साँझ र बिहानको हिँडाइले शरीरमात्र होइन, मन र मस्तिष्क पनि चंगा हुन्छ। मेरो घरबाट मातातीर्थ नजिकै पर्छ। हिँडाइको गन्तव्य चन्द्रागिरि डाँडाको काखसम्म हुन्छ।
एकदिन मातातीर्थको पानी पिएर पिपलको बोटमा थकाइ मार्दै थिएँ। एक जना आमालाई थकाइ मार्दै गरेको भेटें।
बाक्लो कुर्ता सुरूवाल, स्पोर्ट्स जुत्ता, तातो टोपी मिलाएर लगाएको। अग्लो, गोरो, पोटिलो ज्यान। हातमा नोकियाको स्मार्ट फोन, मीठो बोली। आफ्नो गफमा जो कोहीलाई पनि तान्न सक्ने अद्भूत क्षमता।
मैले उहाँलाई निकै अगाडिदेखि चिनेको थिएँ। उहाँले पनि मलाई र मेरो घर परिवार सबैलाई राम्रोसँग चिन्नुहुँदो रहेछ।
एक्कासि भन्नुभयो, ‘नानीजस्तै मेरो पनि बुहारी भैदिए कस्तो हुन्थ्यो। एकादशीको त्यो दिन मन्दिरमा हार्मोनियम बजाएर गाएको भजन कहिल्यै बिर्सिन्नँ। यस्ता उमेरमा पनि धर्मकर्ममा मन लाग्या। साह्रै भाग्यमानी छन् तिम्रा सासू-ससुरा सधैं तिम्रो प्रशंसा गरिरहन्छन्। आफूलाई त डाहा चल्छ बाबै! आफ्नो त खप्परै गतिलो भए पो।’
मैले हाँस्दै भनेँ, ‘आमा! मेरा सासू महान् हुनुहुन्छ। हजुरसँग मेरो प्रशंसा गर्नुभयो। मान्छे पूर्ण कोही हुँदैन। ममा पनि कति अवगुण होलान्। मेरा कमीकमजोरीहरूलाई मेरो सासूले नजरअन्दाज गरिदिनु भयो। तपाईंलाई सुनाउँदा राम्रोमात्र भन्नुभयो। तपाईंलाई हेर्दा तपाईं पनि, अभागी जस्तो त लागेन। बिहान, बेलुकै यस्तो वातावरणमा घुम्न पाउनु भएको छ। अनुहारमा तेज छ। शरीर स्वस्थ देख्छु। यो उमेरमा पनि हिँडाइमा दम छ। साँच्चि आमा! हजुरको छोरा बुहारी छैनन् र ?’
आमाको अचानक अनुहारको रंग बदलियो।
‘छन् त छन् त नि तर…।’
गुनासो र असन्तुष्टिले भरिएको आवाज थियो।
‘किन आमा! मैले गलत प्रश्न गरें?, किन अनुहार अँध्यारो बनाउनु भएको।’
‘नानी! अरूलाई त भन्नुहुँदैन, नानी त छोरीजस्ती मान्छे भएरमात्रै भनेको। मेरी कान्छी बुहारी साह्रै नहुने छ। छोट्टा छ, न समयमा भात, न चिया मेरो त वास्तै गर्दिन। मलाई देख्नेबित्तिकै अँध्यारो अनुहार लगाएर ठ्वाँस पर्छे। खानेकुरा पनि सबै आफू लुकाएर मात्र खान्छे। छोराछोरी पनि आमाकै गोता गा’छन्। छोराको मुखबाट बुहारी बोल्छे। राज गरेकी छ मेरो छोराको कमाइमा।’ सुँक्कसुँक्क गरेर रून थाल्नुभयो।
‘आमा! कान्छी बुहारी भन्नुभयो, तपाईंका अरू छोरा बुहारी पनि पक्कै छन् होलान्। किन यस्ती बुहारीसँग बस्नुभएको त ? कति वर्ष भयो सँगै बसेको? अरू छोराछोरीसँग बसे पनि हुन्छ नि ? कि कान्छो छोरोले अंश धेरै राखेको छ?’
‘भयो नानी! सत्र अठार वर्ष। बुवा स्वर्ग भएपछि अब आमा एक्लै नबस्नु गाउँमा भनेर कान्छो छोरोले लिएर आएको। सम्पत्ति कसैलाई केही दिएको छैन। भएको पाखो जमिन गाउँमै। नानी! छोरा त देउतै छ नि तर के गर्नु बुहारी सुपर्नखा नै छे ,राक्षसनी।’
मुहारमा बुहारीप्रति निकै घृणा देखिन्थ्यो।
‘आमा बुहारीले कुटपिट गर्छिन्? खाना दिन्नन्? के-के गर्छिन् त्यस्तो, राक्षसनी नै भन्नुभयो त! मलाई त हजुरको बुहारीलाई हेर्न पो मन लाग्यो।’
‘नानी! दुई छोरा दुई छोरी छन्। जेठो छोरोको आफ्नै व्यापार छ, चाबहिलमा चार तले घर छ। जेठो छोराको छोरो अस्ट्रेलिया गएको छ। छोरी नर्स पढ्न क्यानडा पठाएको छ। छोरीहरूको पनि राम्रो छ। दुइटा छोरीहरूकै काठमाडौंमा घर छ। मेरा नातिहरू असल छन्। मलाई असाध्यै माया गर्छन् दिनकै फोन गर्छन्। हालखबर सोधिरहन्छ्न्। छोरीहरूलाई सुख छ। सासू ससुराको करकर छैन। ज्वाइँहरू ईश्वर नै छन्। छोरीहरूकै राज छ। जेठी छोरीको एउटा मात्र छोरो छ। नाति डाक्टर पढ्दै छ। कान्छी छोरीको पनि एउटा छोरी छ, त्यो नातिनी भर्खर १२ सकाएर के जाति हो कुन्नी मलाई भन्न पनि आएन।’
अनुहारमा बेजोडको खुसी छताछुल्ल देखिन्थ्यो।
भित्रैबाट सन्तुष्टि ओतप्रोत भएको पाएँ।
मैले सोधिहालें, ‘आमा! अनि कान्छो छोराको त कुरै गर्नु भएन त। के गर्नुहुन्छ तपाईंको कान्छो छोरो ,बुहारी अनि नातिनातिना?’
‘छोरो खरदार छ, बुहारीको काम छैन, केटो आठमा पढ्छ, सानी फुच्ची पाँचमा पढ्दैछे।’ कुनै उत्साह उमंग थिएन अनुहारमा। कान्छो छोरोको कुरा गर्दा।
एकचोटि पनि छोराका सन्तानलाई नातिनातिना भन्नुभएन। जसरी जेठो छोरा बुहारी, छोरी ज्वाइँ र छोरीका सन्तानहरूको कुरा गर्दा खुसी छर्लंग मुहारमा देखिन्थ्यो।
कान्छो छोरोको घरको पनि कुरै गर्नुभएन।
आमा बस्ने घर मैले देखेको थिएँ।
मैले नै सोधेँ,‘आमा हजुरहरूले कति सालमा यहाँ घर बनाउनु भएको?’
‘ए मेरा बा! के कुरा गर्नु आफ्नो घर होइन नि… ! डेरामा बसेका। तीन कोठा छन्। छोरालाई स्वास्नी र छोराछोरी पाल्दै ठिक्क छ।
‘जेठो छोरोको चार तले घर छ भनेको होइन।’
‘हुन त हो नि मेरा बा…! बुहारी जागिरे छ। फुर्सद हुँदैन। छोरा बाहिर हिँडिरहनु पर्छ। मलाई अस्पताल गइरहनु पर्छ। के गर्नु जेठो छोरोको त गाडी पनि छ। नानी ! बुढाबुढी भएपछि पाहुना पनि आउँछन्। छोरी ज्वाइँहरू, नातिनातिनाहरू पनि बेलाबेला आउँछन्। बराकठा जेठी बुहारी केही गर्न भ्याउँदिनन। कहिलेकाहीँ छोरो गाडी लिएर मलाई लिन आउँछ। एक दुई दिन बस्छु अनि यही ल्याइदिन्छन्। जेठो छोरोले मनग्य कमाएको छ। मलाई पनि खानेकुरा ल्याइदिन्छन् लुगाफाटो र दुई चार हजार दसैं र औंसीमा दिन्छन्। निकै मनकारी छ जेठी बुहारी।
नानी! यी यो मोबाइल पनि जेठी बुहारीले दिएको। उसलाई छोरीले नयाँ मोबाइल पठाइ दिइछ, अनि मलाई यो महंगो मोबाइल दिएकी। कान्छी बुहारीले पैसा चिनेकी छे। थुतुनो कहिल्यै उज्यालो देख्दिनँ। घोसे छे, कहीँ नभाकी कप्टी।’
आमाका कुरा सुनेपछि म सोच्न थालें ‘कान्छो छोरो र बुहारीको अनुहार किन अँध्यारो हुन्छ होला भन्ने अनुमान भित्रभित्रै लगाउन थालें।
इमान्दार खरदारको तलब। दुइटा बच्चा, आमा, श्रीमती अनि डेराको बसाइ। कति अप्ठ्यारो होला खर्च पुर्याउन। कति चिन्ता होला। आमा जतिसुकै बेला छोरीहरू र जेठो छोरा बुहारीको मात्र गीत गायरहने। अपवादलाई छोडेर हेर्दा,जहाँ बुढाबुढी बसेका हुन्छन् ,जहाँ सेवा पाएका हुन्छन्। त्यो घर अनि त्यही बुहारी काम नलाग्ने लाग्छ्न्। जहाँ बसेका हुन्छन् त्यही घर नर्कझैं लाग्छ किन होला?
जुन बुहारी बिहान बेलुका तातो लगाएर खान दिन्छे। बिरामी पर्दा अस्पताल दौडाएर लैजान्छे, सेवा गर्छे। पाउना आउँदा स्वागत गर्छे। घरमा बुढाबुढीको साथी हुन्छे तर घर बाहिरका आफन्त बुढाबुढीलाई निकै प्यारा हुन्छ्न्।
एक किलो स्याउ बोकेर ल्याउनेले माया गरेको हुन्छ। एक कल फोन गर्नेले सम्मान गरेको हुन्छ। तर अभाव र अप्ठ्यारोमा पनि दिनरात सेवा गर्ने बुहारी पुतना अनि सुपर्नखा हुन्छे।’
‘नानी के भयो किन टोलाएको ?’
‘केही होइन आमा!’
मैले सोचेकै कुरा आमा भन्न थाल्नु भयो, ‘छोरीहरूले पनि अघोर माया गर्छन्। मेरा नातिहरूले फोन गरिरहन्छ्न्। छोरीहरू त झन् दिनको चार पाँच चोटि फोन गर्छन्। के खाइस्,के गर्दैछेस्, सोधिरहन्छ्न्। निकै विचार गर्छन् नानी। तर यो राक्षसनीले मेरा छोरीहरूले फोन गरेको पनि देखिसहन्न। रिस गर्छे, डाहा गर्छे मेरा छोरीहरूको।’
बुहारीप्रति निकै क्रोध थियो मुहारमा।
‘नानी! नजिकै छ कोठा, चिया खाएर जानू , बरा! मलाई त कस्तो माया लागेर आयो नानीसँग कुरा गर्न पाउँदा आफ्नै छोरीहरू भेट्याझैं भयो।’
आमाले हात समातेर आफ्नो डेरातिर लैजानुभयो।
मलाई पनि कान्छी बुहारी हेर्ने मन लागेको थियो।
बुहारी तरकारी केलाउँदै हुनुहुँदो रहेछ। चिरपरिचित अनुहार। कयौं पटक देखभेट भएको।
‘नमस्कार मेडम’ भन्दै मैले आफ्नो परिचय दिएँ। उहाँले पनि मलाई चिन्नुभयो। आमाकै कोठामा गयौं। सफा तन्ना ओछ्याएको, मोटो कपासको सिरक, फाइबरको अर्को सिरक, कुनामा स्टिल दराज, चुटुक्क परेको सानो टेबल, टेबलमाथि थर्मस, गिलास, हर्लिक्सको भाँडो, भुइँमा मोटो कार्पेट ओछ्याएको, छेउमा सानो हिटर, बाक्लो पर्दा।
आमाको कोठा हेर्दा आमाले भनेको कुरा गलत साबित हुँदै थिए। बुहारीले थालभरी फलफूल खाटेर ल्याउनुभयो।
एउटा स्याउको टुक्रा लिँदै मैले भनेँ, ‘मलाई खोकी लागिरहेको छ, मलाई एक गिलास तातो पानीमात्र है।’
‘म कचौरा लिएर आउँछु ,आमालाई पनि सधैं तातो पानीमा डुबाएर फलफूल खान दिने गरेको छ, तपाईं पनि तातो पानीमा डुबाएर खानुस्,केही हुँदैन।’ भनेर फलफूल ल्याउनुभयो।
अर्को कोठामा बच्चाहरू खेलिरहेका थिए।
भान्साको खाटभरी शिक्षक सेवा आयोगका किताबहरू छरपस्ट थिए। म आमाको कोठामा पुनः फर्किएँ।
आमा दराजबाट खानेकुरा झिक्दै हुनुहुँदो रहेछ। एक मुठी काजु र बदाम मलाई पनि दिनुभयो। मैले मुठीमै कसेर राखें।
‘एक नम्बर कि छ यो, छेपाराले रंग फेर्याझै रंग फेर्छे। नानीलाई देखेर हो जाति पल्टेकी।’कानैमा फुसफुस गर्नुभयो।
मलाई उकुसमुकुस भयो मैले आमालाई भनेँ, ‘आमा एउटा कुरा भन्छु गहिरिएर सोच्नुस् है। बिहान बेलुका यही बुहारीले पकाएको तातो भात खानु हुन्छ। बिरामी पर्दा यही बुहारी चाहिन्छ। सत्र वर्षदेखि डेरामा तपाईंलाई साथमा राखेका छन्। चार तले घर र टन्न पैसा हुने छोराले डेरामा बस्ने भाइलाई आमा जिम्मा लगाएका छन्। चार महिना पनि हिँड्नु आमा हाम्रो घरमा बसौं कोही भन्दैनन्। नजिकै छन् कोठाहरू। दिनरात तपाईंको सेवा गर्नुछ,उसैको खेदो काड्नु छ।
छोरी त के बुहारीलाई दिने माया पनि दिनसक्नु भएको छैन जस्तो छ। बिचरा बुहारी तपाईंको यो व्यवहार देखेर अँध्यारो मुख नलगाएर के गरोस् त! बाह्र वर्षमा खोलो त फर्किन्छ भन्छन्।
सत्र सत्र वर्षदेखि डेरामा सँगसँगै आमा भनेर लिएर हिँडेका छन्, तपाईंका छोरा बुहारी महान हुन्। योभन्दा बढी के चाहियो तपाईंको छोरा बुहारीलाई चिन्न। समयमा चिन्नुस् यस्ता छोराबुहारीलाई। जोसँग पनि घरका कुरा गर्नु राम्रो हुँदैन। आफ्नै इज्जत जान्छ। जुन थालमा खायो, उही थालमा, छेर्यो जस्तै भएन त’।
मैले पनि अघि तपाईंको कुरा सुन्दा कस्ता होलान् छोराबुहारी यस्ती आमालाई पनि सास्ती दिएर राखेका भन्नेझैं लागेको थियो। बुढाबुढीको आँखामा आँसु देख्दा दोष जति सबैले छोराबुहारीलाई दिन्छन्। तपाईंको गुनासो सबले पत्त्याउँछन्।
बुहारी आयोगको जाँचको तयारी गर्दैछिन्। बिहान बेलुका आफ्ना साथीहरूसँग बुहारीका कुरा काट्नुको साटो, घरमा तरकारी काटी दिनुस्। आफूले गर्ने सक्ने कामहरू गर्नु। जुठा भाँडा मोल्न नसके पनि पूजा भाँडा आफैंले मोल्नुस्। बिहान ध्यान गर्नु, प्रणायाम गर्नु ,सत्संग सुन्ने गर्नु। टिभी छ बिहान बिहान ‘जीवन विज्ञान’ भन्ने कार्यक्रम आउँछ सुन्नुस्।
छोरीहरू परबाट फोन गरेर हालखबर सोधपुछ गर्दा औधी माया गरेको हुने तर बुहारी यतिका वर्षदेखि तपाईंकै सेवा गर्दा पनि किन तपाईंको नजरमा बुहारी पुतना र सुपर्नखा हुन पुगी? तपाईंले कहिले यो छोरा बुहारीको पीडा बुझ्ने कोसिस गर्नुभएको छ? तपाईंले कहिल्यै?
बुहारी किन तिम्रो अनुहार अँध्यारो देख्छु त के समस्या छ मलाई भन। म पनि तिम्रो आमा हुँ। सोध्नु भएको छ? बुहारीलाई आफूले सक्दाखेरी तिमी पढ् म खाना बनाउँछु भन्नुभएको छ? नरिसाउनु है आमा! मलाई पनि तपाईं आफ्नै आमाजस्तो लागेर सम्झाएको। तपाईंका आफन्त भनाउँदाहरूले सम्झाउँदैनन् ? कि तपाईंलाई उचाल्न मद्दत गर्छन्?’
‘कान्छी छोरीले त कराउँछे, सम्झाउन खोज्छे तर नानी! यी लगौंटीका जुम्रालाई केको सम्मान गर्नु। मेरै गोरू जोतेर खाएकी छ, सुक्को कमा छैन।’
म तीन छक्क परें कस्तो शब्द हो बुहारीलाई सासूले प्रयोग गर्ने मैले सम्झाउने कोसिस गरें, ‘मेरो कुरा ध्यान दिएर सुन्नुस् है। कति आमाहरू छोराबुहारीको दुर्व्यवहारले सडकमा पुगेका छन्। आमा बाको सम्पत्ति झुक्याएर लिएका छन्।
आफ्नै छोराछोरीको कारणले कैयौं आमा बुवा वृद्धाश्रममा पुगेका छन्। यतिको आनन्दले बाँच्न पाउनु भएको छ। छोरीसँग बुहारी दाँजेर घरमा कहल नगर्नूस्। कुरौटे बानीले छोरी र बुहारीको पनि सम्बन्ध बिग्रन्छ सक्छ। सोच्नु आमा! मेरो सासूआमा जस्तै राम्रो कुरा मात्र अरूलाई सुनाउनु। सकारात्मक काममा मनलाई लगाउनुस्।’ दुई हात जोडेर भनेँ।
‘नानी! भगवानले आज तपाईंसंग भेट गराएछन्। कस्ता राम्रा तरिकाले सम्झाएकी। कान्छी छोरी पनि यस्तै भन्छे। मेरा घैंटोमा घाम यतिका वर्ष लागेन। स्वर्गजस्तो घरलाई नर्क ठानेर बसें। यस्ती व्यवहारिक बुहारीलाई सुपर्नखा र पुतनासम्म भनेँ। तिम्रो जय होस्।
‘ए! साँच्चि तिमी ध्यान केन्द्रमा सासूलाई लिएर जान्छौ हैन? कुन बारमा हो त्यहाँ जाने? अबदेखि तिम्रो सासूलाई लिएर जाँदा मलाई पनि डाक है।’
‘हस् , आम! भोलि शनिबार छ एघार बजे मातातीर्थमा भेटौं अनि ध्यान केन्द्र जाऔंला।’
‘मेरो मन निकै उत्साहित भयो। सोच्दै ओरालो झरें। शिक्षा, वातावरण र सत्संगले व्यवहारमा असर पार्छ। आमा बरू एकचोटि सम्झाउँदा, परिवर्तनको लागि तयार हुनुभयो।। तर यहाँ कयौं घरमा शिक्षित सासू ससुराबाट बुहारीहरू प्रताडित भएका छन्।
कतै शिक्षित भनाउँदा छोराबुहारीले सासूससुरालाई जीवन मरणको अवस्थामा पुर्याएका छन्। खाँचो छ सकारात्मक चिन्तनको। खाँचो छ नैतिक शिक्षाको। आवश्यक छ सत्संग र ध्यानको। सबै सासू-ससुरा र छोराबुहारीलाई बुझ्न जरूरी छ।