आरएनएसीबाट गाडी चढेको हुँदा बस खाली नै थियो।
अलि पछाडि गएर झ्यालतिरको सिटमा आरामले बसेंं।
गाडीले अझ मान्छे कुर्दै थियो। यात्रु चढ्ने क्रममा एक जना हिपहप टाइपको हातभरि ट्याटु कुँदेको, बब मार्लिकाजस्ता जगल्टा फिँजाएको, झुत्रा निस्किएको पेन्ट हेर्दै अनौठो युवक सरासर आएर मेरो आडैको सिटमा झ्याम्मै बस्यो।
उमेर हेर्दा छोरोको जस्तै थियो तर पनि मनमा चिसो पस्यो।
भित्रभित्र ‘जजमेन्टल’ भएँ।
उसको अनुहारतिर पुलुक्क हेरेँ चिउँडो र आँखीभुइँमा सेतो टल्कने पत्थर भएको फूली पनि लगाएको रहेछ। म अझ डराएँ अनि छोइएलाकी भनेर साँघुरिँदै झ्यालतिर सरेँ। डर भगाउन ब्यागबाट किताब झिकें। गाडीमा सिट पाएँ भने प्रायः पुस्तक पढ्ने गर्छु।
झ्यालतिर बसेर गोविन्द वर्तमानको ‘हरियो साइकल’ पढ्न थालेंँ।
‘आन्टी! झ्याल पूरै खोलिस्यो न। काठमाडौंमा पनि कस्तो गर्मी भएको, हिजोआज।’
मीठो आवाजमा ती युवकले अनुरोध गरे।
केही नबोली पूरै झ्याल खोलिदिएँ।
अनि एकोहोरो ‘हरियो साइकल’ हेर्न थालें।
गाडी सहिद गेटतिर मोडियो। एक हुल विद्यार्थीहरू गफिँदै, हाँस्दै गुटुटु गाडीमा चढे।
भीडमा एक जना ५५/६० वर्ष जतिका भद्र महोदय पनि उक्लिए। गाडी खचाखच थियो।
ती भद्र मान्छे हाम्रो सिट नजिकै उभिन आइपुगे।
मसँगै बसेको युवकले - ‘अंकल यहाँ बस्नुस्।’ भनेर आफू बसिरहेको सिट छोडिदिए।
आफूलाई भित्रभित्रै गाली गरें।
‘अघि त खुब जजमेन्टल भएकी थिइस् त, देखिस् बाहिर आवरण मात्र हेर्छेस्, कति संस्कारी रहेछ युवक।’
आफैंलाई चिमोठ्दै थिएँ, सम्झाउँदै थिएँ।
महोदयले जिउ फालेर सिटमा आफ्नो आधिपत्य जमाए। पुनः खुम्चिँदै झ्यालतिर अझ सरें।
केही थाहा नपाएझैंँ झ्यालबाट आएको चिसो हावा सरर खाँदै ‘हरियो साइकलमा’ कुदिरहेको थिएँ।
परीक्षा दिएर घर फर्किएका विद्यार्थीहरू रहेछन्। उनीहरूको अनुहारमा पूर्ण सन्तुष्टि र आत्मविश्वास ओतप्रोत थियो। न भविष्यको चिन्ता न त भूतको याद । बिन्दास पाराले स्ल्याङ्ग भाषाको अत्यधिक प्रयोग गर्दै थिए। वर्तमानको समयमा स्वतन्त्र र स्वच्छन्द भएर हाँसेका।
वर्तमान समयबाट खुसी र आनन्दलाई कागती निचोरेकझैं निचोर्न खप्पिस। उनीहरूलाई हेर्दा वास्तवमा जीवनको सही अर्थ त उनीहरूले नै पो भोगिरहेका छन् जस्तो लाग्यो। आत्मबोधले खारिएको दार्शनिकझैँ समय व्यतित गर्दै थिए। ती युवाको झुन्डलाई अध्ययन गर्दै थिएँ।
सत्यको बोध भएर मुक्त भएका जीवझैं तिनका संवाद कानमा गुन्जिरहे। औपचारिकता बिनाको ठिटौलेपन छ्ताछुल्ल देखिन्थ्यो/सुनिन्थ्यो।
यो समूहको विशेषता नै आवारा बादल भएर बाँच्ने त हो। उनीहरूको उमेर र समय हेरेर मख्ख पर्दै आफ्नो युवा अवस्थाको सिंहावलोकन गरें। मेरा ओठहरू अनायासै खुल्दै गए।
आडको सिटमा बसेका महोदयले निधारमा त्रिशूल बनाउँदै भएभरको ऊर्जा, ज्ञान र विद्धता ती १६/ १७ वर्षका युवाहरूको गतिविधिहरूलाई नियाल्न र विश्लेषण गर्नमा खर्चिरहेका थिए।
ती महोदयलाई भाउन्न भएछ। ती युवाहरूको हाउभाउ, बोल्ने शैली, साथीहरूसँगको हँसीमजाक चिन्तारहित वर्तमान, भोलिको परीक्षाको उट्पट्याङ्ग योजनाहरू, बोलीचालीको भाषा, शब्द चयन, बेपर्वाह व्यवहार आदिमा।
ती महोदय युवाहरूको संवाद सुनेर आफूलाई निकै दु:खी बनाइरहेका थिए। मलाई सही थप्छे कि झैैं गर्दै थिए। आँखा हरियो साइकलमा भए पनि कान बस भित्रको गतिविधि र संवादमा थियो।
म भने युवाहरूको कुरा सुनेर आनन्द मानिरहेको थिएँ।
वर्तमानमा रमाइरहेका युवाहरू खुला र सरल किताबझैं लाग्यो जसरी पनि पढ्न सकिने।
आखिर सबै वयस्कहरूले युवा उमेर पार गरेरै आएका हुन्छन्, कोही पनि एकै चोटि वयस्क भएका होइनौं हामी।
सबैले बाल्यकाल र युवा अवस्थाको तीतामीठा अनुभव संगालेकै हुन्छौं।
फेरि पनि किन युवाहरूसँग एकैचोटि परिपक्वताको व्यवहार हेर्न चाहन्छौं?
हामी हाम्रा साना नानीहरूमा पनि उमेरभन्दा अगाडि नै परिपक्वता खोज्छौं। बच्चाहरू चुपचाप लागेर पाहुनाहरूको अगाडि शान्त भएर बसून्। आफन्तहरूको माझ निकै व्यवहारिक भएर प्रस्तुत होऊन्। पढाइ लेखाइलाई गम्भीरताका साथ लिऊन्।
परिवारको सबै पक्षको जानकारी लिऊन् र त्यसै अनुरूप आफूलाई ढालून्। परिस्थिति अनुरूप काम गरून्। बाआमाका पीडा र व्यथा जम्मै बुझून्।
हामी अभिभावकको यो चाहना सत प्रतिशत ठीक हो त? समयभन्दा अगाडि नै कुनै कुरा प्राप्त गर्न खोज्नु हाम्रो बुद्धिमता हो कि मूर्खता ?
हरेक उमेरको आफ्नै विशेषता हुन्छन्। भोग्दै जाँदा पढिने कथाहरूको संगालो हो जीवन।
जीवनलाई उपन्यासजस्तो एकैचोटि पढेर बुझ्छु भन्नु मूर्खता हुन्छ।
हरेक मान्छेले जीवनका उकाली ओरालीबाट सिक्दै आएका अनुभवहरूको संगालो हो जीवन।
अनि किन हामी हाम्रा छोराछोरी या युवा पुस्ताहरूको उमेरजन्य क्रियाकलापलाई पचाउनै गाह्रो मानिरहेका हुन्छौं?
किन हामी उनीहरूको उमेरको मतलब राख्दैनौंं? किन हामी उनीहरूलाई बेपर्वाह,गैरजिम्मेवार ठान्न पुग्दछौं? अनि उनीहरूलाई बुझ्न सक्दैनौं?
यसै कारण हामी र युवा पुस्ताहरूबीच फराकिलो दूरी बन्न पुगेको छ। किनभने साठी वर्षको अनुभव पन्ध्र/सोह्र वर्षमा खोज्छौं।
हामी कति मूर्ख छौं अनि थाहै नपाई आफ्नै सन्तान र युवाहरूको खुसीको दुश्मन बन्न पुग्छौंं।
वास्तवमा हाम्रो उमेरमा उनीहरू आइपुगेका छैनन्। हामी त त्यो उमेर पार गरिसकेका छौंं नि। हामीले बुझ्नु सक्छौं। त्यसैले किन युवापुस्ताहरूलाई आफ्नो साथी नबनाउने?
अभिभावकको भूमिका छोडेर किन सहजकर्ता र सहयोगीको भूमिकामा आफूलाई नढाल्ने? आज हरेक क्षेत्रमा उपदेशक भन्दा पनि सहजकर्ताको खाँचो छ। म हरियो साइकलमा आँखा गाडें पनि मस्तिष्कमा यस्तै कुरा खेलाउँदै थिएँ।
समयभन्दा अगाडि आँप त अमिलो हुन्छ। त्यो अमिलोको पनि त स्वाद छ। काँचो आँप चाखेर यो आँप किन गुलियो भएन? यसको जातै अमिलो हो कि क्या हो? यो गुलियो हुनै सक्दैन भनेर भविश्यवाणी गर्दै आफैंलाई तताउने हो भने दोष कसको हो, आँपको कि हाम्रो?
ती महोदय अझ बर्बराउँदै थिए-
‘कस्तो जमाना आयो, आजका पिँढी देखेर दिक्क लाग्छ। कस्तो उच्छृङ्खलता सार्वजनिक यातायातमा बस्दा किन सभ्य नभएका होलान्?’
के-के हो के-के गन्थन र गुम्फनको ठूलै बेलुन फोड्न थाले।
हुँदाहुँदै ती युवाहरूको संस्कार,बा-आमा र खान्दानसम्मै पुगे र आफ्नो रक्तचापको लेबल बढाए। त्यति बोलेर पनि चित्त बुझेनछ। अनि युवाहरूलाई संस्कार, सभ्यता, नैतिकता र अनुशासनको लघु भाषण नै पो दिन थाले। युवाहरू वाकदिक्क मान्दै सुनिरहे।
गाडी अझ खचाखच थियो। रोड ठप्प थियो। सायद अगाडि कुनै दुर्घटना भएको थियो। अनि गाडीको ढुकढुकी बन्द भयो। महोदयको भाषण धाराप्रवाह चलिनै राखेको थियो। जामको प्रसव पीडा कम हुने अत्तोपत्तो थिएन।
यतिकैमा एक जना महिला बच्चा च्यापेर गाडीमा चढिन्। ती महोदयले सिट छोडिदिए।
मेरो मनमा महोदयप्रति फेरि सम्मान ओर्लियो।
साँच्चै नैतिकवान भद्र महोदय रहेछन्!
नैतिकताको सानो पाठ सिकाउने नैतिकवान व्यक्ति मेरो नजरमा महान ठहरिए,जसले एउटी महिला र बच्चाको भावना बुझेर त्यो जामको सिट जो छोडेका थिए। बिस्तारै जाम खुल्यो।
बयल गाडा गतिमा हाम्रो गाडी अगाडि बढिरहेको थियो। तीनथाना आएपछि एक महिला आफूलाई कसैले संवेदनशील अंगमा छोएको भनेर, गाडी नै थर्काउने गरी हल्ला गर्दै कसैको गालामा एक चड्कन झ्याम्म हानेको सुनियो।
महिला चिच्याइन् -
‘गाडी रोक यसलाई गाडीबाट झार! ढोका बन्द गर, ए भाइ! भाग्ला यो सा:::।’
हामी सबै रमिते भएका थियौं। ती महिलाले कठालोमा समातेर त्यो पुरूषलाई बाहिर निकालिन् सहचालक भाइले पनि मद्दत गरे।
म तीनछक्क परें। ती पुरूष अरू कोही नभएर अगाडि संस्कार र नैतिकताको पाठ सिकाउने तिनै महोदय पो रहेछन्।
हामी सबै स्तब्ध भयौं। अनि ती युवाहरूले भने- ‘कस्तो सुड्डो रहेछ। यस्ताको कुरालाई बाल मतलब आज तनावमा पार्यो, बोको सा:::। भेजा फ्राई नै गर्यो। पतित आफैं रहेछ खोक्रो नैतिकता छाँट्छ। मा::::सा। मलाई पनि एक लात्ती हान्न मन थियो तर दिदीले ठीक गर्नुभयो यस्ता बोकाहरूलाई यस्तै गर्नुपर्छ। सबै गल्लल हाँसे। अनुहार लुकाएर ती महोदय अलप भए।’
म त वाल्ल परेर सोच्न थाले यो कस्तो परिपक्वता? कस्तो ढोंग? आखिर यो पाखण्ड किन र केका लागि? किन मान्छे छद्मभेषी छ।
कसलाई विश्वास गर्ने,कसलाई नगर्ने?
पुनः आफैंलाई नराम्रोसँग हकारें-डन्ट जज अ बुक बाई इट्स कभर।