'एउटा मान्छेले असल मानवीय गुण देखाउने सिवाय सबथोक गर्छ।' यो भनाइ हाम्रो समाजमा ठ्याक्कै मेल खान्छ। मानवीय गुणलाई ओझेलमा पारेर गर्नुपर्ने सबथोक आम मान्छेले दिनदिनै जीवनमा गरिरहेको हुन्छ।
आफू जेजस्तो भए पनि अरूलाई अर्ति र उपदेश दिन कति सजिलो हुन्छ है!
अर्काको दु:खमा सहानुभूतिका शब्दहरू खर्चिन कति आनन्द आउँछ होला होइन?
यति सहानुभूतिका शब्दहरू खर्चिएको देख्दा थाहा नपाउने, पहिलो पटक हेर्नेहरू लख काट्छन् होला ओहो! फलानो त कति मनकारी। कति राम्रो लेखेको। उसको परिवारमा त कति राम्रो सम्बन्ध होला है! पुरूष भएर पनि महिलाको कति इज्जत गरेको। महिला भएर पनि पुरूषको बारेमा कति चासो चिन्ता गरेको ... यस्तै ...यस्तै।
तर, धेरै गर्जिने बादलले पानी पार्दैन भन्छन नि! हो ठिक त्यस्तै हो धेरै चिल्ला कुरा गर्नेहरूको आर्दशमा शब्द खर्चिनेहरूको यथार्थता पनि।
यर्थाथता र बहकाउमा धेरै फरक हुन्छ। आफ्नो विगत कस्तो थियो, आफ्नो धरातल कुन थियो? कुन अवस्थाबाट यहाँसम्म आइपुगें भन्ने कहानी कसले सुनाइदिने? कम्तीमा आर्दशवान महोदय अलिकति लोकजालको पनि लाज शरम मान्ने गरेको भएहुन्थ्यो नि!
हुन त लाज शरम र अलिकति इज्जतको डर हुने मान्छेले अर्काको जिन्दगीलाई हल्काफुल्का रूपमा लिँदैन र यतिसम्म तल गिरेर काम गर्दैन्थ्यो होला पनि सायद।
अहिले बजारमा चर्चामा रहेको काण्ड जसले एमसिसीलाई समेत ओझेलमा पार्ने गरी अझैसम्म पनि चर्चा पाइरहेको छ।
यो घटनामा एकपछि अर्का प्रबुद्ध व्यक्तिहरूका भनाइहरू सार्वजनिक भइरहेका छन्।
धेरै जनाले पीडितको पक्षमा सान्त्वना राखिरहेका छन्। कानुनले सही को हो गलत को हो पक्कै पनि दूधको दूध पानीको पानी पहिल्याउला नै। पीडितले न्याय पाउनुपर्छ भन्नेमा कसैको विमति छैन।
अहिले कानुनभन्दा माथि हामी नागरिक छौं। कुनै पनि घटनाको अनुसन्धान नहुँदै यस्तो र उस्तो भनेर आफूखुसी धारणा बनाउँछौं अनि हामी आफैंले आफूलाई स्व:घोषित न्यायाधीश पनि भनि टोपल्न बेर लगाउँदैनौं।
यो घटनामा पीडितको पक्षमा बोल्दै गरेका कतिपय यस्ता पात्रहरू पनि देखिए जसले निकै सहानुभूतिका शब्दहरू बडो मिजासिलो शैलीमा लेखेको, बोलेको, सामाजिक सञ्जालमा पोष्ट गरेको पनि पाइयो। उहाँहरूमध्ये केही आदर्शवान पात्र जसलाई राम्रोसँग चिनिन्छ तर उहाँहरू सेलिब्रेटी भने होइन है! उहाँहरूले आफ्नो धरातल भने चटक्कै बिर्सनु भएछ।
सेलिब्रेटीभन्दा कम हुनुहुन्न यो मामलामा निकै गहकिला शब्दहरू खर्चिएर पीडितको पक्षमा सहानुभूति राख्नको लागि। उहाँहरूको विगतको इतिहास राष्ट्रियस्तरको चर्चाको विषय नभए पनि तत्कालीन समयमा समाजको, टोलको भने चर्चाको विषय नै थियो।
सात/आठ कक्षामा पढ्दै गरेका केटाकेटी एक अर्काबिना बाँच्न नसक्ने भन्दै समाजकै सामु भागेर बिहे गर्छन्। उनीहरू तत्कालीन समयमा समाजको आँखाको तारो बन्छन्।
समाजले छि:छी र दूरदूरको व्यवहार गर्यो। समय बित्दै गएपछि त्यही समाजले स्वीकार गर्छ, समाजमै बस्छन्। उनीहरूलाई समाजले भन्न केही बाँकी रहँदैन, परिवारको इज्जतमाथि घात गरेको भन्दै भन्न केही पनि बाँकी राखिँदैन तर पनि त्यही समाजमा बस्नुको विकल्प पनि हुँदैन।
यसैमध्येका एक पात्र जो आफूलाई निकै आदर्शवादी ठान्छन्। अहिलेकी पीडित भनिएकी बालिकाको भन्दा कम उमेरमा भगाएर बिहे गरेका ती महोदय केही वर्ष बितेपछि सहरतिर हान्निए।
सहरमा पढ्न भनेरै आएका थिए, सायद पढे होलान पनि। त्यति त्याग र समाजको बहिष्कारका बाबजुत पनि आफूले मन पराएर बिहे गरेकी श्रीमतीसँग विस्तारै परपर हुन थाले। विस्तारै विस्तारै पर मात्रै होइन धेरै पर...र नै हुन थालेछन्।
सहरमा नयाँ घरजम गरे, पछिल्ली श्रीमतीबाट दुई सन्तान पनि भएका छन रे। सहरमा निकै आदर्शका गफ गर्न र अरूलाई आदर्शका वाणीहरू सिकाउन ती महोदयलाई कसैले भन्नु पर्दैन।
कहीँ सानो घटनाको सुइँको पाउनु हुँदैन उनैलाई हतार हुन्छ, सामाजिक सञ्जालमा त्यसको फेहरिस्त पोष्ट गर्न। पहिले आफ्नो अनुहार ऐनामा हेर्न मान्छे किन सक्दैनन् ? अर्काको यति विधि चासो र चिन्ता हुने मान्छेले त्यति त्याग र त्यति धेरै मायाले भित्राएकी श्रीमतीलाई चटक्कै माया मारेर कसरी दोस्रो घरबार जोडेर रमाउन सकेको होला? कुन मनले मानेको होला?
ती महोदयले प्रिय बहिनी तिम्रो साथमा हामी छौं, हरेश नखाऊ भनेर उपदेश दिन कति हतार गरेका हुन्? एकपछि अर्का ब्रेकिङ न्युजको शृंखला पनि के के न भएजस्तै गरी पोष्ट गर्न उनी जस्ता पात्रहरूलाई नै बढी हतार भएको देखिन्छ। अर्काको अन्तरिक, व्यक्तिगत, पारिवारिक मामलामा यति दख्खल राख्ने, यति चासो हुने यी र यस्तै प्रवृत्तिका अन्य मनुवाहरू आफ्नो घर दीगो गरी बसाउनतिर लागेको भए त्यो कलिलो जवानी सुम्पिएकी, समाजबाट , परिवारबाट बहिष्कृत भएकी एउटी नारीको जिन्दगी कति उज्यालो हुन्थ्यो होला?
हुन त 'मर्दका दश वटी' भन्ने उखान सुन्दै हुर्किएको समाज हो हाम्रो। रातदिन रक्सी खाने गुरूले पनि पढाउने बेलामा विद्यार्थीलाई जाँड रक्सी खानुहँदैन, कुलतमा लाग्नु हुँदैन भनेरै पढाएको हुन्छ। कुलतमा लागेको बाबुले पनि आफ्ना सन्तानलाई हप्की दप्की गर्छ, कुलतमा लाग्नु हुँदैन भनेर.....उल्टै अर्ति उपदेश दिन्छ। म जे भन्छु त्यो गर म जे गर्छु त्यो नगर....भनेर।
सायद त्यसकै उपज होला हामी जे छौं, हामीले जे गरिरहेका छौं। अरूलाई देखाउने बेलामा त्योभन्दा भिन्नै भएर देखाउन चाहन्छौं। भिन्नै भएर देखिन चाहन्छौं। ताकि हाम्रो कालो विगतको बारेमा कसैले नजरअन्दाज पनि गर्न नसकोस्।
अरूलाई आदर्शका गफ दिन निकै सजिलो छ तर साँच्चिकै आदर्शवान बन्न निकै कठिन हुन्छ। अर्काको बारेमा टिप्पणी गर्न निकै सजिलो छ तर आफ्नो बारेमा टीकाटिप्पणी हुन थाल्यो भने हजम गर्न सकस पर्छ।
अर्काको चरित्रको ठेक्का लिन मरिहत्ते गर्छौं तर आफ्नो चरित्रको सुइँको कसैले भेऊ पाउँछ कि! गलत सावित पो गर्छ कि भनेर हजार वटा झूटको सहायता लिन धरी पछि पर्दैनौं। मेरी छोरीले यस्तो गरेको भए ठाउँको ठाउँ सिध्याउथें भन्न समेत पछि पर्दैनौं तर आफ्नै छोरी जस्ता अरूका छोरीको चरित्र उदांगो पारेको हेर्न निकै लालयित हुन्छौं।
समाजले, जनमानसले हाम्रो विगत थाहा नपाओस् भन्ने चाहन्छौं तर फेरि पनि सत्य त सत्य नै हुन्छ नि होइन र? घरमा अर्की श्रीमती छ, बालबच्चा छन् भन्ने थाहा पाउँदा पाउँदै कान्छी भनेर भित्रने, एउटी नारी नै अर्की नारीको दुश्मन भएर जिन्दगीभर टाउको दुखाइको विषय बन्नेहरू पनि अरूलाई चरित्र र आदर्शका कुरा सिकाउन कति खप्पिस हुन्!
महिला अधिकार र नारी हकहितका विषयमा बढी चासो र सरोकार उहाँहरूलाई नै हुन्छ। एउटै आग्रह छ यस्ता प्रवृत्ति भएका व्यक्तिहरूलाई कृपया अरूलाई यस्तो र उस्तो भन्नुभन्दा अरूले आफ्नो बारेमा के भन्लान् भनेर पनि सोचौं।
तपाईं हाम्रा छोरी हुन्छन्, हाम्रा दिदी बहिनी हुन्छन्, हाम्रा चेलीबेटी हुन्छन् भने त्यस्तै उमेरका त्यस्तै स्वभाव भएका अरूका छोरीचेली को हुन त? हामी किन यति विधि निम्नस्तरको सोचबाट ग्रसित हुन्छौं?
अर्काका छोरीको चरित्रको ठेक्का सायद हाम्रो पोल्टामा परेको जस्तो अनुभूति हामी गर्छौं तर हाम्रा छोरी चेली त्यस्तो हर्कत गरे एउटा छोरी थिई आजबाट आफ्नो लागि मरिसकी भन्न पछि पर्दैर्नौं। अर्काको बारेमा धारणा बनाउन निकै सजिलो छ। कुनै पनि बाउआमाले आफ्ना सन्तान अरूको नजरमा गिरेको देख्न सुन्न चाहँदैनन्। परिस्थितिले कसलाई कतिबेला कहाँ पुर्याउँछन् त्यो यकिन गर्न सकिँदैन। जतिसुकै ठूलो अपराधी भए पनि जन्मदाता बाउआमाको लागि आफ्नो कोखको घाउ हो, आफ्नो सन्तान हो।
यस्ता मामलामा आमा-बाबुको भन्दा बढी मन कसको पोल्दो हो? आफ्नो कोखलाई सतोसराप गर्ने आमाहरूको मनले के भन्दो हो? कुनै आमाले मेरो कोखबाट अपराधी सन्तान पैदा होस् भन्ने चाहेका हुँदैनन्। कुनै बाबुले मेरो सन्तानले समाजमा नाक काट्ने हर्कत गरोस् भन्ने चाहँदैनन्।
कुनै छोरीले भोलि यही समाजका कुनै गलत प्रवृत्तिका पात्रका कारण आफ्नो इज्जत लिलामी होस्। समाजबाट आफूमात्रै होइन सिंगो परिवार बदनाम होस् भन्ने कुरा पक्कै पनि चाहेको हुँदैन।
न्याय, कानुन, प्रशासन हुँदाहुँदै हामी घर-घरमा न्यायाधीश र टोलटोलमा प्रहरी प्रशासन आफैं बन्छौं। लोकतन्त्रको सबभन्दा ठूलो उपहार यही होला हाम्रो लागि।
मैले के गरेको छु भन्ने हेक्का आफूले राख्न सक्नुपर्छ। बहुविवाह गरेका पुरूषहरू, पहिली श्रीमतीलाई यातना दिएर घर न घाट बनाएर अहिले आफूलाई निकै सामाजिक अभियन्ता, जान्ने/सुन्ने व्यक्ति भनाउन रूचाउनेहरूले अरूलाई आदर्शका वचन दिएको फिटिक्कै सुहाउँदैन। जानीजानी अर्काको मिलेको घरबार बिगार्ने, आफूजस्तै महिलामाथि यातना र तनाव दिने अनि महिलाको हित र कल्याणमा त्यस्ता पात्रहरूले बोलेको, बहस पैरवी गरेको सुहाउँदैन है!