हाम्रो देश नेपालमा आज स्थानीय निर्वाचन भइरहेको छ। गत साता मात्रै म र मेरो परिवार हाल बसिरहेको देश बेलायतमा पनि स्थानीय निर्वाचन भयो। म बसेको वार्डमा उम्मेदवारसँग राम्ररी परिचय पनि नभइ काउन्सिलर चयन भइसके। जम्मा २८ प्रतिशत मात्र मतदान भएको सो निर्वाचनमा सरकारी बिदा भएन। न स्कुल छुट्टी भयो न गाडी बन्द गरियो।
बालबच्चालाई पोलियो थोपा खुवाउँदा समेत प्रहरी खटाउनु पर्ने देशबाट आएका हामीलाई चुनाव एउटा त्रास र आशले भरिएको पर्वजस्तो लाग्छ। तर दैनिक जीवनमा आ-आफ्नो काममा व्यस्त र शताब्दीदेखि नै प्रणालीमा अभ्यस्त बेलायतीका लागि चुनाव एउटा नियमित प्रक्रियाभन्दा केही पनि होइन।
बेलायतीहरू आफ्नो जीवनमा असर पार्ने निर्णय गर्ने वा नगर्ने नेतृत्वलाई चुनावमार्फत सबक सिकाउन र अवसर दिन चुक्दैनन्। स्थायी र परम्परागत मतदाता कम, पार्टी वा उम्मेदवारको एजेन्डा हेरेर मत दिने परिपाटीले उम्मेदवार र राजनीतिक पार्टी अनि नेताहरूलाई जिम्मेवार हुन बाध्य पार्छन्।
धेरैजसो सर्वसाधारणले निर्वाचनमा धेरै चासो भने राख्दैनन्। मतदान प्रतिशत नेपालको भन्दा आधा कम देखिएको छ। त्यसैले बेलायती निर्वाचन कानुनमा मतदान गर्नु नागरिकको कर्तव्य हो भनेर उल्लेख गरिएको छ।
बेलायतमा घरै बसेर 'पोष्टल' भोट गर्न सकिने व्यवस्था छ। मतदान केन्द्रहरू पनि ४-५ मिनेटभन्दा टाढा हुँदैनन्। मतदानको दिन पनि घरघरै गएर प्रचार गर्न पाइन्छ। गाडी नहुने वा अशक्त मतदातालाई उम्मेदवार वा कार्यकर्ता, स्वयंसेवकले गाडीमा राखेर मतदान केन्द्रसम्म लैजान पाउँछन्।
हामीकहाँ भने मतदानको तीनदिन अघिदेखि मौन अवधि सुरू हुन्छ। प्रचार-प्रसार प्रतिबन्ध हुन्छ।
निर्वाचनमा सहज र खुकुलो वातावरण बनाउनु पर्ने अवस्थामा हामी किन कडा र कसिलो?
यसको कारण पक्ष-विपक्षको तिक्ततापूर्ण व्यवहार र झैझगडा हो। निर्वाचनमा आफ्नो पक्षले जित्नै पर्छ भन्ने मानसिकताले गर्दा ठाउँठाउँमा झडप भएको समाचार आइसकेको छ।
अहिले मात्र होइन, हाम्रो निर्वाचनको इतिहास नै यसरी सुरू भएको देखिन्छ।
१९७५ सालमा श्री ३ चन्द्र शमशेरले काठमाडौंमा स्थानीय चुनाव गराउन खोजेका थिए। पछि एक्कासि एउटा सनद जारी गरेर चुनाव स्थगित गरे। इतिहासकार नयराज पन्तद्वारा २०३५ सालमा प्रकाशित 'श्री ३ महाराज पदम शमशेरका कुरा' मा उल्लेख भए अनुसार चन्द्र शमशेरले स्थानीय शासनमा जनसहभागिता वृद्धि गर्ने उद्देश्यले काठमाडौं नगरमा चुनाव प्रणाली घोषणा गरेका थिए। तर चुनाव प्रक्रिया चल्दा सहरमा साम्प्रदायिक झगडा र अशान्ति फैलियो। त्यसैले सरकारले नै मनोनयन गर्ने प्रबन्ध गरियो।
१०४ वर्षअगाडि नै यस्तो भएको हाम्रो चुनावमा झैझगडा, बुथ कब्जा, मत किनबेच, उत्ताउलो र उत्तेजना सामान्य लाग्छन्। चुनावमा खटिनु वा पक्ष-विपक्षको एजेन्ट हुनु वा सो प्रक्रियामा संलग्न हुनु भनेको निकै ठूलै चुनौती वा खतरा मोलेको रूपमा लिइन्छ। त्यसबाट सकुशल आउनु युद्ध जितेजस्तो भान हुन्छ।
प्रहरी सेवामा छँदा मैले हाम्रो चुनावको यस्तै अनुभव बटुलेको थिएँ। त्यही बोकेर बेलायत आएको मैले यहाँ सन् २०१० को संसदीय निर्वाचनमा तत्कालीन सत्तारूढ लेबर पार्टीको पोलिङ एजेन्ट र काउन्टिङ एजेन्टका रूपमा काम गर्नुपर्ने भयो।
म नेपालको अवस्था सम्झेर उही तनावपूर्ण मानसिकतामा मतदान केन्द्र गएँ। जाँदै गर्दा सोचेँ- बुथमा भयंकर भिड होला। नेपालको भन्दा धेरै तनाव होला।
तर जसै बुथ पुगेँ, म चकित नै भएँ। सुनसान।
लाग्यो म मतदान केन्द्रमै त छु?
बिहान ७ बजे सुरू भएर राती दस बजे सकिएको मतदानपछि भएको मतगणनामा काउन्टिङ एजेन्टका रूपमा जाँदा पनि उही सोचेको थिए। मतगणना स्थलमा त्यस्तै भिड अनि हाहा-हुहु होला।
तर यहाँ पनि उल्टो। सुनसान। भित्र कर्मचारी मतगणनामा व्यस्त। एजेन्ट र उम्मेदवार ती कर्मचारीले गनेको साक्षी मात्रै बनेर हेरिरहेका। न कुनै हुलमुल न बाहिर हल्ला गरी चिच्याउने कोही नेता-कार्यकर्ता।
म साँच्चै अचम्मित भएको थिएँ। मनमनै मेरो देशको चुनाव सम्झिएँ, आफू खटिएको सम्झिएँ। ती हुल, गालीगलौज, होहल्ला, उस्तै परे कुटपिट।
यसपालि बेलायतको स्थानीय चुनावको मतगणनापछि जब मेरो वार्डमा २८ प्रतिशत मात्रै मतदान भएको थाहा भयो, तब मैले बिहान निस्किनुअगाडि छिमेकीसँग भएको वार्तालाप सम्झिएँ। उसले आफू काममा व्यस्त हुनुपर्ने भएकाले भोट हाल्न नभ्याउने बताएको थियो। बिहान ७ देखि राति दस बजेसम्म, १५ घन्टा समय दिँदा पनि उसले घरनजिकैको बुथमा गएर भोट हाल्ने इच्छा राखेन।
हामीकहाँ कुनै समय ८-१० घन्टा टाढाको बुथमा भोट हाल्न अघिल्लो दिनै आएर बास बसेको समाचार पढ्न पाइएको थियो। अहिले पनि एक-दुई घन्टा त सामान्यै हो।
आफ्नो कामप्रति जिम्मेवार र अरूको राजनीति प्रति कम दखल दिने यहाँका जनता नेताका बारेमा आएका समाचार र पार्टी तथा नेताको नीति सुनेर आफ्ना धारणा बनाउँछन्। नेताले सानो गल्ती गरे पूरै पार्टीलाई नराम्रोसँग सजाय भोगाउँछन्। हाम्रो देश सम्झिऊँ त, नेताहरूको गालीगलौज, धारे हात र उखान टुक्कादेखि अपमानजनक अभिव्यक्ति!
यहाँका नेताले कुन तहको निर्वाचन हो, त्यहीअनुसार घोषणापत्र बनाउँछन्। त्यहीअनुसार नीतिमा बहस गर्छन्। मतदाताले पनि त्यसैको आधारमा धारणा बनाउँछन् र मतदान गर्छन। न कुनै ब्यानर, न कुनै चुनावी सभा, न र्याली न माइकिङ। न परिणाम घोषणापछि विजय जुलुस।
हाम्रो अवस्था फेरि सम्झिऊँ।
केही दिनअगाडि प्रमुख निर्वाचन आयुक्तले पत्रकार सम्मेलनमा भनेका थिए, 'यस पटक मतपत्र च्यात्ने र चपाउने कष्ट नगर्नु होला किनकी मतपत्र बाक्लो र बलियो छ।'
निर्वाचनको प्रबन्ध गर्ने एउटा संवैधानिक निकायको प्रमुखले यस्तो भन्नु भनेको राजनीतिक पार्टीका नेतालाई गतिलो झापड हो।
यो निर्वाचनमा बहालवाला प्रधानमन्त्री एवं भूतपूर्व प्रधानमन्त्री सहितका उच्च नेताहरूको सक्रियता र एकापसमा हिलो छ्यापाछाप पनि सम्झिऊँ। कतिपय नेतालाई निर्वाचन आयोगले स्पष्टीकरण नै सोध्यो। हाम्रा नेताहरूको हैसियत!
हिजो एउटै पार्टी र सरकारमा सहकार्य गर्दै गला मिलाएकाहरू अहिलेको सबै बिर्सेर एकअर्काको खेदोमा लागेका छन्।
यो देख्दा दुई दशकअगाडि युएन मिसनमा नेपाल प्रहरीको तर्फबाट भर्खर उपनिवेशबाट लामो संघर्षपछि स्वतन्त्र भएको इष्ट-टिमोरमा राष्ट्रपतीय निर्वाचन गराउँदाको समय याद आयो। संविधान सभाको चुनावपछि बनेको संविधानका आधारमा राष्ट्रपतिको चुनाव हुँदैथ्यो। इष्ट-टिमोरलाई स्वतन्त्रता दिलाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जनाना गुज्माओलाई त्यस बखतका २६ वटा पार्टीले निर्वाचनमा उम्मेदवार भएर राष्ट्रपति बन्न अनुरोध गरे।
गुज्माओले 'म गुरिल्ला युद्ध गरेर देश स्वतन्त्र बनाउन जान्दछु, तर देश बनाउन जान्दिनँ। त्यसैले कुनै युवा नेतृत्वअगाडि आउनु राम्रो हुन्छ' भनेर अगाडि बढ्न खोजेनन्। तर सबैको अनुरोधमा उनी उम्मेदवार हुन तयार भए।
लगभग निर्विरोध हुन लागिसकेका गुज्माओविरूद्ध सन् १९७५ मा पोर्चुगलबाट इष्ट-टिमोर स्वतन्त्र हुँदाका प्रथम राष्ट्रपति फ्रान्सिस्को जाभियर डो अमाराइले उम्मेदवारी दिए। उनले उम्मेदवारीसँगै दिएको अभिव्यक्ति भने गज्जबको थियो, 'इष्ट-टिमोरको राष्ट्रपति हुनुपर्ने गुज्माओ नै हुन्। तर प्रजातन्त्रमा प्रतिपक्ष पनि हुनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ।'
भर्खर जन्मिएको नयाँ राष्ट्रमा पहिलो पटक भएको निर्वाचनमा उम्मेदवार अनि शीर्ष नेताहरूमा त त्यस्तो सहिष्णुता देखिएको थियो भने, करिब सात दशकको चुनावी इतिहास भएको हाम्रो देशका नेता किन यति असहिष्णु?
हाम्रो निर्वाचनमा युवा र विद्यार्थीलाई बुथपिच्छे खटाउन निर्देशन दिँदै खुल्लमखुल्ला भाषण गर्छन् नेता। अनि सुरक्षाकर्मी र कर्मचारीलाई बुथ जोगाउनु पर्ने चुनौती छ।
सम्झिन्छु, त्यही इष्ट-टिमोरमा संविधान सभा चुनावताका खटिएको थिएँ। मतदान बन्द बेला बाहिर भिड बढेको देखेँ। चुनाव जित्न जे पनि गर्नुपर्छ भन्ने मानसिकता भएकाहरूको देशबाट आएको म सतर्क भएँ। सँगै खटिएका नर्वेजियन प्रहरी साथीलाई सजग गराउँदै 'अब मतदान बन्द हुने बेला भयो, बाहिर भिड बढ्दैछ, बुथ क्याप्चर हुन सक्छ, एलर्ट हुनुपर्छ' भनेँ। ती नर्वेजियन प्रहरीले चकित भएर मलाई 'कस्तो बुथ क्याप्चर' भनेर सोधे।
उनले मेरो कुरै बुझेनन्। बुथ क्याप्चर भन्ने कुरा उनको दिमागमा घुस्नै सकेन। मैले सम्झाउन खोजेँ। नर्वेजस्तो अनुशासित र विकसित देशबाट आएका ती प्रहरीले चुनावमा बुथ क्याप्चर हुन्छ भन्ने कुरा सोच्न पनि सकेनन्।
उनी ढुक्क थिए। म भने ढुकढुकमा थिएँ।
बुथ सिल गर्दा भिड बढ्दै थियो। सिल गरिसकेपछि भिडसँगै एजेन्टहरू आए र भोट संख्या सोधे। आफ्ना डायरीमा टिपे अनि 'धन्यवाद' भन्दै हात मिलाएर बाहिरिन थाले। भिड पातलियो।
आफ्नो देशमा चुनाव गराउँदा मतपेटिका राखेको गाडीमा अटाइनअटाइ, झुन्डिएर गाडीबाट खस्ने डर हुँदाहुँदै हामी प्रहरी र कर्मचारीलाई विश्वास नगरी सोही गाडीमा चढेका उम्मेदवार सम्झेँ। उनीहरू र मत संख्या टिपेर निर्वाचन सम्पन्न गरेकामा धन्यवाद भन्दै हात मिलाउने एजेन्टका अनुहार दाँज्न मन लागेर आयो।
२८ वर्षअगाडिको कुरा हो।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङको ७ नम्बर क्षेत्रको सुरक्षा कमान्डर भएर खटिएको थिएँ। निर्वाचनको दुई दिनअगाडि भारतको सीमा नजिकको गाउँ मझारेमा १०-१२ वटा भारतीय नम्बर प्लेटका गाडी लहरै लाइन लगाएर गाउँमा भिड जम्मा भएको देखेँ।
सोधखोज गर्दा संसदका उम्मेदवार पूर्वमन्त्रीको टिम रहेछ। मैले भारतीय गाडीहरूको भन्सार काटेको कागज जाँच्न खोजेँ।
पूर्वमन्त्रीले आकाशतिर देखाउँदै मलाई ठाडै भने, 'मेरो हैन, ऊ त्यो आकाशमा उड्ने गिरिजा (तत्कालीन प्रधानमन्त्री) को हेलिकप्टर चेक गर्नु।'
मैले बुझिहालेँ। उनी चाहन्थे म उत्तेजित होऊँ, आवेशमा आएर बल प्रयोग गरूँ, जनतालाई दुर्व्यवहार गरूँ। मसँग म्यादी प्रहरी समेत गरेर ९ जना थिए। उनीसँग १५० जति मान्छे होलान्। मैले धैर्य गुमाइनँ।
फर्किँदै गर्दा पञ्चायत कालदेखि नै उनको आनीबानी बुझेका एक जना असई सा'बले सुनाए, 'यी यस्ता नेता हुन्, चुनावमा गाउँगाउँ गएर स्थानीय भाषामा सुपारी खान्छौ भनेर सोध्थे। सुपारी निकाल्न खोजेझैं गरेर कुर्ताको गोजीबाट कटुवा पेस्तोलको गोली देखाउने। अनि ए झुक्किएछ भन्दै अर्को गोजीबाट सुपारी निकालेर दिन्थे रे।'
यस्ता नेता पनि हुन्छन्।
बेलायतमा सन् २०१० को संसदीय निर्वाचनमा मेरा नेपाली छिमेकीले चिह्न लगाएर हुलाकमा खसाल्न भनेर पोष्टल भोट गरेको खामबन्दी मतपत्र मलाई दिए। मैले दंग परेर आफ्नै पार्टीका सांसदका उम्मेदवारलाई सुनाएँ। उनी झस्किए र 'त्यसो गर्न मिल्दैन' नि भने। उसैका लागि संकलित मत थियो त्यो। हाम्रा देशका नेता भए स्याब्बासी पाइन्थ्यो। उसले सचेत गरायो।
मैले विभिन्न भूमिकामा अनेक चुनाव देखेँ। हाम्रो देशको भने अझै अचम्म लाग्छ। हामीकहाँ प्रतिस्पर्धामा उत्रिने, नउत्रिने मात्र होइन, सबैलाई चुनाव लाग्छ।
तर जे होस्, जसजसलाई लागे पनि अबका निर्वाचन सहिष्णुतासहित स्तरोन्नति हुँदै जाऊन्।
शुभकामना।