कोही किन सफल हुन्छ?
कोही किन जतिसुकै कोसिस गर्दा पनि सफल हुँदैन?
के सफल भएकाहरूले मात्रै पढेका हुन् त?
या असफल भएका जति सबै नपढेकै हुन्?
एउटा मान्छेको संगतले कति फरक पार्दछ जिन्दगीमा भनेर गीत गाइए तर एउटा परिवारको साथ सहयोग र भरोसाले अर्को मान्छेको जिन्दगीमा कति फरक पर्छ भनेर न त कुनै गायकले गीत बनाए न त कुनै साहित्यकारले साहित्यका रचना नै कोरे।
भलै यो विषय निकै सामान्य लाग्न सक्छ तर जसले नजिकबाट भोगेको छ, जसले नजिकबाट नियालेको छ उसले मात्र गहिरिएर यसको जवाफ दिन सक्छ।
यो एउटा पात्रको भोगाइ होइन, आम महिला त्यसमा पनि शिक्षित बुहारीको जिन्दगीसँग ठ्याक्कै मेल खाने विषय हो, सवाल हो।
एउटा भोगाइले धेरैदिनसम्म मन बैचैन बनायो। यस्तो पनि हुन्छ र? यति हदसम्म त नहोला भन्ने धेरै लख काट्न कोसिस गरेँ। जो महिलाले यस्ता गुनासाको पोयो फुकाउनु भएको थियो उहाँका श्रीमानसँग एकदिन भेट भयो।
हेर्दाखेरी निकै भलाद्मीजस्तो देखिनुहुन्थ्यो, अफिसबाट फर्कंदै हुनुहुँदो रहेछ।पहिले पनि हल्काफुल्का भेट भइरहन्थ्यो तर पारिवारिक कुरा गर्ने मेसो मिलेको थिएन, बिनाकारण गर्ने कुरा पनि भएन।
सर म्याडमको साइनो लगाएर बोल्थेँ, त्यसदिन पनि सरलाई उही साइनो लगाएर बोलेँ।
'अनि म्याडमको हाल खबर के छ सर? धेरै दिन भयो उहाँसँग सम्पर्क भएको छैन।'
मेरो प्रश्नमा सर अझ उहाँलाई हाकिम साब भन्नुपर्छ, बेकामे उत्तर दिएजस्तो गर्नुभयो, 'के काम हुन्छ र आईमाईको? घर बस्यो, बच्चा पायो , तिनै हुर्कायो, त्यही त हो नि...'
नेपाल सरकारको उपसचिव स्तरको कर्मचारीले आफ्नी श्रीमतीलाई चिनाउनको लागि प्रयोग गरेको शालिन भाषा हो यो!
यी हाकिम साबको यो तुच्छ कुरा सुनेर थप केही बोल्न मन लागेन।
कसरी यस्तो कुरा बोल्न आउँछ? कुन आधारमा उनले श्रीमतीलाई यति घिनलाग्दो कुराको आरोप लगाए? अघिसम्म तपाईं भनेको सर उर्फ हाकिम साबप्रति हेर्ने नजर कहाँबाट कहाँ पुग्यो आफैंलाई पत्तो भएन।
यिनको निकै रूखो शैली छ, श्रीमतीलाई निकै हेपेर बोल्छन्, अरूका श्रीमतीसँग तुलना गरेर मानसिक यातना दिन्छन् भन्ने कुरा त गाइँगुइँ थियो तर कहिल्यै पनि एकतर्फी कुरा सुनेर धारणा बनाउनु हुँदैन भन्ने पक्षको भएका कारणमात्रै नजिकबाट मनसाय बुझ्न खोजेको जुन एक वाक्यले पूरा गरिदियो।
कुन आधारमा यस्तो बचन उनको मुखबाट फुस्कियो? कस्तो शब्द हो आईमाई? मैले बकाइदा म्याडमको हालखबर सोधेकी थिएँ, तर उनले त आईमाईको के काम छ र? घरमा बस्यो बच्चा पायो, तिनै हुर्कायो त्यति हो भने...
ती आईमाईले पाएका बच्चा यी हाकिम साबका पनि होलान्, यसको स्पष्टीकरण यी महोदयलाई कस्ले दिने?
पद जे सुकै होस् दुई चार बचन यिनलाई भन्छु भन्ने लाग्यो अर्को मनले यस्ता मानसिकता भएकाहरूसँग सवाल-जवाफ गर्नुको कुनै तुक छैन भन्ने लाग्यो र थप केही कुरा गरिनँ।
यी हाकिमकी श्रीमतीसँग राम्रै चिनजान थियो, उनले सबै भोगाइ सुनाउँथिन् आफ्नै बहिनीहरूसँग जसरी।
एकदिन कुरै कुरामा उनका श्रीमानले भनेको छनक नआउने गरी घुमाएर कुरा गरेँ।
'कोही कोही लोग्ने मान्छे कतिसम्म कमजोर सोचका हुन्छन् है म्याडम, एउटी महिलाको काम बच्चा पाउने र हुर्काउने सिवाय केही काम देख्दैनन्। त्यो महिलाले पढेको ज्ञान, उसको हासिल गरेको सर्टिफिकेटको केही काम देख्दैनन्। त्यो महिलालाई हौसला दिने, ऊर्जा दिने, सहयोग गर्ने, तिमी पनि गर्न सक्छौ हिम्मत गर भन्ने ढाडस दिने काम किन गर्दैनन्? सफल भएका व्यक्तिसँग उसको योग्यतालाई जोडेर मजाकको पात्र बनाइन्छ, कमजोर बनाइन्छ। केही गर्न खोज्छु भन्नेलाई पनि हतास मानसिकताको शिकार बनाइन्छ।'
मेरो यो आशयपछि म्याडम बोल्नुभयो।
'हेर्नुस् बैनी हाम्रो पहिले काठमाडौं बाहिरै हो घर, अहिले बीस वर्ष जति भयो होला काठमाडौंकै बासिन्दा भएको। काठमाडौंमा घर छ, परिवारमा सबै जना जागिरे छन् सिवाय म।
परिवारमा सबै जना जागिर खाने छन् र एउटी बुहारी बेरोजगार छ भने त्यो परिवारमा त्यो बुहारी जतिको पीडित कोही हुँदैन, त्यसको साक्षी म हुँ र मजस्ता अन्य बेरोजगारी एक्ला बुहारी होलान्। धेरथोर पैसाको कमी हुँदैन, उसको परिवार सम्पन्न हुन्छ बाहिरबाट हेर्दा।
ओहो! परिवार त फलानाको जस्तो... सबै जना जागिरे छन्। कति राम्रो। अझ पोहोर साल त दुई जना दिदी बहिनीले एकैचोटि बैंकमा नाम निकालेछन्। यो देखिने वाहीवाही हो।
सफल हुने व्यक्तिहरूको गुणगान गाएर कोही थाक्दैनन्। यस्तै बीचमा फुत्त एउटा वाक्य निस्कन्छ, सबै जना यस्तो ट्यालेन्ट भएको घरमा बुहारी चाहिँ कस्ती नपढ्ने खालकी रहिछ है?
उसले अरूको देखेर पनि मेहनत गर्न सिक्नपर्छ नि! दुई दुई जना नन्दले एकैचोटि बैंकमा नाम निकाल्दा कस्तो मन नपोलेको हो? जेठाजु, जेठानी, नन्द, देवर, लोग्ने सबैको जागिर छ, एक जना बुहारीमात्रै बेरोजगार छे...।
यस्ता कुरा कति पटक नजिकबाट मेरा कानले सुनेका छन्, कति पटक सुनेर पनि नसुनेझैं गरेका छन् त कति पटक सुन्दा सुन्दा आजित भएका छन्।
मैले मेहनत नगरेको होइन। सबै मेहनतीका निधारमा कहाँ सफलता लेखिएको हुँदो रहेछ र? मलाई पनि जागिर खाने, अफिसमा टाइममा चट्ट झोला भिरेर अफिस जाने आउने रहर थियो तर भाग्यमा नभएको त होला म चाहेर पनि गर्न सकिनँ।
उमेर नहुँदै बिहे, बिहे हुने उमेर नपुग्दै आमा, घर परिवार सबैतिरको जन्जिरले फुत्कन नमिल्ने गरी बेरिसक्यो मलाई। अब त उमेरले पनि चार दशकको फन्को घुमाउन थाल्यो चाहेर पनि गर्न सक्दिनँ।
सब भन्दा बढी साथ श्रीमानको चाहिने रहेछ, जब आफ्नै श्रीमानले यो कमजोर छे, यसले गर्न सक्दिनँ भनेर परपरको व्यवहार गर्छन् तब चाहेर पनि प्रगति गर्न कठिन हुने रहेछ।
सबै जनालाई सरकारी जागिर चाहिन्छ, आफन्त, नातागोता कुनै न कुनै सरकारी निकायमै जागिरे छन्। उनीहरू भेट्दा, बोल्दा खाँदा पनि जागिरका भन्दा अर्थोक कुरा हुँदैनन्।
म जहाँ पनि फाल्तु जोकरजस्तै हुन्छु। पोहोर दुइटी नन्दले बैंकमा नाम निकाले, उनीहरूको खुट्टा भुइँमा हुने त कुरै भएन।
उनीहरूलाई उनीहरूको दाइजस्तो कपटी श्रीमान नपरोस् भन्ने आत्मादेखि नै प्राथना गर्छु। तीन बच्चा छन्, दुई छोरीपछि कान्छो छोरो जन्मेको।
सुरूमा त छोरा नपाएको बहानामा अपहेलित भएँ। तेस्रो पटकमा छोरा जन्मियो, दुई पटकको पीडा छोरा जन्मेपछि केही मत्थर भयो। आइ ए पूरा नहुँदै बिहे भएको थियो, जसोतसो डिग्री पढेर सकाएँ। छोराछोरी हुर्काएँ, घरका सबैको चित्त बुझाउने कोसिस गरें। श्रीमानको सरूवा भइरन्थ्यो कहिले कहाँ, कहिले कहाँ। घर व्यवहार धानेरै बसेँ।
यति गर्दा पनि मलाई पढ्ने रहर नभएको होइन, पढेँ। एक पटक लिखितमा नाम पनि निकालें तर भाग्यले ठग्यो अन्तर्वार्तामा नाम निस्किएन त्यसपछि दिमागले पनि ठग्न थाल्यो, लिखितमै नाम निस्कन सकेन। कोसिस गर्ने मान्छेको हार हुँदैन भनें पढिरहेँ समय मिल्दासम्म।
बुहारी, आमा, श्रीमती भएपछि पढाइ भनेको चौथो, पाँचौ प्राथमिकतामा पर्छ यो सायद म जस्ताको साझा भोगाइ होला। समय पाउँदा पढ्थेँ।
पोहोर नन्दहरूले पढ्दा ढलेको सिन्कोधरी उठाएनन्। म बेरोजगार थेँ, उनीहरूको ओछ्यानमै चिया, नास्ता, खानाका प्लेट पुर्याएँ। बस उनीहरूले पढे अनि पढे मात्रै। मेहनती दिदी बहिनीलाई दिमागले पनि साथ दियो, भाग्यले पनि दुवै जनाले नाम निकाले।
अहिले दुवै जना ठाँटिएर अफिसको ड्रेस लगाएर हिँडेको देख्दा वाह भन्छु मनले।
मेहनत उनीहरूले गरे पनि साथ सहयोग मेरो पनि थियो तर उनीहरूले भाउजूले हाम्रा लागि गरेकी छ भनेर एक बचन उच्चारण समेत गरेनन्।
मेहनत गरेपछि सफल भइन्छ, पढ्नुपर्छ अनि पो नाम निस्कन्छ, पढ्न अल्छी गर्ने, अर्काले जागिर खाएको देखेर डाह गरेर हुँदैन भनेर व्यंग्य हान्छन् सायद मैलाई पो भनेका हुन् कि भन्ने पनि लाग्छ।
मेरो पनि दिमाग नभएको होइन, यतिको अवसर पाएको भए सायद म पनि केही गरेर देखाउँथे होला। श्रीमानको जाँच आउँथ्यो कहिले माइतीमा बच्चा लिएर जा मलाई डिस्टर्व हुन्छ भन्थे कहिले गाउँमा पठाउँथे तर मेरो कलेजको जाँचको बेलामा कसैले सहयोग गर्दैनथे। जाबो पास मार्क्स ल्याउने त हो नि,
टियूको जाँच त हो नि ...... कति न नामै निकाल्ने जस्तो? एकछिन यसो हेरे भइहाल्छ नि.... यस्ता तुच्छ वचनले मन आगो हुन्थ्यो।
मास्टर्सको थेसिस सकाउँदा कति पटक रोएँ त्यो बेथा आफैंसँग छ। कतै फारम खुलेको बेलामा भर्दिन भन्थें, फारम ल्याइदिन भन्थें।
श्रीमानले खिन्न हुँदै सुनाउँथे, फारम भरेको भर त हो नि पढेर कहीँ नाम निकाल्ने होइन। अनि सफल भएका साथीभाइ आफन्तका श्रीमती, नातागोतासँग नाम जोडेर मानसिक यातना दिन्थे।
जब मान्छेलाई अरूसँग तुलना गरेर हिनताबोध गराउन खोजिन्छ तब गर्न सक्ने क्षमता पनि ह्रास हुने रहेछ।
उमेरले डाँडो काट्न थालेपछि फारम भर्ने, पढ्ने जाँगर मर्न थाल्यो। छोराछोरी क्याम्पस पढ्ने भइसके। छोराछोरीले साथ दिन थाले। ममी हामीलाई हुर्काउँदा पढाउँदा तपाईंले पढ्न पाउनु भएन।
तपाईंको दु:ख हामी बुझ्छौं। जागिर खाएका सबै सुखी छैनन्, सबैले जागिर खानुपर्छ भन्ने छैन। मेरा साथीको मम्मीले घरमै बसेर सेयर कारोबार गर्नुहुन्छ, मेरो साथीको मम्मीको बिजनेश छ, मेरो साथीको मम्मीको क्याफे छ .... यस्तै उदाहरण सुनाउथे।
उहाँले कति धेरै पैसा कमाउनुहुन्छ, मेरो साथीको समेत शेयर कारोबार छ। तनाव पनि नहुने, घरमै बसेर गर्न सकिने, म आइडिया सिकाउँछु भनेर छोराले हौसला दिन थाल्यो।
परिवारका आफन्तजनले चुँडाएको मन छोराछोरीले हौसाउन थाले। दुई छोरीले निकै ढाड्स दिन्थे, र दिन्छन पनि। उनीहरूलाई आफ्ना भोगाइ शेयर गर्थे, अर्कालाई भन्यो भने मन हल्का हुन्छ भन्छन् तर अरूलाइ सुनाएर के फाइदा ? कम्तीमा छोराछोरीलाई भन्यो भने भोलि उनीहरू त्यस्ता नहोलान् भन्ने आशाले पनि उनीहरूलाई सुनाउँथें।
परिवारले कहाँसम्म पुर्याउँदो रहेछ? मान्छे किन डिप्रेसनमा जान्छ ? किन आत्महत्याको बाटो रोज्छ? भन्ने कुरा आफ्नै भोगाइले सिकायो।
छोराछोरी नभएको भए सायद मेरो जिन्दगीले कुन मोड लिन्थ्यो भन्न सक्दिनँ।
छोराको उक्साहटमा लागेर शेयर बजारको तालिम लिएँ, ऊ कर्मश पढेको भएर हरेक आइडिया सिकाउन थाल्यो। सानो रकमबाट सुरू गरेको व्यवसाय अहिले उत्साह गर्न लायक छ। सबै जना पैसा र पदको भोको हुने रहेछन्।
अहिले कोहीसँग हात थाप्न पर्दैन, पढेर खान सकिनँ, नाम निकाल्न सकिनँ तर मेरो लागि लेखेको अर्कै क्षेत्र रहेछ छोराका कारण सम्पन्न गर्न सकेँ।
अहिले कुनै तनाव छैन, अरूका अगाडि जागिरे हुन सकिनँ तर म खुसी छु। पढेर के काम ? कहीँ नाम निकाल्ने होइन भन्ने ट्याग भिरेर कति पीडामा आफूलाई पिल्साउने? पढेर काम नभए पनि परेपछि भने धेरै काम लाग्ने रहेछ जिन्दगीको भोगाइले यस्तै सिकायो।