जब माओवादी युद्धको वर्षगाँठ आउँछ, त्यो बेलाका विभिन्न घटनाक्रम र पात्र सजीव भएर अगाडि आइदिन्छन्।
म जिल्ला प्रहरी कार्यालय, उदयपुरमा कार्यरत थिएँ। माओवादी द्वन्द्वको उत्कर्षमा, २०६० सालको एक साँझ भर्खर खाना खाएर यसो टहलिँदै थिएँ।
प्रहरीको सञ्चार सेटबाट अर्जेन्ट खबर आयो- भर्खरै इलाका प्रहरी कार्यालय, लहानमा माओवादी छापामारले हमला गरे। आ-आफ्नो एरियामा अलर्ट भएर रहनू।
हाम्रो छिमेकी जिल्लाको लहान अर्थात् एक किसिमले नजिकको प्रहरी युनिटमा आक्रमण भएकाले उदयपुरका सबै प्रहरी युनिटहरूलाई हाइ-अलर्टमा राखियो। आफू नजिकैको प्रहरीमा आक्रमणको प्रत्यक्ष असर उदयपुर प्रहरीमा पर्ने हुँदा हाम्रो उदयपुर प्रहरी सल्बलाउनु स्वाभाविकै थियो।
एक त नजिकैको प्रहरी युनिटमा आक्रमण हुँदा आफ्नो युनिटमा पनि आक्रमण हुनसक्ने सम्भावना थियो। सँगै नजिकै आक्रमण भएकाले आक्रमणकारी माओवादीलाई दबाव दिँदै आक्रमणमा परेका प्रहरीलाई थप मद्दतका लागि जानुपर्ने आफ्नो कर्तव्य पनि थियो।
जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी अनि तत्कालीन शाही नेपाली सेनाका स्थानीय सेनामुखसँग सल्लाह र समन्वय गर्दैगर्दा सेनासहितको प्रहरी टोली यता कदमाहा साइडबाट माओवादीलै घेर्ने गरी जाने कि भन्ने कुरा भयो।
स्थानीय सेनाका सेनामुख क्याप्टेनले म माथिको आदेश माग्छु भन्नुभयो। हामी प्रहरीको टोली तयारी गर्न तर्फ लाग्यौं। त्यो रात मोबाइल कमान्डर अरू नै थिए। तर मलाई नै टोलीको कमान्ड गरेर माओवादीलाई घेराबन्दी गर्न जान मन लाग्यो।
जिल्ला प्रहरी कार्यालयको प्रांगणमा वानटन गाडीमा प्रहरी टोली तयार गरेर हामी सेनामुखको सन्देश र सेनाको टोलीको प्रतिक्षामा रह्यौं। जिल्ला प्रहरी प्रमुखले मलाई फोनमा कुरा गरौं भन्नुभयोर। मैले उहाँको क्वाटरमा फोन गरेँ।
उहाँले हतास भावमा भन्नुभयो, 'शिवजी साहब, क्याप्टेन साबको फोन आएको थियो, उहाँलाई माथिबाट आदेश त आयो तर सेनाको आफ्नै कम्पाउन्ड सुरक्षा गरेर बस्ने पो आएछ। अब उहाँहरू बाहिर ननिस्कने रे, के गर्ने हो? हामी प्रहरी मात्रै त जान सक्ने अवस्था छैन।'
मन खिस्रिक्क भयो।
एकछिन चुप रहेपछि मैले भनेँ, 'सर म एकपटक क्याप्टेन साबसँग कुरा गर्छु।'
उहाँलाई मेरो स्वभाव थाहा थियो। त्यसैले भन्नुभयो, 'नरिसाइकन कुरा गर्नुहोस् है।'
क्याप्टेन साबलाई कल गरेँ। उहाँले त्यही जिल्ला प्रहरी प्रमुख माधव बस्नेतलाई भन्नुभएको कुरा नै दोहोर्याउनु भयो।
मैले थाम्दाथाम्दै नसकेर भनेँ, 'सेनाको कमान्डमा युनिफाइड कमान्डमा भन्ने तर प्रहरी युनिटमाथि आक्रमण हुँदा चाहिँ रमिते बन्ने?'
उहाँले आफ्नो विवशता देखाउँदै भन्नुभयो, 'हामी त आदेश नाघेर मुभ हुने सक्दैनौं।'
उहाँको भाव बुझ्दा थाहा हुन्थ्यो, उहाँ सेनालाई मद्दतका लागि पठाउन चाहनुहुन्छ तर कमान्डरको आदेशका अगाडि उहा निरीह हुनुहुन्छ।
मैले भनेँ, 'लौ अब कम्पाउन्ड सुरक्षा गरेर बस्नुस्। म चाहिँ प्रहरीको टोली लिएर जान्छु।'
उहाँले 'हैन हैन प्रहरी मात्रै नजानुस्' भन्दै हुनुहुन्थ्यो, मैले फोन राखिसकेको थिएँ।
प्रमुख जिल्ला अधिकारी हक्की र जंगी स्वभावका सिताराम पोखरेल हुनुहुन्थ्यो। उहालाई पनि क्याप्टेनसँग कुरा गर्न अनुरोध गर्यौं।
म शून्य भावमा पुगेँ। त्यो चकमन्न सुनसान रात, झ्याउँकिरीको एकोहोरो बिरक्तलाग्दो आवाज। उता प्रहरी टोली के आदेश आउँछ भनेर मेरो प्रतिक्षामा तयारी अवस्थामा छ। म त्यही ड्युटी अफिसर बस्ने कुर्सीमा बसेर सोचमग्न थिएँ।
लहानको आक्रमणबारे सोच्न थालेपछि नीलो प्रहरीको बर्दीका अनुहारहरू अगाडि आए। कुनै दिन सँगै कार्यक्षेत्रमा सहकार्य गरेका सो इलाका प्रहरी कार्यालय, लहानका प्रमुख इन्स्पेक्टर सुदर्शन थापाको अनुहार सम्झिएँ। अनि अनुमान गरेँ, लहानमा भित्र रहेका प्रहरीले थप मद्दतका कति आशा गरेका होलान्।
अनि आफूलाई त्यो ठाउँमा राखेर हेरेँ। मन रोकिएन। जिल्ला प्रमुखलाई फोन गरेर आफू प्रहरीको मात्र टोली लिएर भए पनि माओवादीलाई घेराउ गर्न जाने कुरा गरेँ।
उहाँले भन्नुभयो, 'हैन प्रहरी एक्लै जाँदा पर्याप्त मद्दत नपुग्न सक्छ, त्यसैले नजानुस्।'
म बाहिर आफ्नो टोली भए ठाउँमा आएँ। भन्न मिल्ने जति कुराहरू भन्दै सेनाको टोलीलाई कम्पाउन्ड नछाड्ने आदेश आयो भनेर सुनाउँदा उनीहरू चुप भए। मेरो आँखाअगाडि फेरि उही नीलो बर्दी र मित्र इन्स्पेक्टर सुदर्शन थापाको अनुहार आउन थाल्यो।
तब मैले प्रहरीहरूलाई सोधेँ, 'केटा हो, उता नीलो बर्दी मारिँदै छ, हामी जाने हो कि? तिमीहरू के भन्छौ?'
मेरो नीलो बर्दी भन्ने शब्दले उनीहरूको मन छोएछ क्यार। नीलो बर्दीको मायाले तानेछ, एकैचोटि कराए, 'सर, हैन हामी मात्रै भए पनि जाने।'
मैले 'स्याबास केटा हो' भन्दै सबैलाई वानटन चढ्न आदेश दिएँ। म अगाडि सिटमा बसेँ अनि सेटमा जिल्ला प्रहरी प्रमुखलाई जाने आदेश माग्दै गाडी लहानतिर अगाडि बढाउन ड्राइभरलाई आदेश दिएँ।
गाडी अगाडि बढ्यो। जिल्ला प्रमुखले 'हैन नजानुस्' भन्दै गर्दा म निस्किसकेको थिएँ। उहाँले सेटमा निरन्तर सम्झाउन खोज्दै हुनुहुन्थ्यो। त्यसैबीच सेनाका क्याप्टेनको पनि सेटमा कल आयो र नजाने अनुरोधसहित माथिको आदेशको जानकारी पनि।
म कुनै रेस्पोन्स नगरी अगाडि बढिरहेँ। म मेरो प्रहरी साथीहरूको जोस र उत्साहबाट प्रभावित थिएँ। अनि लहानका प्रहरी सम्झिँदै उत्तेजित पनि। त्यतिन्जेलमा हामी जलजलेको उदयपुर सिमेन्ट कारखाना क्रस गरेर चुरेको जंगल छिरिसकेका थियौं। जुन करिब ७ किलोमिटरजति मध्य जंगलको बाटो सडक मार्ग पर्थ्यो।
मैले सेटमा हाम्रो सञ्चारको सइ साबलाई सोधेँ, 'अहिले के छ लहानको सिचुएसन?'
उनले बताए, 'अहिले त कुनै सम्पर्क नै छैन।'
हामीले अनुमान लगायौं, माओवादीले लहान प्रहरी कार्यालय टेकओभर गरिसकेछ।
हामी मध्य जंगलमा रहेको चुरियामाई मन्दिर अगाडि पुगेका थियौं। राइफल पड्किएको ड्याम्म आवाज आयो। मैले ड्राइभरलाई गाडी रोक्न लगाएँ। गाडीबाट ओर्लिएँ।
पछाडि रहेको टोलीलाई सोधेँ, 'राइफलको आवाज सुन्यौ?'
उनीहरूले भने, 'हाम्रै टोलीका सइ साबले पो छड्काएको रहेछ।'
सइ साबले स्पष्टीकरण दिँदै भन्न भ्याए, 'सर कुनै पनि बेला एम्बुस हुनसक्छ। आक्रमण हुनसक्छ। तसर्थ राइफल कक गरेर फायर गर्ने तयारी अवस्थामा थिएँ। गाडी यताउता हल्लिँदा औंलाले ट्रिगर दबिएछ र राइफल पड्कियो।'
सुनसान मध्यरातमा राइफल पड्किएको त्यो आवाज परपर धेरै सुनिने नै भयो। अब हामीलाई झन् खतरा महसुस भयो। माओवादीले लहानमा आक्रमण गर्दा वरपर रहेका प्रहरी युनिटबाट प्रहरी वा सेनाको थप मद्दत आउन सक्छ भन्ने अनुमान माओवादीले गरेको हुन्छ नै। अनि ठाउँ ठाउँमा एम्बुस थापेको हुनसक्छ।
अब हाम्रो राइफल पड्किएको आवाज सुनेर वरपर रहेका माओवादी अलर्ट हुन्छन्। हामीमाथि नै आक्रमणको सम्भावना हुन्छ। गाडीमा जानु खतरा हुनसक्थ्यो। त्यसैले गाडीबाट सबै ओर्लियौं। गाडी गाईघाटतिरै फर्काइदियौं र वरपरको खतरा अवलोकन गर्दै सतर्कतासाथ अगाडि बढ्यौं।
नभन्दै १०० मिटर अगाडि बढेका मात्र थियौं, ठूलो सालको रुख ढालेर सडक अवरोध रहेछ। माथि माथि डाँडामा झालाकझुलुक लाइटहरू बालेको देखियो। हामी त्यो एम्बुस छल्दैछल्दै अप्ठ्यारो बाटो छिचोलेर अगाडि बढ्यौं।
हिँड्दैहिँड्दै अगाडि बढेर हामी उदयपुरसँग जोडिएको सीमामा रहेको सप्तरी जिल्लाको प्रहरी चौकी पुग्यौं। त्यहाँका प्रहरीलाई बोलायौं। कुनै प्रतिक्रिया आएन। भित्र पुगेर हेर्यौं। तर त्यहाँ प्रहरी थिएनन्।
नजिकको गाउँलेलाई उठाएर सोध्यौं। त्यहाँको प्रहरी युनिट त खतरा बढेकाले हिजै राति अर्को युनिटमा मर्ज भइसकेको रहेछ। जुन प्रहरी युनिट बाटोमा छँदैछ भनेर हामी ढुक्कले अगाडि बढेका थियौं, त्यही नभएपछि हामी झस्कियौं।
यसरी अगाडि बढ्दै जाँदा मिर्मिरे बिहानीमा मात्रै हामी लहान पुग्न सक्यौं। लहान प्रहरी पुग्दा माओवादीले इलाका प्रहरी कार्यालय कब्जा गरिसकेको थियो। त्यहाँ भएका प्रहरीको हत्या गरेर कार्यालय नै आगो लगाइसकेको रहेछ।
एकजना सइ साबको हात पछाडि बाँधेर टाउकोमा गोली हानेको अवस्थामा शव भेटियो। मन नराम्रोसँग हुँडलियो। अरू शव यत्रतत्र थिए। प्रहरी कार्यालयका कागजपत्र, सामग्री असरल्ल थिए।
राजविराजबाट आउनुभएका एसएसपी साबसहितको टोली र नजिकको सेनाको टोली पनि त्यहाँ पुगिसकेको रहेछ। भिडन्तमा बाँचेका प्रहरीहरू भेटिए। इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुदर्शन थापा पनि सकुशल भेटिए।
आक्रमणको दिन प्रहरी कार्यालय छेउको चारतले होटलको छतमा सम्साँझै आएर माओवादीले मेसिनगन फिट गरिसकेका रहेछन्। यताउता खोजतलास गर्ने काम सकिएपछि हामीलाई उदयपुर नै फर्किने आदेश आएपछि म टोली लिएर फर्किएँ। मन एकतमासले दुखिरहेथ्यो।
सबैभन्दा दु:ख ती प्रहरीको शव देखेर लागेको थियो, जो निहत्था मारिएका थिए। बाटोमा सम्झिँदै गएँ।
भिडन्तमा भिडेका एक जवानले त्यो होटलको छततिर देखाउँदै भने, 'सर, ऊ त्यो छतबाट गोली आएपछि मैले पनि ३''३ राइफल ताकेर छततिर फायर गरेँ। तर म एकछिन पनि टिक्न सकिनँ। छतबाट मेसिनगनबाट यस्तरी पर्रा छुट्यो कि मैले टाउको उठाउन पनि सकिनँ। मुश्किलले पर्खालमा छेलिँदै बाहिर निस्किन सकेँ।'
मैले सम्झिएँ- २०५२/५४ सालतिर भरुवा बोकेर हिँड्ने माओवादी खोज्ने ३''३ राइफल बोकेर हिँड्थे प्रहरी। अहिले माओवादी मेसिनगनमा पुगिसक्दा पनि प्रहरीको हैसियत उही ३''३ राइफल! सरकारले प्रहरीलाई सुसज्जित पार्न सकेन वा पार्न चाहेन?
फेरि रातिको घटना सम्झिएँ। प्रहरीलाई चारैतिरबाट प्रहार हुँदा समेत सेनालाई कम्पाउन्ड नछाड्ने आदेश आउँछ। आफैंलाई देखेर आफ्नै माया लागेर आयो। बाटोभरि कोही एकापसमा बोलेनन्। बोलेनौं। सायद सबै मजस्तै कतै हराइरहेका थिए।
अफिस छिरेर रिपोर्ट गरिसकेपछि क्वाटरमा आराम गर्न लागेको थिएँ। फोन आयो। उही सेनाका क्याप्टेन साबको, 'ए आइपुग्नु भो?'
मलाई बोल्न जाँगर थिएन। खाली रातिको त्यही कम्पाउन्ड सुरक्षाको आदेश मथिंगलमा घुमिरहेथ्यो।
क्याप्टेन साबले भन्नुभयो, 'आज साँझ दाजुभाइ सँगै खाना खाऊँ है। मैले यहाँँ तयार गर्न लगाएको छु।'
मैले थाकेको हुँदा आउँदिनँ भनेर टार्न खोजेँ। उनी जिद्दी गर्दै थिए, 'ए भाइ, किन रिसाएको? मलाई कुरा गर्न मन लागेको छ। आज दाजुभाइ गफ गर्ने हो। मलाइ केही कुरा सेयर गर्न मन लागेको छऽ'
उनको र मेरो थर एउटै भएको र उमेरले मभन्दा उनी अलि ठूलो भएकाले मलाई भाइ भनेर बोलाउँथे। तल्लो दर्जाबाट सेनाको जागिर सुरू गरेर बढुवा हुँदै क्याप्टेन भएका, उमेर र व्यवहारले पाका उनी प्रहरीलाई माया गर्थे। हामीसँग मिल्थे।
उनले भने, 'ए दाइको अनुरोध पनि नमान्ने, आएन भने म आफैं लिन आउँछु नि।'
हिजो रातिको आदेशले चित्त दुखे पनि त्यो आदेश उनको थिएन। उनले त सेना र प्रहरीसँगै जान चाहेका थिए। माथिको आदेश आएपछि उनको के लाग्थ्यो र? हामी प्रहरी अफिसर बेलाबखत आदेशलाई बंग्याएर अगाडि बढ्ने हिम्मत राख्न सक्थ्यौं। तर सेनाका अफिसरको अवस्था त्यस्तो थिएन।
म साँझ सेनाको ब्यारेक गएँ। मलाई देख्नेबित्तिकै मायालु भावमा क्याप्टेन साबले अँगालो मारे।
अनि भने, 'मानेँ भाइ, तिमीलाई मैले मानेँ।'
म खुलेर नबोलेको देखेर उनले भन्न थाले, 'भाइ तिम्रो पनि परिवार छ नि हैन?'
मैले टाउको हल्लाएँ।
उनले फेरि सोधे, 'परिवारको माया लाग्दैन?'
मैले सोचेँ उनको यो संकेत त्यस्तो भिडन्तको बेला सेनाबिना अनि सामान्य राइफलका भरमा प्रहरी टोली लिएर गएको मेरो दुस्साहसप्रति होला।
मैले आक्रोश पोखेँ, 'भाइ भन्नुहुन्छ! आखिर प्रहरीलाई पर्दा त प्रहरी एक्लै मर्नुपर्ने रहेछ नि? कि डर लाग्छ अगाडि बढ्न?'
तब उनले फेरि सोधे, 'परिवारको माया लाग्दैन?'
अनि भन्न थाले, 'भाइ, हामी सेनाहरू प्रहरीभन्दा पछि माओवादीविरूद्ध भिड्न थाले पनि मैले पनि माओवादीसँगका थुप्रै भिडन्त भोगिसकेको छु।'
अनि एकछिन सोचेर फेरि भन्न थाले, 'तिमी हामीलाई लाग्छ यो देशका जनताको सुरक्षा तिम्रो हातमा छ। त्यसैले पूरै सुरक्षाको ठेकदार सम्झिएर माओवादीसँग भिड्नुपर्छ।'
मैले टाउको हल्लाएँ।
'हैन भाइ, तिमी हामी चेसको गोटीमा पनि प्युसा हौं,' उनले फेरि भने, 'चेस खेलिन्छ नि हैन?'
म चुप थिएँ। उनी भन्दै गए।
'चेसमा विभिन्न गोटी हुन्छन्। राजा, मन्त्री, घोडा, ऊँट, हात्ती अनि सिपाही अर्थात प्युसा। याद गरेका छौ, जब राजालाई खतरा हुन्छ, उही प्युसा अगाडि ल्याएर छाती थाप्ने काम हुन्छ। मन्त्रीलाई खतरा, फेरि तिनै प्युसा अगाडि। त्यो प्युसाको जीवनको कुनै मूल्य हुँदैन। त्यसैले माथि माथिकालाई खतरा भयो कि त्यही प्युसा अगाडि। त्यो प्युसालाई पनि भ्रम हुँदो हो नि, हो यो खेलको मुख्य खेलाडी म नै हुँस मैले नै सबै थामेको छु- तिमी-हामीले ठाने जस्तै। ती त भ्रम हुन् भाइ।
लौ सुन, म मैले भोगेको एउटा दृष्टान्त सुनाउँछु। यहाँ आउनुअगाडि म रुकुम ब्यारेकमा खटिएको थिएँ। एकपटक माओवादीको चलखेल अत्यन्तै बढेको गुप्त सूचना आएकाले मेरो कमान्डमा गस्ती टोली खटायो। माओवादीका शीर्षस्ठ नेताहरू बैठकका लागि माथिल्लो भेगतिर एकत्रित हुँदै छन् भन्ने सूचनाको आधारमा म्यापसहित मलाई तोकिएको रूट हुँदै त्यस एरियामा खटाइयो।
म जाँदै गर्दा बीचमै गाउँलेहरूबाट के थाहा लाग्यो भने तल खोंचमा माओवादीका नेताहरू बाबुराम भट्टराई, कृष्णबहादुर महरा लगायतका टोली आएका छन्। यताबाट होइन, तल्लो बाटो जानुभयो भने उनीहरूसँग जम्काभेट हुनसक्छ।
हामी हौसियौं र सञ्चार सेटमार्फत तुरुन्तै माथि सो सूचना पठायौं। हामीभन्दा माथिका युनिट कमान्डरले भने पख म माथि जाहेर गरेर आदेश पठाऊँला भने। हामी आज सरकारले नै आतंककारी घोषणा गरेका माओवादीका शीर्ष नेताहरू भेटिने भए भनेर उत्साहित हुँदै माथिको आदेश अधैर्यसाथ कुरिरहेका थियौं।
आधा घन्टाछि अहिले जुन बाटो हिँड्ने भनेर तोकेका छौ, त्यही बाटो गस्ती जानु भनेर सञ्चार सेटमा आदेश आयो। तब मैले हैन सर, माओवादीका ठूला नेता तल्लो बाटोमा जाँदा भेटिन्छ र सूचना एकदम सही लागिरहेको छ भनेँ।
तब मभन्दा माथिका कमान्डरले कड्किए आदेश दिँदै 'ए प्युसा, बढी जान्ने हुन्छस्? तलाईं जुन बाटो जानु भन्ने आदेश भएको त्यही बाटो जा, बढ्ता नहु, नखोक' भने। आदेश मुताबिकको बाटोमा अगाडि बढ्यौं, केही भेटिएन।
केीफ दिनपछि खाली हात ब्यारेक फर्कियौं। पछि थाहा भयो, त्यो गाउँलेबाट प्राप्त सूचना शतप्रतिशत सही रहेछ। मैले सूचना दिँदादिँदै ती नेता भेटिने बाटो जाने आदेश नपाउनुको कारण केही थाहा पाउन सकिनँ, मात्रै अनुमान गरेँ। बरू मेरा माथिका कमान्डरको त्यो कड्किएको स्वर र ए प्युसा भन्ने शब्द अझै कानमै गुञ्जिरहेछ।'
क्याप्टेन साबको कुरा सुनेर म धेरै नै मत्थर भइसकेको थिएँ।
उनले एउटा प्रश्न सोधे, 'ए भाइ तिमीलाई थाहा छ नि माओवादीबाट सशस्त्र प्रहरीका प्रमुख मारिए। सेनाका जर्नेल मारिए। नेपाल प्रहरीका उच्च अधिकारी मारिए। तर कहीँ सुनेका छौ कुनै मन्त्रीमाथि आक्रमण भएको? प्रहरी युनिट हान्न सक्ने, सयौंको संख्यामा रहेका आधुनिक हतियार सुसज्जित सेनाको ब्यारेक सुरक्षित नहुने, तर एउटा बुढो हवल्दारले रिभल्भरको भरमा सुरक्षा दिएको मन्त्री सुरक्षित हुन्छ? कसरी?'
उनी अझै थप्दै थिए, 'अनि माओवादीका माथिल्ला तहका कुनै नेता मारिएका अनि समातिएका छन्/छैनन भन्ने त तिमीलाई झन् बढी जानकारी छ क्यार। तल्ला तहका कार्यकर्ता मारिएका वा समातिएको त जो कोहीलाई थाहै छ। आखिर लडाइँ र सत्ता अनि शक्तिको छिनाझिमटी, माथिल्ला राजनीतिक शक्तिहरू अनि यिनै मन्त्रीहरूसँग हुनुपर्ने हैन र?'
क्याप्टेन दाइ बोल्दै गए। म उनको कुरा ध्यान दिएर सुनिरहेँ। सवाल जवाफ थप गर्न चाहिनँ भनौं वा सकिनँ। चुपचाप डिनर सकेर क्वाटर फर्किएँ। बिहान लहानमा हातपछाडि बाँधेर ढलिरहेको सइ साबको शव अनि रातभरिको ती दृश्यले त्यसै पनि मथिंगल घुमाएको थियो। झन् अहिले क्याप्टेन दाइको कुराले दिमाग पूरै हल्लायो।
क्वाटर पुग्दा रातभरिको अनिँदो हिँडाइ र तनावले थकित थिएँ नै, ओच्छ्यानमा पल्टिँदा पनि क्याप्टेनकै शब्दले बाण बनेर दिमागमा हानिरहे, 'तिमी हामी त चेस खेलका प्युसा हौं भाइ।'
केही वर्षपछि नै माओवादी युद्धको पटाक्षेप भयो। हिजो एकापसमा भिड्दै माओवादीविरूद्ध सेना र प्रहरीलाई आदेश दिने र तिनै सेना र प्रहरीसँग भिड्न माओवादीलाई आदेश दिनेहरू नै सत्ताको बाँडफाँटमा एकै ठाउँ उभिए।
शान्ति हुन सुखद हो। तर सेना र प्रहरी अनि माओवादी भएर आफ्नो प्राण आहुति गरेकाको अनुहारसँगै ती क्याप्टेन दाइले भनेका 'तिमी हामी त चेस खेलका प्युसा मात्र हौं भाइ' भनेको म कहिल्यै बिसिर्न सक्दिनँ।'
(लेखक श्रेष्ठ नेपाल प्रहरीका पूर्व अधिकृत हुन्। उनी हाल बेलायतको ह्याम्प्सायर पुलिस कन्स्टेबुलरीका सल्लाहकार छन्।)
(शिवजी श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)