मंगलबार म अफिसको काममा व्यस्त थिएँ। फोन आयो, काकाको रहेछ।
'के गर्नुपर्छ?'
'त्यो नम्बरलाई वडामा गएर भेरिफाई गर्नुपर्छ।'
'हस्' भनेर फोन काटियो।
केही बेरपछि पुनः फोन आयो, 'यहाँको कर्मचारीलाई भन्दे के गर्नुपर्छ।'
हुन्छ भन्दै वडामा भएको कर्मचारीसँग कुरा गरेँ, 'उहाँले केही दिन पहिले कोभिड- १९ को भ्याक्सिन लगाउनु भयो र विदेश जान क्युआरका लागि फर्म पनि भर्नुभयो जसको लागि भेरिफाई गर्न त्यहाँ आउनु भएको छ। गर्दिनु है।'
'यहाँबाट मिल्दैन, पालिकामा गएर स्वास्थ्य शाखा प्रमुख ज्युले गर्नुहुन्छ,' त्यहाँको कर्मचारीको जवाफ।
'काकालाई सम्झाएर पठाइदिनु है,' भन्दै फोन काटेँ।
काका फेरि हतार हतारमा हिँडेर दुई किलोमिटरको यात्रा गरेपछि पालिका पुग्नु भयो। त्यहाँ उहाँलाई के गर्नु? कसलाई भेट्ने? कुन शाखामा जाने केही थाहा थिएन।
फोन लगाएर अरु एकजनाले बोल्नु भयो। 'भाया, कथि कर पर्तै?' स्थानीय भाषामा सोध्नु भयो।
के गर्नुपर्छ, भाइलाई सविस्तार सुनाएँ। अनि अनुरोध गरेँ, 'कृपया काकालाई हेल्प गर्दैऊ।'
उसले 'हस्' भन्यो।
म काममा व्यस्त थिएँ तर दिमाग उता चल्दै थियो। खाडी जान पनि कति गाह्रो! एकनासले रिस पनि उठिरहेको थियो।
केही बेरपछि फोन आयो, 'दाइ काजपत्र चाहिन्छ रे, अब के गर्ने?'
नबुझी रिसाएर भनेँ, 'किन? केका लागि चाहिन्छ? सबै अनलाइन अपलोड गरिसक्नु भयो त अनि फेरि किन चाहियो? '
'थाहा छैन दाइ,' भनेर जवाफ दियो।
'म तिम्रो ह्वाट्सएपमा पठाइदिन्छु, प्रिन्ट गरेर देऊ है।'
'हुन्छ, पठाइदिनु।'
मैले हतार हतारमा सबै डकुमेन्टहरू पठाइदिएँ।
फेरि फोन आयो, 'ओरिजिनल काजपत्र नै चाहियो रे।'
'ल तिमीसँग बाइक छ, ल्याइदेऊ न।'
उसले ल्याइदियो।
मलाई अति रिस उठिरहेको थियो। यस्तो प्रक्रिया? कसलाई थाहा छ? प्रक्रिया जस्तो भए पनि जनमानसमा थाहा हुनुपर्छ नि भनेर सोच्दै पालिका स्वस्थ्य शाखा प्रमुखलाई फोन गरेँ, 'यस्तो पेपरहरू पुनः चाहिन्छ?'
उनले चाहिन्छ भने, 'अनलाइन फर्म भर्दा दिएको डकुमेन्टहरू मिलेको छ कि नाई त्यो चेक गर्नु पर्छ जसको लागि फेरि मागाउछौँ।'
अरु पनि भन्नु थियो कि यो प्रक्रिया बारे जनमानसमा थाहा हुनुपर्छ नि? जानकारी हुनुपर्छ नि? प्रचारप्रसार त गर्नुपर्छ नि? तर केही नभनी फोन राखेँ।
काकाले सबै कागजपत्र दिएपछि काम भयो तर भेरिफाई हामी गर्दिन्छौं भनेर त्यहाँको कर्मचारीले भन्यो रे। मैले फेरि भने जुन कर्मचारी बस्नु भएको छ उहाँको सम्पर्क नम्बर लिएर आउनु भनेँ। किनकि काकाको फ्लाइट बिहीबार छ, पछि गाह्रो नहोस् भनेर। नम्बर दिनुभयो र काकाहरू घर फर्किनु भयो।
राति राम्रोसँग सुत्न सकिनँ। काकाको क्युआर कोड भेरिफाई नभए पहिलेजस्तो हुने त हैन नि? सोचमा आइरहेको थियो।
गत साउन २२ गते अर्थात् अगस्ट ७ को बिहान ११ बजेर १५ मिनेटमा कतार एयरवेजबाट कतारको लागि फ्लाइट थियो तर हुन सकेन। कारण सानै भए पनि उहाँका लागि ठूलै थियो। १३ हजार जति बढी पैसा तिर्नु पर्ने भयो, झण्डै २५ दिन कुर्नुपर्ने भयो। जुन उहाँका लागि ठूलै थियो।
उहाँ ५ महिनाअगाडि बिरामी भएर बिदामा घर आउनु भएको थियो। त्योभन्दा अगाडि नै २०२१ डिसेम्बर तिर दुई डोज भ्याक्सिन लगाएर सबै प्रक्रिया पूरा गरी घर आउनु भएको थियो। यहाँको बसाइ सकेर उता जाँदै हुनुहुन्थ्यो। म पनि साथीहरूबाट बुझ्दा चाहिने जति काजपत्र ठिक छ रे।
तर विमानस्थलमा उडानको समयभन्दा ३ घण्टाभन्दा अगाडि नै जानु भयो। केही बेरमा फोन गर्नुभयो कि ९ महिना भइसकेको छ भ्यक्सिन लगाएको। त्यहीँ भएर ५ दिन कतारमै क्वारेन्टाइनमा बस्नु पर्छ जसको खर्च काकाले नै बेहोर्नु पर्ने रे। सबै खर्च बुझ्दा एक लाखभन्दा बढी लाग्ने रे।
अर्को विकल्प रह्यो, टिकटलाई अर्को मितिका लागि सार्ने। तर समयमा सार्नु पर्ने ढिला भयो भने सार्दाको थप रकम लिनु पर्ने रे। घरपरिवार चलाउनका लागि गरिब मान्छे विदेश जान्छ। यसरी थप रकम कसरी तिर्नु? एक त जाँदा लाग्ने खर्च जोहो गर्नका लागि साहु नै खोज्नु पर्ने हुन्छ।
टिकट सार्दिनका लागि जुन ट्राभल्स एजेन्सीमा टिकट काटिएको थियो, त्यहाँ सम्पर्क गरेँ। अनुरोध गरेँ। उसले भन्यो कि थप १३ हजार रुपैयाँ जति थपेर मात्रै सार्न मिल्छ।
उसलाई भनेँ, 'तपाईंहरूकहाँ टिकट काट्न आउँदा सबै काजपत्र जाँच गरेर टिकेट काट्नु लगाउनु पर्दैन? एक पढलेख गरेको हुँदैन, घरपरिवार चलाउनका लागि गाह्रो गरी पनि विदेशिनु छ अनि यसरी लपरवाही गर्नु त हुँदैन नि? थप रकम कहाँबाट ल्याउँछ' भन्दा 'जहाँसुकैबाट किन ल्याओस् मेरो के मतलब, मलाई टिकट काँटन् भन्यो मैले टिकट काँटे' रे, ट्राभल्स एजेन्सीको जवाफ।
उसको जवाफ सुनेर अचम्म लग्यो। व्यावसायलाई पैसा भए पुग्छ भनेर।
'ल म थप्छु उहाँको रकम, २५ दिन पछिको सार्दिनु।' अब काकालाई जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएर १४ दिनपछि क्युआर लिएर मात्रै जान मिल्छ। त्यहीँ भएर यति लामो समय लिएर टिकट सार्न लगाएँ।
कति गाह्रो हुँदो रहेछ। यहीं सोच्दै रात बित्यो।
बिहान हुनासाथ पालिकाको कर्मचारीलाई फोन गरेँ। उहाँले 'भेरिफाई' भयो भन्नुभयो। खुसी लाग्यो। अनलाइनबाट पत्र निकालेर प्रिन्ट गरी काकालाई दिएँ।
फेरि अर्को झन्झट आयो- कतारमा एक दिन क्वारन्टाइनमा बस्नु पर्छ भनेर जसको व्यवस्थापन काकाले गर्नुपर्ने रे। अब कसरी गर्ने भनेर सोच्न थालेँ। चिनेको साथीलाई सोधेँ, समाजिक संजालमा पोष्टाएँ तर प्रभावकारी उपाय आएन।
साथीबाट बुझ्दा एक दिनको २० हजार रुपैयाँ तिर्नु भन्ने कुरा आयो। काकालाई सोधेँ। केही बेर नबोली 'अब गर्देऊ न त, अर्को विकल्प नभएपछि' भन्नुभयो। पैसा पनि आजै चाहियो रे क्वारेन्टाइनको लागि।
जे भए पनि अन्ततः काकाको फ्लाइट भयो।
बडो अजीव हाम्रो प्रणाली, खाडी मुलुक जान पनि सहज छैन। झन् गाउँबाट आएकालाई गाह्रो हुने रहेछ। अधिकारीलाई सम्पर्क गर्दा राम्रोसँग रेस्पोन्स नगर्ने। सही सूचना नपाउने भएकाले काकाजस्तै कयौं व्यक्तिहरूले अनावश्यक रकम तिर्नु पर्ने, समयमा गन्तव्यमा नपुग्नेलगायत थुप्रै समस्याहरू भोग्नु पर्ने अवस्था छ।
प्राविधिक समयमा पनि सूचनाको सही सम्प्रेषण नहुँदा गाह्रो हुने रहेछ। सम्बन्धित निकायले सूचना, जनचेतनालाई हरेक ठाउँमा राम्रोसँग फैलाउनु पर्छ। नागरिक वडापत्रको सही सदुपयोग र जनमानसमा जनकारीका लागि व्यवस्था गर्नुपर्छ।