एकातिर स्थानीय चुनावको सरगर्मीले देश तातेको छ भने अर्कोतिर नयाँ शैक्षिक सत्रको माहोलले।
एक वर्षको मेहनत भित्र्याउन बच्चा र अभिभावकहरू उत्साहित छन्।
वार्षिक परीक्षाको नतिजा धमाधम घोषणा गर्दैछन् विद्यालयहरू। शिक्षकहरू लागि परेका छन्,नयाँ शैक्षिक सत्रको कार्य व्यस्ततामा।
हामी आमाछोरी पनि नतिजा लिन स्कुल गयौं। रिजल्ट राम्रो आएछ खुसी ओठबाट बाहिर निक्लिन नपाउँदै शिक्षकले एउटा पर्चा हातमा थमाइदिनु भयो। सरको आँखा छलेर सुटुक्क हेरें, छाती चरक्क गर्यो। मस्तिष्क शून्य भयो।
भुक्तानी गर्नुपर्ने आर्थिक पाटोको फेहरिस्त रहेछ। नयाँ भर्ना शुल्क, मासिक शुल्क, गाडी भाडा, अतिरिक्त क्रियाकलापको शुल्क, कम्प्युटर शुल्क र कोचिङको छुट्टै शुल्क।
मलाई भाउन्न भएर बेहोसै हुँला जस्तो भयो। आँखा तिर्मिराए। शिक्षकका अगाडि कालो निलो भइएला कि भनेर जबर्जस्ती मुसुक्क हाँस्ने कोसिस गर्दै थिएँ। छोरी किताब र कापीको भारी पनि आजै बोक्नुपर्छ भन्छिन्।
म पर्सतिर हेर्छु ,सिताङ्ग भएँ। करिब छ महिनादेखि जोगाएको पैसोले पनि नभ्याउने भयो।
छोरीको मुहारमा हजार वाटको बत्ती झलल बलेको थियो के निभाई हाल्नु जस्तो लाग्यो।
अनि हस् भन्दै छोरीको खुसीमा खुसी भएँ। शरीरमा पाँच सय पचास भोल्टको झट्का लागेको थियो। ओठ कलेंटी पर्दै थियो तर पनि अनुहार उज्यालो पारें। नानी अझ खुसी हुँदै चिकेन कट्टी रोल, वोनाम्चा, के के हो के के डिमाण्ड बढ्दै गयो।
बानी बिगारेको आफैंले हो। कसलाई दोष दिनु?
धेरै जसो रिजल्टको दिन उसका इच्छा स्वतन्त्र रूपले खुला हुन्थे। नतिजा प्रायः राम्रो आउँथ्यो अनि उसलाई छुट हुँदै गयो बाआमासँग आफ्ना माग राख्न।
मास्टर बाउ पनि मख्ख पर्दै जे जे भने पनि पूरा गरिदिँदै जान्थे उसका मागहरू।
रिजल्टको दिन छोरीलाई पर्व आएकोझैं लाग्छ। पहिले स्कुलको फी पनि उति साह्रो महंगो थिएन। स्कुलनजिकै कोठा भएकाले गाडी भाडा पनि तिर्नु पर्दैन थियो। कहिलेकाहीँ प्रथम हुँदा मासिक शुल्कमा पनि छुट हुन्थ्यो हामी पनि मख्ख पर्थ्यौं।
विस्तारै कक्षाको उकालो चढ्दै जाँदा,विद्यार्थीको झोला गह्रुंगो भएजस्तै शुल्कको भारी पनि बोझिलो बन्न थाल्यो।
कस्तो अचम्म शिक्षा नियमावलीमा पनि एक कक्षामा भर्ना भएपछि पुनः सोही विद्यार्थीलाई अर्को कक्षामा भर्ना फी लिन नपाइने नियम त छ नि तर खोइ लागू भएको?
सबैले जिब्रो पड्काउँदै कानमा तेल हालेर बसेका छ्न्। विरोध पनि पानीको फोको जस्तो हुन्छ, यहाँ।
विरोधको लागि मात्र विरोध गरेको जस्तो।
वर्षैपिच्छे किन भर्नाको नाममा उठाउँछन् निजी विद्यालयहरूले त्यत्रो पैसा? खोइ कता छन् नियमनकारी निकाय? शिक्षकलाई तलब बढाउन मासिक शुल्कमात्र बढाए त भैहाल्यो नि! किन फेरि अभिभावकहरूलाई मुटुको रोगी बनाउँदैछन् हँ! निजी विद्यालयहरू?
छोरी एक कक्षामा भर्ना भएदेखि यो कुराको विरोध गरेको सुन्छु तर छोरी दस कक्षामा पुग्दा पनि समस्या उस्तै छ। आज पनि ठूलो रकम भर्नाका नाममा विद्रोही मनले बुझाएँ। कसलाई दोष दिनु? आफ्नै रहर र बाध्यता हो निजी स्कुलमा छोराछोरी पढाउनु।
निकै उम्दा तरिकाले पढाएको छ स्कुलले पनि। छोरी सन्तुष्ट छे विद्यालयप्रति। हामी पनि गौरवान्वित छौं विद्यालयप्रति। तर सोच्छु आर्थिक पक्षलाई सर्वसाधारणको नजरले निजी विद्यालयहरूले हेरिदिए कस्तो हुन्थ्यो? भुइँ मान्छेको पीडा बुझिदिए कस्तो हुन्थ्यो?
विकसित राष्ट्रमा एउटै स्कुलका विद्यार्थीले भिन्नभिन्न शुल्क पनि तिर्छन् रे। हुनेले बढी नहुनेले कम अनि ब्यालेन्स मिलाउँछ रे। कस्तो काइदा, कति उत्कृष्ट सोच! हाम्रो समाजमा आफ्नो वैभव देखाउन अरूलाई तल झार्ने, होच्याउने र हेप्ने संस्कार बढ्दो छ। यो कुन शिक्षाको परिणाम हो?
शिक्षित र सम्पन्नहरू कुन मार्गमा भौंतारिँदै छन्? सोच्न आवश्यक छ अब।
आफैंसँग बोल्दै पुस्तक पसलतिर लागेँ। भीड रहेछ। अरू अभिभावकहरू पनि पालो कुर्दै बसेका रहेछन्। म पनि एउटा टुलमा थुचुक्क बसेँ, भारी मन लिएर। धन्न आँखामा कालो चस्मा र मुखमा मास्क थियो। नत्र आँसु नझरे पनि अनुहार रोएको स्पष्ट देखिन्थ्यो होला। चस्मैबाट नियालेँ अरू अभिभावकहरूलाई पनि प्रायःको अनुहार मेरोजस्तै रहेछ। एकाधलाई छोडेर सबैका पीडा उस्तै थिए, नपोखिएका तर तानिदिए हुरूरू उध्रिने।
एक जना बहिनीले मौनता तोड्नु भयो- घरनजिकै सरकारी विद्यालय छ तनी के गर्नु छोरा मान्दैन। नजिकै निजी स्कुलहरू पनि छन्। अलि कम थियो फी, गाडीको भाडा तिर्नुपर्दैन थियो। के गर्नु देउरानीले यो महंगो स्कुलमा छोरालाई भर्ना गरेकी छिन्। पल्ला घरे छिमेकीले पनि यही स्कुलमा राखेकी छन्। उनीहरूको अगाडि पैसा छैन भन्नुभएन। जे भए पनि इज्जत त राख्नैपर्यो। ‘भाइ चाहिँ त्यो स्कुलमा पढ्ने, म चाहिँ यो स्कुलमा भन्दै छोरो मडारिन्छ । साथीहरूका छोराछोरी पनि यही महंगो स्कुलमा पढ्छन्, फरर अंग्रेजी बोल्छन्।
समूहमा जाँदा पनि हेप्छन् कि जस्तो लाग्छ, मलाई पनि। के गर्नु बरू नखाएर नलाएर भए पनि छोरोलाई त राम्रो स्कुलमा हाल्नै पर्यो।’
छोरीलाई नयाँ भर्ना गर्न आएका पिता पनि बर्बराए, ‘मुटुमाथि ढुंगा राखेर भए पनि अरूका अगाडि दाँत ङिच्च पार्दै हाँस्नु परेको छ बाबै! के गर्नु आफ्नै बुद्धिले त हो। राम्रो स्कुलको पछि लाग्दाको नतिजा हो यो।
कमाउन कति गार्हो छ जति कमाए पनि पुग्दैन। सामाजिक परिस्थितिले सोझो र इमान्दार कसैलाई बन्नै नदिने भयो, अझ यो काठमाडौंको ठाउँ त के भन्नू।’ कलेटी परेका ओठहरू आँसु पिएर बन्द भए।
अगाडि बोल्ने बहिनीले अझै उकुसमुकुस ओकलिन् - अरूसँग प्रतिस्पर्धा गर्दा पनि टाउको दुख्ने रहेछ बुढाबूढीले त भन्थे ‘घाँटी हेरेर हाड निल्नू , के गर्नु ब्रोइलरको हड्डी सम्झेर चपाउन खोजियो अड्किन्छ कि क्या हो’ अघि भर्खर भर्ना शुल्कले ढाड भाँचेको थियो।
अहिले यी यस्ता बचेरालाई पनि एक भारी किताब राखेको छ ।
चार हजार छ सय रे। हे प्रभु! कुन दिनमा दशा लागेर यो स्कुल छिरिएछ। सरकारी स्कुल पनि कम्ताका त छैनन् नि। खोइ बुझेको हामीहरूले बरू जम्मैले निजी स्कुलबाट बच्चा झिकेर सरकारी स्कुलमा लैजाने हो भने ठीक हुन्थ्यो कि, यो ज्यादती।
अहिले त सरकारी स्कुलका शिक्षकहरू पनि केही गरौं भन्ने सोच बोकेर, लोक सेवा लडेर नै पो आएका छन् त, कति स्कुल त बोर्डिङभन्दा उम्दा पनि छन्, बोर्डिङमा भन्दा राम्रो पढाइ हुन्छ कति सरकारी स्कुलमा?’
देउरानीलाई देखाउन छोरा भर्ना गर्न आएकी बहिनी फेरि घाँटी खस्खसाउँदै बोलिन्-
‘हो! हजुरले ठिक भन्नुभयो बरू सबैले सरकारी स्कुलमा छोराछोरी पढाउँदा कसैलाई पनि टेन्सन त हुन्थेन। सबैका बच्चाहरू सँगै त पढ्थे अनि कसले कसलाई हेप्न सक्छ त?’
छोरीका पिताले गम्भीर हुँदै ओठ खोले- जति कुर्लिए पनि के गर्नु वाक्य फुट्दैनन्। स्कुल परिसर पुगेपछि कुकुरले टाङमुनि पुच्छर लुकाएझैं रिसलाई आफैंभित्र दबाएर नमस्कार गर्दै दस औंला जोड्नु पर्या छ हामी अभिभावकहरूले।
घाँटीमा अड्किएको हड्डी जस्तै भयो आधुनिक शिक्षा। सरकारी स्कुल पढाउने मार्स्टरहरू नै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँछन् अनि कसले विश्वास गर्छ सरकारी विद्यालयको गुणस्तरलाई? शिक्षा, स्वास्थजस्तो क्षेत्रलाई वास्तवमा निजीकरणको घिनलाग्दो खेलमा पर्न दिनु नहुने।’
सोचमग्न कविझैं गम्भीर हुँदै बोल्दाबोल्दै चुप लागे।
म सबैका कुरा सुन्दै थिएँ। सोच्दै थिएँ। हामी कतातिर बगिरहेका छौं। आधुनिक शिक्षाको नाममा कतै आफैंले खनेको खाल्टोमा त जाक्किने होइनौं? छोराछोरीलाई व्यवहारिक भन्दा सैद्धान्तिक र यान्त्रिक शिक्षा दिन किन यत्रो मरिहत्ते।
हरेक वर्ष भर्ना गर्ने समयमा किन यत्रो तनाव र चिन्ता बोक्नु परेको। कतै अस्वस्थ प्रतिस्पर्धालाई अंगालो मारेर ठूलो भाग खान खोज्दा ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान त चरितार्थ हुने होइन?
आखिर किन विद्यालय स्तरको पढाइ खर्चिलो र बिझिलो हुँदै गएको छ?
शिक्षा किन व्यापार भयो? कहिले र कसले यो समस्यालाई समाधान गरिदिन्छ?
अभिभावकदेखि अधिवक्ता, शिक्षाविददेखि समाजसेवीसम्म सबैलाई थाहा छ के हुँदैछ सरस्वतीको मन्दिरमा भनेर? तर बिडम्बना थाहा पाएर पनि केही गर्न नसक्नु जस्तो लाचारी केही होइन।
यस्तै कुरा सोच्दै थिएँ, एक जना अभिभावक बुलेट बाइकमा सुटबुटमा निकै सभ्य भएर आए। बाइकमै बसेर राजसी पाराले पसले भाइसँग किताब मागे। पसले भाइले कोर्सको बाहेक अरू दुइटा अतिरिक्त साहित्यका किताब पनि स्कुलले समावेश गरेको जानकारी दिए।
ती भद्र अभिभावकले हतार हतार ती दुइटा साहित्यका किताब हटाउन लगाए।
अनि सैद्धान्तिक ज्ञानको प्रवचन हामीलाई सुनाउन थाले- किताब किन्न लगाउँछ,पढाउने केही होइन,कोर्सकै यत्रा विधि किताब छन्। ताइनतुइँको कमिसन खान नयाँ-नयाँ ढर्रा गर्छन्। पैसा खाने जुक्ति मात्र हो पढाउने होइनन्।’
ती महोदयको पारा तात्यो। पढ्ने र पढाउने किताब बीचको अन्तर पनि थाहा रहेनछ अनि त्यो आगोको शिकार अंग्रेजी र नेपाली साहित्यका दुइटा निरिह किताबले भोग्नु पर्यो।
साहित्यलाई गलत्याइदिए। कोर्सका मात्र किताब कुम्ल्याएर बाइकको धुवाँ हामीमाझ छोड्दै हावामा गुटुटुङ्ग उडे। छेउमा बसेर रमिता हेरिरहेकी मलाई निकै पीडा भयो। अरू अभिभावकहरू पनि मुखामुख गरे।
‘दिदी साँच्चै यी अतिरिक्त पुस्तकहरू पढाउँदैनन् स्कुलमा?’
‘बहिनी! यो त हाम्रा नानीहरूलाई पढ्ने संस्कृतिको विकास गराउन थालिएको राम्रो काम हो यो स्कुलको। हामी चाहिने कुराको चाहिँ विरोध कहिले गर्दैनौ,नचाहिँदो कुरामा चाहिँ बहस गर्छौं।
साहित्यका किताबमा जीवन दर्शन, समाजको अवस्था, मनोविज्ञानलगायत विभिन्न पक्षहरू समेटिएको हुन्छ। अध्ययनले मस्तिष्क सफा पार्छ। बच्चाहरूलाई कल्पनाशील, रचनात्मक र सृजनात्मक बनाउन मद्दत गर्छ। मान्छेलाई मानव बनाउने मार्ग हो पुस्तकको अध्ययन। पुस्तकबाटै व्यवहारिक ज्ञान पनि प्राप्त गर्न सकिन्छ। विश्व ब्रह्माण्डलाई बुझ्न मद्दत गर्छन् यस्ता किताबले।
अरू कोर्सका किताब एक वर्षपछि कवाडीको भाउमा बेच्नुपर्छ तर साहित्यका किताबहरू जिन्दगी भर घरमा सजाएर राख्न सकिन्छ। बेला-बेला आफैंले पनि झिकेर अध्ययन गर्न सकिन्छ।’
मैले यति भनिसक्दा हाम्रो पालो पनि आएछ। हामी सबैले अतिरिक्त साहित्यका किताबसहित भारी रकम तिरेर नयाँ कक्षाका एक बोरा किताब लिएर घर आयौं।
ती बाइकवाला अभिभावकलाई सम्झिरहेँ। दुइटा साहित्यका किताब किन्न नसक्ने त थिएनन् तर उनी पनि त यही यान्त्रिक र सैद्धान्तिक शिक्षाका उपज हुन्।
कसरी पैसा कमाउने त्योमात्र महत्त्वपूर्ण छ हिजोआज। नहोस् पनि किन अच्काली मूल्य वृद्धिले सबैलाई आक्रान्त पारेको छ। बाँच्नु छ, बचाउनु छ। देख्नु छ, देखाउनु छ।
पैसाको राजनीति कहाँ छैन?
चाहे त्यो राजनीति होस्, शिक्षा या स्वास्थ्य सबै क्षेत्रमा पैसाको व्यापार भएको छ।
मानवीय व्यवहार त कसैलाई सिक्नु छैन। आज मान्छेलाई मात्र हो मान्छे बनाउन यत्रो खर्च गर्नु परेको तर नतिजा खोइ सोचेअनुसार आएको।
जति धेरै विद्यालय र विश्वविद्यालय निर्माण भएका छन्, उति-उति मान्छेहरू उग्र र अशान्त हुँदैछन्। अविवेकी हुँदैछन्।
यो कस्तो लगानी हो? हाम्रो लगानी खेर त जाने होइन? मानवताविहीन, संवेदनाहीन, यान्त्रिक मानवहरूको भीड त जम्मा हुने होइन, कालान्तरमा? यस्ता कुरा सम्झेर मन नराम्रोसँग चोक्टियो।
प्राय: हामी अभिभावकहरू नै पुस्तक किन्नु र पढ्नुको महत्त्व बुझ्न सक्दैनौं। सायद साहित्यको मर्म नबुझेर होला।
कसले सम्झाउने हामीलाई। पाठ्यक्रमका बाहेकका पनि अन्य पुस्तक हुन्छन्, आफ्ना सन्तानलाई अतिरिक्त पुस्तक पढ्न उत्प्रेरित गरौं। बच्चाहरूलाई अध्ययन गर्ने बानीको विकास गरौं।
अफसोच हामी अतिरिक्त पुस्तक किन्न हिच्किचाउँछौं।
जन्मदिनमा महंगो उपहार दिन कन्जुस्याइँ गर्दैनौं तर कुनै राम्रो पुस्तक किन्न दसचोटि सोच्छौं।
सन्तानको अगाडि बसेर आफू पनि पढ्दैनौं अनि के सिक्छन् बच्चाहरूले?
आफू बच्चाको अगाडि मोबाइलमामात्र झुन्डिएर बस्ने अनि छोराछोरीले पटक्कै पढ्दैनन् भनेर गुनासो गर्न हामीलाई लाज लाग्नुपर्ने हो।
मस्तिष्क परिवर्तनको मेरूदण्ड नै राम्रो पुस्तकको अध्ययन हो। जहाँ चेतनाको प्रवाह हुन्छ, त्यहाँ परिवर्तनको सम्भावना हुन्छ। समाजको रूपान्तरण हुन्छ। आजका बच्चाहरूलाई हामीले पुस्तक पढ्ने बानी बसाल्न सक्यौं भने पो आउने पुस्ताहरू सजिलै पुस्तकको पुजारी हुने थिए।
फराकिलो मस्तिष्कले कति सुन्दर समाज बन्थ्यो होला? पुस्तकलाई सम्मान गर्ने सभ्यता जन्मथ्यो होला। अनि घर-घरमा पुस्तकलाई सजाउने सुसंस्कृत सन्तान हुर्कन्थे होलान्।
आखिर अलि कति फजुल खर्च जोगाउँदा त एउटा पुस्तक आउँछ नि।
हामी अभिभावकहरू पनि आमाको दूधले नपुगेर बाउको घुँडा चुस्न थाल्छौं। निजी स्कुलमा राम्रो पढाइ नहुने भए किन यत्रो रोइलो गर्नुपर्थ्यो।
निजी स्कुलको विरोध होइन। निजी स्कुलका अपाच्य नियमहरूको विरोध गरौं।
आखिर ‘कुकुरै बधिया गरेपछि टोक्ला भन्ने केको डर’ किन बच्चाहरूलाई स्कुलले सिकाएको राम्रो बानीको अभ्यास नगराउने?
सबैले साहित्य,दर्शन र समाजको अध्ययन गर्ने राम्रा पुस्तक किन्ने, पढ्ने बानीको विकास गरौं।