गर्मीमा पसिना चुहाउँदै हिँड्दा शरीरबाट विकार निस्कन्छ। शरीर हल्का हुन्छ। तर गर्मी मौसममा चर्को घाम हुनाले हाइकिङ गर्दा रूखको छहारी पाइने पदमार्ग छनोट गर्नु उपयुक्त हुनेछ। यतिवेला पदयात्रा गर्दा गुराँसको सौन्दर्यमा रमाउँदै ऐंसेलु, काफल, चुत्रो जस्ता मौसमी फल चाख्दै हिँड्न पाइन्छ। यहाँ गर्मी याममा पदयात्रा गर्न उपयुक्त ९ गन्तब्यको चर्चा गरिएको छ।
ककनी-तारकेश्वर
हिमाल, सूर्योदय, सूर्यास्त, स्ट्रबेरी र ट्राउट माछाका लागि ख्याती कमाएको छ नुवाकोटको ककनी (२,१५० मिटर)। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, मनास्लु, हिमचुली, गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर र सगरमाथालगायत हिमाल देखिन्छ।
ककनी सधैं ठण्डा हुन्छ। डाँडामा घुम्नलायक सम्पदा छन्। नेपाल पर्वतारोहण संघले यहाँ हिमाल स्कुल खोलेको छ जहाँ १२ मिटर अग्लो रक क्लाइम्बिङ वाल छ। ४२ रोपनीमा अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान छ।
अर्को महत्वपूर्ण सम्पदा, सन् १९९२ मा थाई एयर दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा मेमोरियल पार्क बनाएको छ। ककनीलाई पिकनिक स्पटका रुपमा समेत विकास गरिएको छ।
ककनीमा बसन्ती दरबार पनि छ। जंगबहादुरकालीन काजी गगनसिंहले प्रेमिका मिठ्ठुका लागि बनाइदिएको दरबारलाई बसन्ती दरबार भनिन्छ। यो दरबारको जिर्णोदार भैसकेको छ।
ककनीमै स्काउट भवन छ। खाना र बासका लागि डाँडामा सुविधायुक्त होटल, रिसोर्ट र खाजाघर सञ्चालित छन्।
ककनीको स्काउट भवन नजिकै शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार छ। ककनी बसपार्कबाट पदयात्रा सुरु गरेर निकुञ्ज प्रवेश गर्ने जंगलैजंगलको बाटो गुर्जेभञ्ज्याङ निस्कन सकिन्छ। अथवा तारकेश्वर मन्दिर भएर पाँचमाने वा तीनपिप्लेसम्म पदयात्रा गर्न सकिन्छ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा पर्ने तारकेश्वर शक्ति पिठ हुन्। श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको दाहिने तिघ्रा यहाँ पतन भएको मानिन्छ।
डाँडाको भित्तामा बसेका छन् तारकेश्वर। हाल तारकेश्वरलाई व्यवस्थित गरिएको छ। यहाँ शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी व्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ। खडेरी पर्यो भने वरपरका गाउँलेहरू बाजागाजाकासाथ तारकेश्वर पुगेर पानी माग्छन्।
पदमार्गमा सितल झरना छ। तारकेश्वरको शिरमा धौलेश्वर महादेव। तारकेश्वर बेस क्याम्पमा पाँचमाने भञ्ज्याङ छ जहाँ माने बनाइएका छन्। पाँचमाने भन्दा मुन्तिर श्याम बाबाले भुवनेश्वरी मन्दिर बनाएका छन्।
कसरी पुग्ने?
काठमाडौं–ककनी ३३ किलोमिटर, बसमा। बालाजुको बाइपास हुँदै ककनी बस यात्रा सुरु हुन्छ। ककनी बसपार्कबाट पदयात्रा गर्ने। ककनीदेखि तारकेश्वरसम्म र तारकेश्वरबाट पाँचमाने, भुवनेश्वरी मन्दिर हुँदै तीनपिप्लेसम्म पदयात्रा। ककनी– तार्केश्वर ९ किमी, तार्केश्वर– तीनपिप्ले ४ किमी। जम्मा पदयात्रा दूरि १३ कि.मि.। समय ५ घण्टा। पदमार्गका अधिकांश बाटो निकुन्ज पर्दछ। तेर्सो तेर्सो जगलको बाटो भएको हुनाले सबैले हिड्न सकिने सजिलो पदमार्ग पर्छ।
धुलिखेल इको ट्रेल
शितल एवं शान्त आध्यात्मिक भूमि हो काभ्रेपलाञ्चोक धुलिखेल। यहाँको शान्ती वनमा ठूलो बुद्धमुर्ति छ। आरामदायी होटल, लज र रिसोर्ट सुविधा भएकाले धुलिखेलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुन्छ।
हाइकिङका लागि समेत धुलिखेल क्षेत्र उपयुक्त छ। धुलिखेलको ‘इको ट्रेल’ आकर्षक छ। धुलिखेलको पिपल चौतारी (१,५५० मिटर)बाट पदयात्रा सुरु गरेर गौखुरेश्वर महादेव, हवेलीडाँडाबाट जंगलको बाटो हुँदै दक्षिणकाली मन्दिर, राजकुलो, इटेकुवा, कालीछहरा भएर लाँकुरीडाँडा र त्यहाँबाट भाटगाउँ, वीर बलभद्र पार्क हुँदै काभ्रेकोट (१,७२० मिटर)मा पुगिन्छ।
काभ्रेकोटमा देवि मन्दिर छ। त्यहाँबाट द्वारिका होटल, भट्टेडाँडा, तमाङ बस्ती होमेनडाडाँको गुम्बा, न्यौपानेगाउँ, चाक्लाहिटी भएर पुनः गौखुरेश्वर महादेवसम्म पदयात्रा गर्न सकिन्छ।
पदमार्गको हवेलीडाँडाबाट ‘इको ट्रेल’ सुरु हुन्छ भने दक्षिणकाली मन्दिरबाट उहिले धुलिखेलमा पानी ल्याएको राजकुलो। नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहको समूह यही बाटो हिँडेको र ठाउँठाउँमा कोट बनाई एकिकरण गरेको इतिहास छ। काभ्रेकोटमा राजा पृथ्वीनारायणको सालिक बनाइएको छ भने बलभद्रपार्कमा वीर बलभद्रको।
शितल, शान्त र ऐतिहासिक गौरवगाथाले भरिपूर्ण पदमार्ग भएकाले पदयात्रीले रोमाञ्चक अनुभूति सँगाल्न पाउँछन्। साथै गौखुरेश्वर, दक्षिणकाली र देवीस्थान जस्ता धार्मिक सम्पदामा पुग्दा आध्यात्मिक भावना बढ्छ।
गर्मी याममा पदयात्रा गर्दा किम्बु, ऐंसेलु, चुत्रो र काफलको स्वाद चाख्न पाइन्छ। पदमार्गका भट्टेडाँडा र धुलिखेलमा होटल सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौं–धुलिखेल ३३ कि.मि. बसमा। धुलिखेलको पिपलचौतारीबाट पदयात्रा सुरु गर्ने। त्यहाँबाट गौखुरेश्वर, हवेलीडाँडा, राजकुलो, लाँकुरीडाँडा, भाटगाउँ, वीर बलभद्र पार्क, काभ्रेकोट, भट्टेडाँडा, होमेनडाडाँको गुम्बा, चाक्लाहिटी भएर पुनः गौखुरेश्वर महादेवसम्म पदयात्रा। पदयात्रा दूरि ११ कि.मि., समय ५ घण्टा। मध्ययम पदयात्रामा पर्छ।
फूल्चोकी
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फूल्चोकी (२,८००मिटर)। फूलैफूलको बगैंचा भएकाले डाँडाको नाउँ फूल्चोकी रहन गएको भनाई छ।डाँडा हरपल शितल हुन्छ। डाँडाबाट गणेश, लाङटाङ, गौरीशंकरदेखि सगरमाथा हिमालसम्मको लामो लर्कन देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।
फूल्चोकीमा वैशाख १ गते मेला लाग्छ। यहाँ फूल्चोकी माईको मन्दिर, चैत्य र हवाइजहाज तथा टिभीलाई सिग्नल पठाउने टावर छन्। सैनिक क्याम्प पनि छ। होटल तथा रिसोर्ट छैनन्, सामान्य खाजा घर मात्र छ।
हाइकिङ ललितपुरको गोदावरीबाट सुरु गर्ने। त्यहाँबाट फूल्चोकी जाने दुई बाटा छन्। पहिलो नौधाराबाट जंगलको ठाडो बाटो र दोस्रो कुण्डबाट मोटर गुड्ने बाटो। झरी पर्दा तेर्सो बाटोमा हिँड्ने र अरुबेला गोरेटोमा।
कुण्डबाट २ घन्टामा चापाखर्क पुगिन्छ। खर्कमा चौबाटो छ, पूर्व ओरालो झरे काभ्रेको र्याले पुगिन्छ। उत्तर लागे कोटडाँडा, पश्चिम झरे गोदावरी। खर्कबाट दक्षिण उकालो चढ्ने, २ घन्टामै फूलचोकी पुगिन्छ। फर्कंदा पश्चिम ओरालो झरेर गोदावरी नौधारासम्म हिँड्ने।
कसरी पुग्ने?
काठमाडौं–गोदावरी १५ कि. मि.। लगनखेल बसपार्कमा गोदावरी जाने गाडी पाइन्छ। गोदावरीकुण्डबाट पिकनिक स्पट, चापाखर्क हुँदै फूल्चोकी टप र टपबाट जंगलको गोरेटो झरेर नौधारासम्म पदयात्रा। हाइकिङ दूरि १८ कि.मि.। समय ८ घन्टा। जिप र मोटरबाइक फूल्चोकीसम्मै पुग्छ। ठाडै उकालो र ठाडै ओरालो भएकाले सहासिक पदमार्गमा पर्छ।
शिवपुरी
काठमाडौं उपत्यकाको उत्तरी डाँडो शिवपुरी (२,७३२ मिटर)। काठमाडौंमा बस्नेहरूको खानेपानीको मुहान–शिवपुरी। वागमती, विष्णुमतीका साथै अरु खोलाबाट पानी संकलन गरी काठमाडौं ल्याइएको छ।
शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जमा पर्ने शिवपुरी क्षेत्र जैविक विविधताको भण्डार हो। डाँडामा शिवपुरी बाबाले तपस्या गरेका थिए। यहाँ उनको आश्रम छ। डाँडाबाट उत्तरमा हिमाल देखिन्छन् भने तलतिर नुवाकोटका वस्तीहरू। पूर्वतिर भने चपली भद्रकाली र नगरकोट देखिन्छन्।
निकुञ्ज क्षेत्रमा प्रवेश गर्न शुल्क तिर्नुपर्छ। पानीमुहानमा टिकट काउण्टर छ। पदयात्राको प्रस्थानविन्दु बुढानिलकण्ठ हो। बुढानिलकण्ठमा भगवान बिष्णुको सुतिरहेको मूर्ति छ। बुढानिलकण्ठबाट २ कि.मि.मा पानीमुहान।
हाइकिङ ठाडो उकालोबाट सुरु गर्ने। घना जंगल बीचमा ढुँगा ओछ्याइएको ठाडो उकालो तीन घण्टा उक्लेपछि पुगिन्छ शिवपुरी टप। यहाँ बसेर खाजा खाने। पसल नभएकाले खाजा आफैं बोक्नुपर्छ।
शिवपुरी टपबाट १.१ कि. मि. दूरिमा छ बागमतिको मुहान बागद्वार (२,४७५ मिटर)। बागद्घारबाट २ घण्टामा नागी गुम्बा (१,९,००मिटर) पुगिन्छ। गुम्बाबाट पानीमुहान हुँदै बुढानिलकण्ठसम्म पदयात्रा गर्ने।
कसरी पुग्ने ?
काठमाडौ–पानीमुहान १४ कि. मि. बसमा। बुढानिलकण्ठबाट पानीमुहान र मुहानबाट ठाडो उकालो चढेर शिवपुरी टप पुग्ने। टपबाट बागद्घार, नागी गुम्बा हँुदै पानीमुहानसम्म हिँड्ने। पदयात्रा दूरि १६ कि.मि.। समय ७ घन्टा। ठाडै उकालो र ठाडै ओरालो भएकाले पदमार्गमा सहासिक छ।
भारदेउ गुप्तेश्वर
धार्मिक महत्व बोकेको गन्तव्य हो भारदेउको गुप्तेश्वर। भारदेउ गाउँको शिरमा बसेका महादेव (२,५००मिटर)। दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ मा पर्दछ गुप्तेश्वर।
ढुङ्गाको राताम्मे शिला। शिला वरपर त्रिशूल। नजिकै घन्ट पनि। छेवैमा ठूलो रूखमुनि गुफा। यसैलाई गुप्तेश्वर गुफा भनिन्छ भने शिलालाई गुप्तेश्वर महादेव।
गुप्तेश्वर गुफा करिब ५० मिटर लामो र १५ फिट अग्लो छ। गुफाभित्र छुट्टाछुट्टै दुई मन्दिर छन्, पार्वती र महादेवका।
गुफाबाट प्रवेश गरेपछि पहिला पार्वतीको मन्दिरमा पुगिन्छ। पार्वती मन्दिरबाट २० मिटर तल महादेव मन्दिर छ जहाँ मूर्ति र त्रिशुल छन्। पार्वती मन्दिरबाट तल झर्न धर्म ढोका छ। त्यसलाई पाप र धर्म छुट्टयाउने द्वार मानिन्छ।
गुफामा प्रवेश गर्दा पथप्रदर्शकको सहयोगमा टर्चलाइट बालेर बिस्तारै पस्नु पर्छ। गुफाको अधिकांश भाग चिसो र ओसिलो छ।
गुफा बाहिर मन्दिर बनाइएको छ। गुफाको शिर फूलबारी डाँडा (२,६०० मिटर)मा कोन्ज्योसोम गाउँपालिकाले कोन्जोेसोम प्रतिमा शाक्यमुनि बुद्ध, गुरु पद्यसंभव र अवलोकितेश्वरको मूर्ति बनाएको छ। मूर्ति निर्माण कार्य धमाधम भैरहेको छ।
समग्र भारदेउ आकर्षक छ। तामाङ बाहुल्य गाउँमा नेवार, बाहुन र क्षेत्री समुदायको बसोबास छ। गाउँको पूर्वमा काभ्रे, पश्चिममा नल्लु, उत्तरमा लेले र दक्षिणमा चौघरे पर्दछन्।
गुप्तेश्वर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिन्छ। पर्यटकका लागि भारदेउको पौवा चौरमा होमस्टे, होटल र रिसोर्ट सुविधा छ। एक रात भारदेउमा बसेर बिहान गुप्तेश्वर दर्शन गरि चौघरे हुँदै फर्कन सकिन्छ।
कसरी पुग्ने ?
लगनखेल–भारदेउ २२ कि.मि. बसमा। सुनाकोठी, ठेचो, चापागाउँ, टीकाभैरव, लेले, नल्लु भञ्ज्याङ हुँदै भारदेउ पुगिन्छ। भारदेउको पौवाचौरबाट पदयात्रा गर्ने। पौवाचौर–गुप्तेश्वर २.५ कि.मि. ठाडो उकालो। गुप्तेश्वर–फूलबारी डाँडा–चौघरे जंगल–पौवाचौर ६.५ कि.मि.। जम्मा पदयात्रा दूरि ९ कि.मि। समय ५ घण्टा। केही बाटो ठाडो उकालो र केही तेर्सो आरालो मध्ययम पदयात्रामा पर्छ।
चित्लाङ
काठमाडौंको दक्षिणी शिर चन्द्रागिरि (२,५०० मिटर) मुन्तिर सुन्दर उपत्यका चित्लाङ। पहिलापहिला काठमाडौं उपत्यकाबाट तराई झर्न चन्द्रागिरि भञ्ज्याङ (२,२५० मिटर) दक्षिणी नाका प्रयोग हुन्थ्यो।
मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने चित्लाङ सधैं शितल हुन्छ। यहाँ नेवार, तामाङ, क्षेत्री, बाहुन, बलामी आदिको बसोबास छ।
चित्लाङमा घुम्न, रमाउन र अध्ययन गर्ने त्रिगजुरेश्वर महादेव, गुर्जुधारा, राणाकालीन दरबार, सातधारा, अशोक चैत्यलगायत सम्पदा छन्। त्यस्तै सेरोफेरोमा बाख्रा फार्म, मानव निर्मित ताल इन्द्रसरोवर, बज्रबाराही, चन्द्रागिरि भञ्ज्याङ र भालेश्वर मन्दिर छन्।
यहाँको अशोक चैत्यले पुरातात्विक महत्व बोकेको छ। भारतवर्षमा बौद्ध धर्म प्रचार गरेका सम्राट अशोक लुम्बिनी घुमेर ईसापूर्व २७३ मा छोरी चारुमतीसँगै काठमाडौंं आएका थिए। त्यही बेला उनले बनाएको चैत्यलाई ‘अशोक चैत्य’ भनिन्छ।
अर्को कुरा, यहाँको गुर्जुधाराको पानी खाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानवतावादी कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लेखेका थिए। देवकोटाले पानी पिएर बसेका बेला पशुपतिनाथ दर्शन गर्न मान्छेको काँधमा चढेर आएको उनले देखे। मान्छेलाई दुःख दिएर पनि कतै धर्म कमाइन्छ? त्यसैले उनले लेखे, ‘मानिसहरूको काँध चढि कुन देवपुरी जाने हो?
चित्लाङमा पर्यटकीय सुविधाका होटल, रिसोर्ट र होमस्टे सुविधा छ। चित्लाङ सामुदायिक होमस्टेका २२ घरमा पाहुना राखिन्छ। त्यसैगरि आधा दर्जन होटल तथा रिसोर्ट छन्। मोटर बाटो चित्लाङसम्मै जोडिएको छ।
कसरी पुग्ने?
काठमाडौंंको बल्खु, कलंकीहुँदै थानकोटको गोदामसम्म गाडीमा। गोदामबाटै हिँड्न सकिन्छ। गोदामबाट पानीघाट २ कि.मि.। त्यहाँसम्म गाडीमा गएर पदयात्रा गरे सजिलो हुन्छ। पानीघाटबाट ठाडो उकालो चढेर चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुग्ने। चित्लाङबाट भन्ज्याङसम्म गएकै बाटो फर्कने। भन्ज्याङबाट मोटरबाटो हुँदै पानीघाटसम्म पदयात्रा गर्ने। पानीघाट–भञ्ज्याङ २ कि. मि. ठाडो उकालो। भञ्ज्याङबाट चित्लाङ ६ कि. मि.। जम्मा पदयात्रा दूरि १६ कि.मि., समय ६ घण्टा।
जामाचो
बौद्धमार्गी र हिन्दूको साझा तीर्थस्थल–जामाचो। हिमाललाई शिर र काठमाडौंलाई पाउ बनाएर बसेकी जामाचो। फूल्चोकी माईका चार दिदीबहिनी मध्ये कान्छी जामाचो।
काठमाडौं उपत्यकालाई पूर्वमा फूल्चोकी (२,८०० मिटर), पश्चिममा जामाचो (२,१५० मिटर), उत्तरमा शिवपुरी (२,७३२ मिटर) र दक्षिणमा चम्पादेवी (२,३०० मिटर)ले पहरा दिएका छन्। नेपाल भाषामा यी डाँडालाई क्रमशः फुचो, जामाचो, शिबुचो र धिनचो भनिन्छ।
जामाचोमा चैत्य र गुम्बा छ। नजिकै भ्यूटावर जहाँबाट चारैतिरको दृश्य देखिन्छ। आकाश छ्याङ्ग उघ्रिएका बेला सगरमाथादेखि अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर र लाङटाङलगायतका हिमाल देखिन्छन्। यहाँ वैशाखे पूर्णिमाका दिन मेला लाग्छ।
जामाचो शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जमा पर्दछ। हाइकिङ, बाइकिङ र साइक्लिङका लागि नार्गाजुन उपयुक्त छ। साइक्लिङ र बाइकिङ गर्दा फूलबारी गेटबाट सिधा मोटरेबल बाटोमा लाग्ने। घना जंगलको बाटो सैनिक पोष्ट, भैरब मन्दिर हुँदै नार्गाजुन टप १७ कि.मि।
हाइकिङ गर्दा फूलबारी गेटबाट प्रवेश गरेर ढुङ्गा ओच्छाइएको ठाडो सिंढीबाट उक्लने। १ घण्टा हिँडेमा ठूलो चौरमा पुगिन्छ। त्यहाँबाट डेढ घण्टा पदयात्रामा जामाचो टप पुगिन्छ।
डाँडामा पसल छैन। खाजा र पानी आफूैंले बोक्नुपर्छ। साँझ ५ बजेभित्र निकु्रञ्जबाट बाहिरिसक्नुपर्छ।
कसरी पुग्ने ?
काठमाडौंबाट बालाजु, बाइपास हुँदै ककनी जाने सडकको फूलबारी गेटमा पुगिन्छ। फूलबारीबाट ढुङ्गा ओच्छाइएको सिंढी चढेर करिब साँढे २ घण्टा उकालो चढेमा जामाचो। फूलबारी गेटदेखि जामाचो ५ कि.मि.। गएकै बाटो फर्कने। पदयात्रा दूरि १० कि.मि.। समय ५ घण्टा।
सुन्दरीजल
सुन्दरीजल नामैले राम्रा जलहरूको समूह। बागमती नदी बग्ने स्थान। सुन्दरीमाइको मन्दिर भएकाले पनि यसको नाउँ सुन्दरीजल भएको भनाई छ। यस क्षेत्रमा धेरै झरना छन्। दूध जस्ता झरना। यहाँका झरनामा क्यानोनिङ खेल खेलाइन्छ।
काठमाडौं उपत्यकामा पिउने पानीको प्रमुख जलाधार सुन्दरीजलमै पर्छ। यहाँबाट खानेपानी ल्याइएको छ। नेपालको दोस्रो जलविद्युत गृह पनि यहीँ छ। मेलम्चीको पानी पनि सुरुङमार्ग भएर सुन्दरीजल हुँदै काठमाडौं ल्याइँदैछ।
यहाँ सुन्दरीमाई, गणेश र कृष्ण मन्दिर छन्। सुन्दरीजल पिकनिक स्पट पनि हो। यहाँ होटल तथा रेष्टुराँ सुविधा छ।
हाइकिङ गर्दा सुन्दरीजल बसपार्कबाट उत्तरको ठाडो सिंढी चढ्ने। करिब ३० मिनेटमा दुध जस्ता सेत झरनाहरू भएको ठाउँमा पुगिन्छ। बाटोमा सैनिक चेक पोष्ट आउँछ। निकुञ्ज प्रवेश गर्न टिकट काट्नु पर्छ।
तामाङ गाउँ हुँदै २ घण्टामा मुलखर्क पुगिन्छ। मुलखर्कबाट चिसोपानी ९ कि.मि. दूरिमा छ। यो पदमार्ग भएर रसुवाको गोसाइँकुण्ड जान सकिन्छ।
मुखलखर्कमा बसेर खाजा खान सकिन्छ। खाजा खाएर गएको बाटो फर्कने। अलिक तल आएपछि दोबाटो आउँछ। दायाँ लागे गएकै बाटो सुन्दरी जल पुगिन्छ भने बायाँ झरेमा गाउँको दृश्य हेर्दै झर्न पाइन्छ। गाउँबाट ओरोलो झेरर पिकनिक स्पट हुँदै मेलम्ची गेटसम्म पदयात्रा गर्ने।
कसरी पुग्ने ?
काठमाडौं–सुन्दरीजल १५ किलोमिटर, बसमा। सुन्दरीजल–मूलखर्क ठाडो उकालो ४ कि.मि. र तेर्सो २. कि.मि.। मुलखर्कबाट मेलम्चीगेट ६ कि.मि. ओारालो। जम्मा पदयात्रा दूरि १२ कि.मि.। समय ६ घण्टा । मध्ययम पदयात्रामा पर्छ।
बल्थली
“ग्रिन भिलेज” नामले चिनिने काभ्रेपलाञ्चोक जिल्लाको बल्थली (१,७०० मिटर) बिभिन्न जातजातिको सुन्दर फुलबारी हो। ग्रामीण जीवनशैली, हरियाली र उर्बरा जमिन यहाँका विशेषता। कृषि कर्म, सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्य अवलोकन गर्न पाइन्छ बल्थलीमा। आकाश उघ्रेका बेला उत्तरदेखि पूर्वसम्म गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, रोल्वालिङदेखि सगरमाथासम्म देखिन्छ।
गाउँ मुन्तिर खोला किनारमा लड्केश्वर महादेव छन्। गाउ“बाट ठाडै ओरालो झर्नु पर्छ मन्दिर पुग्न। मन्दिर नजिकै धर्मद्धार गुफा छ। मन्दिरको ओढारमा जलहरिसहितका शिवलिंग छन्। छतबाट जलवर्षा भइरहन्छ।
लड्कु खोला किनारमा ठूलो एकादशीमा मेला लाग्छ। पौराणिक कथाअनुसार उहिल्यै समुद्र मन्थन गर्दा विष निस्कियो। त्यसबाट जगतलाई बचाउन महादेवले विष पिए। बिषले उनलाई डाहा भयो। शितल ठाउँको खोजीमा महादेव यहाँको खोला किनारमा आएर बसेको भनाइ छ।
गाउँलेहरु पशुपालन र कृषिमा निर्भर छन्। गाउँमा आलु, सुन्तला र दुध उत्पादन हुन्छ। बल्थलीको आलु चिप्स बनाउन भारतसम्म पुर्याइन्छ। दूध चाहिँ काठमाडौं सप्लाई गरिन्छ।
बल्थलीलाई केन्द्र बनाएर नमोः बुद्ध, पनौती, कामीडाँडा, धुलिखेल आदि ठाउँमा हाइकिङ गर्न सकिन्छ। बल्थलीमा होमस्टे र रिसोर्ट सुविधा छ। खोपासीमा रेशम खेती छ। त्यहा विसं २०२२ सालमा बनेको नेपालको तेस्रो जलविद्युत गृह छ।
हाइकिङ गर्दा खोपाशी झोलुङ्गे पुलबाट सल्मेटार, बल्थली न्यौपाने गाउँ हुँदै लड्केश्वर मन्दिर पुगिन्छ। अहिले मन्दिर परिसरमा १०८ फिटको त्रिशुल बनेको छ। लड्केश्वर महादेब दर्शन गरेर ठाडो उकालो हुदै कोलभन्ज्याङ भएर डाडाँको टुप्पामा रहेको बल्थली इको हिल रिसोर्ट पुग्ने। सिरसिरे हावा चल्छ यहाँ। रिसोर्टबाट चारैतिर राम्रो दृश्यावलोकन गर्न सकिन्छ। गर्मी मौसममा हरियाली विचमा रहेको रिसोर्टमा एक रात बिताउँन सकिन्छ।
रिसोर्टमा लन्च गरेर सितल जंगलको ओरालो झरेर लड्कु खोलाको झोलुङ्गे पुल हुदै फेरी सल्मेटारको हरियाली आलु फाटबट खोपाशी सम्म पदयात्रा गर्ने।
कसरी पुग्ने ?
काठमाडौं–बल्थली ३२ कि.मि., बसमा। काठमाडौंबाट बनेपा, पनौती हुँदै खोपासीसम्म बस चल्छन्। खोपासीबाट, सल्मेटार, न्यौपाने गाउँ हुँदै लड्केश्वर महादेव (१,१०० मिटर) र त्यहाँबाट कोलभन्ज्याङ, बल्थली ईको हिल रिसोर्ट, लड्कु खोलाको तिरैतिर हुँदै सल्मेटार, खोपासी पुलसम्म पदयात्रा । दूरि १२ किलोमिटर, समय ६ घण्टा । जिप र मोटरबाइक गाउँमै पुग्छन्।
गर्मीमा पदयात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरूः
बाटो– चैत–वैशाखमा चर्को घाम लाग्ने हुँदा सकेसम्म धुलो नउड्ने जंगलको शितल बाटो रोज्ने।
टोपी र चस्मा– निधार छोपिने टोपी अनिवार्य लगाउने। धुलो र धुवाँबाट बच्न सन ग्लास लगाउने।
लुगा–घामले नपोल्ने खालको सजिलो लुगा कटनको कपडा प्रयोग गर्ने। हिँड्न सजिलोे स्पोर्ट जुत्ता र पछाडी सजिलो व्याग बोक्ने।
पानी
- गर्मीमा शरीरलाई बढी पानी चाहिन्छ। हिँड्दा झन पसिना निस्कन्छ। त्यसैले ३ लिटर पानी अनिवार्य बोक्ने ।
- पानीको कमिले रिंगटा लाग्ने, टाउको दुख्ने, पिँडुला फर्कने, बेहोस समेत हुन्छ। तसर्थ बेलाबेलामा पानी पिउँदै हिँड्ने।
- पानी पिउँदा हरेक आधा देखि १ घण्टाको फरकमा पसिना निस्केको अनुपातले पिउने। तर एकै पटक भने धेरै पानी नपिउने। करिब २५० एमएलदेखि ३०० एमएलसम्म पिउने।
- कुनै पनि ठोस आहारसँग पानी नपिउने। ठोस आहार र पानीको अन्तर कम्तिमा आधा घण्टा पार्ने।
खाना
- मैदाजन्य खाना जंकफुड, चिल्लोमा तारे भुटेका, पिरो खाना नखाने।
- गर्मिमा अमिलो तथा पिरो खालका खाना जस्तै तितौरा खानाले अम्लियता बढेर टाउको दुख्ने, वाकवाक लाग्ने, हिँड्न गाह्रो हुने हुन्छ। तर्सथ पदयात्रामा यस्ता खाना नखाने।
- हिँड्दा शरीरलाई हल्का गर्ने स्वास्थ्यवर्दक आहार जस्तै मौसमअनुसारका फलफुल बोकेर पदयात्रा गर्ने।
- कसरी हिँड्ने ?
- सुरुमै छिटोछिटो नहिँड्ने। सुरुमै छिटोछिटो हिँड्दा स्वास फुलेर अप्ठेरो हुन्छ। तसर्थ मध्यम गतिमा बिस्तारै हिँड्ने।
- उकालो चढ्दा स्वास फुल्ने गरि मुख खुला राखेर नहिँड्ने। मुख खुला राखेर हिँड्दा मुटुमा अप्ठेरो हुन्छ। तसर्थ आफ्नो क्षमताअनुसार मात्र हिँड्ने। क्षमताअनुसार हिँडेमा मुख खुल्ला हुँदैन।
- धेरै गाह्रो भएमा पानी पिउँदै आराम गर्दै हिँड्ने।
- ओरालो झर्दा शरीरको भार घुँडामा पर्छ। त्यसैले बिस्तारै हिँड्ने। दौडने र कुद्ने गर्दा घुँडामा असर गर्छ।
- पदयात्रामा एकले अर्कोलाई सहयोग गरेर हिँड्ने।
- निकुञ्जः
- निकुञ्जमा हिँड्दा होहल्ला नगर्ने, जंगली जनाबर र चरालाई बाधा नपुर्याउने। त्यसैगरी सैनिक चेकपोष्ट वरपर फोटो खिच्ने या भिडियो बनाउने नगर्ने।
- निकुञ्ज हामी सबैको साझा राष्ट्रिय सम्पति हो, यसलाई संरक्षण गर्नुु हामी सबैको जिम्मेवारी हो। तसर्थ बोटबिरुवा नटिप्ने र फोहोर नफाल्ने।
शरीरको अवस्था
रूघाखोकी, ज्वरो वा अन्य समस्या छ भने नहिँड्ने। त्यसैगरि तौल बढी भएका, सुगर, प्रेसर वा मुटु सम्बन्धी समस्या भएकालाई हिँड्न अप्ठेरो हुन्छ। त्यसैले स्वास्थ्यको मापदण्ड र शरीरको तौल ठिक राखेर मात्र हिँड्ने।
औषधि–प्राथमिक उपचारका सामानहरू सिटामोल, व्याण्डेज, टेप, मुभ, माक्स आदि बोक्ने।
कोशेली– पदयात्रा गन्तव्यका खानेकुरा वा सजाउने सामान किनेर कोसेली ल्याउने। यसले स्थानीयको उद्यमशीलता विकासमा टेवा पुग्छ।
प्रचार–आफू घुमेका ठाउँका तस्बिर, भिडियो र जानकारी सामाजिक सञ्जालमा पोष्ट गरेर ती ठाउँको प्रवद्र्धनमा टेवा पुर्याउने।
सबैले बुझ्नुपर्ने कुराः हाइकिङ अर्थात पदयात्रा हिड्दा स्वास्थ्य लाभ हुन्छ भन्ने ज्ञान सबैमा भइसकेको छ। त्यसैले अजकल हाइकिङ संस्कृति बढेको छ। तर स्वास्थ्य लाभको लागि हिडिने पदयात्रामा भने जानी नजानी मनपरी खाएर मनपरी हिडेको पाइन्छ। मनपरी खाएर मनपरी हिड्दा जति स्वास्थ्य लाभ हुनुपर्ने हो त्यो हुदैन। पदयात्रा गर्दा उचित आहार सहित उचित तरिकाले हिडदा आफ्नो पनि कल्याण हुन्छ भने आफु वरपरकालाई पनि कल्यान हुन सहयोग पुग्छ। तसर्थ उचित आहार, विहार, विचार सहित पदयात्रा गरौं, आफुपनि स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ रहन प्रेरित गरौं।
आफ्नो स्वास्थ्य आफ्नै हातमा।
(प्रकृति प्रेमी समूहकी कोषाध्यक्ष रामदेवी महर्जन ‘हाइकिङ काठमाडौंं’ पुस्तककी लेखक हुन्।)