'म पनि होली खेल्न जान्छु है, साथीहरूसँग बसन्तपुर।' निकै प्रफुल्ल भएर छोरी मसँग अनुमति माग्न आइन्।
अनायासै भन्न पुग्छु - 'अहँ ! पर्दैन जानु।'
मलाई प्रश्न तेर्सिन्छ 'किन जानु हुँदैन? सबै जान्छन् म मात्र नजाने, नाइँ ! म पनि जान्छु।'
ठुस्स परेर अँध्यारो अनुहार लगाउँछिन्।
अनुमतिको भिख माग्दै, निरिह बनेर यताउता गर्छिन्। मोबाइलमा घन्टी बज्छ। अँह ! हातमा भएर पनि उठाउँदिनन्। टुलुटुलु मलाई हेर्छिन्। जाँ! भन्छे कि भनेर। मन नराम्ररी दुख्छ। छोरीलाई स्वतन्त्र छोडिदिन सक्दिनँ। उसका रहर र इच्छाहरूको बाधक बन्न पुग्दा मुटुमा गाँठो पर्छ।
बालमनोविज्ञान बुझ्नुपर्छ। कुनै कुरामा हस्तक्षेप गर्नु हुँदैन, थाहा नपाएको पनि त होइन नि। तर वर्तमान समयको डरछेरुवा आमा! जो परें, विवश छु।
समाजको वास्तविकता, अराजकता र उद्दण्डतालाई आमाको नजरले मात्र हेर्न पुग्छु।
भर्खरै अठार महिनाकी सानी नानीलाई बलात्कार गरेर विभत्स तवरले मारेको दृश्य आँखामा नाच्न थाल्छ र लाचार भएर बोल्न पुग्छु- नानी होलीको दिन, गाडी भिड हुन्छ। घर टाढा छ, कसरी आउँछ्यौ?
मैले बहाना बनाएँ।
उनी भन्छिन्- साथीहरूसँग आउँछु।
मन चिसो हुन्छ। बाटोमा केटीहरूमाथि होलीको बहानामा हुने ज्यादती। नशालु पदार्थ सेवन गरेर हिँडेका जत्था। मेरो दिमागले के/के सोच्यो सोच्यो। जाँ भन्न सकिनँ बरू घरमै उसका नजिकैका साथीहरूलाई बोलाउने आश्वासन दिएँ। मनपर्ने खानाहरू बनाउने बाचा गरें। छोरी निकै समझदार थिइन्। मेरो कुरालाई एकैपटकमा सहर्ष स्वीकार गरिन्।
मलाई प्रश्न गर्छिन्- हजुरले आफ्ना साथीहरूसँग होली खेल्नु भएन?
म आफ्नो बाल्यकाललाई नियाल्छु। कसरी सम्झाऊँ, उसलाई। त्यो वातावरण, समय, विश्वास, इमानदारिता र त्यो सम्बन्ध सबै वास्तविक थिए। मजस्तो सशंकित मेरी आमाले हुनु पर्दैन थियो। आज जस्तो हत्या हिंसा र बलात्कारको घटना छ्यापछ्याप्ती थिएनन्।
आजको समाज अनि सम्बन्धप्रति अचेल धेरै आमाहरू पूर्णविश्वास गर्न सक्दैनन्। छोरी स्कुल जाँदा होस् वा घरमा। जुनसुकै बेला पनि सशंकित हुनु परेको छ हामीले। हरेक दिन समाचार सुन्न बस्दा एउटा हत्या र बलात्कारको घटना सुन्नुपर्छ।
म चाहेर पनि सकारात्मक सोच्न सक्दिनँ। छोरी अलि ढिलो घर आउँदा दिमाग कहाँ-कहाँ पुग्छ, भनेर साध्य छैन। हाम्रो पालामा हाम्री आमाले सायद यो मानसिक पीडा भोग्नुपरेन।
हामीहरू घर वरिपरि नै खेल्थ्यौं। हामी र हाम्रा आमाहरू निस्फिक्री भएर बाँचेका थियौँ। हामी स्वतन्त्र र स्वच्छन्द थियौं। समाज सानो थियो, विश्वास ठूलो थियो।होलीमा आज जस्तो विकृति पनि त थिएन। विशुद्ध होली मात्र खेलिन्थ्यो। त्यसैले नानी म होली खेल्थें।
छोरी सोध्छिन्- कस्तो थियो त मामु! हजुरको बाल्यकाल? हाम्रो पाला र हजुरको पालामा के फरक छ ?
अनुसन्धानकर्ताले कुनै प्रश्न सोधेझैं छोरी मलाई प्रश्न गर्छिन्।
छेउमा बसेकी कान्छी छोरी तोतेबोलीमा सोध्छे - मामुमुमु... हजुरको ल्यापटप, इन्स्टाग्राम पनि थियो?
म हाँस्दै भन्छु- थिएन नानी! आमाले हामीलाई आफ्नो काखमा ल्यापटपलाई झैं माया गरेर राख्नुहुन्थ्यो। आमाले सुनाएका कथाहरूमा हामी संसार घुम्थ्यौं, समाज बुझ्ने कोसिस गर्थ्यौं। मनोरञ्जनको साधन धेरै थिएन। साथीहरूसँग सडकतिर खेल्दा समय बितेको पत्तै हुँदैन थियो। आज जस्तो होमवर्कको बोझ पनि थिएन। खुला आकाशमा धेरै समय मस्तले खेल्थ्यौं।
राति अगेनाको वरिपरि बसेर आमाहरूले भूतसँग साक्षात्कार गरेका कुराहरूमा, तिमीहरूले हरर सिनेमा हेरेकोझैं सुन्थ्यौं। लेक र बेसी गर्दा भालुसँग जम्काभेट भएका कुरा चाख दिएर सुन्थ्यौं।
आमाहरूले चार पाँच घन्टा उकालो र ओरालो गरेर डोकोमा खाने पानीको व्यवस्थापन गरेका कुराहरूलाई दंग परेर सुनिरहन्थ्यौं। आमाका अनुभव, समाज र संघर्ष आदिमा तिमीहरू आज नेटमा रमाएझैं हामी पनि रमाएर बस्थ्यौं।
हामीलाई त खेतबारीको नामदेखि गोठमा कति वटा गाईवस्तु छन्, तिनका नाम के के हो, सबै कण्ठै थिए। गाईवस्तु भोकाउँदा कराएको पनि चाल पाउँथ्यौं। धान, मकै, गहुँको मूल्य पनि थाहा थियो। अभाव र अप्ठ्यारोमा चनाखो भएर ठूलाका कुरा सुन्ने गर्थ्यौं।
घरमा बर्खे धान भित्र्याउने बेला किताबसँगै, बिस्कुनमा पनि उत्तिकै ध्यान दिनुपर्थ्यो। घाम लाग्दा बाहिर ल्याउने, पानी पर्दाभित्र लैजाने अचम्मको खेल खेलिरहनु पर्थ्यो।अन्न सुकाउने जिम्मेवारी भुरालाई हुन्थ्यो। टौवामा बसेर मकैका सुगा धपाउनु पर्थ्यो। आज तिमीहरूलाई घरभित्र के/के छ, त्यो पनि केही थाहा छैन।
आफ्नो मोबाइल र चार्जसम्म धन्न सम्झन्छौं। कसले कस्तो मोबाइल बोकेको छ त्यो चाहिँ झट्ट थाहा पाउँछौं। अरू जिम्मेवारी के हो केही थाहा छैन। घरमा सुकेका लुगा पानी पर्दा भिजिरहेका हुन्छन्, देख्दैनौं। बरू त्यहीँ टिकटक बनाएर मख्ख पर्छौं। अनि खाँचो पर्दा आमासँग झर्कोफर्को गर्छौं।
ठूली छोरी हाँस्दै भन्छिन्- हाम्रो कमजोरी धेरै नकोट्याइस्यो बरू अरू भनिस्यो न हजुरको गाउँको कुरा।
जेके रोलिङ्गका, काल्पनिक र तिलस्मी कथामा बच्चाहरू रमाए जसरी मेरो बाल्यकाल जान्नलाई छोरीहरू उत्साहित हुन्छ्न्।
म भन्न थाल्छु।
'खोलानाला, वनजंगल, बगैंचा सबै आफ्नै थिए। दिनजस्तै रात पनि आफ्नै थियो। अहिले त नानी! दिउँसो हिँड्दा पनि अँध्यारोमा हिँड्याझैं लाग्छ।
मेरो कुरा सुन्दासुन्दै छोरीहरू भुसुक्क निदाएछन्।
आफ्नो र छोरीहरूको बाल्यकाललाई नियाल्छु को बढी खुसी? उनीहरूको खुसी सीमित छ। मेरो सीमाविहीन थियो। छोरीहरूको माया लागेर आउँछ। पिँजडाका पन्छीझैं कोठामा रमाएका छन्। स्वतन्त्र र स्वच्छन्द भएर रमाउने बेलामा बाँधिएका छन्। प्रविधिले हस्तक्षेप गरेको छ बाल्यकाललाई। आमाको काखभन्दा प्यारो भएको छ ल्यापटप र स्मार्ट फोन। अनलाइन शिक्षाले पनि लादेको छ प्रविधि। बाध्यता र चुनौतीले घेरिएका छन्। गरून् पनि के गरून् विचराहरू।
खाना खाँदा होस् वा नुहाउने बेला। हिजो र आजले मलाई छुन्छ।
छोरीहरू नुहाउँदा जहिले भन्छन्- मामु, बाथटवमा नुहाउँदा कस्तो मज्जा आउँछ। भरि पानीमा डुबुल्ली लाउँदा साह्रै रमाइलो हुन्छ।
म मुसुक्क हाँस्दै आफ्नो बाल्यकालका ती स्वर्णिम दिनहरूमा पुग्छु।
ती जीवन्त दिनहरूमा पुग्छु। ती जीवन्त अनुभव ताजा हुन्छन्। कलकल बगेको सग्लो पानी। घाँटी-घाँटी आउने हरियो दह। काँचो आँप, नुन खुर्सानीसँग चोपेर टोक्दै दहमा बुद्रुङ्ग हाम्फालेको क्षण ताजा हुन्छ। पानीका दर्हा भँगालोलाई चुनौती दिँदै बाँकटे मार्दै कहिले पारि, कहिले वारि गरेर पौडिएकी म!
बाथटवलाई नै आनन्दको स्रोत मानेर उफ्रिरहेका छोरीहरूलाई कसरी व्यक्त गर्न सक्छु त्यो अनुभव।
हाम्रो पालामा प्रविधि नभए पनि प्रकृतिले चारैतिर मनोरञ्जन छरेको रहेछ। हरेक युग आ-आफ्नै विशेषताले विशेष हुनेरहेछन्। हाम्रो बाल्यकाल प्रकृतिमय थियो तिम्रो प्रविधिमय।
हामीलाई प्रकृतिले योद्धा बनाएको रहेछ। जस्तोसुकै परिस्थितिमा लड्न सिकायो। सानैदेखि दु:ख र सुखको अनुभव एकैपटक देखायो। प्रकृतिको काखमा बेजोडको तागत हुँदोरहेछ। माटोमा लड्यौं, माटोमा खेल्यौं अनि माटोमै जीवन दर्शन भेट्यौं। प्रकृतिले हामीलाई स्वत:स्फूर्त विविध कुराको तालिम दिएको रहेछ।
स्कुल जाने बेलामा सानी छोरी मलाई भन्छे- मामु, लिच्चीको जुस कस्तो मिठो हुन्छ। मलाई स्कुल जाँदा सधैं जुस हालदिनुस् है! सुन्तला अमिलो हुन्छ, मेरो जिब्रो पोल्छ। म छोरीलाई एक टकले हेरिरहन्छु।
'के भयो मामु, फेरि भिमान याद आयो ?' छोरीहरू गल्लल हाँस्छन्। म पनि हाँसिदिन्छु।
ठूली छोरी सोध्छिन्- लिच्चीको पनि कहानी छ हजुरसँग? भन्नु न मामु भिमानको कथा।
म बर्बराउन थाल्छु।
'स्कुलबाट थाकेर र भोकाएर रापिँदै आउँथेँ। बगैंचामा लिच्चीको ठूलो रूख थियो। बोटमा बसेर पेटभरि लिच्ची खान्थें। बोटमुनि ठूलो कुलो थियो। अमिलो लिच्ची चाख्दै कुलोमा कुत्लुक्क फ्याँक्थें। समय पुगेर बोटमै पाकेका आँपको हाँगो हल्लाएर, भुइँमा आँप झार्थें। रूखकटहर पाकेर भुइँमा फ्यात्त झरेको हुन्थ्यो। रूखकटहरको सुगन्धले बगैंचा नै सुगन्धित हुन्थ्यो। बगैंचामा मौसम अनुसार सपाटो, हलुवाइवेद, अम्बा, अमला, आँपमा पनि बम्बै, कलकत्ते, मालदह,फर्से, सिन्धुरे के के हो के के! भनेर साध्य छैन् नानी!'
कान्छी छोरी सोध्छे- कति वटा हुन्थ्यो आँप, मामु ?
म हाँस्दै भन्छु- हाम्रा जम्मै कोठामा राख्दा पनि अटाउँदैनन् थिए नानी ! धेरै हुन्थ्यो।
'यो घर जत्रै ?' 'हो नानी! घर जत्रै थुप्रो हुन्थ्यो।'
'हो, दिदी!' कान्छी छोरी आफ्नी दिदीलाई सोध्छे।
पत्याउन गाह्रो भएको मैले अनुभव गरें। यथार्थमा उनीहरूले देखेकै छैनन् बगैंचा। बजारबाट किनेर ल्याएको आँपले बगैंचाको आँपसँग प्रतिस्पर्धा गर्नै सक्दैन। स्याकरिन र लिच्चीको फ्लेवर हालेर बनाएको पानीको घोललाई कति मीठो भनेर खाइरहेकी छोरीलाई, कसरी त्यो समयको वास्तविकता बुझाऊँ? कसरी प्रकृतिको स्वाद चख्वाउँ? अनि किनेर ल्याइदिन्छु लिच्ची, अम्बा र आँपको प्याकेटको मीठो झोल। म पनि लाटीझैं पाइपबाट सुरूरूरूरू पार्दै क्या मीठो भनेर हाँसीहाँसी खाइदिन्छु। छोरीहरू पनि मख्ख पर्छन्।
म सोच्न पुग्छु- के मेरो स्मृतिमा रहेको मेरो भिमान आज पनि उस्तै छ त? आज भूगोल उही छ तर पनि परिस्थिति फेरिएको छ। सोच्दा-सोच्दै मेरा आँखा सजल हुन्छन्।
छोरीहरू स्कुल जाँदा होस् वा साँझ घर आउँदा। मलिन अनुहार लिएर आउँछन्। प्रविधिले उनीहरूलाई अप्ठ्यारो बाटो हिँड्नु नपर्ने बनाइ दिएको छ? गाडीमा आवतजावत गर्छन्। मैले जस्तो कान्ला, आली, बगर, खोला तरेर घन्टौं लगाएर आउनुजानु पर्दैन। तर पनि उनीहरू मभन्दा बढी नै थाकेका हुन्छन्।
छोरी भन्छिन्- मामु प्रकृतिको काखमा दु:ख, पीडा, थकाइ, तनाव, सबै हराउँछन्। प्रविधिले भन्दा प्रकृतिले मान्छेलाई महान बनाउँछ। कवि, साहित्यकार, गजलकार कथाकार आदि सबै प्रकृतिले जन्माएका हुन। प्रकृति जीवन हो मामु ! प्रकृति स्वर्ग हो।
वास्तवमा छोरीका कुरा ठिक थिए। खोला पारिबाट स्कुल आउने हामी धेरै थियौं। चप्पलको भरमा खेतका कान्ला, बगर, बालुवालाई छिचोल्दै हिँड्दा पनि कुनै दिन गोडा बाउँडिएनन्। खोलालाई चुनौती दिँदै पौडन सिक्दै गयौं।
बिहान आठ बजे भात खाएर स्कुल गएका हामी। न खाजा, न बोतलमा पानी, न पैसा। एकैचोटि साँझ घर पुगेर जे छ त्यही खानुपर्थ्यो विकल्प थिएन। घरमा जतिसुकै बेला आगो बल्दैन थियो खानामा धैरै विविधता पनि थिएन। दही, दूध, चिउरा, मही, मकै, फापर, कोदोको रोटी, भुटेको भटमास नै खाजाका प्रकार हुन्थे। आजजस्तो समय थिएन आमाहरूलाई छोराछोरीको अघिपछि गर्न। खोइ बाँचेकै थियौं।सबै थोक मीठो लाग्थ्यो।
समयको विरूद्धमा हाम्रो पुस्ता गएनन्। सधैं समयको सम्मान गर्न सिक्यौं। समयमा उठ्ने, समयमा सुत्ने, समयमा खाने नियमको पालन गर्थ्यौं। अहिलेका बच्चाहरू प्रकृतिलाई नै चुनौती दिन्छन्। अनि मानसिक समस्याले ग्रस्त हुँदै गएका छन्। रातभरि जाग्छन्, दिउँसोसम्म फस्फसी सुत्छन्। अनि अल्छी र चिडचिडे हुनु स्वाभाविक नै हो।
समूहमा रमाउँथ्यौं। हामी खुसी, सुखी र स्वस्थ थियौं। उच्च महत्वाकांक्षा थिएन। चिन्ता थिएन। भविष्यको डर र त्रास थिएन। शान्त र शितल थियौं। आनन्दको मीठो निद्रा थियो। हतास र निराशाले घेरेको थिएन। विषादले भरिएको मन थिएन। साँच्चै बालक भएर बाल्यकाल बिताएका रहेछौं।
प्रकृतिको काखमा हुर्केकाले नै होला अभाव र अप्ठ्यारोमा पनि तनावले जन्म लिन पाएन। संघर्षका दिनमा पनि विचलित हुनुपरेन।
हामीभित्र तुफानलाई पनि चिर्दै अगाडि बढ्ने साहस भरिएको रहेछ। साँच्चै प्रकृतिको देन नै हो, नानी! दु:खमा पनि हाँस्न सक्ने कला त्यो समाजबाट सिक्यौं। अभाव र अप्ठ्यारोमा पनि मान्छेहरू खुलेर हाँसेको र बाँचेको देखेरै होला आत्मज्ञान पल्लवित भएको। हिजो र आजमा यही फरक छ नानी!
'अबको छुट्टिमा हामी पनि जाने है त हजुरको भिमान। पक्का! लैजानुपर्छ नि। वाचा गरिस्यो त।'
'लु ! लु ! वाचा नै भयो लैजाउँला क्या।'