'आमा! हजुरलाई एउटा कुरा सुनाउँछु है।' निकै प्रसन्न हुँदै छोरी नजिकै आइन्। खुसी र उत्साहले चम्किएको थियो मुहार। केही कुरा सुनाउन आतुर भएको अनुमान सजिलै लगाएँ।
'भन न, म पनि सुनिहालौं, के हो त्यस्तो कुरा?'
'आमा, म भोलि एउटा नौलो कार्यक्रममा जाँदैछु। हजुरलाई थाहा छ, अतिथि को हो? प्रश्नावली मैले नै तयार पारेको छु र प्रश्न पनि मै सोध्छु।'
'को हो त अतिथि ? अनि विषय के हो?'
'आ! भैगो, हजुर बुझिसिन्न जस्तो लाग्यो। फेरि प्याच्च केही भन्ने हो कि? मलाई नरमाइलो लाग्छ।'
'तिमीले बुझेको कुराहरू राम्रोसँग बुझाऊ न त मलाई पनि। म बुझ्ने कोसिस गर्ने छु, नि!'
'सिम्रन शेरचनलाई चिनिसिन्छ हजुर?'
'सिम्रन शेरचन! अहँ ! चिन्दिनँ को हो?'
'ट्रान्स जेन्डरको बारेमा थाहा छ?'
'अलि-अलि थाहा छ, नानी। विस्तृत रूपमा छैन।'
'म हजुरलाई केही देखाउँछु ध्यान दिएर हेरिस्यो र सुनिस्यो है त।'
टेडएक्स भन्ने कार्यक्रम छोरीले देखाइन्। बिपी कोइराला मेमोरियल कलेजमा डाक्टरहरूको माझ सम्पन्न भएको रहेछ। सिम्रन शेरचनको कुरा सुन्दा म छक्क परें। मेरो उत्साह र प्रतिक्रिया देखेर छोरीले युट्युबमा अझ धेरै सामग्री देखाइन्। म पनि ध्यान दिएर हेर्न थालें।
विश्वमा ट्रान्स जेन्डरहरूको अवस्था, पीडा ,चुनौती र विज्ञानको चमत्कारको बारेमा धेरै जानकारी हासिल गरें। आधुनिक चिकित्साको फैलावट। डाक्टरको कुशलता अनि सफलताको भिडिओ हेरेको हेरै भएँ। पाकिस्तान र भारतमा उनीहरूले गरेका सामाजिक कामहरूको डकुमेन्ट्रीहरूले आँखा रसिला भए। उनीहरूले भोगेको पीडा संसारभर प्राय: उस्तै उस्तै रहेछन्।
समाज र परिवारले गर्ने असमान र घृणित व्यवहारले गर्दा भोग्नु परेको मानसिक यातना भने दक्षिण एसियायी मुलुकमा अझ बढी रहेछ।
'आमा ! हजुरले त अर्कै किसिमले बुझ्ने हो कि भन्ने डर थियो। तर हजुरको जान्ने उत्साह देखेर म निकै खुसी भएँ र साथीहरूलाई पनि सुनाएँ। हाम्रो टिमले हजुरलाई पनि निम्तो गरेको छ। भोलि हजुर पनि जानुपर्छ, है?' नौलो अनुभव संगाल्न म पनि उत्सुक हुँदै जाने भएँ।
'भोलि बिहान नौ बजे नै जानुपर्छ नि, ढिलो नहोस्।' सचेत गर्दै छोरी सुत्न गइन्।
म पनि ओछ्यानमा आएँ। निद्रा फिटिक्कै लागेन। यही भूमि हो जहाँ पतिको मृत्युमा पत्नीहरूलाई जिउँदै चितामा जलाइन्थ्यो। सती प्रथाको उन्मूलनपश्चात् पनि कैंयन् नारीहरू सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक चितामा अझ पनि जलिरहेका छन्। अन्तरजातीय विवाह अझ स्वीकार्य छैन। समलिङ्गी, गे, ट्रान्स आदि मुद्दाहरू आफैंमा अझ जटिल छन्। खोइ कसरी माइन्ड सेटलाई परिवर्तन गर्ने हो? बुझ्न त परै जाओस्, सुन्न पनि सक्दैन हाम्रो समाजले यस्ता समस्या।
तर मलाई खुसी लाग्यो हाम्रा नयाँ पुस्ताहरूलाई देखेर। परिवर्तनको लागि तयार छन्। अरूको खुसीका लागि जोखिम मोल्न कटिबद्ध छन्।
नयाँ पुस्ताले नकाब लगाएका छैनन्। जे सोच्छन् त्यही गर्छन्। कुरा चपाएर बोल्न जान्दैनन्। जे हो त्यो ड्याङ्ग बोल्छन्। शिक्षाले साँचै नयाँ पुस्ताको चौतर्फी विकास गरेको आभास भयो। ज्ञानलाई व्यवहारमा प्रयोग गरेका छन्। सिकेका कुराको अभ्यास गरेका छन्।
हामीले त शिक्षाको परिभाषालाई मात्र घोकेका रहेछौं। चुनौती आउँदा डराउँछौं। सोचाइलाई जडवादी बनाएका रहेछौं। विचारका विविध आयामलाई संकुचित पार्दै एकोहोरो भएका रहेछौं।
तार्किक र अनुसन्धान गर्ने तहमा पुगिसक्दा पनि लादिएको शिक्षामात्र उपयोगमा ल्याउँदा रहेछौं। आफ्नो सोच र विचारहरू स्वतन्त्र रूपले व्यक्त गर्न पनि डराउँछौं। त्यसैले हरेक क्षेत्रमा पुस्तान्तरणको आवश्यकता खड्किएको रहेछ। सोच्दा-सोच्दै भुसुक्कै निदाएछु।
आमा-छोरी कार्यक्रमस्थलतिर लाग्यौं।
'माया मनोर बुटिक होटल' हात्तीसारमा रहेछ। राणाकालीन दरबार निकै मनमोहक। होटल अगाडि शिला लेख देखें। जान्ने उत्कन्ठाले नजिकै गएँ। कर्ण शाक्यले सञ्चालन गर्नु भएको भव्य होटल रहेछ। उहाँको नाम देख्नेबित्तिकै सम्मान उर्लेर आयो। सोच र खोजको विचारहरू तस्बिर भएर नाच्न थाल्यो। भित्रभित्र कर्ण शाक्यलाई सलुट गर्दै भव्य बैठक कोठाभित्र छिर्यौं।
'सी द क्रान्ति' नामक संस्थाले आयोजना गरेको ट्रान्स जेन्डर सिम्रन शेरचनसँगको अन्तर्क्रिया। नौलो ज्ञान हासिल गर्ने उद्देश्य लिएर गएको थिएँ। त्यहाँको माहोल देखेर नयाँ पुस्ताप्रति अझ विश्वास जागेर आयो। उनीहरूको परिपक्वता देखेर म स्तब्ध भएँ। मलाई त एकछिन् छुट्याउन नै गाह्रो भयो, कुन हो सिम्रन शेरचन।
कालो कुर्तामा निकै आकर्षक ट्रान्स महिला सिम्रन शेरचन आँखामा बस्नु भयो। अगाडि बसेर सबै कुरा चाख दिएर सुन्दै थिएँ। मेरो मस्तिष्कमा पनि हजारौं प्रश्न सल्बलाएका थिए। सोधिएको प्रश्नको उत्तर यति सटिक र उम्दा तरिकाले दिनु भयो कि म छक्क परें। कुनै घघडान प्रोफेसरले आफ्नो विषयमा दिएको लेक्चरभन्दा कम थिएन।
बोलीमा उस्तै मिठास। धाराप्रवाह बोल्न सक्ने बेजोडको क्षमता। उहाँलाई सुन्दै गर्दा मेरा तमाम प्रश्नहरू मत्थर हुँदै गए। उहाँको यो अन्तर्वार्ता छिट्टै सार्वजनिक हुनेछ र हामी सबैले सुन्ने छौं, बुझ्ने कोसिस गर्नेछौं। अनि सबैलाई सम्मान गर्ने बानीको पनि विकास गर्नेछौं।
कुनै कुरा र विचारलाई स्पष्ट रूपमा बुझ्न पूर्वाग्रही भएर हुँदो रहेनछ। मैले पनि मेरा धारणा र विचारहरूलाई केहीबेर बन्द गरें, अनि खाली मस्तिष्क लिएर सुन्दै गएँ।
कार्यक्रम समाप्त भएपछि सँगै बसेर खाना खायौं। निकैबेर कुराकानी भयो। ट्रान्सका मुद्दाको चर्चा भयो। डाक्टरको सेवा र सुविधाको साथै, जटिलता र चुनौतीहरू। हार्मोन थेरापीको विज्ञान। डाक्टरको अगाडि नांगेझार हुँदाको पीडा र हिनताबोध। पहिचानको संघर्ष। घृणित र अपहेलित व्यवहार भोग्दाको उकुसमुकुस।
परिवार र समाजले बेवास्ता र तिरस्कार गर्दा रोजगारीको समस्या। अभावमा छटपटाएको जीवन। पुलिस प्रशासनबाट भोग्नु परेको यातना। इच्छा नहुँदा पनि जबर्जस्त यौनजन्य क्रियाकलापमा संलग्न हुनुपर्ने बाध्यता। कोरोना कालमा ट्रान्सहरूले गरेको आत्महत्याको दुखलाग्दो कथाहरू सुन्दासुन्दै कतिबेलादेखि आँखा रसाए पत्तै भएन।
नयाँ पुस्ता र सिम्रन शेरचनसँग बिदा माग्दै नाग पोखरीबाट जनता यातायात चढें मातातीर्थ फर्किनका लागि। झ्यालको सिटमा एक जना चिनेकै भद्र व्यक्ति बस्नु भएको थियो। सँगैको सिट खाली थियो।
'नमस्कार ! आरामै हुनुहुन्छ।' भन्दै म खाली सिटमा थचक्क बसें।
'नमस्कार ! कताबाट आउनु भएको बहिनी?' मैले आफू आएको ठाउँ र कारण जम्मै उहाँलाई सुनाएँ। सुन्दासुन्दै उहाँको मुखाकृति बिग्रेको स्पष्ट देखें।
फ्याट्टै भन्नुभयो, 'हाम्रो समाज अब खतमै हुने भो। मान्छे बौलाएपछि यस्तै हुन्छ। कहिले समलिङ्गी त कहिले केको माग। बेफ्वाँकमा मान्छेलाई भड्काको छ। अधिकार !! अधिकार!! अब हुँदाहुँदै प्रकृतिको विरूद्ध गएर लिङ्ग परिवर्तन गर्नुपर्ने रे! होइन किन मान्छे बेलगाम हुँदै गएको हो? घोर कलियुग भनेको यही हो नानी! तिमीजस्तो मान्छे के गएको त त्यस्तो कार्यक्रममा। जानुहुँदैन थियो।' निकै तात्नुभयो। अनुहार रातोपिरो पार्नु भयो।
म दिक्क हुँदै सम्झाउने कोसिस गर्न थालें।
'हजुर धर्मसंस्कृतिमा विश्वास गर्नुहुन्छ?'
धर्मको कुरा झिकेपछि अलि शान्त हुनुभयो।
'किन नगर्नु नानी! हाम्रो सभ्यता नै हाम्रो संस्कृति हो। गीता पाठ नगरी त म पानीसम्म खान्नँ।'
'हजुरले महाभारत त पक्कै पढ्नु भएको छ, होला?'
कुटिल हाँसो हाँस्दै 'धेरैचोटि पढेको छु, हेरेको छु। भर्खर लकडाउनमा दोहोर्याए पनि हेरें। महाभारत जस्तो कृति आजसम्म बनेको नै छैन। हाम्रो आदर्श हो महाभारत। तिमीले हेरेकी छौ नि? हुन त अचेलका मान्छेलाई यस्ता ग्रन्थको के वास्ता होला र! ट्रान्सका मुद्दा सुन्न तिमीहरूलाई फुर्सद हुन्छ। तर आफ्नो धर्म ग्रन्थ हेर्न, सुन्न के मन लाग्नु?'
तनावग्रस्त मस्तिष्कको विछिप्त हेराइले मलाई नियाल्यो।
'मलाई पनि असाध्यै मनपर्छ महाभारत। हाम्रो ग्रन्थहरूले किन्नर किन्नरीहरूको उच्च सम्मान गरेको छ। म सोझै किन्नरहरूको प्रसंगतिर हुत्तिएँ। भिष्मपितामह अनुशासन, प्रतिज्ञा र ज्ञानका विश्वविद्यालय नै थिए। शिखण्डीको कथाले मलाई सोच्न बाध्य पार्छ। हाम्रो धर्म निकै उदार छ। यावत जीवात्माको कल्याणको वकालत गरेको छ। तर हामी धर्मावलम्बीहरू चाहिँ निकै कठोर र जडवादी हुँदै गएका छौं।'
चुपचाप सुनिरहनु भयो म अझ बोल्दै गएँ, 'कुरूक्षेत्रमा श्रीकृष्णले भिष्मपितामहको अगाडि शिखण्डीलाई उभ्याउनुको रहस्य के होला? नैतिकवान व्यक्तिले कसैलाई उपेक्षा गर्दैन, बरू सम्मान गर्छन्। शिखण्डीमाथि पितामहले हमला नगर्नु, हतियार नउठाउनुले किन्नरहरूप्रति हाम्रो धर्म, संस्कृतिले गरेको उच्च सम्मान हो। महाभारतको पूजा त गर्छौं तर जीवनमा यसले दिएको शिक्षालाई प्रयोग गर्दैनौं।'
पुलुक्क मुखमा हेरें। आँखा चिम्म गरेर मेरो कुरा सुनिरहनु भएको थियो।
म अझ बोल्नलाई चम्किएँ, 'अर्को प्रसंगमा पाण्डवहरू एक वर्षको गुप्तबास बस्दा विराट राजाको दरबारमा किन्नरको भेषमा पुगेका अर्जुनलाई मानसम्मानका साथ स्वागत गर्दै स्वयं राजकुमारी उत्तरालाई संगीत र नृत्य सिकाउन नियुक्ति गर्नुले यो कुरा छर्लङ्ग पार्छ कि किन्नरहरू आदिकालमा निकै सम्मानित थिए।'
म अझ बोल्दै गएँ, 'तर आजको सभ्य समाजले किन्नरहरूमाथि अमानवीय व्यवहार गरिरहेको छ। यदि हाम्रो सन्तानहरूमा पनि यो समस्या आयो भने? सोचेका छौं कहिले? पशुहरूको अधिकारको लागि आवाज उठाएको भद्र समुदाय किन किन्नरहरूको कुरा आउँदा तिल्मिलाउँछन्? किन किन्नरहरूको समुदायलाई मानवीय व्यवहार गर्न हिच्किचाउँछ ?
मानवता बिनाको मानव समुदाय निकै विनाशक हुन्छ। हाम्रो अस्तित्व हाम्रो मानवीय व्यवहार हो। किन्नर बन्ने रहर कसैलाई हुँदैन। यो त प्रकृतिको अचम्मको सृजना हो। कसैको जन्मलाई नै गाली गर्नु यही हो हाम्रो सभ्यता? एकचोटि सोचौं।
इतिहासमा राजदरबारमा सम्मानित भएका किन्नरहरूको अस्तित्वलाई आज पनि भारत वर्षमा सम्मान गरेको छ। यिनीहरूले दिएको आशीर्वाद लाग्छ भन्ने जनविश्वासले नै सिद्ध गर्छ कि किन्नरहरू पनि आत्मसम्मानका साथ बाँच्न पाउनु पर्छ। मानव अधिकारको हनन् कतैबाट हुनुहुँदैन। पितामहजस्तो हस्तीले शिखण्डी अगाडि पर्दातिर नहान्नू। बरु शिखण्डीको तिरबाट आफू नै घायल हुनू। के होला यसको प्रतिकात्मकता? गहिरो अध्ययन गर्ने कोसिस गरौं।
फरक धारबाट ग्रन्थलाई विश्लेषण गर्दा तमाम प्रश्नहरू आफैं समाधान हुन्छ।'
ती व्यक्ति बोल्दै बोलेनन्। अनि प्रसंग बदल्दै तीनथाना झरे। मेरो कुरालाई सुने कि सुनेनन्, बुझेकी बुझेनन्। आँखा त चिम्म गरेका थिए। म पनि घर आएँ। झमक्क साँझ परेको थियो। साँझ बत्ती बाल्न पूजाकोठामा गएँ। भित्तामा अर्धनारेश्वरको ठूलो तस्बिरले मलाई हेरेर मुस्कुराएकोझैं लाग्यो। यतिका वर्षसम्म मलाई यो तस्बिरले हेरेको हेरै थियो।
तर मैले कहिले गहिरिएर हेरेको थिइनँ। बुझ्ने कोसिस पनि गरेको थिइनँ। हामीभित्र पनि नर, नारी र नारायण भएको आभास भयो। अनि अर्धनारेश्वरको तस्बिरलाई उच्च सम्मानका साथ झुकेर प्रणाम गरें।
आदि कालदेखि चलिआएको किन्नरहरूको कथाव्यथा नौलो होइन। किन्नर-किन्नरी भनेर हाम्रो संस्कृति र सभ्यताले कति राम्रो नामले सम्बोधन गरेको थियो। 'हिजडा' , 'छक्का' भन्दै हेपेर बोल्दा हामी आफूलाई निकै सभ्य ठान्छौं र आफ्नै बौद्धिकताको परिचय आफैं दिन्छौं। हाम्रो बोली साँच्चै सु-संस्कृति छ त ? एकचोटि सबैले गहिरिएर सोचौं अनि बल्ल बोलौं।
रहर हो वा बाध्यता छुट्याउने कोसिस गरौं। आफ्नो सभ्यताको परिचय आफैं दिऊँ। भनिन्छ सकारात्मक सोचले भरिएको मस्तिष्क न्यायिक आँखाले हेरेको दृश्य र माधुर्य मिसिएको वाणी अमृत समान हुन्छ। सबैमा यो अमृत भए समाज कति सुन्दर हुनेछ।