बाहिर निस्कन्छ। यो प्रक्रिया दैनिक हुनुपर्छ, दैनिक पेट सफा हुनुपर्छ।
- तर हामीेले गलत खानपान ग¥यौं वा आवश्यकता भन्दा धेरै खायौ भने खाना राम्रोसँग पच्दैन जसको कारण बाहिर निस्कासन हुनुपर्ने फोहोर पुर्ण रुपमा निस्कासन हुन पाउँदैन र कब्जियतका रुपमा रहन्छ।
- कब्जियतका कारण ठूलो आन्द्रा सफा हुन पाउँदैन, त्यहाँ दिसा जम्मा हुन्छ।
- ठूलो आन्द्रामा म्यूकस लेयर हुन्छ जसले चिप्लो पदार्थ श्लेष्मा उत्पादन गर्छ।
- धेरै समयसम्म ठूलो आन्द्रामा मल जम्मा भइरहयो, कब्जियत रहिरहयो भने ठूलोे आन्द्राले धेरै श्लेष्मा उत्पादन गरेर कब्जियत खुलाउन अर्थात जम्मा भएको मल निस्कासन गराउन पातलो दिसा लगाउने काम गर्छ जसलाई हामी पखाला भन्छौ।
- तसर्थ हामीले अनुचित आहार गरेर आन्द्रामा मल जम्मा गर्ने काम भयो भने त्यो ठूलो आन्द्राले फाल्न खोज्छ र त्यो प्रयास स्वरुप पखाला लाग्छ। पखाला शरीरमा जम्मा भएको फोहोर निस्कासन गर्न अर्थात शरीर सफाइका लागि प्रकृतिले उठाउने पहिलो अभियान हो। कहिलेकाही फुड प्वाइजन भएमा पनि पखाला लाग्छ।
पखालाका लक्षणहरू
- बिहानभरिमा ४–५ पटक भन्दा बढी पातलो दिसा लागेमा त्यसलाई पखाला भनिन्छ।
- कहिले थोरै र कहिले धेरै पानी जस्तो दिसा लाग्नु।
- दिसा लाग्नु अगाडि पेट दुख्नु।
- मल त्याग गरेपछि पनि पेट सफा नहुनु।
- शरीर गल्नु, थकान हुनु।
- मुख सुक्नु।
कारणहरू
- लामो समयसम्मको कब्जियत।
- चाहिने भन्दा बढी वा भारी खाना खानु।
- पाचन हुन गाह्रो हुने खानाहरू जस्तै माछा, मासु, अण्डा, दुग्ध पदार्थ आदि बढी सेवन गर्नु।
- धेरै चिल्लो, पिरो, मसलेदार, तारे भुटेका खानाले।
- जंकफुड, फास्टफुड, मैदाका परिहारहरु खानाले ।
- बासी र झिंगा भन्केका खाना खानाले।
- फोहोर पानी सेवनले।
- एक खाना र अर्को खानाको अन्तर कम हुनाले।
- कुचुकुचु खाइराख्ने बानीले।
- राति धेरै ढिला सुत्ने र बिहान ढिला उठ्ने बानीले।
- बस्ने ठाउँ वरपर फोहर भएमा।
- अत्यधिक चिन्ता, मानसिक तनावले।
सरल निवारण
- पखाला लाग्नेवित्तिकै ठोस आहार बन्द गरि झोलिलो आहार मात्र सेवन गर्ने।
- झोल आहारमा सादा मनतातो पानी, नुनचिनी पानी, जीवनजल वा फलफुलको रस आवश्यकताअनुसार पिउने।
- सादा मनतातो पानी भने आधा घण्टादेखि एक घण्टाको अन्तरमा पिइराख्ने अथवा पखाला लागेको अनुपातमा पिउने। पानी पिइएन भने शरीरमा पानीको मात्रा कम भई जलवियोजन हुन्छ र समस्या हुन्छ।
- त्यस्तै ताजा तरकारीको झोलहरू सेवन गर्न सकिन्छ।
- कमजोर भएमा दाल (विशेषतः मुंगी), चामल, तरकारी मिसाएर पकाई झोल बनाई छोक्राबोक्रा कस निकालेर झोल मात्र पिउने।
- उचित आहार भएमा सामान्यतः पखाला एक दिनमै कम हुन्छ। पखाला कम भएपछि एक दिन ताजा तरकारीको सुप वा पातलो जाउलो सेवन गर्ने। अनि विस्तारै सादा आहार एक भाग अन्न र ताजा हरिया तरकारी मिलाएर सेवन गर्ने।
- काँचो सलाद वा फलवर्ग भने पखाला निको भएको ३–४ दिन पछि मात्र सेवन गर्ने।
ध्यान दिऔं
सामान्यतः औषधि खाएर पखाला रोक्नु हुँदैन। औषधि खाएर पखाला रोक्ने काम भएमा शरीरले बाहिर फ्याँक्नुपर्ने फोहोर बाहिर निस्कासन हुन पाउँदैन, भित्रै अड्किन्छ र शरीरमा अरु समस्या आउँछन्।
तसर्थ पखालाको उपचार गर्नुको अर्थ पखाला रोक्नु नभई शरीरमा पानीको कमि हुन नदिनु, जलवियोजन हुन नदिनु र फोहोर फाल्न सजिलो गराउनु हो। पखाला त हाम्रो पाचन मार्गमा जम्मा भएका फोहोर सबै निस्कासन भएपछि आफैं रोकिन्छ।
आउँयुक्त पखाला/आउँ मासी
पखालाको गलत उपचारले ठूलो आन्द्राको सुजन हुन्छ र चिप्लो मिसिएको फिजयुक्त पखाला हुने गर्छ। यसलाई अमिबाजन्य संक्रमन पनि भनिन्छ, अमिबा नामक परजीवीको कारणले संक्रमनले हुने भएको हुनाले।
लक्षणहरू
- सुरूमा पातलो दिसा आउँछ। जसमा फिँज मिसिएको चिप्लो पदार्थ अर्थात आउँ निस्कासन हुन्छ।
- थोरैथोरै अर्ध ठोस वा पातलो आउ मिसिएको दिसा दिनमा ४–५ पटकदेखि ८–१० पटकसम्म हुन्छ। साथै कहिलेकाही कब्जियत पनि हुन्छ।
- छिनछिनमा शौचालय जान मन लाग्ने, दिसा गर्दा धेरै बल लगाउन मन लाग्ने हुन्छ।
- खानामा अरुचि।
- खाना खाने वित्तिकै शौचालय जानुपर्ने हुन्छ।
- कटक्क पेट काट्ने, पेट दुख्नुका साथै पेटका मांसपेशी दुख्ने र कमजोर हुने हुन्छ।
- ज्वरो आउने र वाकवाकी लाग्ने हुन्छ।
- धेरै पटक दिसा हुने र दिसा मार्फत पानी निस्कासन हुने हुनाले धेरै थकान हुने, शरीर गल्ने हुन्छ।
- खानामा अरुचि हुनु।
- मन बेचैन हुनु।
कारणहरू
- पखालाको गलत उपचार।
- लामो समयसम्मको कब्जियत।
- गर्मी गराउने पित्तयुक्त खानपान।
- फोहोर पानी।
- चिन्ता, रिस, दाहा, मानसिक तनावको अवस्थामा।
- फोहर तथा बासी झिंगा भन्किएका चिल्ला खानाहरु खानाले।
- शौच पछि राम्रो सरसफाइ नगर्नाले।
- पखालाका सबै कारणहरू ।
सरल उपचार
- यसमा पखालामा जस्तौ सरल उपचार गर्ने।
- धेरै कमजोरी भएमा एक भाग चामल, तीन भाग हरियो तरकारी र थोरै मुंगी राखेर पातलो खिचडी बनाउने र कस निकालेर आवश्यकताअनुसार झोल मात्र पिउने।
- पखाला लागेको अनुपातमा पानी पिइरहने।
- धेरै पेट दुखेमा दुवै हातले पेटमा हातको तातोले सेक्ने, रेकी गर्ने।
- सफा, हावादार कोठामा पूर्ण आराममा रहने।
- चर्को ज्वरो आएमा (१०२ भन्दा माथि) निधारमा चिसो पट्टिले सेक्ने। याद रहोस् चिसो पट्टि लगाएर ज्वरोलाई १०२ डिग्री भन्दा तल नझार्ने।
- हरेक पटक शौचालय गएर फर्केपछि साबुन पानीले हात राम्रोसँग धुने।
- आफू बस्ने स्थान वरपर सफा राख्ने।
- दिसा गर्दा बल नगर्ने।
- तनावमुक्त रहने।
रगतयुक्त पखाला
पखाला र आउँयुक्त पखालाको गलत उपचारले यस्तो समस्या आउँछ। पखाला वा आउँयुक्त पखालमा अनुचित आहार र गलत उपचार भएमा ठूलो आद्रामा सुजन हुनुका साथै घाउ हुन्छ जसले गर्दा रगतसहितको दिसा हुन्छ। यसलाई रगत मासी पनि भनिन्छ। यसको संक्रमन शिलेगा नामक व्याक्टेरियाको कारणले पनि हुन्छ ।
कारणहरू
- सडेगलेका, दुषित र बासी खाना खानाले।
- अत्यन्त तातो, पिरो, अमिलो, मसलेदार तथा गरिष्ठ भोजन सेवनले।
- गर्मी गराउने खानपान चुरोट, मदिरा, चिया, कफि आदिको सेवनले।
- भारी गरिष्ठ भोजन माछा, मासुको सेवनले।
- बट्टाबन्दी खानाहरू जंकफुड, फास्टफुड सेवनले।
- फोहोर पानी खानाले। बस्ने वरपर सरसफाईको कमीले।
- अत्यधिक तनाव, धपेदी आदिका कारणले।
- लामो समयसम्मको कब्जियतका कारण ठूलो आन्द्रामा दुखाई हुन्छ। सुजन हुन्छ।
- दिसा गर्दा बल गरेपछि आन्द्रामा घाउ हुन्छ र दिसामा रगत देखा पर्छ।
लक्षणहरू
- दिनको १०–१२ पटक भन्दा बढी रगत मिसिएको दिसा हुनु।
- धेरै पटक शौच भए पनि पेट पुर्ण सफा नहुनु।
- चर्को ज्वरो आउनु, टाउको दुख्नु।
- कटक्क पेट दुख्नु, छिनछिनमा दिसा लाग्ला जस्तो हुनु।
- दिसा गर्दा शौचालयमा बसिराख्न मन लाग्नु, मल त्याग गर्दा बल गर्न मन लाग्नु।
- पेटमा ग्याँस बढ्नु।
- धेरै कमजोर हुनु, हातखुट्टा गल्नु, जोर्नी दुख्नु।
- भोक नलाग्नु, वान्ता पनि हुने हुनु।
- मन बेचैन हुने, चिड्चिडा हुने, आत्तिने, जिद्धि हुने हुन्छ।
सरल समाधान
- पखाला र आउँयुक्त पखालामा जे गर्ने हो त्यही सरल समाधान गर्ने।
- दिसालाई नरोक्ने, दिसा गर्दा बल नगर्ने। तनावरहित भएर पूर्ण आराममा बस्ने।
- ठूलो आन्द्रामा घाउ हुने भएकाले यसमा पेटमा चिसो पट्टिले निकै लाभ गर्छ।
- चिसो पट्टी लगाउने विधि
- बिहान खाली पेटमा १ लिटर पानी पिएर दिसा–पिसाव गरेपछि १५ देखि ३० मिनेट पेटमा पट्टि लगाउने।
- पट्टि लगाउँदा कटन कपडाका दुई ओटा बाक्ला माथिल्लो पेटदेखि तल्लो पेटसम्म ढाक्ने लिने।
- बाटामा पानी राख्ने। त्यसलाई चिसो गर्न बरफका टुक्रा राख्ने। पानी हातले छँुदा ठिहिराउने हुनुपर्छ।
- उत्तानो सुत्ने, अब कपडालाई पानीमा भिजाएर हल्का निचोरेर पेटमा नाइटो देखि तल्लो पेटसम्म ढाकिने गरी राख्ने।
- १–१ मिनेटमा पट्टि परिवर्तन गर्ने
- यसरी चिसो पट्टि लगाउँदा घाउमा संक्रमण हुन पाउँदैन र चाँडै कम हुन सहयोग गर्छ।
- चिसो पट्टि लगाएपछि १ घण्टासम्म केही पनि नखाने।
यसरी उचित आहारसहित पट्टि लगाउने काम भएमा एक–दुई हप्तामा कम हुन्छ। तर उचित आहार र पट्टी लगाएर पनि पखाला कम नभएमा वा धेरै पखाला भइरहेमा तुरुन्तै आकस्मिक उपचार हुने सम्बन्धित अस्पतालमा जाने। धेरै पखाला भएमा मानिस बेहोससम्म हुनसक्छ।
अन्तमा,
सबैले बुझ्नुपर्ने कुराः हाम्रो शरीरले आफ्ना सम्पूर्ण अंगहरूलाई जहिले पनि सफा राख्ने हरपल प्रयास गर्छ। जब हाम्रो अनुचित आहार, बिहारका कारण शरीरमा मल जम्मा हुन्छ तब त्यसलाई सफा गर्न शरीरले आफ्नो धर्मअनुसार तिव्र रोगहरू लगाउँने गर्छ। शरीरबाट फोहोर अर्थात विकार निस्कासन हुने माध्यमहरूमा छाला मार्फत पसिना, मलद्वारबाट दिसा–पिसाव, नाकबाट सिंगान मार्फत निस्कासन हुन्छ।
हामीले गरेको गलत आहार, विहारका कारण जम्मा भएको मल निस्कासन गरी शरीरलाई सुरक्षा गर्न प्रकृतिले उठाउने पहिलो अभियानलाई तिव्र रोग भनिन्छ जसमा पखाला, वान्ता, रुघा, ज्वरो र घाउखटिरा पर्दछन्। ठूलो आन्द्राले आफूलाई सफा गर्न चलाउने पहिलो अभियान नै पखाला हो।
हामीले खाएको खाना मुखबाट विभिन्न चरणमा टुक्रिंदै आन्द्राबाट रस सोसिएर रगतमा मिसिन जाने र ठोस अंश ठूलो आन्द्रा हुँदै मलद्वारबाट निस्कासन हुनुपर्छ। तर हाम्रो अनुचित आहार, विहारका कारण कब्जियत हुन्छ र ठूलो आन्द्रामा पूर्ण रुपमा दिसा खलाँस हुँदैन।
धेरै दिनसम्म ठूलो आन्द्रामा कब्जियत भएर मल जम्मा भयो भने ठूलो आन्द्राले पखाला लगाएर कब्जियत खुलाउने काम गर्छ। अनुचित आहार भैरहेमा कब्जियत ररिहन्छ र ठूलो आन्द्राले कब्जियत खुलाई दिसा खलाँस गर्न बेलाबेलामा पखाला चलाइरहन्छ।
तर अनुचित आहार, विहार भएन भने कब्जियत पनि हुदैन, शरीरमा पनि फोहर जम्मा हुँदैन, पखाला पनि चल्दैन। शरीर सफा भएमा बाहिरका भाइरस वा किटाणु सलबलाउन पनि पाउँदैनन्।
तसर्थ गर्मी मौसम होेस् वा मौसम परिवर्तन हुँदा पखालालगायत अरु समस्या हुनैपर्छ भन्ने छैन। त्यो त हाम्रो शरीरको अबस्थामा भरपर्छ। शरीर फोहर भएमा रोेगको आधार तयार हुन्छ र बाहिरका किटाणु बस्ने स्थान पाउँछ।
त्यसैले स्वस्थ रहन, शरीरलाई सधैं सफा राख्न सधै उचित आहार, विहार, विचार गरौं। स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ रहन प्रेरित गरौं।
आफ्नो स्वास्थ्य आफ्नै हातमा !
(रामदेवी महर्जनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)