हिजोआज साथीभाइ अनि आफन्तहरूले जिस्किएर भन्नुहुन्छ, 'के छ हो, डिग्रीवाली गृहिणीको हालखबर?' म फिस्स हाँस्दै 'राम्रो छ' भन्छु।
धेरै जनाले स्याबासी दिनुहुन्छ। यतिका वर्ष घरभित्रै बसेर पनि लेख्न थालेकोमा बधाई दिँदै लेख्न हौसला प्रदान गर्नुहुन्छ। प्रशंसा सुनेर म पनि मख्ख पर्छु। ओहो! साँच्चै राम्रै काम गरेकी क्या हो जस्तो लाग्छ।
अझ राम्रोसँग लेख्न के-के गर्नुपर्ला? म सोच्दै थिएँ।
एक जना शुभचिन्तकले 'घोस्ट राइटिङ' मा जाने सल्लाह दिनुभयो।
मलाई थाहा थिएन 'घोस्ट राइटिङ'को बारेमा। के रहेछ त भनेर गुगल गरें। अनि मलाई पनि जाऊँ जाऊँ लाग्यो। आफ्नो फोन नम्बर घोस्ट राइटिङको पेजमा राखिदिएँ। फोन आयो तर समय मिलेन।
फेरि घर र बच्चाहरू पहिलो प्राथमिकतामा आए। अनि विकल्प खोज्न थालें।
कसरी लेखाइ र गृहस्थ जीवनलाई सन्तुलित पार्दै लैजाने होला?
घर बसीबसी लेखाइलाई परिस्कृत कसरी गर्ने होला? म चिन्तन गर्न थालें। अनि श्रीमानले एक झोला राम्रा राम्रा किताब किनेर ल्याइदिनु भयो।
उहाँले भन्नुभयो- 'धेरै पढ्नू अनि लेख्नू।'
हुन त योभन्दा अगाडि पनि किताब किन्न कन्जुस्याइँ गर्ने मान्छे त होइन। अझ मेरो लेखाइ स्तरीय होस् भनेर हौसिनु भयो। म पनि चस्मा बनाइकन किताब पढ्न अझ अग्रसर भएँ।
कस्तो अचम्म हुने रहेछ। कुनै पनि पुस्तक कुन प्रयोजनको लागि अध्ययन गरिँदैछ भन्ने कुराले फरक पार्दो रहेछ।
मेलै लेख्नुभन्दा अगाडि पढ्नका लागि मात्र पढ्थें। समय कटाउनका लागि पढ्थें। तर आज मेरो उद्धेश्य फेरिएको छ। लेख्नका लागि पनि किताब पढ्न सकिने रहेछ। पढिसकेका किताब पुनः पढ्दा पनि नौलो अनुभूति भएको छ। शब्द र वाक्यहरू विश्वविद्यालयझैं लागेका छन्। पढिसकेकै हरफहरूले पुनः हृदय छोएको छ। बुद्धिसागरको 'कर्णाली ब्लुज' र 'फिरफिरे' हिजो रमाएर पढेको थिएँ। आज अध्ययन गर्दैछु। कति फरक रहेछ अध्ययन गर्नु र पढ्नुमा।
सोचले कति फरक पार्दो रहेछ, जीवनमा। त्यसै कर्ण शाक्यले सोच जन्माएका रहेनछन्।
आफूलाई भाग्यमानी ठान्दै जे उपलब्ध छ त्यसैबाट उपलब्धि निकाल्ने कोसिस गर्दैछु।
घर भित्रको काम गनेर साध्य हुँदैन। घरभित्रको कामलाई निश्चित समयसम्म मात्र गर्छु भन्न गाह्रो हुन्छ। तर समयको व्यवस्थापन त ठूलो सम्पत्ति रहेछ।
एकनासको दैनिकी बनाउँदा सबै काम समयमा सम्पन्न हुँदो रहेछ।
मेरो परिस्थितिले बिहान 'घोस्ट राइटिङ' जान नमिलेर के भयो त? घरको काम सकेर दिउँसो आनन्दले घरै बसीबसी अध्ययन गर्न त पाएको छु।
सामाजिक सञ्जाल र फोनबाट सल्लाह र सुझाव बटुलिरहेको छु। यो पनि त मेरो अहोभाग्य हो।
भन्नेले भनिदिएँ- 'फेसबुकका कमेन्ट प्राणहीन र अर्थहीन हुन्छन्। मान्छेलाई फुर्क्याउन नभएको प्रशंसा पनि गरिदिन्छन्। कुनै भावना हुँदैनन् ती कमेन्टमा।'
मलाई पनि हो कि जस्तो लाग्थ्यो। तर अर्को मनले सोचें सबै कमेन्टलाई एउटै नजरले हेर्नु पनि त हुँदैन।
कति कमेन्टमा वास्तविकता लुकेको हुन्छ। कति सत्य हुन्छन्। कति हृदयबाटनै कोरिएका हुन्छन्।
केही लेखेर म पनि आफ्नो फेसबुकको वालमा पोष्ट गर्थें। यसै क्रममा केही महिना अगाडि सिन्धुलीको भिमान हुँदै कटारी, जनकपुर, गढीमाईसम्मको यात्रा विवरण पोष्ट गरेको थिएँ। त्यो यात्रा विवरणमा धेरैजनाले कमेन्ट गर्नुभयो। म पनि मानवीय गुणबाट कहाँ अछुतो हुन सकेंँ र? कमेन्ट देखेर दङ्ग परें। दोहोर्याए कमेन्ट पढ्न मन लाग्थ्यो। सकारात्मक कमेन्ट धेरै आएकोले मेरो लेख्ने साहस बढ्यो। अर्को मनले फेरि सोच्थें आफन्त र साथीहरूले माया गरेर मात्र पो लेख्नु भएको हो कि?
तर एक जना दाजुको जीवन्त कमेन्टले मलाई सोच्न बाध्य पार्यो। उहाँले लेख्नुभएको थियो, 'लेखाइ राम्रो छ, कुनै अनलाइन पत्रिकामा पठाउनू , म पनि सहयोग गर्छु।'
यो कमेन्ट चार पाँचचोटि पढें।
अनि पुनः आफूले लेखेको यात्रा विवरण दोहोर्याए पढें।
मेरो लेख पनि पत्रिकामा छापिएला त? शंका थियो। तर दाइको एउटा कमेन्टले मलाई निकै ठूलो हिम्मत मिल्यो।
दाजु पनि चानचुने मान्छे त होइन। वरिष्ठ पत्रकार हुनुका साथै एक अब्बल कानुन व्यवसायी (लिलानाथ घिमिरे)। पक्कै मलाई खुसी पार्न मात्र लेखिएको कमेन्ट थिएन। अनि सकारात्मक कमेन्टको तागतले मलाई ऊर्जा प्रदान गर्यो। पत्रिकाको लागि लेखौं लेखौं लाग्यो।
अनि 'डिग्रीवाली गृहिणी'लेखें।
लेखिसकेर पनि संकोच थियो। राम्रो भयो कि भएन? अनि छोरीलाई पढेर सुनाएँ। छोरी पनि पत्रकारिता विषयमा स्नातक गर्दैछिन्। उसले झट्ट ल्यापटप खोलेर सेतोपाटीको इमेल कपी गरी हालिन्। उनैले सेतोपाटीमा मेरो लेख पठाइन्। मलाई छापिन्छ भन्ने पूर्ण आशा थिएन तर छोरीले हजुरको लेख छापिन्छ भनेर हौसला दिइन्। नभन्दै सेतोपाटीबाट इमेल आयो 'एक दुई दिनमा तपाईंको लेख हामी छाप्ने छौं।' आमा-छोरी मख्ख पर्यौं।'
छोरीलाई ग्वाम्म अंगालोमा बेरें। मेरा आँखा जलमग्न भएछन्। आफ्नो क्षमता र गन्तव्य बिर्सिएर भौंतारिएकी मलाई नयाँ बाटो देखाउने ती दाइ, छोरी र सेतोपाटीप्रति हार्दिक आभार प्रकट गर्छु।
अनि 'डिग्रीवाली गृहिणी' लाई रूचाएर मलाई लेख्न हौसल्ला दिने सम्पूर्ण पाठकहरूलाई हृदयबाट नै मुरीमुरी धन्यवाद दिन चाहन्छु।
अनि बुझें सामाजिक सञ्जालको तागत। सबै लाइक कमेन्ट निर्जीव नहुँदा रहेछन्। हरेक क्षेत्रमा सकारात्मक कुराले मात्र सफलता प्राप्त हुने रहेछ। प्रविधि त प्रयोगमा भर पर्ने रहेछ।
अनि मैले प्रविधि र खाली समयको सदुपयोग गर्न थालें। आफ्नो दैनिकीमा लेख्ने र पढ्ने समयलाई छुट्टाउनु लागें। उद्देश्यका साथ अध्ययन गर्दा पुस्तकले गजबको नशा दिँदो रहेछ।
म खुसी र शान्त भएर गृहिणीको भूमिका पूर्ण रूपमा निभाउँदै बाँकी समय साहित्यलाई दिन थालेको छु।
गृहिणीलाई प्रायःले भन्छन्, ‘कमाएर ल्याइदिने छँदैछ। काम नभएको मान्छे नाँच्न गए पनि भयो, बाजा बजाउन गए पनि भयो।'
नबुझ्नेले भनेको त ठिकै हो तर यहाँ त बुद्धिजीवीहरूको सोच पनि छुद्र देखेर कहिलेकाहीँ दिक्क लाग्छ।
अस्ति भर्खर गाडीमा एक बुद्धिजीवीसँग भेट भयो।
म गाडीमै सुरेश बडालको 'रहर' पढिरहेको थिएँ।
अफिसबाट थाकेर लखतरान भएर आउनु भएको रहेछ। सायद तनावमा हुनुहुन्थ्यो। मैले पढेको देखेर प्याच्च बोल्नुभयो- ए! ल राम्रो! तिम्रो दिनभरि काम हुँदैन अनि लेख्छौ, पढ्छौ पत्रिकामा छपाउँछौ। फुर्सद भएकाहरूलाई मस्ती छ, पढ्यो बस्यो। अनि के यो गाडीमा हल्लँदै पढेको?
मूर्खसँग वादविवाद नगर्नू भन्नुहुन्थ्यो हजुरआमाले यहाँ त अझ बुद्धिजीवी मूर्ख देखेर म झसंग भएँ।
'हजुरको कुरा ठिक हो।' मात्र भनेँ।
तर भन्न मन थियो। झपार्न मन थियो।
'ए ! आजसम्म लेख, रचना, उपन्यास जम्मै काम नभएकाहरूले मात्र लेखेको देख्नुभयो? तपाईंले बुझेको संसार यही हो?' पढ्ने, लेख्ने त मान्छेको बानी हो फुर्सद भएर मात्र हुँदैन तर बुद्धिजीवीको बुद्धिमा खिया लागेको देखेर। बढी बोल्न मन लागेन।
हाँसेर यति चाहिँ भनेँ- रिटायर्ड भएपछि हजुर पनि लेख्नुस्, हजुरको कृतिले एकैचोटि मदन पुरस्कार पाउनेछ।
नाक त घिरौंलाजस्तो पार्दै अझ चम्केर भन्नुभयो- तिमीजस्तै दिनभरि घर बस्ने भएत म, तिम्राजस्ता लेख त हजारौं लेख्थें। तिम्रो पो काम छैन। अनि के सोचेर हो, हेपेर ओठ लेप्र्याउँदै सोध्नुभयो- पैसोसैसो पनि दिन्छ?
भर्खर तीन वटा लेख छापिएको थियो। फ्याट्ट दिँदैन भन्न पुगिहालें। पैसा दिँदैन भन्ने सुन्ने बित्तिकै कुन्ठाले ग्रसित मनस्थिति छताछुल्ल भयो। अनि खैरो खन्न थाले- लेख्ने मान्छेलाई पारिश्रमिक दिनु नपर्ने भएर स्तरहीन लेख छाप्छन् अनलाइन पत्रिकाहरूले। नाम चलेको पत्रिकामा लेख छपाएर देखाऊ। अनि मानौंला तिमीलाई' सम्म भन्नुभयो। उहाँको बौद्धिकता देखेर दिक्क लाग्यो।
अझ बोल्दै जानुभयो- पारिश्रमिक दिनु नपरे पछि झारपात जस्ले लेखेर पठाए पनि छाप्छन् अनलाइनले। लेख बौद्धिक र स्तरीय हुँदैनन् ।
कतिसम्मको दरिद्र सोच। भर्खर लेख्न लागेकी मजस्तो सिकारूलाई हौसला दिनु त कहाँ हो कहाँ, गुमाउरो पाराले भन्नसम्म भने। विचरा आफैं विछिप्त रहेछन् अनि कसरी मीठो र राम्रो बोल्न सक्थे। सेवाग्राहीलाई कस्तो सेवा देलान् भन्ने पीर पो पर्यो त मलाई।
मलाई दया लाग्यो उहाँको बोझिन मनस्थिति देखेर। विचरा भित्र कति कुन्ठा रहेछ, कति उकुसमुकुस रहेछ। कति अशान्त मन लिएर हिँड्नु भएको।
साँच्चै भनेका रहेछन् हाम्रा सन्तहरूले- वाणीले नै हाम्रो संस्कारको परिचय दिन्छ।
मलाई पनि जवाफ आइसकेको थियो, भन्न मन थियो- पोहोर लकडाउनमा कति वटा कृति निकाल्नुभयो? कति वटा लेख लेख्नुभयो त हजुरले? त्यत्रो दिन घरभित्रै हुनुहुन्थ्यो। समय नै समय थियो त?
अशान्त मस्तिष्क छिद्र भएको घडाजस्तै हुन्छ, जति पानी हाले पनि चुहिएर बाहिर जाने।
यो गुरू वाक्य झट्ट याद आयो अनि आफ्ना रसनालाई सुमिरनमा लगाएँ। उहाँलाई नमस्कार टक्रयाएर घर आएँ। अनि अक्षरमा खेल्न सुरू गरें।